१० श्रावण २०८१, शुक्रबार

बज्जिरे काका काठमाडाैँ कहाँ छ !

0

बज्जिरे काका !
नेपाल त्यहाँ छ , जहाँ काठमाडौं छ
जहाँ राजधानी छ , त्यहाँ नेपाल छ
काठमाण्डौंमा पहिरो जाँदैन
राजधानीमा बाढी पस्दैन
काठमाडौंमा चामलको अनिकाल
अछाम र कालिकोटमा जस्तो खस्दैन ।

बज्जिरे काका !
अछामको पहिरोमा गाउँ चिच्याएको नेपाल सुन्दैन
बाजुराका भीरबाट आमाछोरा भोकले
रिङ्टा लागेर बूढिगङ्गामा खसेको दृश्य
नेपाल अखबारहरुमा पढ्ने गर्छ ।
“बिसु”को दिनमा एक छाक भात खाएर
बुइँगलमा सुताईएका “ताउला” र ताप्के
काठमाडौंको मुटुमा दुख्दैनन् ।
काठमाडौं भव्य महलभित्र मानिसको शिकार गर्छ
जसरी
तुका बल्याल्तका गाउँमा खप्तडका
भालु र चितुवा मानिसको शिकार गर्छन्
मानिसले गर्ने मानिसको शिकार
र जंगली जनावरले गर्ने मानिसको शिकारमा
कस्तो फरक हुन्छ !
त्यो काठमाडौं जान्दैन ।

बज्जिरे काका !
कर्णाली दख्खीन बगिरह्यो
सेती दख्खीन बगिरह्यो
बूढीगंगा, भेरी, महाकाली सबै दख्खीनै बगीरहे
भोकमरी दख्खीन बगेन ।
अनिकाल, महामारी, खडेरी, बाढी, पहिरो केही पनि दख्खीन बगेन ।
भोको पेट बोकेर, फाटेका चीथरा लुगामा
मानिसहरु नै दख्खीन बगिरहे
पापी पेटकै त समस्से रहेछ नि काका !
कर्णाली, सेती, भेरी र महाकाली
एक्लाएक्लै दख्खीन बगिरहे
दुखियाका आँसु बगाउन सकेनन्
आँसु खील बनेर आँखाहरुमा नै रहे
नदीहरु छाल बनेर निरन्तर बगिरहे
जसरी आँखाबाट आँसुहरु एकनास बगिरहेछन् ।

बज्जिरे काका !
मंगलसेनको डाँको काठमाडौं सुन्दैन
मार्तडीको ब्यथा काठमाडौं पढ्दैन
चैनपुर, बैतडी, दार्चुला, कालीकोट, दुल्लु, दैलेख
हुम्ली, जुम्ली जाबो मुंगाली र डोटेली
सम्पन्न काठमाडौँलाई के पो गर्न सक्छन् र !
राहत काठमाडौं बाँड्छ
औषधी काठमाडौं बाँड्छ
कहिलेकाहिं अक्षेतालाई भए पनि
हेलिकप्टर र जहाजबाट चामल काठमाडौंले छरिदिन्छ
मानिस ता पशु पन्छी समान हुन्  नि !
आकासबाट छरेका चामलका भागी न हुन् !

बज्जिरे काका !
झाडा पखालाको ओखती नपाई सन्तान गुमाउनु
त्यत्रो ठूलो पीडा हुँदै होईन
भीरबाट खसेर मर्न पाउनु
भोकमरी र अनिकाल लागेर मर्नु
झाडा वान्ताबाट जीवन उत्सर्ग हुनु
यतातिर जीवन नियती नै हो क्या र !
यता मानिसहरु अभावले पिल्सीएर जागीरहे
काठमाडौं सुतिरह्यो !

स्राेत: जनपत्रिका दाेस्राे अंकमा प्रकाशित


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।