१२ श्रावण २०८१, शनिबार

साम्राज्यवादको खतरनाक घण्टी र समाजवादी मोर्चा

0

साम्राज्यवाद लुकिछिपी होइन, हाकाहाकी नेपालीको घरदैलोमा आएको कुरा अब कसैले छिपाएर छिप्दैन, प्रष्ट भइसक्यो । साम्राज्यवादी रणनीति अन्तर्गत विकासका नाममा ल्याइएको खतरापूर्ण गुलियो ‘क्याप्सुल’ एमसीसी र एसपीपी हुन् । अमेरिकी साम्राज्यवादको योजनामा नेपाललाई षड्यन्त्रको भुमरीमा फसाउने र आफ्नो अनुकूल प्रयोग गर्दै अन्य राष्ट्रहरूका विरुद्ध नेपाली भूमि प्रयोग गरेर बर्चश्व कायम गर्ने अमेरिकी रणनीति विगतदेखि नै विभिन्न रुपमा नेपालमा थियो । त्यसको प्रतिनिधिको रुपमा शेरबहादुर देउवा र गगन थापाहरू थिए भन्ने धेरै तथ्यले प्रमाणित गर्दै आइरहेको छ । तर अमेरिकाले जुन गतिमा षड्यन्त्रको बर्चश्व बढाउँदै लगेको छ, त्यसलाई सही समयमा कार्यान्वयन गराउन देउवाले नसक्ने देखेपछि विभिन्न नाममा नयाँ पात्रहरू खोजिरहेको देखिन्छ ।
अझै भनौं साम्राज्यवाद एउटा गतिशील मतियार खोजिरहेको थियो । शेरबहादुर देउवा, रामशरण महतहरूको नेपालमा राजनीतिक बर्चश्व कमजोर बन्दै जाँदा काङ्ग्रेसभित्रैका अमेरिकी लबिका गगन थापाहरूलाई विभिन्न सन्दर्भमा प्रयोग गर्दै आएको थियो । तर उनीहरूबाट समेत अपेक्षित षड्यन्त्र फत्ते गर्न नसक्ने देखेपछि घन्टीधारी रवि लामिछानेहरूलाई योजनावद्ध ढङ्गले ल्याएर विवादास्पद एमसीसी कार्यान्वयन र एसपीपी सम्झौता तथा कार्यान्वयन गर्ने खतरनाक षड्यन्त्रमा अमेरिकी साम्राज्यवाद लागेको छ ।
विचारविहिन भीड तयार पारेर फेसबुक लोकप्रियताका नाममा भावनाको राजनीतिक रोटी सेकाएर जनताका बिचमा स्थापित गराउने र नेपाली जेलेन्स्की बनाउन अमेरिका उद्त छ । लामो समयसम्म काङ्ग्रेसभित्र रही समग्र काङ्ग्रेसी अर्थतन्त्र र अमेरिकी मिसनमा रहिरहेका स्वर्णिम वाग्ले र रवि लामिछानेहरूलाई एउटै शिविरमा खडा गरेर योजनावद्ध तरिकाले घण्टीवद्ध बनाउने र अमेरिकी मिसन कार्यान्वयन गराई नेपाललाई अन्य राष्टविरुद्ध प्रयोग गराउन उद्धत छ ।
गत उपनिर्वाचनको बेलामा भएका विभिन्न गतिविधिहरूले अमेरिका प्रत्यक्ष रुपमा नेपाल प्रवेश गरेका प्रमाणित गरेको थियो । अरुबेला लुकिछिपी तथा भारतीय ‘लबिङ’बाट आउने अमेरिका अहिले सिधा–सिधा नेपालीको घरघरमा आइपुगेको छ । अझै उपनिर्वाचनको बेलामा चितवन, तनहुँ, पूर्वतिर भएका गतिविधिहरूले नेपालमा नयाँ रुप लिएको छ । यसले नेपालमा अर्थराजनीति, सामाजिक मनोविज्ञानमा ठूलो परिवर्तन ल्याएको छ । जुन खतरापूर्ण र डरलाग्दो षड्यन्त्र छ । त्यो ढङ्गको षड्यन्त्रले नेपाल कम्युनिस्ट पार्टी र समाजवादीहरूमाथि खतराको सङ्केत गरेको छ । साम्राज्यवाद न्यायालयमा आफ्नो मान्छे राखेको छ, सेनामा आफ्नो मान्छे राखेको छ, अहिले आएर राजनीतिमा पनि आफ्ना मान्छे हाकाहाकी पठाएको छ । तसर्थ, यो गम्भीर परिस्थितिमा नेपालका सचेत नागरिक र कम्युनिस्टहरू झनै बढी सम्वेदनशील र जिम्मेवार बन्नुपर्ने बेला आएको छ । सचेत नेपालीहरू, समाजवादी कम्युनिस्टहरू गम्भीर नहुने हो भने, अब नेपालमा अमेरिकी साम्राज्यवादी सत्ता आउँदैछ । नेपालको राजनीतिक परिस्थिति नयाँ ठाउँमा जाँदैछ । तसर्थ, यो विषम परिस्थितिमा नेपालमा समाजवादी मोर्चा आवश्यक देखिन्छ ।
अमेरिकाले नेपालमा सैन्य अखडा बनाएर चीनलाई प्रहार गर्ने र नेपाललाई युद्धभूमि बनाउन खोज्दैछ । नेपाललाई युक्रेनजस्तो बनाउने अमेरिकाले तानाबाना अत्यन्तै डरलाग्दो ढङ्गले लोकप्रियताका नाममा नेपालीको घरदैलोमा आइपुगेको छ । जनताले यो सिधा नबुझ्न सक्छन् । जनतालाई बुझाउनु पर्दछ ।
संसदीय व्यवस्थाबाट हैरान र आजित जनताले विकल्पका रुपमा यसलाई हेर्ने भनेर मुलुकलाई बर्बरतातिर धकेल्न सक्छन् । त्यसकारण जनतालाई सु–सुचित गर्नुपर्छ । नेपालमा साम्राज्यवादको अन्तिम लक्ष्य चुनावबाट नयाँ जेलेन्स्की तयार पार्ने नै छ । यदि त्यसो भएन भने राजनीतिक नेतृत्वमाथि विभिन्न बहाना बनाएर प्रहार गर्ने, देशलाई गृहयुद्धमा धकेल्ने षड्यन्त्रका तानाबानाहरू बुनिएका छन् । यो गम्भीर षड्यन्त्रको दुश्चक्रबाट जोगाएर नेपाललाई बचाउने सचेत राजनीतिककर्मीहरूको मुख्य दायित्व हो । यो गम्भीर परिस्थितिमा समाजवादी क्रान्ति पुरा गर्नका लागि विचार मिल्नेसँग मोर्चा बनाएर जाने निर्णय उपयुक्त हुनेछ ।
क्रान्तिकारीहरूको अबको लडाइँ नेपालको संसदीय व्यवस्थाका विरुद्धमा मात्र केन्द्रित रहन, नेपालका समाजवादी पार्टीहरूसँगको समाजवादी मोर्चा बनाएर साम्राज्यवादका विरुद्धमा लड्न आवश्यक रहेको देखियो ।
अमेरिकी साम्राज्यवाद जुन तहबाट षड्यन्त्र गर्दैछ, समाजवादीहरूले समेत त्योभन्दा माथिल्लो तहबाट सुझबुझका साथ त्यसका विरुद्धमा समाजवादी मोर्चा निर्र्माण गर्दै जानुपर्ने देखिन्छ । अमेरिका नेपालमा ‘झोलाभरी पैसा, ट्रकभरी हतियार, दिमागभरी षड्यन्त्र’ बोकेर आएको छ । ऊ नेपालमा सबै अश्त्र प्रयोग गरेर आफ्नो सैन्य अखडा बनाउन खोज्दैछ । हामी सतर्क हुनु जरुरी छ । जनतालाई समयमै सतर्क बनाउनु पर्ने हाम्रो जिम्मेवारी छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।