१४ पुष २०८१, आईतवार

भाजपाको सरकार आएपछि काम गर्न पहिलेभन्दा असहज छ

0

(रोजगारीको सिलसिलामा नेपालबाट भारतमा गएकाहरुको सङ्ख्या झन्डै आधा करोड रहेको अनुमान छ।भारतमा काम गर्ने क्रममा प्रवासी नेपालीहरु अनेक खाले अफ्ठ्याराहरुको सामना गरि नै रहेका छन।यति हुँदाहुँदै पनि नेपालमा भइरहेको परिवर्तनको आन्दोलनमा उनीहरुको प्रत्यक्ष वा अप्रत्यक्ष भुमिका रहदै आएको छ।नेपालको पछिल्लो राजनीतिक आन्दोलन, भारतीय नागरिक लगायत प्रवासी नेपालीहरुको बुझाई र समस्याहरुबारे प्रवासी नेपाली जनसमाज भारतका अध्यक्ष आजादसेन थापासङ्ग शेरबहादुर विश्वकर्माले गरेको कुराकानीलाई पत्रकार कमल विश्वकर्माले सम्पादन गरी यहाँ राखेका छौं ।)

यहाँले भारतमा रहेका नेपालीहरुलाई संगठित गर्दै उनिहरूको हकअधिकारको लागि प्रवासी नेपाली जनसमाज भारतको तर्फबाट काम गरी रहनु भएको छ ,यो कस्तो सङ्गठन हो ,बुझ्नेगरी बताईदिनुहोस् न ?

प्रवासी नेपाली जनसमाज पछिल्लो समयमा बनाइएको नाम हो। यसको इतिहास लामो छ, हामी अहिले त्यता नजाऊ , हामी एकता समाजको पाला देखि अहिलेको प्रवासी नेपाली जनसमाज भारत सम्म आउँदा भारतमा दुई खालका नेपालीहरूको बसोबास छ एउटा आप्रवासी र अर्को प्रवासी।

विगतमा हामीले आप्रवासीलाई पनि जोडेर संगठन सञ्चालन गर्ने गरेका थियौं। तर पछिल्लो चरणमा आइपुग्दा आप्रवासी र प्रवासीहरुको बिचमा मुद्दाका हिसाबले केही भिन्नता भए। आप्रवासीहरु भारतमै भएको कानुन अन्तर्गतका समस्यामा लड्ने हुँदा हामीले अलि छुट्टै खालको प्रवासीको मात्रै मुख्यतः भारतमा रोजगारको सिलसिलामा गएका नेपालीहरुलाई संगठित गर्ने र उनीहरूलाई भारतमा हुने सामाजिक समस्या, उनीहरूको सुरक्षा लगायतका समस्याहरुको समाधानका लागि सङ्घर्ष गर्छौं।

पहिलो समस्या त उनीहरूलाई बोडरमा निस्किने बित्तिकै सुरु हुन्छ र उसले कमाएर फर्किदा सम्म साहुँ देखि लिएर ग्राहकसम्म पुलिस प्रशासन सबैबाट लुटिन्छ। हाम्रो संगठनले संगठित गरेर उनीहरूबाट बचाउने काम गर्छ। अर्को नेपाल बाट कमाउन भनेर भारत आउँछन् त्यहाँ विभिन्न् खालका व्यभिचारमा लागेर फस्ने सम्भावना हुन्छ त्यसबाट बचाउन अभियान सञ्चालन गर्छ।

अझ विशेष गरी दुःखमा परेका नेपालीहरू आर्थिक अभावका कारण उपचार गर्न नसकने व्यक्तिलाई आर्थिक सहयोग गर्ने र हामी नेपालीहरु प्रवासमा रहेपनि नेपालप्रति उत्तरदायी हुन्छौं । त्यहाँको राजनीतिक घटनाक्रमबारे हामी सचेत हुन्छौं। प्रवासी संगठन नेपालमा कम्युनिष्ट पार्टीमा भएको विभाजन संगै बिभाजित भए। प्रवासी संगठनहरु नेपालको परिवर्तनको पक्षमा निरन्तर सङ्घर्ष गरिरहेका छन्।पछिल्लो समयमा क्रान्तिकारी प्रवासी संगठनको नेतृत्व हाम्रो संगठनले गरिरहेको छ।

यहाँले नेपालको परिवर्तन,राजनीति आन्दोलन,वर्ग सङ्घर्षसंग प्रवासी नेपाली संगठनले जहिले पनि सरोकार राख्दछ भन्नु भयो, नेपालमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे कसरी मूल्याङ्कन गरिरहनु भएको छ?

नेपालको परिस्थिति अत्यन्तै जटिल मोडबाट गुज्रिरहेको छ। नेपालमा अली बढी भारतीय हस्तक्षेप देखिन्छ हामी प्रवासमा रहँदा पनि नेपालमाथि हुने हस्तक्षेपका विरुद्ध आन्दोलन गर्दै आएका छौँ। हाम्रो राष्ट्रियतासंग जोडिएका कालापानी लिपुलेख देखि लिएर भारत सरकारबाट हुने हस्तक्षेपका विरुद्ध आन्दोलन गर्छौँ। भारतमा भएका भाइचारा या श्रमिक वर्गको सहयोगमा अथवा कुटनीतिक हिसाबले भारतीय हस्तक्षेप रोक्ने प्रयत्न गर्छौँ। नेपालमा जुनखालको संकट छ त्यसलाई समाधान गर्न नेपालमा रहेका वामपन्थी- प्रगतिशील शक्तिहरु एक ठाउँमा आउनु पर्‍यो र विदेशमा रहेका प्रवासी संगठनहरु पनि एक ठाउँमा आउनु पर्छ।

भारतको प्रचलित कानुन अन्तर्गत रहेर वैधानिक रुपमा कामहरू गर्नुहुन्छ, नेपाल र नेपालीको हकअधिकारको लागि काम गर्ने क्रममा कत्तिको असहज छ?

हामीले हाम्रा संगठनहरु दर्ता गरेरै सञ्चालन गर्नुपर्ने हुन्छ ,नत्र हामीलाई पक्रिने खतरा हुन्छ। तर पछिल्लो समयमा भारतीय जनता पार्टीको सरकार आइसकेपछि त्यति सहज छैन। विगतमा संविधान अन्तर्गत गर्ने नाराजुलुस ,ज्ञापन -पत्र लगायतका गतिविधि गर्न पाइन्थ्यो ,अझ भनौं वाकस्वतन्त्रता पूर्णरुपमा थियो । हामीले त्यसलाई भरपूर उपयोग गर्थ्यौं र त्यसले नेपालको आन्दोलनलाई सहयोग पनि राम्रै हुन्थ्यो।

अहिले मोदी सरकार आएपछि सीमित घेरामा गर्नु पर्ने अथवा अनुमति नै नदिने लगायतका समस्या छन् तर पनि हामी गिरप्तार पर्नु परे पनि राष्ट्रियताको पक्षमा आन्दोलन गर्दै आएका छौँ। यद्यपि पहिलेको जस्तो सहज रुपमा हाम्रा एजेण्डा सुन्ने र सम्बोधन गर्ने अवस्था छैन।

पहिले देखि नै भरत प्रवास स्थित नेपलीहरूले नेपालको राजनीतिक आन्दोलनलाई नैतिक समर्थन गर्दै आएका छन् तर पछिल्लो समयमा रोजगारको लागि भारत जाने भन्दा नेपालीहरु अरु देशतिर गैरहेका छन, यसले तपाईहरुको मोभमेन्टमा केही असर गरेको छैन् यसलाई कसरी हेर्नु भएको छ?

दसवर्षे जनयुद्धको समयमा ठूलो संख्या खाडिमुलुक जाँदैन थियो। त्यतिबेलाको तथ्याङ्क हेर्दा दैनिक ३५/५० जना जान्थे भने अहिले दैनिक हजारौं मानिस तेस्रो मुलुक जान्छन् । विगतमा ठूलो संख्यामा नेपालीहरु भारत जान्थे तर अहिले त्यो देखिँदैन, पहिले गएर स्थायी वा अस्थायी रूपमा जागीरमा लागेकाहरु गहिरहेका छन्। नत्रभने एसइइ दिएर रिजल्टको पर्खाइमा बसेकाहरु नैं बढी जाने गर्छन् जो धेरैं बस्दैनन्। केही समयकालागि जानेहरु संगठित भएर काम गर्ने सम्भावना रहँदैन। पुरानाहरु कस्ता छन् भने २१औं सताब्दीको मोभमेन्ट बुझ्न नसकेका र १९/२० औं सताब्दीको चेतनाले जगडिएका छन् ।

पुरानो चेतना भएका मान्छेहरू माथि आउँन सकिरहेको छैन। नयाँ चेतना भएका मान्छेहरू भारत जाने संख्या कम छ त्यसैले अहिले नेपालको आन्दोलनलाई जतिसहयोग प्रवासबाट हुनुपर्ने हो ,त्यो हुन सकिरहेको छैन। दस वर्षे जनयुद्धको क्रममा जनमुक्ति सेनालाई लजिस्टीक देखि लिएर आर्थिक सहयोग अझ यहीँबाट तयार भएका ६०/६५ जना साथीहरु साहिद हुनु भयाे।अहिलेको युवा जमात वैचारिक चेतनाबाट परिपक्क छैन् सामाजिक सञ्जाल हेरेर आफ्ना धारणा बनाउँछ।

भारतमा जनस्तरमा नेपालको आन्दोलनको बारेमा, नेपालको समस्याका बारेमा, अहिलेको चुनौति र खास गरी परिवर्तनकारी आन्दोलनको बारेमा कस्ताे खालको भावना पाउनु भएको छ?

भारतीय जनताकाे कुरा गर्ने हो भने उनीहरुको राजनीतिक चेतनास्तर नेपालीहरूको जति माथि छैन् भारतीय मिडियाका सञ्चालकहरूले कसरी बोल्छन् त्यसबाट पनि धेरै कुरा जान्न सकिन्छ।भारतीय जनतालाई पुँजीवादले न बाँच्न दिएको छ न मर्न दिएको छ, मानिसले आफ्नो ढंगले सोच्नै पाउँदैन। उसले यस्ताे खालको परिस्थिति बनाइदिएको छ कि अहिले नेपालबाट कामगर्न भारत गएका नेपालीहरुले पनि ८ घण्टा काम गरेर कसैले पनि जीविका धान्न सक्दैन,उसले न्यूनतम १६ घण्टा काम गर्नुपर्ने वाध्यता आएको छ।

तर एउटा के देखिन्छ भने ग्रासरुट लेभलका राजनीतिक चेतनास्तर माथि उठेका मानिसहरुको बुझाई नेपालको आन्दोलनप्रति सकारात्मक छ तर आफूलाई अलि बढी पढेलेखेका भन्नेहरु नेपालप्रति नेगेटिभ छन्। मोदी सरकार आइसकेपछि यसलाई बढी देख्न सकिन्छ। यो नेपाली आन्दोलनप्रति भन्दा पनि नेपालीप्रति नै नेगेटिभ रूपमा हेरिरहेका छन्। नेपाली भन्ने शब्द देखिनै घृणा भएको पाइन्छ जसले इतिहासको अध्ययन नगर्ने वर्तमानमा टेकेर धारणा बनाउँने गर्छन्। हामी गाउँहरुमा पुग्यौं भने नेपाल र नेपालीप्रति राम्राे पनि भेटिन्छ। चेतनस्तर राम्राे नहुँदा राजनीतिक आन्दोलनप्रति धेरैं ज्ञान नभए पनि बुझाइ सकारात्मक नै भेटिन्छ। राजनीतिक रूपमा हेर्दा अहिले काँग्रेस पार्टीको नेपालप्रतिको बुझाई तुलनात्मक रुपले राम्राे देखिन्छ र भाजपाको नेपाल, नेपाली र नेपालको परिवर्तनप्रति धेरै नेगेटिभ छ।

तपाईहरु भारतस्थित नेपालीहरुको वैधानिक संगठनको रुपमा काम गरिरहनु भएको छ, यती हुँदाहुँदै पनि नेपालका जनसरोकारका विषयमा तपाईहरुको चासो छ, आस्थाका हिसाबले नेपालका कुनै पार्टी, नेता वा विचारसङ्ग तपाईहरुको कुनै समर्थन छ?

हामीले नेतृत्व गरेको संगठन जहिले पनि परिवर्तनको पक्षमा हो। म आफै पनि लामो समय भारतमा छु ।

हिजो हामी दशवर्षे जनयुद्ध हुँदा अखिल भारत नेपाली एकता समाजले समर्थन गरेकाे थियोे ।यसलाई लुकाई रहनु पर्छ जस्तो लाग्दैन अहिले पनि हामी नेपालमा हुने परिवर्तनकै पक्षमा उभिएका छौं। हिजो हामीले प्रचण्ड हुँदापनि आन्दोलनमा नैतिक समर्थन गर्‍यौं र अहिले त्यो एजेण्डाले धोका खाइसकेपछि त्यही कुरा विप्लवले उठाएको हामी भेट्छौ।

नेकपा महासचिव विप्लवले नेपाली समाजका मुद्दाहरू उठाएको देखेपछि नैतिक रूपमा हामी सपोर्ट गर्छौँ। भारतमा यही संग जोडिएर विभिन्न कामहरु गर्ने कुरा पनि भइहाल्यो ।आजसम्म प्रवासी नेपालीहरूका समस्या त्यो पार्टीले हल गर्न सक्छ भनेर हामीले विश्वास गरेका छौं। यो गरे बापत त्यहाँको प्रशासनले दुःख दिने काम गर्छ तर पनि हामीले खुल्ला भनेका छौ हामी नेपालको परिवर्तनका पक्षमा पनि काम गर्छौं ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।