७ बैशाख २०८१, शुक्रबार

ठूला प्रौद्योगिकी कम्पनीहरु र वर्तमान चुनौती

0

“भ्रम र निराश नभइकन बाँच्नुसक्नु नै आधुनिकताको चुनौती हो । ”
–एन्टोनियो ग्राम्शी

कोरोना नामक जिवाणुले विश्वलाई यति नरामरी गाँज्यो कि स्वास्थ्य र सामाजिक सङ्कटलाई टार्न बुर्जुवा सरकारहरुको निरीहता सर्वसामू प्रकट भयो । जसलाई ‘जिवाणु–भयावह (Korona-horror)’ भनिएको छ । त्यसबाट के पनि स्पष्ट भयो भने बुर्जुवा देशहरुमा समाज–व्यवस्था कतिसम्म खोक्रो छ ! जबकि विश्वका ‘समाजवादी’ देशहरुको समाज–व्यवस्था चुनौतीसहित धरमर भएनन, टिकिरहे ।
आज नयाँ इन्टरनेट प्रविधिको प्रश्न चुनौतीपूर्ण भएको छ । जसको महत्वको विषयमा जनआन्दोलनहरुमा विमर्श भइरहेको छ । प्रौद्योगिकीसम्म असमान पहुँच एकमात्र मुद्दा होइन । दमन, नियन्त्रण, उपभोक्तावाद र निगरानीको उद्देश्यको लागि तथ्याक (Data)को प्रयोगमा पनि स्थायी रुपले चिन्ता गरिएको छ । यी मुद्धाहरुसँगै के पनि जोडिएर आएको छ भने आजका ठूला निगम सूचना फर्महरु हुन । त्यसकारण नै समकालीन पुँजीवादलाई बुझ्नको लागि ‘नयाँ इन्टरनेट प्रविधि’को विषयमा चर्चा गर्नुपर्ने हुन्छ । यी विषयहरुलाई बुझ्न निरन्तर प्रयास भइरहेको छ । जसलाई कैयौं प्रकारका नयाँ शब्दहरु र अवधारणाहरु प्रकट भएको देखिन्छ । जस्तो कि ‘डिजिटल अर्थव्यवस्था’, ‘डिजिटल पुँजीवाद’, मञ्च पुँजीवाद, प्रविधि सामन्तवाद, तथ्याङ्क पुँजीवाद र निगरानी पुँजीवाद आदि । यी अवधारणाहरुको विषयमा आजसम्म निश्चित धारणा बनिसकेको छैन । परन्तु संसार बदल्न चाहनेहरुको लागि समकालीन पुँजीवादमा ‘डिजीटल डेटा’ र प्रौद्योगिकी कम्पनिकीहरुको भूमिकाको विषयमा एउटा सामूहिक र वस्तुपरक विश्लेषणको निर्माण गर्नुपर्ने अनिवार्य चुनौति बन्न गएको छ ।
हाम्रो ४६औं डोजियरले यिनै विषयहरुलाई मनन गरेर वर्ग सङ्घर्षको लागि उच्च प्रविधि र वर्तमान चुनौतीहरु डिजिटल प्रौद्योगिकी र वर्ग सङ्घर्षमा भूमिहीन श्रमिक आन्दोलन (MST) द्वारा आयोजित गोष्ठिमा बनेको समझदारी अनुसार यो लेखोट तयार पारिएको छ । समकालीन पुँजीवादमा आइरहेका परिवर्तनहरु र हाम्रा सङ्घर्षहरुलाई व्यवस्थित गर्न तिनीहरुको अन्तर्य पर्गेल्नु र सामाजिक सन्जालमा प्रतिस्पर्धा आख्यानहरु र डिजिटल सुरक्षाजस्ता प्रश्नहरुबाट आगतको निष्कर्ष निर्माण गर्ने प्रयास गर्नु ती गोष्ठिहरुको उद्देश्य थिए । ज्ञान निर्माणको यो प्रक्रियाको केन्द्रमा डिजिटल प्रौद्योगिकीसँग अन्तरसम्बन्धित मुद्दाहरुलाई बुझ्नु र त्यसमाथि चर्चा गरेर हाम्रो आन्दोलनको लागि अध्ययन कक्षाहरु सञ्चालन गर्नु थियो । हामीले केवल शोधार्थी र विशेषज्ञहरुको विश्लेषणको आधारमा होइन, बरु डिजिटल प्रौद्योगिकिहरुको अध्ययनमा समर्पित अन्य सङ्गठनहरुको ज्ञानको आधारमा यी मुद्दाहरुमा आएका पृथक–पृथक दृष्टिकोणहरुलाई जम्मा गरेर निम्नतम् समझदारी बनाउन ती माथि छलफल ग¥यौं ।
यो लेख उक्त सामूहिक प्रक्रियाबाट निकालिएको सामान्य ज्ञानको परिणाम हो । वर्गसङ्घर्षको दृष्टिकोणबाट प्रविधिको परिवर्तनहरु र त्यसको सामाजिक परिणामहरुलाई बुझ्नु हाम्रो उद्देश्य हो । यो विषयमा वृहद बहस गर्नु वा निष्कर्ष निकाल्नु यो लेखको परिधि बाहिरको विषय हो । बरु यो लेख ती विषयहरुलाई बुझ्ने पहिलो प्रयास हो जसमा यो बुझ्ने प्रयास गरिएको छ कि डिजिटल प्रौद्योगिकीहरु पुँजी सञ्चयको दिशामा कसरी काम गर्छन । प्रौद्योगिकी र पुँजीवाद
पुँजीवादी समाजमा वस्तुहरुको उत्पादन, वितरण र उपभोगको तरिकालाई बदल्नको लागि प्रौद्योगिकी (प्रविधि उद्योग) एउटा असाधारण उपकरण हो । प्रौद्योगिकी निष्पक्ष छैन । न त यो सामाजिक संरचनाहरुबाट पृथक छ । तर यो मानव श्रमद्वारा निर्मित संसारमा काम गर्छ जबकि एउट पुँजीवादी समाजमा– सम्पतिवालाको मुनाफामा केन्द्रित छ । प्रमुख विचारधाराले हामीलाई के सिकाउँछ भने प्रौद्योगिकी र विज्ञानको विकास एउटा लगातार चल्ने कठोर प्रक्रियाबाट हुन्छ र पुँजीवादको आगमन यो प्रक्रियाको शिखर हो । मानवता यस्तो प्रणालीगत अवस्थामा पुगेको छ जो हरेक वस्तुको उत्पादन सबैभन्दा राम्रो र सबैभन्दा कुशल तरिकाले गरिन्छ । प्रौद्योगिकीले विशिष्ट ऐतिहासिक र साँस्कृतिक सन्दर्भहरुमा श्रम र सामाजिक सम्बन्धहरुबाट उत्पन्न हुन्छ ।
श्रमको सामाजिक सङ्गठनबाट प्रौद्योगिकीको विकास हुन्छ । ठूला–ठूला प्रविधिको विकास असाधारण व्यक्तिहरुको दिमागको उपज मात्र हुँदैन । बरु सामूहिक ज्ञान र रुचिहरुको उत्पादन हुन्छ । ती ज्ञान र रुचीहरु जो जीवनको उत्पादन र पुनरुत्पादनहरु र सामाजिक सम्बन्धहरुसँग जोडिएका हुन्छन । जुन उत्पादन र पुनरुत्पादनका यी रुपहरुद्वारा निर्धारित पनि हुनेगर्छ र अरु पक्षलाई प्रभावित पनि गर्दछ । जसरी पुँजीवादी समाज अक्सर ती ज्ञान तथा प्रविधिहक र प्रौद्योगिकीहरुको उत्पादन गर्दछ । जसले यसको प्रकृति र अन्तरविरोधहरुलाई व्यक्त गर्दछ । जे छ त्यसलाई विनियोजित गर्ने समाज र वास्तविकतालाई आफ्ना आवश्यकताहरुको अनुरुप ढाल्ने कोशिस गर्दछ । यसले आफैले उद्योग र आफ्नो मेशीनहरु निर्माण गर्दछ, जुन अनिवार्य छैन कि मानव विकासको लागि सर्वश्रेष्ठ होस् । परन्तु जुन निश्चित रुपमा पुँजी सञ्चयको प्रक्रियाको लागि सबैभन्दा कुशल हुनेगर्छ ।
पुँजीवादी उत्पादन श्रमको शोषणमा आधारित हुन्छ । त्यसकारण आफ्नो प्रविधिको उपयोग उत्पादन प्रक्रियालाई नियन्त्रण गर्न गर्छ । मानव श्रमको स्वभाविक लयलाई आफ्नो यन्त्रको एउटा भागको रुपमा निर्देशित गर्दछ । त्यसैगरी पुँजीपतिहरु अरु क्षेत्रका आर्थिक क्षेत्रसँग स्थायी प्रतिस्पर्धामा रहन्छन् । उत्पादक क्षमतालाई केन्द्रीकृत गरेर उसमाथि आफ्नो वर्चस्व कायम गर्न चाहन्छन् । परिणामस्वरुप, गरिबी र समस्याग्रस्त जनताद्वारा उपयोग गर्न सक्ने उत्पादनहरुको संख्या बढ्छ र यो प्रक्रिया बढ्दै जान्छ ।
वर्गिकृत समाजको सामाजिक सन्दर्भमा उत्पन्न हुने भएको हुनाले प्रौद्योगिकी निष्पक्ष हुँदैन । जबकि सम्पत्तिले धारक वर्गलाई सेवा गर्ने गर्दछ । सूचना र सञ्चार प्रौद्योगिकी एउटा व्यापक प्रक्रियाको प्रविधि र प्रौद्योगिक अभिव्यक्ति हो । पुँजीवादी व्यवस्थाको विशेष चक्रिय र संरचनात्मक सङ्कट नयाँ प्रौद्योगिकीहरुको उद्भवको लागि उपयुक्त भौतिक अनुकूलता सृजना गर्दछ । सूक्ष्म विद्युतीय क्रान्ति (Micro electricital revolution) बाट एकातिर विश्व स्तरमा मानव सञ्चार प्रभावित भयो र अर्कोतिर पुँजीको अभूतपूर्व गतिशिलताको भावभूमी पनि बन्नगयो । कम्पनीहरुले एकपटक पुराना कारखानाहरुलाई ध्वस्त गरेर त्यसलाई धेरै देशमा एकै पटक स्थापना गर्न सक्षम भए । सूचना प्रौद्योगिकी र मानकीकरणको माध्यमबाट सम्पूर्ण विश्वमा निश्चित समयभित्र उत्पादन प्रक्रियाहरु र वित्तीय लेनदेनलाई समन्वय गर्न लागे । नयाँ प्रौद्योगिकीहरुले उत्पादन प्रक्रियाहरुको बाह्यस्रोत (Outsourceing) र वस्तुहरुको सञ्चालनको साथसाथै श्रमिक वर्गलाई विखण्डन गर्न वातावरण बनायो । जुन आज श्रमको ठेक्काकरण र अधिकारहरुको प्रत्यावहन (फिर्ता)को रुपमा व्यक्त भइरहेको छ । उत्पादनलाई स्थानान्तरित गर्ने यो क्षमताको कारणलाई श्रमिकहरुको सम्झौता गर्ने र थप शक्ति प्रदान गरेको छ । यसभन्दा अगाडि मजदुरहरु विशाल औद्योगिक प्रतिष्ठानमा केन्द्रित हुन्थे र सङ्गठित हुनेगर्थे । उनीहरु अब भने पृथक–पृथक स्थान र पदहरुमा विभाजित भएका छन् । सूक्ष्म–विद्युतिय उपकरण र कम्प्युटरको आधारमा विकसित सूचना र सञ्चार प्रौधोगिकीहरु ठूलो परिमाणमा सैन्य प्राथमिकताको उत्पादनमा लगाइन्थ्यो । जुन कालान्तरमा पुँजीवादी सञ्चयको विस्तारको लागि नागरिक क्षेत्रमा विस्तार भयो । आफ्नो सैन्य शक्ति विस्तारको लागि अमेरिकाले सरकारी संस्थाहरु, विश्वविद्यालयहरु र निजी उद्यमहरुको माध्यमबाट सामूहिक प्रयासहरुलाई सङ्गठित, समन्वित र समर्थित गरियो र शित–युद्धको सिलसिलामा लाडिएको अन्तरिक्ष युद्धले पनि तकनिकी विकासलाई प्रोत्साहित ग¥यो । जुन आज पनि निरन्तर अन्तरिक्ष अन्वेषणको माध्यमले जारी छ ।
सरकारहरु केवल नयाँ बजार बनाउने प्रौद्योगिकीहरुको विकासको लागि महत्वपूर्ण हुँदैनन्; नयाँ क्षेत्रमा प्रतिस्पर्धा गर्ने वा बजारहरुको विस्तारको समर्थन गर्नको लागि पनि प्रविधिको विकास गर्न आवश्यक हुन्छन् । उच्च –प्रविधि भएका कम्पनीहरु आफ्नो देशका सरकारहरुसँग एकाकार हुन्छन् र संरचनात्मक रुपबाट सरकारद्वारा सञ्चालित प्रणाली माथि भरपर्छन् । यी प्रणालीहरुको केन्द्रीय उद्देश्य मौलिक रुपले सैन्य गतिविधिसँग जोडिएको छ । आईसीटी उद्योग उत्तरी गोलार्धका देशहरु र कम्पनीहरुको नियन्त्रणमा स्थापित भएका थिए । यथार्थमा, अन्तर्राष्ट्रिय निगमहरुले प्रविधि आधारको नियन्त्रण र विकाससँग उत्पादक प्रक्रियाहरु र उच्च मूल्य वर्धित सामानहरुमा आफ्नो बर्चस्व बनाएका छन् । जसबाट लाभको ठूलो ‘मार्जिन’ सुनिश्चित होस् र सैन्य तथा निगरानी गतिविधिहरुको उपयोग गरेर उसले आफ्नो आधिपत्य सुरक्षित राख्न सकियोस् । त्यसकारण ठूला प्रौद्योगिकी निगमहरु (जस्तै गुगल, एप्पल, फेसबुक, अमेजन, माइक्रोसफ्ट आदि) जसलाई सामूहिक रुपबाट सर्वत्र ठूला प्रौद्योगिकी कम्पनीहरु वा उच्च प्रविधि भन्ने गरिएको छ । तिनीहरुको पुँजी सञ्चय कसरी भएको छ भन्ने बुझ्नुपर्छ । यी निगमले वर्तमान आर्थिक समस्याहरु समाधानको रुपमा स्वयं आफूलाई प्रस्तुत गर्दछन । यो सङ्कटको समयमा पुँजीवादले प्रौद्योगिकीलाई आफ्नो हितमा कसरी प्रयोग गर्छ र निर्देशित गर्छ भन्ने बुझ्न सकिन्छ । परन्तु त्यो उसको समाधान नभएर सङ्कटको लक्षण हो । यद्यपि यी निगम उनीहरुद्वारा प्रयोग हुने प्रविधिहरुको स्तर र परिष्कारको सन्दर्भमा अगाडि हुन्छन् । यिनीहरुले ती कामहरुलाई ठेक्का प्रथामा बदलेर अधिकारहरुलाई खारेज गरेर, प्राकृतिक संसाधनहरुको दोहन गरेर, पुँजीको केन्द्रीकरण गरेर, सार्वजनिक संस्थानहरुलाई निजी निगम घरानाको पाउमा चढाएर तथा पुँजीवादद्वारा निम्त्याइएका सङ्कटहरुको लागि पुँजीवादी संसाधनहरुका विशिष्ट प्रक्रियाहरुद्वारा मानव समाजलाई पछिल्तिर धकेलिरहेको छ ।
समकालीन पुँजीवादको अभिव्यक्तिको रुपमा प्रौद्योगिकी कम्पनीहरुको उदय वैचारिक आक्रमणको रुपमा यही कारण भएको छ । जसको जरोमा व्यक्तिवाद तथा अन्तरप्रेरणालाई प्रोल्साहित गर्नु, राजनीतिलाई अस्विकार गर्दै तठस्थ रहने उपदेश दिनु र यस्तै अनेक मिथकहरु तयार गर्नु रहेको छ । जसले सञ्चारको भूमिकामा आएर प्रमुख वैचारिक दलालको भूमिका निर्वाहसमेत गर्दै अझ बलशाली हुँदै गएको छ । यिनै सामाजिक मिथकमा ‘भर्चुवल विश्व’ एउटा मिथक हो । जसलाई समानान्तर रुपले वास्तविक संसारको रुपमा पेश गरिएको छ । साईबर स्पेस, भूमन्डलीकृत गाउँ, भर्चुवल विश्व, वैश्विक वेभ, दूत–राजमार्ग, मेटावर्स आदि नामबाट छोपछाप गरेर प्रस्तुत गरिएको छ । जसमा सबै समान पहुँचमा रहन्छन भनेर प्रचार गरिएको छ । जसमा सबैको पकड होस्, सबैको आवाज सुनियोस् र सबै मान्छेले सामाजिक जीवनमा भाग लिन सकुन र त्यसलाई प्रभावित गर्न पनि सकुन । उक्त भर्चुवल विश्वमा नेटवर्क र प्रौद्योगिकीहरु निष्पक्ष छन् र त्यसको एकमात्र लक्ष्य ठूला प्रौद्योगिकी कम्पनीहरुको नारा ‘समस्याको समाधान गर्नु र मान्छेलाई आपसमा जोड्नु’ जस्तै रहेको छ । तर त्यस पृष्ठभागमा लगातार ठूलो संख्यामा तथ्याङ्क विश्लेषक र वैज्ञानिकहरुले काम गरिरहेका हुन्छन् । जनताको बिचमा निश्चित राजनीति स्थापित गर्ने मेहनत गरिरहेका हुन्छन् । हामीसँग डिजिटल असमानता र अधिकांश जनतासँग अब वास्तविक समस्याको विषयमा सोच्ने समय पनि रहन्न । मान्छेलाई यो दिशामा मोड्न कठिन भएको छ ।
एउटा यस्तो स्थान जहाँ प्रयोगकर्ताहरुद्वारा उत्पादित ‘डेटा’ स्थायी रुपमा प्राप्त हुन्छ, त्यसलाई ‘क्लाउड’ शब्दको बारम्बार उपयोग गरे उक्त विचारलाई पुष्टि गरिन्छ । जसलाई जादूमय ढङ्गले लोकतान्त्रिक तथा सार्वभौमिक मापदण्डहरुले व्यवस्थित गरिएको हुन्छ । परन्तु त्यसको यथार्थ अर्कै हुन्छ । वास्तवमा ‘क्लाउड’ वास्तवमा एउटा विशाल, अत्यन्त ठोस र बहुप्रौद्योगिकी संरचना हो । यो मुख्य रुपबाट अमेरिकी प्रतिष्ठानहरुमा रहेको अत्यधिक केन्द्रीकृत र एकाधिकारवाला ‘सर्वरहरु’को एउटा समूहद्वारा बनेको छ जहाँ प्रयोगकर्ता ‘डेटा’को सम्बन्धमा कुनै पनि लोकतान्त्रिक वा सार्वभौमिक ढोङभन्दा बढी राजनीतिक र फाइदा दुवै हितअनुकूल चल्दछ । त्यसबाहेक यी ‘सर्वरहरु’ अत्याधिक मात्रामा ऊर्जा र प्राकृतिक संसाधनहरुको उपयोग गर्छन् । त्यसैगरी ‘आर्टिफिशियल इन्टेलिजेन्स’ एउटा यस्तो शब्द हो जसको प्रयोग अक्सर यस्तो सफ्टवेयरको लागि गरिन्छ जो कैयौं प्रकारका जटिल गणितीय कार्यहरुसहित ठूला ‘डेटा’को विश्लेषण र प्रोसेसिङ्ग गर्दछ । यो शब्दले उक्त प्रविधिलाई निष्पक्ष देखाउँछ । यस्तो लाग्छ एउटा स्वतन्त्र यन्त्रले ‘सोचेर’ निर्णय गरिरहेको छ । परन्तु, यो सफ्टवेयरद्वारा निर्माण गर्ने इकाईद्वारा निर्माणकर्ताको योजना अनुसार काम गरिरहेको हुन्छ ।
विशाल प्रौद्योगिकी कम्पनीहरुसँग सम्बन्धित अर्को मिथक ‘आन्त्रप्रेन्योर जस अनुसार ‘स्व–निर्मित व्यक्ति’को पुरानो कथा नयाँ रङ्गमा प्रस्तुत गरिएको छ । यो कथामा सफलताहरुलाई मात्र व्यक्तिगत प्रयास र कौसलताको परिणामको रुपमा हेरिन्छ । यस्तो मिथकले सामान्य काम गर्ने प्रतिभाशाली व्यक्तिहरु मूलतः कुशल स्वेत पुरुषहरुको छवि प्रस्तुत गर्ने गर्दछ । जसले आफ्नो क्षमताको बलमा संसारमा क्रान्ति ल्याउँछ र आफ्नो व्यक्तिगत क्षमताको कारण अर्बपति बन्छन् । स्टीव जाब्स, बिल गेट्स र मार्क जुकरबर्गजस्ता मान्छे व्यापारिक गुरु र प्रेरित गर्नसक्ने प्रशिक्षकको दर्जा प्राप्त गर्छन् । त्यसै गर्नसक्ने अवसर सबैको लागि प्राप्त थियो; यदि उनीहरुसँग एउटा राम्रो विचार र धून हुन्थ्यो भने । ती व्यक्तिहरुले हावर्ड विश्वविद्यालय, स्टेनफोर्ड, प्रिन्सन, एमआईटी र कैलटेकजस्ता विश्वकै उत्कृष्ट संस्थानहरुमा अध्ययन गरेका थिए भन्ने कुरा भने प्रचार गरिन्न । औपचारिक रुपमा ती शैक्षिक संस्थाहरु निजी हुन् । परन्तु ती सबै सार्वजनिक लगानी र प्रमुख सार्वजनिक नीतिहरुको साथसाथै नागरिक तथा सरकारी सैन्य विभागहरुबाट बजेट लिएर चल्छन् । यिनीहरुले विश्वका कुनाकुनाका देशहरुमा रहेका उत्कृष्ट दिमाग र ज्ञानलाई एकीकृत गर्नसक्ने नीतिहरुको सहारामा काम गर्छन् । त्यही विचारधाराको माध्यमले इन्टरनेटको वित्तीय पुँजी र शेयर पुँजी कम्पनीको निर्माणार्थ र विस्तारको लागि करोडौंको लगानी गरिन्छ । आपना अनुसन्धानहरु बेच्ने ती व्यक्तिहरुको छवि ‘सून्यबाट उठेको छवि’ भनेर प्रस्तुत गरिन्छ । तर उनीहरुसँग करोडौं डलरको लगानीमा पकड थियो भन्ने कुरालाई छोपछाप पारिन्छ । जुन पुँजी सार्वजनिक संसाधनहरुको सहाराले सार्वजानिक रुपबाट विकसित सार्वजनिक ज्ञान र सार्वजनिक प्रौद्योगिकीको निजी सञ्चयबाट सोहोरिएको (Collected) गरिन्छ । जुकरबर्गलाई फेसबुक शुरु गर्नको लागि ५ लाख अमेरिकी डलर प्राप्त भएको थियो, त्यो केवल कुलिन वित्तीय संस्था र शेयर पुँजीसँग उनको सम्बन्धको कारण नै सम्भव भएको थियो । उनीहरुको लागि जनताको अनिवार्य आवश्यकता हुने कैयौं क्षेत्र उनीहरुको लागि आवश्यक हुँदैनन् । यस्तो वित्तीयकरणको भौतिक आधार श्रम–शोषण हो । प्रौद्योगिकी श्रमिकहरुलाई अधिक उत्पादक बनाइन्छ । र उनीहरुलाई मानव–यन्त्रमा बदलिन्छ (माक्र्सको शब्दमा यसलाई अचल पुँजी भनिन्छ) । जसले उनीहरुको व्यक्तिगत क्षमता र मूल्यलाई नव–निर्मित वस्तुमा बदल्छ । कुनै पनि अर्थव्यवस्था जतिधेरै वित्तीयकरण हुन्छ, त्यति नै धेरै उत्पादक क्षेत्रमा दबाव पर्दछ र व्यक्ति नै धेरै श्रमिकहरुको शोषण हुनेगर्छ । जसको माध्यमबाट शेयर बजारमा भएको उपकरणको क्षतिपूर्ति गर्न सकियोस् ।
वित्तीयकरण
वित्तीय पुँजी र आईसिटीको समायोजन ती उद्योगहरुको वित्तपोषण र स्वामित्वको माध्यमले मात्र भएको होइन । वित्तीय विनिमयको कमी (जुन नवउदारवादको विशेषता नै हो र स्मार्टफोनको माध्यमबाट कनेक्टिभिटीले वित्तीय प्रविधि (Financial Tecenic)को उद्भवलाई सम्भव बनाएको थियो । यी यस्ता कम्पनीहरु हुन् जसले डिजिटल वित्तीय उत्पादनहरुलाई विकसित गर्न र मुख्य रुपमा ‘डिजिटल पेमेष्ट प्लेटफर्म’को निर्माणमा केन्द्रित गर्छन् । किनकी अनलाइन खरिद–बिक्रिलाई सञ्चालित गर्न सकियोस् र वित्तीय प्रणालीमा ‘बैंकिंग प्रणालीमा नजोडिएका’ अरबौं मान्छेलाई समावेश गर्न पनि सकियोस् ।
विश्वबैंकको अनुमान अनुसार विश्वका १.७ अरब मान्छेको बैंक खाता छैन । यी मान्छेहरुमध्ये धेरैजसो गाउँमा बस्छन् । उदाहरणको लागि, ल्याटिन अमेरिकामा ५०–७० प्रतिशत बासिन्दासँग बैंकसँग पहुँच छैन । परन्तु हालैका दिनहरुमा यो क्षेत्रमा वित्तीय व्यवसायको आकार तीन गुणाले वृद्धि भएको यथार्थमा आश्चर्य मान्नु पर्ने छैन । अरबका १.१ अरब मान्छेसँग मोबाइल फोन छ तर १.७ अरब मान्छेसँग बैंक खाता छैन । विनिय प्रविधिको लागि बैंक खाता वा एक निश्चित ठेगाना हुनुपर्ने बाध्यता छैन । न त न्यूनतम् आय वा विभिन्न प्रकारको शुल्क नै अनिवार्य छ । त्यसको लागि केवल एउटा मोबाइल फोन र इन्टरनेट सेवा भए पुग्छ । यसको अर्थ के हो भने सबैभन्दा विपन्न बसोबासको नै यस्तो अवस्था रहन्छ ।
चीनको वित्तीय प्रविधि पनि भूमण्डलीकृत परिधिको बैंकिङ्ग बजारमा प्रतिस्पर्धा गरिरहेको छ । हुवावे कम्पनीले अफ्रिकामा स्थानिय ‘अपरेटरुसँगको सहकार्यमा सुरक्षित सेवाहरु, ऋण, प्रेषण र यतिसम्म कि केन्या र इथियोपियामा बिमा दिने कार्यसमेत गरेको छ । त्यसैगरी अर्बपति तथा बेइजिङ कुनलुन प्रविधिका संस्थापक झोउ याहुईले केन्याको मोबाइल प्रणाली मार्फत् ऋण लगानी गर्ने कार्यमा संलग्न छ । अफ्रिकामा सबैभन्दा ठूलो मोबाइल बिक्रेता कम्पनी ट्रान्शनको मुख्यालय सान्जेनमा छ । जसले नाइजेरिया र घानामा एउटा अर्को संस्थामा लगानी गरेको छ । जबकि अलिपे अलिबाबा समूहको अंशियार हो । जसले दक्षिण अफ्रिकाको लागि एउटा अर्को ‘सुपर एप’ विकास गरेको छ । व्यापारिक खुद्रा क्षेत्र एउटा अर्को क्षेत्र हो जसमा आईसिटी र वित्त–पुँजी संयुक्त रुपमा काम गर्छन् । २ हजारको दशकको मध्यमा पहिलो सार्स–कोव महामारीको समयमा अलिबाबा र ट्रेन्सेन्टजस्ता कम्पनीहरुको उदयको साथ विद्युतीय व्यापारको विस्तार भयो । यो आजको विशाल खुदा विक्रेता हो ।
कोरोना (Grvid–19) महामारीभन्दा अघि ल्याटिन अमेरिकामा उच्च गरिबीको कारणले होस् वा बैंकहरु र ‘कनेक्टिभिटी’सम्म पकडको कमीले होस इन्टरनेट व्यापारवाई कम अपनाउने क्षेत्रमध्ये पर्दथ्यो । अमेरिकी बैंक गोल्डमेन सक्सले भनेको थियो कि ‘यो महामारीको क्रममा २ हजारको दशकमा चिनियाँ इलेक्ट्रोनिक व्यापार घटना पुनः ल्याटिन अमेरिकाको सन्दर्भमा प्रकट हुनसक्छ । सार्स (Sarcs –
Covid 19)भन्दा अगाडिको समयमा चीनको इण्टरनेट व्यापार (E-commerce)मा तीब्र विकास भएको थियो । त्यसबेला कैयों अनलाइन बिक्रीका मञ्चहरुको उदय भयो । त्यसमध्ये एउटा अलिबाबा थियो । जुन आज यो क्षेत्रमा संसार कै सबैभन्दा ठूलो खुद्रा बिक्रेतामध्ये एउटा बन्न गएको छ । चीनमा अनलाइनमा खरिद गर्ने चलन बढ्दै गएको छ । गोल्डम्यान सेक्सको आँकलन अनुसार व्याटिन अमेरिकामा पनि यो प्रवृत्ति बढ्दै जानेछ । गोष्ठिमा यो विषयमा सङ्केत गर्दै सोधार्थी लारिसा पैकरले सङ्केत गरे कि ल्याटिन अमेरिकामा २०२०मा मध्यस्त्ता (ट्रान्जिक्शन)को संख्या र नयाँ उपभोक्ताहरुमा ५० प्रतिशतको बृद्धि भएको छ । जसको कारण अनलाइन खुद्रा विक्रेताको मासिक राजस्व बृद्धि ५ सय प्रतिशत देखिन्छ । जुन अब १.९ करोड अमेरिकी डलरबाट बढेर १२ करोड अमेरिकी डलरको व्यापार भएको छ । उदाहरणको लागि, कोलम्बियाली कम्पनी रेप्पीको आकार केवल ६ महिनामा दोब्बर भएको छ ।
प्रकृतिको विरुद्ध विशाल प्रौद्योगिकी कम्पनीहरु
कोराना महामारीको कारण एकातिर, वस्तु र सेवाको मूल्यमा फाटो आयो भने अर्कोतिर, डिजिटलीकरण प्रक्रियालाई तीव्र बनायो । महामारीले औद्योगिक आधारको ठाउँ र शहरी उद्योग तथा निष्कर्षण तथा कृषि उद्योगहरु दुवैमा उत्पादन र वितरणको तरिकामा प्रौद्योगिकीको गहन प्रयोगलाई बढोत्तरीसमेत गरेको छ । काम गर्ने र फुर्सदको समय, उत्पादक तथा प्रजनन श्रम, काम गर्ने र फुर्सदको समय बिताउने बिचको भेदलाई अझ गहिरो बनाएको छ ।
महामारीको समयमा कृषि व्यवसाय, कृषि क्षेत्रका ठूला कम्पनीहरु, प्रौद्योगिकी क्षेत्रका ठूला कम्पनीहरु र यी वित्तीय कम्पनीहरुको बिचमा विलय, अधिग्रहण र सम्झौतामा बढोत्तरी भएको छ ।
यो नयाँ आधारभूत ढाँचाको कारण यी नायक फेरि सङ्गठित भएको छ र यो व्यापार भविष्यमा समाजलाई एकाधिकारतिर लैजानेछ । जहाँ सीमित प्रतिस्पर्धा हुन्छ त्यहाँ उत्पादक वा विक्रेतामा विकल्पहरु कम हुन्छन् त्यसप्रकारको पुनःसङ्गठनमा कृषि व्यवसायका लगभग सबै चरणहरुबाट ठूलो परिणाममा तथ्याङ्कहरु जुटाउनु पर्ने हुन्छ । त्यसको अतिरिक्त यो पुनर्गठन एकातर्फ सार्वजनिक सूचनाहरुको उपलब्धता घटाएर र सार्वजानिक सेवाहरुको लागि निजी ठाउँ (Plate form) तथा उच्च प्रविधि, पूर्वाधारको आपूर्तिमा वृद्धि गरेर सार्वजनिक सेवाहरुको अनिश्चितालाई अझ गरि¥याउँदछ । त्यसले स्पष्ट रुपमा देशहरुको निर्णय क्षमतालाई कमजोर बनाउँदै लैजान्छ । जोन डिरे र बान्श कम्पनीहरुको ट्रयाक्टर र यन्त्रहरुको क्षेत्रमा प्रभुत्व छ । जबकि बन्दोबस्तीका सामान र विक्रीमा कारगिल, अर्चर डेनियल, बुई ड्रेफस र बन्जको बर्चस्व छ । तथापि वालमार्च, अलिबाबा र अमेजन आदि ठूला खुद्रा बिक्रेता हुन् ।
प्रौद्योगिकीहरुले आफ्नो क्षेत्रका ठूला कम्पनीहरुसँग एकीकरण गर्दैनन् । मूल्य–श्रृङ्खलाको आधारमा सम्बन्ध बनाएर कृषि क्षेत्रमा पलायन गराइरहेका छन् । यी कम्पनीहरुले खेतबारीदेखि उपभोक्तासम्म अब शोषित र पुनर्गठित गर्ने क्षमतालाई दर्शाउँछन् । प्राकृतिक परिदृश्य र संसाधनहरुको क्षेत्रमा र आनुवंशिक अनुक्रमणको क्षेत्रमा धरतीको डिजिटलीकरण प्रवृत्ति निरन्तर तिब्ररुपमा बढिरहेको छ । उदाहरणको लागि, माइक्रोसफ्टले संसार भरिका अनुवंशिक बैंकलाई डिजिटल बनाउने उद्देश्यले आधारभूत स्वरुप प्रदान गर्न संसारका जर्मप्लाज्म केन्द्रहरुसँग साझेदारीको काम गरिरहेको छ । सन् २०१८मा डाबोसमा भएको विश्व आर्थिक मञ्चको बैठकको अवसरमा ओमेजन ‘डेटा बैंक’ बहुपरियोजना शुरु गरिएको थियो । जसको उद्देश्य पृथ्वीभरी बिऊ, बिरुवा, जनावरहरु र विभिन्न प्रकारका एक–कोशिय जिवहरुको अनुक्रमणसँग सम्बन्धित सूची र पेटेण्ट जानकारीलाई सूचीबद्ध गर्नु थियो । यसको अर्थ बैंक अफ कोड्स कार्यक्रमको केवल पहिलो चरण हो ।
औपनिवेशिक विशेषताहरुको साथ हाम्रो समय एकाधिकार बजार बढ्दै गएको छ । अन्तर्राष्ट्रिय निगम मुख्य रुपबाट उत्तरी गोलार्धका देशहरुमा केन्द्रित छन् । दक्षिण गोलार्धका कच्चा पदार्थ कब्जा गर्नको लागि लामो समयदेखि विज्ञान र प्रौद्योगिकीमा लगानी गरिरहेका छन् । उनीहरु सधैं आफैलाई पेटेण्ट र बौद्धिक सम्पदा अधिकार दिने गर्छन । यो प्रविधिमा भएको वृद्धिको कारण खनिज र उर्जाको अन्य कच्चा पदार्थ (लिथियम, फलाम तामा र पृथ्वीका अन्य दूर्लभ धातु)को माग पनि बढ्छ । त्यसको आपूर्तिको सुनिश्चित्ताको लागि श्रमको अन्तराष्ट्रिय विभाजनलाई अझ आक्रामकतासहित सङ्गठित गरिन्छ । उदाहरण, बोलिभियामा २०१९को सत्ता–विद्रोह प्रत्यक्षत व्यहाँको लिथियम भण्डारसँग सम्बन्धित थियो । जुन संसारका ठूला लिथियम भण्डारण मध्ये एक थियो ।
ग्रामिण पूर्वाधारमा पनि पुनर्गठन भइरहेको छ । सिन्जेन्टा, लेयर र बिएएसएफ जस्ता कम्पनीहरुले कृषि सफ्टवेयर र डिजिटल मञ्च विकसित गरेका छन् । जसले उत्पादकलाई कृषि सूचना प्रदान गर्नको लागि मोबाइल फोनमा जोडेका हुन्छन् । आज ‘आर्टिफिसियल इन्टेलीजेन्स’ जटिल ट्याक्टर बनिरहेका छन् । जसले माटोको गुणस्तर, संरचना र रोप्नको लागि अनुकूल स्थान तथा वर्षको सबैभन्दा राम्रो मौसम आदिको विषयमा जानकारी सङ्कलन गर्दछ । किसानहरुले आफ्नो मोबाइलबाट आफ्नो सूचना राख्न पनि सक्छन् । यस्ता सूचनाहरु प्रविष्ट गराउनु कुनै समस्या पनि होइन । किनकी अर्को कुनै सामाजिक व्यवस्थामा यस्ता सूचनाको उपयोग किसानहरुले आफ्नो काममा उपयोग गर्न सक्छन । परन्तु एउटा पुँजीवादी व्यवस्थामा यस्ता सूचना ठूला कम्पनीद्वारा स्वयंको लाभको लागि प्रयोग गरिन्छ । यी कम्पनीहरुसँग केवल सफ्टवेयर हुन्छ, हार्डवेयर हुँदैन । जबकि जोन डिरे र लान्सजस्ता ठूला कम्पनीहरुसँग हार्डवेयर पनि छ । जसले आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटीकरण विकसित गरिरहेका छन् । यसको परिणाम रोबोटिक ट्याक्टर, सेन्सर, ड्रोन आदिको रुपमा प्रकट भइरहेको छ ।
पेटेन्टहरु र कृषि व्यवसायका ठूला कम्पनीहरुद्वारा उत्पादित सूचनाहरुलाई ठूला प्रौद्योगिकी कम्पनीहरुको डिजिटल पूर्वाधारमा सङ्ग्रहित गर्नुपर्ने आवश्यकता हुन्छ । त्यसको लागि माइक्रोसफ्टसँग क्लाउड र एज्योर छन् । एप्पलले कृषिको लागि ‘एप्पल वाच’ विकसित ग¥यो र किसानहरुको लागि ‘रिजोल्यूशन एप’ बनायो । ओमेजनले ग्रामिण क्षेत्रको लागि ‘एमेजन वेभ’ सेवामा एउटा भण्डारण फङ्सन बनाएको छ । फेसबुकले किसानको लागि एउटा डिजिटल परामर्शदाता एप बनाइरहेको छ । गूगलसँग संयुक्त राष्ट्र खाद्य र कृषि सङ्गठनको लागि बनाइएको गुगल अर्थको एउटा संस्थागत संस्करण छ आदि । यी सेवाहरुको प्राथमिक उपभोक्ता तिनीहरु हुन् जो वस्तु निर्यात बजारमा ठूला कृषि उत्पादक हुन् । ५० करोड किसान परिवारसँग व्यस्ता नयाँ कृषि प्रविधि प्रयोग गर्ने साधन छैन । हो, उनीहरुसँग मोबाइल छ, जसबाट अन्य किसानहरुबाट स्वतंन्त्र रुपले प्रविष्ट गराइएका सन्देश र हवाट्स एपको माध्यमबाट कृषिसम्बन्धी सूचना प्राप्त गर्न सक्छन् । विशाल मात्रामा डेटा निकाल्ने यो प्रक्रियामा धेरैजसो साना किसानहरुलाई उनीहरुको मोबाइलमा यो अवसर ‘निशुल्क’ उपलब्ध छ ।
उपर्युक्त परिस्थितिमा वित्तीय प्रविधि, उच्च प्रविधि र कृषिका ठूला कम्पनीहरुको एकीकरणको मुद्दा चर्चामा आउँछ । केन्यामा युरोपीय टेलीफोन कम्पनी बोगफोनसँग सम्बन्धित एउटा कम्पनी अरिफू एसएमएस र ह्वाट्स एपको माध्यमबाट कृषि परामर्श प्रदान गर्दछ । अरिफूको सिनजेन्टा र डिगफार्मसँग साझेदारी छ । जसबाट सिन्जेन्टालाई त्यहाँको बीऊको विषयमा जागरुकता बढाउनमा सहयोग हुन्छ । जबकि डिगफार्म केन्याली किसानहरुलाई माइक्रो–क्रेडिट प्रदान गर्दछ । डिजिटल मञ्चका संरचनाहरुले यसरी एकीकरणलाई सम्भव बनाउँछन् । यिनीहरुले थोरै मात्र शुल्क लिन्छन् । लगानी सुरक्षित गर्छन् र डिजिटल मुद्राको प्रयोगलाई अनुमती दिन्छन् । परन्तु आर्टिफिसियल इन्टेलिजेन्स र एल्गोरिदम निगमहरुलाई निशुल्क सल्लाह दिन सक्षम बनाउनको लागि साना किसानहरुको भूमिकालाई उनीहरुको विदेशी बिऊको विविधतासहित कसरी ‘अध्ययन’ गर्न सकिन्छ ? भन्ने उपाय ठूलाठूला चक्लाबन्दी र मोनोकल्चरको लागि काम गर्छन् । साना किसानहरुलाई यस्ता प्रविधि बेचेर यसमा संलग्न गर्न सकिन्न तर यस्ता ‘प्लेटफार्म’हरुद्वारा उपलब्ध गराइएका माइक्रोक्रेडिट र डिजिटल मुद्राहरुको माध्यमबाट उनीहरुलाई यो प्रक्रियामा जोड्न सकिन्छ । यसो गर्नको लागि अर्थव्यवस्था र कृषि क्षेत्रमा सरकारी लगानी (सब्ससिडी) घटाउन आवश्यक हुन्छ ।
त्यो अवस्था हालसालै भारतमा देखाप¥यो । जब कृषि बजारमा सरकारको नियमनलाई समाप्त गर्ने (कथित खुबा बजारको हातमा छोड्ने– अनुवादक) ३ वटा कानूनहरुलाई खारेज गर्नुपर्ने माग गर्दै जनवरी र फरवरी २०२१ को बिचमा १० लाख किसानहरुले नयाँ दिल्लीलाई धेरेका थिए । उक्त नयाँ कानूनले किसानको उत्पादनलाई उचित मूल्य भुक्तान गर्ने जिम्मेवारिबाट सरकार पन्छिन सक्थ्यो । बजारलाई फुक्काफाल छोड्ने र नियन्त्रण मुक्त गर्ने वाचा गरिएको थियो । जसमा ठूला खुद्रा र प्रौद्योगिकी निगमले साना खुद्रा विक्रेताहरुको स्थान कब्जा गरेर तिनीहरुलाई सडकमा पु¥याउन सक्छन् । व्यहारतः ती कानूनमा टेकेर विशाल निगम घरानाहरुले कृषि उत्पादन र उपभोगलाई आफ्नो तरिकाले नियन्त्रण गर्न सक्थे ।
प्रौद्योगिकी र काम
डेटा अर्थव्यवस्था र वित्तीयकरणको संयोजनले काम Work)को संसारलाई पनि बदलेको छ । ‘उबेराइजेरान, कामको प्लेटफार्माइजेशन र गिग इकोनोमी’ केही यस्ता शब्दहरु हुन् जसको प्रयोग उच्च प्रौद्योगिकीको युगमा अनिश्चित कामको वर्णन गर्न प्रयोग गरिन्छ । ऊबर र एप डेलिभरी चालकद्वारा आयोजित हडताललाई हेरेर यसको प्रासङिगकता बढेको छ । यी शब्दले जेजस्तो अर्थबोध गरे पनि यथार्थ के हो भने यो क्षेत्रमा दशकदेखि काम भइरहेको छ र तीव्र रुपमा श्रमिकहरुलाई स्थायी रुपले अस्थिर श्रम–सम्बन्धका सेवा–प्रदाताहरुमा बदलिरहेको छ ।
समाजशास्त्री जुडमिला एविलियो (२०१९)का अनुसार यी परिवर्तनहरुलाई आ–आफ्नो देशको परिधिमा हेर्नुपर्छ । ऐतिहासिक रुपले असमान विश्वमा अधिग्रहण श्रम अधिकारहरुको माध्यमबाट कामको औपचारिकता स्थापित गर्नु पनि आदर्श रहेको छैन । बरु हाम्रो संसारमा जीवन औपचारिक र अनौपचारिक श्रम–सम्बन्धहरु, स्वतन्त्र काम र काम नै नठानिने गतिविधिहरुको बिचमा स्थायी असन्तुल पैदा हुन्छ । यस्तो अवस्थामा अनिश्चित्ता वा अनौपचारिकताको कुरा गर्नुको के नै अर्थ रहन्छ ? भन्ने प्रश्न उठ्छ । जसलाई ‘उबेराइजेशन’ भनिन्छ, त्यसले निश्चित परिधिका देशहरुमा जीवनको विशेष तौर–तरिकाहरुलाई विश्वव्यापीकरणको रुपमा बुझ्न सकिन्छ । यी कम्पनीहरु समाजका अन्य स्तरहरुलाई बदल्नको लागि भएका हुन् । मध्यम वर्ग र अस्वेत पुरुष तथा महिलाहरुको जीवनलाई पुनर्गठित गरेर अन्तिममा उत्तरी गोलार्धको दिशामा बाटो सोझ्याउनको लागि आएका हुन् । यिनीहरु पुँजीको संरचनात्मक र ढाँचागत वटव पुन, जहाँ यो वास्तविकता कठिन्य अपवाद भएन र परन्तु, कामको अनोपचारिकता र अनिश्चित्तास आलू पहिलेपहिले भन्दा धेरै गुणा ठूलो नियम बन्न गएको छ ।
हामीले विश्वव्यापीकरणको नवउदारवादी प्रक्रिया गहिरिंदै गएको देखेका छौं । यो प्रक्रियामा श्रमको नियन्त्रण प्रबन्धनका रुपहरुलाई अनभिज्ञ बनाउने उद्देश्यबाट सब्सिडीएरी र आउटसोर्सिङ्गको माध्यमबाट उत्पादनको विकेन्द्रिकरण गरिएको छ । विस्तारै–विस्तारै अन्तर्राष्ट्रिय एकाधिकारवाला कम्पनीहरुले अनौपचारिक कार्यलाई आफ्नो नियन्त्रणमा लिएका छन् । जसले अब कामलाई आफ्नै तरिकाले व्यवस्थित, विनियोजित र परिभाषित गरिरहेका छन् । एल्गोरिदम प्रबन्धनको ‘निष्पनु’ विश्वमा कार्य–समय, कार्य–स्थल वा कार्य–उपकरण कुनै कोणबाट पनि परिभाषित छैन । सबै जोखिम र सम्पूर्ण लागत श्रमिकमाथि थोपरिएको छ । जबकि अस्पष्ट परन्तु अनौपचारिक श्रमिकहरुको तर्कसङ्गत प्रबन्धनको लागि एकदमै प्रभावि केन्द्रीय तरिकाहरुबाट नियन्त्रित गरिन्छ । आश्रित स्व–प्रबन्धनमा आफ्ना स्वयंका सामानहरु, घरहरु, बाहनहरु, सिलाई यन्त्रहरु प्रयोग गरेर काम गर्छन । परन्तु पूर्ण अटोमेशन हासिल गर्ने सपना डिजिटल श्रमको योगदान नभएसम्म सम्भव छैन । भनाइको तात्पर्य के हो भने आर्टिफिशियल इन्टेलिजेन्स र यहाँसम्म कि डेटा उत्पादन गर्ने अदृश्य मानव–श्रम (इन्फर्मेशनको माइनिङ, क्लिनिङ्ग र फार्मेटिङ)को आवश्यकता हुन्छ । दक्षिणी गोलार्धको हजारौं मान्छे उत्तरी गोलार्धका कम्पनीहरुको लागि यन्त्रहरुको काम सिकाउँछन्; जसको लागि उनीहरुलाई सामान्य पारिश्रमिक दिइन्छ ।
लुडमिला एविलियो (२०१९)को भनाई अनुसार जस्ट–इन–टाइम नमूना (Model) को जित भएको छ र हामी यसको साक्षी हुने चरणमा बाँचिरहेका हौं । प्रविधि विकासबाट पुँजीपति श्रमलाई प्रबन्धन कसरी गर्छन् भने अव्यावश्यक हुँदा मात्र त्यसको प्रयोग गरिन्छ । सायद मालको वितरणको स्थानमा श्रमिकहरुद्वारा अनुभव गरिने युद्धको स्थिति नै उनीहकले समकालीन कार्यको तरिकाहरुमा शोषण, उत्पीडन र अधिनताको विरुद्ध विरोध उभ्याउने केही सुझाव दिन सक्छ ।
दुई शक्तिबिच प्रौद्योगिकी
उच्च प्रौद्योगिकीको उदयलाई बुझ्नको लागि हामिले के स्विकार गर्नुपर्न भने वैज्ञानिक र प्रविधि श्रम विश्वव्यापी स्तरमा सङ्गठित हुनेगर्छ । यो सङ्गठन प्रविधि ज्ञानको रणनितिक रुपबाट प्रमुख (Core) देशहरुमा केन्द्रित गर्छन् । जबकि परिधिका देशहरु उनीहरुद्वारा बनाइएको प्रौद्योगिकीमा उपभोक्ताहरुको भूमिका निर्वाह गर्छन् । प्रमुख र परिधिका देशहरु बिचको अन्तर निकै गहिरो छ । सन् २०१५मा अनुसन्धान र विकासमा कुल सार्वजनिक र निजी विश्वव्यापी खर्चमा उत्तर अमेरिका, युरोपिय सङ्घ, चीन, जापान र दक्षिण कोरियाले ८२ प्रतिशत खर्च गरेका थिए । सम्पूर्ण विश्वको करिब सबै वैज्ञानिक र प्रविधि उत्पादनमाथि केवल ३० वटा देशहरुको नियन्त्रण छ । त्यो वर्ष अमेरिकाले खर्च अनुसन्धान र विकासमा ५०२ बिलियन अमेरिकी डलर खर्च ग¥यो । जुन त्यस वर्षको विश्वव्यापी खर्चको २६ प्रतिशत थियो ।
चीनले पनि सूचना प्रौद्योगिकीमा ठूलो प्रगति गरेको छ । यो क्षेत्रमा आधारभूत संरचना, ज्ञान र उत्पादनको विकास गर्नु चीनद्वारा विश्व शक्तिको रुपमा आफूलाई शक्तिशाली बनाउने उद्देश्यले गरिएका प्रयासहरुमध्ये एउटा हो । त्यसबाहेक चीन अन्तर्राष्ट्रिय निगरानी र नियन्त्रण प्रणालिबाट आफ्नो सम्प्रभुसत्ता र प्रतिरक्षालाई पनि सुदृढ गर्ने कोशिस गरिरहेको छ । घरेलु ‘वेभट्राफिक’लाई अन्य देशहरुद्वारा अवरुद्ध गर्न सक्ने खतराबाट बचाउन सकियोस् । चीनको प्रगतिको कारण अमेरिका र उसको गुटका देशहरुको प्रतिक्रिया पनि आइरहेको छ । मूलतः पाँचौ पुस्ता (5-G)को माध्यमबाट विश्वव्यापी दूरसञ्चारको आधारभूत संरचनामा आएको परिवर्तनको कारणबाट आईसीटी उद्योग गुणात्मक रुपले बदलिने विन्दुमा उभिएको छ । यो नयाँ प्रविधिले चौथो पुस्ता (4-G)भन्दा २० गुनाभन्दा तिब्ररुपले डेटालाई प्रसारित तथा प्राप्त अनुमती दिनेछ । यसको मात्रा र गतिले एकदमै धेरै डेटा प्रयोग गर्ने क्षेत्रहरु प्रभावित हुनेछन् । जसले निकै धेरै डेटा सञ्चय (Store) गर्नुपर्ने आवश्यकता हुनेहरु अधिक प्रभावित हुनेछन् । जस्तो कि स्वचालित वाहन वा मनोरञ्जन पनि, जसबाट उच्च गुणस्तरीय चलचित्रहरु मोबाइल फोनमा सेकेण्डमा उपलब्ध हुन जानेछ । यसप्रकारको परिवर्तनले प्रौद्योगिकी कम्पनीहरु र राष्ट्रिय अर्थ व्यवस्थाहरुको लागि सम्पूर्ण औद्योगिक प्रणालीमा स्वयंलाई पुनरसंरचना गर्ने अवसरको ढोका खोलेको छ । परन्तु चिनियाँ सरकारको तुलनामा देश ठूलो मात्रामा वाणिज्यिक पाँचौ पुस्ता (5-G) नेटवर्क, लागू गर्ने पहिलो देश बनेको छ । परन्तु अमेरिकाको इन्टेग्रेटेड सर्किट उत्पादनहरु र प्रौद्योगिकीहरुमा देशको प्रत्यक्ष र अप्रत्यक्ष निर्भरता अमेरिकाको लागि चिनियाँ प्रगतिलाई रोक्न वा त्यसलाई ढिलो बनाइदिन सम्भव हुन्छ । अन्याधुनिक सेमीकन्डक्टरहरु र त्यसलाई निर्माण गर्ने यन्त्रहरुको उत्पादनसहित यो क्षेत्रमा अमेरिकाको प्रविधिश्रेष्ठता र चीनको यी मुख्य घटकहरुप्रतिको निर्भरता, अमेरिकासँग विश्वव्यापी उत्पादन सञ्जालमा हस्तक्षेप गर्ने र आईसीटीमा चिनियाँ विकासलाई अवरुद्ध गर्ने क्षमता उनीहरुसँग छ । अव्याधिक विश्वव्यापी आईसीटीतन्त्रको जटिलता र चिनियाँ बजारको केन्द्रियता यथार्थमा अमेरिकी पुँजीवादी हितलाई खण्डित गर्दछ । अर्थशास्त्रका प्रोफेक्स एस्तेर माजरोभिचको शब्दमा जटिल र द्वन्द्वरत प्रतिस्पर्धा र पूरकताको ज्यामितिलाई दर्साउँछ जहाँ अमेरिकी सरकारको अवरोधको प्रतिरोध पनि हुन्छ । जहाँ पूरकता प्रधान हुन्छ । यद्यपि हुवाने एउटा त्यस्तो कम्पनी हो जसले ठूलो मात्रामा पाँचौ पुस्ता (5-G) नेटवर्कलाई लागू गर्नको लागि प्रशस्त मात्रामा आवश्यक उपकरण प्रदान गर्दछ । अमेरिकाको निर्देशन अनुसार प्रतिबन्ध लगाउन आधारभूत संरचना निर्माण गर्ने र दूरसञ्चारको बजारमा प्रतिस्पर्धा गरिरहेका देशहरुलाई मुस्किल पर्दछ । जसको कारण उनीहरु अन्य बजारमा प्रतिस्पर्धा गर्नबाट बन्चित रहने छन् । आर्टिफिशियल इन्टेलिजेन्सको विकासको लागि आवश्यक विशिष्ट प्रकारको डेटा उत्पादनको स्थानमा पुग्न चाहन्छन्; उनीहरुको काममा बाधा पुग्न सक्छ ।
विश्वव्यापी रुपमा दूरसंचार पूर्वाधारमा आएको परिवर्तन र आफ्नै पूर्वाधार निर्माण नभएका देशलाई पनि औद्योगिक प्रणालीमा पुनः निर्धारित गर्ने अवसर प्राप्त भएको छ । आफ्नो पूर्वाधार नभएका देशहरुको लागि पाँचौ पुस्ता (5-G)को विस्तारले एकातिर प्रविधि र वित्तीय निर्भरता बढ्नेछ भने अर्कोतिर अन्तर्राष्ट्रिय निगरानी प्रणालीहरुको विस्तार पनि हुनेछ । परिधिका देशमा पाँचौ पुस्ता (5-G) वित्तीय संसाधन लगानी गर्ने विषयमा शक्ति देशहरु बिच प्रतिस्पर्धा देखिएको छ । एउटा सार्वभौमिक परियोजना नभएसम्म परिधिका देश ठूला शक्तिहरु र विकसित देशहरुको स्वार्थको चङ्गुलमा फस्नुपर्ने, उनीहरुद्वारा तयार पारेको ढाँचाभित्र जानुपर्ने बाध्यता हुन्छ ।
प्रस्थान विन्दु
जन आन्दोलन र सङ्गठनहरुको लागि सबैभन्दा ठूलो चुनौती डेटा अर्थव्यवस्थाको विषयमा फैलाइएका चर्चाहरुलाई किनारा लगाउनुमा रहेको छ । डेटा अर्थव्यवस्थाको विश्लेषण समकालीन पुँजीवादको केन्द्रीय विषयको रुपमा गर्नुपर्छ । जसले आफ्नो विस्तारको लागि ५ वटा आधारभूत स्थितिहरु (शर्त)लाई सबल बनाउन खोजिरहेको छ । यी शर्तहरु हुन्ः (क) स्वतन्त्र बजारः उपयोग गर्नेले डेटा जम्मा गर्दछ र स्वतन्त्र रुपमा प्रयोग गर्दछ, तब प्रौद्योगिकी कम्पनीहरुको लागि यसको उल्टो पनि साँचो हुनुपर्छ । तब त्यसको ढोका प्रयोग गर्ने डेटा, मैट्रिक्स र एल्गोरिदममा उसको स्वामित्व हुने भएको कारण उसले बन्द गरेर राख्दछ । जबकि उपयोगकर्तालाई नाफाको लागि अनियन्त्रित, अवरोधहिन र डेटा उत्पन्न गर्ने उपयोगकर्ताको हितमा चिन्ता नगरीकन प्रवाह हुन आवश्यक छ । (ख) आर्थिक वित्तीयकरणः डेटा पुँजीवादी कम्पनीहरु आफ्नो विकास र सङ्गठनको लागि शेयर पुँजीको प्रवाहमा निर्भर हुन्छन् । यी कम्पनीहरु पुँजीलाई उत्पादक क्षेत्रहरुबाट केवल शेयर आधारित क्षेत्रहरुमा स्थानान्तरित गराउँछन् र जसको कारण उत्पादक क्षेत्रहरुमा शोषण र अनिश्चित्ता बढ्ने दबाव बढ्न थाल्छ । (ग) अधिकारलाई वस्तुमा परिवर्तनः ठूला प्रौद्योगिकी र यसका अन्य घटकहरुद्वारा पेश गरिएका प्राविधिक ‘समाधान’ सार्वजनिक सेवाहरुको क्षेत्रमा पनि प्रवेश गरिसकेको छ । जहाँ सरकारहरुले ठूला प्रौद्योगिकी कम्पनीहरुसँग कैयौंं मिलियन डलरको अनुबन्ध गरेका छन् । निपूर्णता र परिष्कारको विमर्शको माध्यमले शिक्षा, स्वास्थ्य र परिवहनजस्ता अधिकारहरुलाई वस्तुहरुमा बदलिदिएको छ । सार्वजनिक जीवनको एउटा अंश ती एल्गोरिदम् र हितहरुद्वारा सञ्चालित गरिएको छ । जुन जनताको पहुँचभन्दा बाहिर छ । धेरै मात्रामा धन प्रौद्योगिकी कम्पनीहरुलाई हस्तान्तरित गरिन्छ; यस्तो समयमा यस्तो काम गरिएको छ । (घ) सार्वजनिक स्थलको अभावः व्यक्तिगत सन्तुष्टिमा आधारित खण्डित इच्छाहरुले बाँधिएको आत्म–केन्द्रित व्यक्तिहरुको एउटा समूहको रुपमा मानव समाजलाई परिभाषित गर्न खोजिएको छ । विभिन्न धारणाहरु र वस्तुगत तथ्याङ्कहरुको आधारमा सार्वजनिक बहसलाई व्यस्त गर्नुपर्ने नाममा किनारा लगाउन खोजिएको छ । त्यसको उद्देश्य ज्ञानको सामुहिक र सामान्य निर्माणको प्रतिकूल प्रतिक्रियाहरु प्रदान गर्नु र व्यक्तिगत निश्चित्ताहरुको पुष्टि गर्नु रहेको छ । (ङ) संसाधनहरु, उत्पादक श्रृङ्खलाहरु र आधारभूत संरचनाको केपिद्रकरणः डेटा अर्थ–व्यवस्थालाई अनुकूलताको लागि उच्च स्तरको केन्द्रीकरणको आवश्यकता हुन्छ । मुट्ठीभरिका निगमहरुबिच संसाधनहरु र शक्तिको केन्द्रिकरण पुँजीवादको आवश्यकता हो । यो सहायक कम्पनिहरु र विभिन्न उद्यमहरु, कम्पनीहरु र सेवाहरुको माध्यमले सञ्चालित भएको भए पनि त्यसो हुने गर्दछ । यी निगम घरानाका केन्द्रित शक्तिहरुले राजनीतिक, आर्थिक, पर्यावरण र नैतिक प्रश्नहरुमा कुनै पनि लोकतान्त्रिक र लोकसम्मत छलफललाई निषेध गर्दछ ।
माथि उल्लिखित ५ विशेषताहरु डेटा अर्थ–व्यवस्थाका विशेषता नभएर समग्र पुँजीवादी व्यवस्थाका विशेषता हुन् । प्रौद्योगिकीको विकास उपर्युक्त सामाजिक सङ्गठनमा स्वतन्त्र रुपमा हुँदैन । उत्पादनका साधनहरुको निजी स्वामित्व पुँजीवादको मूल विशेषता हो । यदि प्रौद्योगिकी एउटा सार्वजनिक संसाधन हुन्थ्यो र सीमित मान्छेको पुँजीको हितार्थ उपयोग गरिने सम्पत्ति हुँदैनथ्यो भने यसबाट मानव जातिलाई आवश्यक पर्याप्त उत्पादन गर्ने साधन हुन्थ्यो । श्रमिकको लागि श्रम–समय घटाउन सकिन्थ्यो । मान्छेलाई फूर्सदको समय श्रृजनात्मक काम, मनोरञ्जन र आराममा खर्चेर सुन्दर मनुष्य जीवन कायम गर्न सकिन्थ्यो ।
डेटा अर्थ–व्यवस्थाले कसरी पुँजीवादको पुनःउत्पादन गरेर त्यसलाई विस्तार गर्दछ भन्ने बुझ्न थाल्छौं; विकल्पको माग गर्ने जन आन्दोलनहरु र सङ्गठनहरु भित्र नयाँ चुनौती उत्पन्न हुन्छ । हामीले आफ्नो सङ्गठनको विश्लेषण गर्न र केही चुनौतीहरुमाथि विचार गर्नु पनि महत्वपूर्ण विषय बन्दछ । प्राविधिक संसाधन र सूचनाहरुसम्म पकड स्वतहः असमानतालाई घटाउँदैन । यथार्थमा यो उपलब्धताले असमानतालाई बढाउन पनि सक्दछ । यी ‘बुद्धिमान’ उपकरणहरुमा आधारित प्रत्येक कामहरु बुद्धिमान क्रिया वा नीति हुँदैनन् । प्रौद्योगिकी अन्तरविरोधको बाहक हुन्छ भन्ने कुरा सधैँ ख्याल गर्नुपर्छ । जसमा मुक्ति प्रदान गर्ने र परतन्त्र बनाउने दुवै क्षमताहरु हुन्छन् । वर्गीय समाजमा प्रौद्योगिकी सधैं विवादास्पद भूमिकामा रहन्छ । श्रमिकहरुको लागि प्रौद्योगिकीको उपयोग प्रभावकारी भूमिकाको लागि अनिवार्य छ । जसलाई सामरिक र रणनीतिक वर्ग परियोजनासँग जोड्न सकियोस् । हामी कारण र परिणामलाई लिएर गर्ने विश्लेषणमा अथवा व्यवहारमा भ्रमित हुनु हुँदैन । विद्युतिय निगरानी (व्यक्ति वा समूहमाथि झूठो समाचार, द्वेषपूर्ण भाषण, लोकतन्त्र विरोधी गतिविधिहरु र अनिश्चित्ता गहिरो आर्थिक–तन्त्रको अभिव्यक्ति हो । हामीले हाम्रो उर्जा कहाँ र कसरी खर्चिनु पर्दछ भन्ने बुझ्नुपर्छ ।
हामीले आफैलाई प्रविधि–त्रास (Tecofobia) रोगी भन्न सक्दैनौं । न त हामीले प्रौद्योगिकीको महत्व र सङ्घर्ष उठाउने काममा त्यसको महत्वलाई नै नकार्न सक्दछ । त्यसो त प्रौद्योगिकीले सङ्गठित मजदुर वर्गलाई स्वतः प्रगतिपथमा लैजाँदैन । प्रविधिको विकास त्तकालको सामाजिक सङ्गठनबाट पृथक हुँदैन । वर्ग सङ्घर्ष वैज्ञानिक ज्ञानको विनियोजन र व्यवहार्य वैकल्पिक प्रौद्योगिकीहरुको निर्माणार्थ प्रकाश–स्तम्भ हो । डिजिटल प्रौद्योगिकीहरु र पुँजीवादको विषयमा एउटा छुट्टै विशिष्ट विमर्श होइन । यो यस विषयमा रुची राख्ने व्यक्तिहरु, वा सीमित समूहको विचार (आइडिया) मात्र होइन । अर्थव्यवस्था, राजनीति, भू–राजनीति, शिक्षा संस्कृति, सङ्गठन, लामबन्दी र सङ्घर्षमा सूचना प्रौद्योगिकीको प्रभाव देखेर सबै सङ्गठनहरुले यसका सबै आयामहरुमा विचार–विमर्श गर्नुपर्छ र व्यापक, सामूहिक र भागिदारीपूर्ण बहसको माध्यमले हामी समाजवादी दृष्टिकोणबाट प्राविधिक ‘समाधान’ र ‘निपुर्णता’ को शर्तहरुलाई पुनः परिभाषित गर्न सक्नेछौं ।
अनुवादकः अनिल शर्मा
सङ्कलकः रुद्र भट्टराई

स्राेत: जनपत्रिका मासिक दाेस्राे अंकबाट


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।