७ बैशाख २०८१, शुक्रबार

जापानी आक्रमणविरुद्ध चिनिया कम्युनिस्ट पार्टीद्वारा संयुक्त मोर्चा

0

• सन् १९३७ देखि १९३९ सम्मको अन्तर्राष्ट्रिय परिस्थिति
• दोस्रो विश्वयुद्धको थालनी
जापानी हमलाविरूद्ध प्रतिरोध युद्ध सुरू भयो र जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा पनि जारी रह्यो ।

सन् १९२९ देखि १९३२ सम्म चलेको विश्व आर्थिक सङ्कट समयावधि, गम्भीरता र विषमताका सन्दर्भमा अभूतपूर्व प्रकृतिकै थियो । सन् १९३३ मा यो सङ्कट आर्थिक मन्दीमा बदलियो । पुँजीवादअन्तर्गतका सामान्य सङ्कटहरूभन्दा यसपटकको मन्दी भिन्न थियो । यो सङ्कटले औद्योगिक तीव्रता ल्याउन सकेन । यदि विभिन्न पुँजीवादी देशहरूका सन् १९२९ को औद्योगिक उत्पादनलाई १०० मान्ने हो भने १९३७ मा तीनवटा तथाकथित लोकतान्त्रिक देशहरू अमेरिका, फ्रान्स र बेलायतको उत्पादन आँकडा क्रमशः ९२२, ८२.८ र १२३.७ प्रतिशत थियो । अमेरिका र फ्रान्स सङ्कटपूर्वको भन्दा तल थिए ।

बेलायतले भने उत्पादनमा वृद्धि गरेको थियो । तीनवटा आक्रमणकारी देशहरू जर्मनी, जापानी र इटालीको औद्योगिक उत्पादनको आँकडा क्रमशः ११७२, १७०८ र ९९६ प्रतिशत थियो । जर्मनी र जपानले सन् १९२९ को स्तर नाघिसकेका थिए । इटाली त्यसको छेउछाउ पुग्न खोज्दै थियो ।
सन् १९३७ को उत्तरार्द्धमा पुनः आर्थिक सङ्कट फैलियो । सन् १९३८ मा अमेरिकाको औद्योगिक उत्पादन १९२९ को तुलनामा ७२ प्रतिशत मात्र थियो । अन्य देशको कुरा गर्दा बेलायतको ११२ प्रतिशत, फ्रान्सको ७१ प्रतिशत, इटालीको ९६ प्रतिशत, जापनको १६५ प्रतिशत र जर्मनीको १२५ प्रतिशत थियो । जर्मनीबाहेक बाँकी देशहरूको औद्योगिक उत्पादनमा गिरावट आयो । तर, जर्मनीले आफ्नो अर्थव्यवस्था युद्धको निबमा ल्याएर रोकेको थियो । त्यसले गर्दा ऊ पनि आर्थिक सङ्कटमा फस्नु अवश्यम्भावी थियो ।

सोभियत सङ्घ मात्र यस्तो देश थियो, जहाँ आर्थिक सङ्कटको असर नगण्य थियो । औद्योगिक उत्पादनका सवालमा उसले दोस्रो पञ्चवर्षीय योजनाका क्रममा राखेका लक्ष्य समयभन्दा पहिले पूरा गरिसकेको थियो गरिसकेको थियो । सन् १९३७ को अन्तसम्ममा सोभियत सङ्घको औद्योगिक उत्पादन १९२९ को तुलनामा ४२८ प्रतिशत वृद्धि भएको थियो । त्यसभन्दा पनि अझ महत्वपूर्ण कुरा उद्योगहरूको विकासमा समाजवादी प्रणालीको महान् सफलता थियो । सन् १९३७ मा समाजवादी उद्योगहरूको उत्पादन कुल राष्ट्रिय उत्पादनको ९९.९७ प्रतिशत थियो ।

त्यसले सोभियत सङ्घमा समाजवादी प्रणाली नै उद्योगको एक मात्र प्रणाली थियो । कृषि सहकारिताको क्षेत्रमा पनि ठूलो सफलता प्राप्त भएको थियो । सन् १९३७ सम्ममा १ करोड २५ लाख किसान परिवार अर्थात् कुल किसानहरूको ९३ प्रतिशत सहकारी फार्महरूमा सामेल भइसकेका थिए ।

पुँजीवादी देशहरूमा नयाँ आर्थिक सङ्कट फैलिनाले ती देशहरूले सैनिक हस्तक्षेपद्वारा विश्व बजार, कच्चा पदार्थका स्रोतहरू, आफ्नो अधिकारक्षेत्र र प्रभाव क्षेत्रमा पुनर्विभाजन गर्ने क्षण निकट भइरहेको थियो ।

जापानले सन् १९३७ मा उत्तरी र मध्य चीनमाथि हमला गयो । जर्मनीले सन् १९३८ को सुरूमा अस्ट्रिया कब्जा गन्यो । त्यसै वर्ष हिउँदमा चेकोस्लाभियाको सुडेतन क्षेत्र कब्जा गयो । सन् १९३९ को वसन्तमा इटालीले अल्बानिया कब्जा गर्यो । र, जर्मनीसँग मिलेर स्पेनमा फासिवादी शासन स्थापित गर्न फ्रान्कोलाई मदत गर्यो । त्यसपछि जर्मनीले पोल्यान्डमाथि हमला गर्यो । त्यति गर्दा नगर्दै बेलायत र फ्रान्सले जर्मनीविरूद्ध युद्धको घोषणा गरे । यसरी सुरू भयो दोस्रो विश्वयुद्ध ।

यो युद्ध राष्ट्रिय मुक्ति आन्दोलन र सोभियत सङ्घविरूद्धको युद्ध थियो । त्यसका साथै बेलायत, फान्स र अमेरिकी साम्राज्यवादको स्वार्थविरूद्ध पनि थियो यो युद्ध । दोस्रो विश्वयुद्ध सुरू हुनुभन्दा पहिले जर्मनी, इटाली र जापानले पटकपटक बेलायत, फ्रान्स र अमेरिकाको स्वार्थको अतिक्रमण गरेका थिए । तर, यी देशहरू हस्तक्षेप नगर्ने नीतअवलम्बन गर्दै आक्रमणकारीहरूविरूद्ध सामूहिक सुरक्षा र सामूहिक प्रतिरोधको नीति अस्वीकार गर्दै समान रूपमा पछि हटिरहेका थिए । यहाँसम्म कि उनीहरूलेआक्रमणकारीहरूलाई विभिन्न तरिकाले मद्दत पनि गरे ।

अमेरिकी, बेलायत र फ्रान्सेली साम्राज्यवादीहरूको समर्थनमै जर्मन एकाधिकार पुँजीपतिहरू जर्मन सैनिकवादलाई पुनर्जीवन दिन सफल भए । खासगरीकन अमेरिकी सरकारका अगुवाहरूले जर्मनका ठूला उद्योग र सामरिक उद्योगहरू पुनर्स्थापना र पुनरूद्धार गर्न मद्दत गरे । सन् १९२४ देखि १९२९ का बीचमा अमेरिकी एकाधिकार पुँजीपतिहरूले जर्मन सामरिक उद्योगहरू स्थापना गर्न २ हजार करोड मार्क (जर्मन मुद्रा) बराबरको पुँजी जर्मन पठाए । यही अमेरिकीवित्तीय सहयोगले नै जर्मन सैनिकवादको पुनरूद्धारको आधार प्रदान गयो । हिटलर सत्तामा आएपछि बेलायत र फ्रान्सका सरकारहरूले उनलाई उकास्ने नीति अपनाए । सन् १९३३ मा बेलायत, फ्रान्स, जर्मनी र इटालीले रोममा चार शक्ति सम्झौता (Four Power Pact) मा हस्ताक्षर गरे ।

सन् १९३४ मा बेलायत र फ्रान्सको मध्यस्थतामा नाजी जर्मनीले पोल्यान्डसँग द्विपक्षीय अनाक्रमण सन्धि (Mutual Non-aggression treaty) सम्पन्न गयो । बेलायत र फ्रान्सले जर्मनीलाई पुनःशस्त्रीकरण, इथियोपियामाथि इटालीको कब्जा, स्पेनमाथि जर्मनी र इटालीको संयुक्त आक्रमणमाथि पनि मौन स्वीकृति प्रदान गरे । सन् १९३७ मा बेलायतले जर्मनीद्वारा गरिएको अस्ट्रिया, चेकोस्लाभाकिया र दान्जिग कब्जालाई सहमति प्रदान गर्यो । यहाँसम्म कि हिटलरसँग बेलायत र फ्रान्सले ‘बर्लिन-रोम धुरीमा आफूहरूलाई पनि समावेश गर्न आग्रह गरे । बेलायत र फ्रान्सका शासकहरू आफ्नै सामुन्ने खडा भएको खतराबाट पनि आँखा मोडिरहेका थिए । उनीहरू फासिवादी आक्रमणलाई पूर्वतर्फ सोभियत सङ्घविरूद्ध धकेल्ने प्रयास गरिरहेका थिए ।

यद्यपि बेलायत, फ्रान्स र अमेरिका जापानले चीनमा आफ्नो स्वार्थमाथि अतिक्रमण गरिरहेकामा खिन्न थिए। तर, उनीहरू सोभियत सङ्घमा समाजवादी निर्माणको सफलता, युरोपमा मजदुर आन्दोलनको उभार र एसियामा राष्ट्रिय मुक्तिआन्दोलनको उठानबाट पनि भयभित थिए । उनीहरूका अनुसार फासिवाद विश्वक्रान्तिविरूद्धको शक्तिशाली हतियार थियो । त्यसैले उनीहरू युद्धरत देशहरू जब लड्दालड्दा थाकेर चुरचुर हुन्छन् तब आफूहरू अघि बढेर ती दुवै पक्षमाथि चाहेअनुसारको सर्त थोपर्ने दाउमा तमासा हेरिरहेका थिए ।

आक्रमणकारीहरूद्वारा थोपरिएको जुन कुनै पनि युद्ध सबै शान्तिप्रिय देशहरूका लागि स्पष्ट रूपमा एउटा खतराको घण्टी थियो । लाखौंलाख मान्छेहरूलाई लपेट्ने यो युद्ध विशेषतः सोभियत सङ्घका लागि गम्भीर खतरा थियो ।
सोभियत सङ्घले युद्धको घटनाक्रमले जसरी खतरनाक मोड लिइरहेको थियो, त्यसलाई नजरअन्दाज गर्न सक्दैनथ्यो । त्यसैले गर्दा सोभियत सङ्घले शान्ति कायम राख्न, सबै देशहरूसँग व्यापार सम्बन्ध सुदृढ गर्न, छिमेकी देशहरूसँग शान्तिपूर्ण सम्बन्ध बनाइराख्न र आक्रमणविरूद्ध स्वतन्त्रताका लागि लडिरहेका देशहरूलाई समर्थन जारी राख्ने नीति लिँदै लालसेना र जनसेनाको क्षमता वृद्धि गर्न भरपूर प्रयास गर्यो । कोही युद्धोन्मादीहरूले आक्रमण गर्ने दुस्साहस गरे त्यसको दुईगुणा शक्तिसहित उविरूद्ध खनिने गरी सोभियत सङ्घले सैन्य तयारी पनि गरिरहेको थियो ।
आर्थिक सङ्कटद्वारा प्रभावित भएर जर्मनी, इटाली र जापानी साम्राज्यवादीहरूले दोस्रो विश्वयुद्ध सुरू गरे । उता फासिवादविरोधी मित्रराष्ट्रहरूमा युद्धको उद्देश्य र युद्धोपरान्त विश्वमा शान्ति कायम गर्ने कार्यभारलाई लिएर तीव्र मतभेद थियो ।

धुरी-राष्ट्रहरूविरूद्ध सोभियत सङ्घ र स्वतन्त्रता चाहने विश्वका सबै मान्छेहरू उभिनुको उद्देश्य जनवादलाई पुनः कायम र सुदृढ गर्नु, फासिवादलाई पत्तासाफ गर्नु, धुरी- राष्ट्रहरूद्वारा हुनसक्ने पुनः आक्रमणको खतरालाई समाप्त गर्नु र सबै राष्ट्रहरूका बीचमा आपसी सहयोग स्थापित गर्नु थियो । तर बेलायती, फ्रान्सेली र अमेरिकी साम्राज्यवादीहरूको उद्देश्य यसको ठीक उल्टो थियो । उनीहरू जर्मनी र जापानलाई विश्वबजारबाट लखेटेर प्रभुत्व कायम राख्न चाहन्थे । उनीहरूले सपनामा पनि चिताएका थिएनन् कि युद्धले फासिवादलाई दबाउनेछ, फासिवादी शक्तिहरूले गुलाम बनाएका देशहरूलाई स्वतन्त्र तुल्याउनेछ र ती देशहरूमा जनवादी अधिकारहरू कायम गर्नेछ |

०राष्ट्रिय प्रतिरोध युद्ध छेडेर जापानविरोधी संयुक्त मोर्चा गठन 

०प्रतिरोध युद्धमा सोभियत सङ्घद्वारा चीनको समर्थन

७ जुलाइ १९३७ मा जापानी फासिवादी सैनिकहरूले पेकिङबाट लगभग १० किलोमिटर दक्षिण-पश्चिममा रहेको लुकओछ्याओ (मार्कोपोलो पुल)माथि हमला गरे । बढ्दो जापानविरोधी आन्दोलनको प्रभावमा स्थानीय चिनिया सेनाले कोमिन्ताङको इच्छाको कुनै परवाह नगरीकन दृढतापूर्वक प्रतिरोध गर्यो । १३ अगस्ट १९३७ मा मध्य चीनमाथि आक्रमण सुरू गरेको सङ्केत गर्दै जापानी सेनाहरूले साङ्ङ्घाइमा आक्रमण गरे । त्यसको चिनिया सैनिक डफ्फाले दृढतापूर्वक प्रतिरोध गर्यो । यसरी जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध सुरू भयो ।

आफ्नो आन्तरिक र बाह्य अन्तर्विरोधहरूमा तीव्रता आउनाले जापानी साम्राज्यवादीहरूले भयङ्कर र दुस्साहसपूर्ण युद्ध अर्थात् ज्यादै बर्बर साम्राज्यवादी युद्ध सुरू गरे । जापानी फासिवादी सैनिकहरूद्वारा मच्चाइएको नरसंहार, बलात्कार, लुटमार, आगजनी, विध्वंस र अन्य अमानवीय अत्याचारहरूले मानवताको इतिहासमा अनुहारमा कहिल्यै नमेटिने कालो पोत्यो ।शत्रुहरूले चिनिया जनताको अन्धाधुन्ध नरसंहार गरे । नानकिङको पतनपछि गरिएको एक महिनासम्म चलेको आमनरसंहारमा तीन लाखभन्दा पनि बढी निहत्था जनताको हत्या गरियो । जापानी सेनाहरूले ती जनताहरूलाई या त सामूहिक रूपमा मेसिनहरूले भुटे,या त जिउँदै जलाइदिए

बलात्कारका घटनाहरू त्योभन्दा पनि चक्कर लगाउनेखालको थियो । न त कलिला नानीहरूलाई छोडियो, न त वृद्धवृद्धाहरूलाई नै । सबै बलात्कारका शिकार बने । अधिकांशलाई बलात्कारपछि अंगभङ्ग, हत्या र अवर्णनीय पाशविक व्यवहार गरियो ।यी अत्याचारहरूद्वारा शत्रुहरू चिनिया जनतालाई गुलाम र आक्रमणको प्रतिरोध गर्ने उनीहरूको मनोबल तोड्न चाहन्थे ।

जापानी आक्रमणकारीहरूले मच्चाएको लुटमार र विनासको कुनै सीमा रहेन । जहाँजहाँ गए त्यहाँत्यहाँ उनीहरूले पशु, अन्न, कपडा, पैसा र अन्य जेजे हात पारे, ती सब लुटे । फर्निचर, झ्यालढोकाहरू आगो लगाउनका लागि प्रयोग गरियो । असङ्ख्य घरहरू जलाएर खरानी बनाइयो ।
शत्रुहरूले चीनको उद्योग र व्यापार नष्ट गर्न कुनै कसर बाँकी राखेनन् । चिनिया राष्ट्रिय उद्योग र व्यापारको केन्द्र च्याङ्सु र चच्याङमा सबैभन्दा बढी क्षति पुऱ्याइयो । १३ अगस्ट १९३७ सम्ममा साङ्घाइको कुल घाटा युद्धपूर्वको राष्ट्रिय मुद्राअनुसार ३०० करोड डलर थियो । यस्ता धेरै सहरहरूमा लगभग यस्तै प्रकारका घाटाहरू बेहोर्नुपरेको थियो । चिनिया जनताका धनदौलत चाहे ती आधुनिक फ्याक्ट्रीका रूपमा रहेका हुन् या लुट्न किसानहरूका झुप्राका रूपमा रहेका किन नहोऊन्, ती बर्बरतापूर्वक नष्ट गरियो, मिल्नेजति लुटियो ।

यी बर्बरतापूर्ण नीतिले सबै तह र तप्काका चिनिया जनतालाई जापानविरोधी शक्तिशाली सङ्घर्ष छेड्न बाध्य बनायो । उत्तरी चीनमा आक्रमण गरेलगत्तै जापानको प्रतिरोध र राष्ट्रिय पुनरूद्धारका लागि पुनः यति ठूलो आन्दोलन सुरू भयो, यसभन्दा पहिले कहिल्यै त्यस्तो भएको थिएन । प्रतिरोध युद्धमा चिनिया जनता मरिमेटेर लागे । सम्पूर्ण चीनलाई बचाउन अनेकौँ सङ्गठनहरू बने । सम्पूर्ण चिनिया जनता दृढ प्रतिरोध गर्न, सबै राजनीतिक सङ्गठनहरूमा आमूल परिवर्तन ल्याउन र लोकतन्त्र लागु गर्न जन्ऱ्याकजुरूक उठे । उनीहरूले कुनै पनि प्रकारको ढुलमुल र सम्झौताको जबरजस्त विरोध गरे । कोमिन्ताङ सेनाका धेरै अफिसर र उसका स्थानीय इकाइहरूले पनि प्रतिरोध गर्न आह्वान गरे । यसरी जापानको प्रतिरोध र राष्ट्रिय पुनरूद्दार आन्दोलनमा अभूतपूर्व गति पैदा भयो ।

चिनिया कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले १५ जुलाइ १९३७ मा कम्युनिस्ट पार्टी र कोमिन्ताङलाई सहयोगका लागि आह्वान गर्दै वक्तव्य जारी गयो । त्यसमा भनिएको थियो- ‘डा.सन यात्सेनको ‘तीन जनसिद्धान्त’ जनताका लागि आज ज्यादै जरूरत छ । हाम्रो पार्टी त्यसलाई पूर्ण रूपमा साकार बनाउन नसक्दासम्म लड्ने प्रतिज्ञा गर्छ ।’

वक्तव्यमा कोमिन्ताङको केन्द्रीय कार्यसमितिको तेस्रो पूर्ण बैठकमा प्रेषित गरिएको सन्देशमा पार्टीले गरेका चारवटा प्रतिबद्धता पूरा गर्ने कुरा पनि उल्लेख गरिएको थियो । यसो गरेर पार्टीले राष्ट्रिय हितप्रति निःस्वार्थ निष्ठा प्रकट गयो ।
कम्युनिस्ट पार्टीको अथक प्रयास र जनताको जोडदार माग अन्ततः सफल भइछाड्यो । २२ अगस्ट १९३७ मा कोमिन्ताङ सरकारले उत्तर-पश्चिममा लालसेनाको मुख्य सैन्य शक्तिलाई राष्ट्रिय क्रान्तिकारी सेनाको आठौ स्थलसेनाको रूपमा पुनर्गठन गर्ने घोषणा गयो । (पछि लालसेनाले दक्षिणी प्रान्तमा छोडिगएको छापामार दस्तालाई नयाँ चौथो सेनाको रूपमा पुनर्गठन गरियो ।) कम्युनिस्ट पार्टीले जुलाइ १९३७ मा जारी गरेको वक्तव्य २२ र २३ सेप्टेम्बरमा कोमिन्ताङले सरकारी स्तरमा प्रकाशित गर्यो र कम्युनिस्ट पार्टीलाई सार्वजनिक वक्तव्य जारी गरी वैधानिक रूपमा मान्यता दिन च्याङ काइसेक बाध्य भए । यसरी पार्टीको पहलकदमीमा सुरू भएको जापानविरोधी राष्ट्रिय संयुक्त मोर्चा स्थापित भयो । यो यस्तो संयुक्त मोर्चा थियो, जसको कार्यक्षेत्र व्यापक र संरचना ज्यादै फराकिलो थियो । यसमा मजदुर, किसान, सहरी निम्न पुँजीपति वर्ग, राष्ट्रिय पुँजीपति वर्ग र यहाँसम्म कि बेलायत र अमेरिकापरास्त ठूला पुँजीपतिहरू पनि सामेल थिए।

सम्पूर्ण प्रतिरोध युद्धका क्रममा चीनलाई सोभियत सङ्घबाट भरपूर सहयोग प्राप्त भयो । विशाल सोभियत सङ्घ सर्वाधिक विश्वसनीय र शक्तिशाली देश थियो, जसले युद्धमा चीनलाई सहायता गर्न सक्थ्यो । उसले सदैव चिनिया जनताको दुःखदर्दमा गम्भीरतापूर्वक साथ दिइरहेको थियो । सोभियत सङ्घ सबै उत्पीडित राष्ट्रहरू र सबैसबै क्रान्तिकारी युद्धहरूको समर्थन गर्नु आफ्नो कर्तव्य ठान्थ्यो । २१ अगस्ट १९३७ मा सोभियत सङ्घले चीनसँग अनाक्रमण सन्धिमा हस्ताक्षर गर्दै दुवै देशबीच राजनीतिक उद्देश्यका लागि युद्ध नगर्ने र कुनै तेस्रो शक्तिले चीनमाथि हमला गरेको स्थितिमा सोभियत सङ्घले आक्रमणकारी देशलाई प्रत्यक्ष-अप्रत्यक्ष रूपमा दुवै सहयोग नगर्ने घोषणा गरिएको थियो । यी सन्धिले चिनिया जनतालाई नैतिक समर्थन मिल्यो भने आक्रमणकारीहरूको मुखमा गतिलो झापड हान्यो ।

सोभियत सङ्घले चीनलाई हातहतियारहरू पनि उपलब्ध गरायो । उत्तर-पश्चिममा शस्त्रास्त्र, पेट्रोल र गाडीहरू ठूलो अनुपातमा पठायो । सोभियत हवाइ सेनाहरू चीनको रक्षा गर्न सहभागी भए । चिनिया जनतामाथि आइलागेको सङ्कटको घडीमा प्रकट भएको यो महान् मित्रताको हात चीनको राष्ट्रिय मुक्तिआन्दोलनमा अमूल्य योगदान थियो ।
युद्ध सुरू हुँदाका बखत कुनै पनि पश्चिमी देशले चीनलाई कुनै प्रकारको मद्दत गरेनन् । लुकओछ्याओ घटनाभन्दा पहिले पश्चिमी अखबारहरूले ठूल्ठूलो स्वरमा चीनको प्रतिरक्षा संरचना आक्रमणको प्रतिरोध गर्न असमर्थ छ र केही महिनामै जापानले चीनमाथि कब्जा जमाउनेछ भनेर होहल्ला गरे । पश्चिमा पुँजीपति वर्ग र शासक तप्काले ‘पर्ख र हेर’को नीति अख्तियार गर्यो । जब जापानले आक्रमण गर्यो तब बेलायत, फ्रान्स र अमेरिका मध्य-चीनको उनीहरूको प्रभुत्वको केन्द्र साङ्घाइबाट पछि हटे, बेलायत क्यान्टनबाट पछि हट्यो, जबकि दक्षिणी चीन उनीहरूको एकछत्र प्रभुत्व भएको अड्डा थियो र फ्रान्स हाएनानबाट पछि हट्यो ।

अङ्ग्रेज अमेरिकी साम्राज्यवादीहरूको के विश्वास थियो भने चीन-जापान युद्धमा चीनको राष्ट्रिय मुक्तिसङ्घर्षको आगो निभ्नेछ र जापानी साम्राज्यवादीहरू कमजोर हुनेछन । त्यसैले उनीहरूले ‘सिंहहरू लडिरहेको दृश्य सुरक्षित ठाउँबाट हेर्ने नीति अपनाए । बेलायत र खासगरी अमेरिकाले जापानविरोधी युद्ध छेडिएपछि पनि ठूलो परिमाणमा जापानलाई युद्धसामग्री आपूर्ति गरिरहेको थियो । जापानले चीनविरूद्ध प्रयोग गरिरहेको पेट्रोल, विमान, फलाम, इस्पात र अन्य युद्धसामग्रीको ठूलो हिस्सा अमेरिकाद्वारा आपूर्ति हन्थ्यो । अमेरिकाको सरकारी आँकडाअनुसार जापानले सन् १९३७ मा गरेको कुल निर्यातको ५८ प्रतिशत, १९३८ को कुल निर्यातको ६६ प्रतिशत र १९३९ मा गरेको कुल निर्यातको ८१ प्रतिशत हिस्सा युद्धसामग्रीको थियो ।

त्यति हुँदाहुँदै पनि चीनविरूद्ध जापानी आक्रमणकारी युद्धले पूर्वमा बेलायत र अमेरिकाको स्वार्थमा धक्का पुऱ्याइरहेको थियो । त्यसले गर्दा जापानसँग उनीहरूको फाटो बढ्दै जानु स्वाभाविक थियो । तर, चिनिया शक्तिको विकासलाई अवरूद्ध गर्न, युद्धलाई सोभियत सङ्घतर्फ मोड्न र हिटलरद्वारा युरोपमा पैदा गरिएको तनावपूर्ण स्थितिबाट निकास पाउन अङ्ग्रेज-अमेरिकी साम्राज्यवादीहरू जापानसँगको आफ्नो सङ्घर्षलाई कम गर्न आतुर थिए । त्यसका लागि उनीहरू जापानी आक्रमणलाई प्रोत्साहित गर्ने हदसम्म उत्रिए । सन् १९४१ मा प्रशान्त युद्ध छेडिनुपूर्वसम्म उनीहरू या त जापानसँग सक्दो सम्झौता गर्ने प्रयास गरिरहेका थिए, या त युद्धले चीन र जापान दुवै शिथिल हुनेछन् भनेर पर्खिराखेका थिए । यही थियो बेलायत र अमेरिकाले अङ्गीकार गरेको ‘हस्तक्षेप नगर्ने नीति को असली रूप ।
०जापानविरोधी संयुक्त मोर्चाभित्र चिनिया कम्युनिस्ट पार्टीको स्वतन्त्रता र पहलकदमीको नीति
०पार्टीले छापामार लडाइँ सुरू गर्नु र शत्रुको कित्तामा जापानविरोधी आधारक्षेत्र स्थापना गर्नु

जापानविरोधी युद्धको सुरूवातसँगै दुईवटा विरोधी नीतिहरू अगाडि आए । एक, यसको अनुसरण ठूला जमिनदार र ठूला पुँजीपतिहरूले गरिरहेका थिए, जसको प्रतिनिधित्व कोमिन्ताङले गरिरहेको थियो । दोस्रो, यसको अनुसरण कम्युनिस्ट पार्टीले गरिरहेको थियो, जसको प्रतिनिधित्व चिनिया कम्युनिस्ट पार्टीले गरिरहेको थियो ।
जनताको दबाब र जापानी आक्रमणले बेलायती-अमेरिकी साम्राज्यवादीहरूको स्वार्थका साथै ठूला जमिनदार र ठूला पुँजीपतिहरूको प्रतिनिधित्व गर्ने ‘चार ठूला घरानाको स्वार्थमा धक्का पुग्ने देखेपछि कोमिन्ताङ पनि जापानी अक्रमणको प्रतिरोध गर्न बाध्य भयो ।

आखिरमा १७ जुलाइ १९३७ मा च्याङ काइसेकले लुसानबाट एउटा वक्तव्य जारी गरे, जसमा बडो हिचकिचाहटसहित जापानको प्रतिरोध गर्ने घोषणा गरिएको थियो । यद्यपि युद्धको बारेमा उनी अझै ढुलमुले थिए ।

लुकओछ्याओ घटनालगत्तै आत्मसमर्पणका लागि तयार भएर बसेको कोमिन्ताङले जापानसँग वार्ता गर्ने प्रस्ताव राख्यो । उसले चिनिया र जापानी दुवै सेना लुकओछ्याओनजिकैको चिनिया भूमिबाट एकसाथ पछि हटाऔं भन्ने प्रस्ताव गर्यो । तर, जापानले यो कुरालाई ठाडै अस्वीकार गर्यो । फेरि कोमिन्ताङ सरकारले तथाकथित ‘शान्तिपूर्ण सम्झौताको योजना’ स्वीकार गर्यो, जुन जापानी प्रतिनिधि र उत्तरी चीनका स्थानीय अधिकारीहरूले तयार पारेका थिए । यसमा मुख्य दुई कुरा थिए- पेकिङ, थ्येनचिन, लुकओछ्याओ र युङथिङ नदीको पूर्वमा रहेको इलाकाबाट चिनिया फौज फिर्ता हुने तथा चीन र जापानबीच कम्युनिस्टविरोधी गठबन्धन बनाउने । यो वार्ताले जापानलाई चीनमा थप आक्रमण गर्न ठूलो अनुपातमा सैन्यशक्ति भित्र्याउन समय मिल्यो । र, यो उसका लागि ज्यादै जरूरी पनि भइसकेको थियो ।

जब १३ अगस्टमा जापानी सेनाले साङ्ङ्घाइमाथि हमला गर्यो, दक्षिण-पूर्वी चीनमा चार ठूला घराना’को शासन धर्मराउन थाल्यो । कोमिन्ताङसँग अरू कुनै बाटो बाँकी रहेन तब उसले प्रतिरोध युद्ध सुरू गयो ।

नानकिङको पतन हुनुभन्दा पहिले कोमिन्ताङ सरकार जापानसँग भएको पटकपटकों वार्तामा आत्मसमर्पण गर्न तयार थियो । सबैलाई थाहा भएकै कुरा हो कि यी वार्ताहरूमा चीनका लागि नियुक्त भएका फासिवादी जर्मन राजदूतले मध्यस्थताको भूमिका खेलेका थिए । उनीमार्फत् जापानले निम्नलिखित मागहरू प्रस्तुत गन्यो- ( १ ) चीनले मन्चुक्वो (उत्तरी चीनमा जापानद्वारा स्थापित कठपुतली राज्य) लाई मान्यता दिनुपर्ने, (२) भित्री मङ्गोलियाको स्वतन्त्रतालाई मान्यता दिनुपर्ने, (३) चीन-जापानका बीचमा ‘आर्थिक सहयोग स्थापना गर्नुपर्ने, (४) कम्युनिजविरूद्ध संयुक्त चिनिया – जापानी रक्षात्मक कारबाही गर्ने, (५) चीनमा जापानविरोधी आन्दोलनमाथि प्रतिबन्ध लगाउनुपर्ने र (६) उत्तरी चीनमा कुनै सैनिक तैनाथ गर्न नहुने । यी सर्तहरूको स्पष्ट उद्देश्य चीनलाई आफ्नो गुलाम बनाउनु थियो । यति हुँदाहुँदै पनि कोमिन्ताङ सरकार वार्ता अगाडि अघि बढाउने सर्तको रूपमा यसलाई स्वीकार गर्न तयार भयो । तर, कम्युनिस्ट पार्टी र सम्पूर्ण चिनिया जनताले जापानी आक्रमणको तगडा प्रतिरोध गर्ने दृढ सङ्कल्प देखाएपछि उनीहरूको षड्यन्त्र चकनाचुर भयो ।

कोमिन्ताङको जापानप्रतिको नीति सम्झौतापरस्त र आत्मसमर्पणवादी भएकाले कोमिन्ताङ स्वाभाविक रूपमा जनताको सम्पूर्ण लडाइँविरूद्ध थियो । उसको भरोसा सरकारले चलाउने आंशिक लडाइँमा मात्र थियो । राष्ट्रिय मुक्तिआन्दोलन आफ्नो नियन्त्रणभन्दा बाहिर जाने डरले कोमिन्ताङले आन्दोलनमा फूट ल्याउन र आफ्नो मुठीमा पार्न जोडदार कसरत गयो । यद्यपि कोमिन्ताङ सरकारले प्रतिरोध युद्धको समर्थनमा आफ्नो छुट्टै समिति स्थापना गर्यो तर त्यसको भित्री उद्देश्य आन्दोलनलाई प्रोत्साहित गर्नुको सट्टा त्यसलाई अवरूद्ध गर्नु थियो । यहाँसम्म कि एकीकृत नेतृत्वका आडमा राष्ट्रिय मुक्तिका लागि काम गर्न थुप्रै जनसङ्गठनहरूलाई प्रतिबन्ध लगाइयो र जापानविरोधी आन्दोलनमा भाग लिनेहरूलाई कानुनी प्रपञ्चहरू रचेर दुःख दिइयो ।

यी जनविरोधी नीतिका कारण कोमिन्ताङ सेनाले सबै मोर्चामा हार मात्र बेहोर्नुपर्यो । लुकओछ्याओ घटनाको एक महिनाभित्र कोमिन्ताङ सरकारले पेकिङ र थ्येनचिन शत्रुको हातमा सुम्प्यो । त्यसको लगत्तै छाहाड र स्वेय्वानका प्रान्तहरू पनि शत्रुलाई चढायो । नोभेम्बर १९३७ मा साङ्ङ्घाइ र डिसेम्बरमा नानकिङ पतन भयो । युद्ध छेडेको ६ महिनाभन्दा कम समयमा मार्च १९३८ मा शत्रुहरू सानसीमा फङलिङ्तु, हनानमा क्वेइते र सानतुङमा चाओच्वाङसम्म पुगे । जुन १९३८ मा कोमिन्ताङ सरकारले याङ्सी नदीमा रहेको दुर्ग शत्रुलाई सुम्पियो । यसरी उहानलाई उत्तर र पूर्व दुवैतिरबाट शत्रुको हमलाको निसाना बनाइयो । जापानी सेनाको लगातारको आक्रमणले कोमिन्ताङ सेनाहरूले एकपछि अर्को पराजय भोग्नुपर्यो । अक्टोबर १९३८ मा क्यान्टन र उहान ढले । यसरी च्याङ्सु, आनवेइ, हनान, च्याङ्सी, क्वाङतुङ र हुपे लगभग सबै प्रान्तहरू एकएक गरी हातबाट फुत्किँदै गयो । सङ्क्षेपमा भन्दा जापानी आक्रमणको आंशिक प्रतिरोधको नीतिमा चल्दा र चिनिया जनताको प्रतिरोध गर्ने हुँदा कोमिन्ताङ सेना १५ महिनाकै अल्पावधिमा पेकिङ, थ्येनचिन, साङघाइ, क्यान्टन र उहानबाट सिधै सछ्वानसम्म पछि हट्न बाध्य भयो । अर्कोतर्फ चिनिया कम्युनिस्ट पार्टीले लुकओछ्‌याओ घटनाको दिन सम्पूर्ण रूपमा प्रतिरोधमा उत्रिन आह्वान गर्दै राष्ट्रको नाममा सन्देश जारी गर्‍यो ।

२३ जुलाइ १९३७ मा कमरेड माओत्सेतुङले ‘जापानी आक्रमणको प्रतिरोध गर्ने नीति, उपाय र सम्भावना’ शीर्षकको लेख लेखे । यसमा उनले जापानविरोधी युद्धप्रति दुई प्रकारको नीति, दुई प्रकारको उपाय र दुई प्रकारको सम्भावना छ भन्ने स्पष्ट पारे । कम्युनिस्ट पार्टीद्वारा अपनाइएको नीति सम्पूर्ण प्रतिरोधको नीति थियो । यस नीतिको सफलता जनतामाथि विश्वास र भर पर्नुमा निहित थियो । त्यसले गर्दा यो नीति लागु गरेपछि राष्ट्रिय मुक्ति सम्भव हुन्थ्यो । अर्कोतर्फ, कोमिन्ताङद्वारा सम्झौतापरस्त र आत्मसमर्पणवादी नीति अपनाइएको थियो । ऊद्वारा अवलम्बन गरिएको उपायको एक मात्र उद्देश्य जनतालाई दमन गर्नु थियो । त्यसले गर्दा पराजयको सुनिश्चित थियो । यही अन्तरका कारण जापानविरोधी युद्धमा चिनिया कम्युनिस्ट पार्टी र कोमिन्ताङको नीतिमा सङ्घर्ष चलेको थियो ।

२५ अगस्टमा उत्तरी सेनसीको लोछ्वान नामक स्थानमा चिनिया कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोको पूर्ण बैठक बस्यो । बैठकले कम्युनिस्ट पार्टी र कोमिन्ताङका बीचमा जापानको प्रतिरोध गर्ने प्रश्नमा जो मतभेद र विवाद थियो, त्यो युद्धमा कसरी विजय हासिल गर्ने भन्ने कुरामा नै थियो भनेर स्पष्ट पार्यो । त्यसकारणले गर्दा नेतृत्व कसको हुने भन्ने प्रश्न ज्यादै महत्वपूर्ण प्रश्न थियो । उक्त बैठकले राष्ट्रिय मुक्तिको दशसूत्रीय कार्यक्रम” १. दशसूत्रीय कार्यक्रम यस्तो थियो- (१) जापानी साम्राज्यवादको तख्ता पल्टाऊ, (२) देशभरिका सैन्य शक्तिहरूलाई गोलबन्द गर, (३) देशभरिका जनतालाई गोलबन्द गर, (४) सरकारको संरचनामा परिवर्तन गर, (५) जापानविरोधी विदेश नीति अपनाऊ, (६) युद्धकालीन वित्तीय र आर्थिक नीति लागु गर, (७) जनताको जीवनस्तरमा सुधार गर, (८) जापानविरोधी शिक्षा नीति अपनाऊ, (९) अघिल्लो मोर्चालाई सुदृढ गर र (१०) देशद्रोही तथा जापानपरस्त तत्वहरूलाई सखाप पार र जापानका विरूद्ध राष्ट्रिय एकता कायम गर ! यो कार्यक्रमको उद्देश्य जापानविरोधी युद्ध जित्न र कोमिन्ताङको जापानविरोधी नीतिको विरोध गर्न कम्युनिस्ट पार्टीले देशभरिका जनतालाई नेतृत्व प्रदान गर्नु थियो ।

यो कार्यक्रमलाई दृढतापूर्वक लागु गरेर मातृभूमिको रक्षा र शत्रुलाई पराजित गर्न सकिन्छ भन्ने पार्टीको दृढ विचार थियो । आफ्नो नीतिलाई दृढतापूर्वक लागू गर्न यसअघि प्रकट भइसकेको र प्रकट हुने सम्भावना रहेको कुनै पनि प्रकारको आत्मसमर्पणवादी सम्भावनालाई विफल र थान्कोमा राख्न २५ सेप्टेम्बरमा केन्द्रीय समितिले सरकारमा सहभागी हुनेसम्बन्धी एउटा प्रस्ताव पारित गयो । त्यसमा स्पष्ट पारिएको थियो- अहिले जुन सरकार अस्तित्वमा थियो, त्यो जापानविरोधी राष्ट्रिय संयुक्त मोर्चाको सरकार नभएर कोमिन्ताङकै एकदलीय तानाशाहीअन्तर्गतको सरकार थियो । त्यसैले यसमा कुनै पनि कम्युनिस्ट सहभागी हुनु हुँदैन । त्यसमा सहभागी हुँदा आफ्नो लक्ष्यमा धुलो लागेर कोमिन्ताङको प्रतिक्रियावादी शासन अरू बढी नलम्बियोस् भन्ने कुरामा पार्टीले ध्यानाकर्षण गरायो ।

सैनिक मामिलामा स्वतन्त्र पहलकदमी लिनुको अर्थ थियो- पहाडी क्षेत्रमा स्वतन्त्र रूपमा छापामार लडाइँ चलाउनु, मुख्य मोर्चामा छापामार युद्धको नीतिमा डटिरहनु तर अनुकूल परिस्थितिमा चलायमान लडाइँको अवसरलाई पनि हातबाट उम्कन नदिनु । त्यसो भन्नुको अर्थ हो, शत्रुको प्रभावक्षेत्रमा जापानविरोधी आधारक्षेत्र स्थापित गर्नु र शत्रुको पार्श्वमा ठूलो परिमाणमा छापामार युद्ध छेड्नु ।

जापानविरोधी युद्धका प्रारम्भिक दिनहरूमा पार्टीभित्र र बाहिरका थुप्रै मान्छेहरू छापामार युद्धको रणनीतिक भूमिकालाई कम आँक्ने गर्थे । उनीहरूले कोमिन्ताङद्वारा चलाइएको नियमित युद्ध र कोमिन्ताङ फौजी कारबाहीहरूमाथि नै आफ्नो विजयको आश टिकाइराखेका थिए । चिनिया कम्युनिस्ट पार्टी र कमरेड माओत्सेतुङले यस्तो दृष्टिकोणको खण्डन गरे । पार्टी र उनले स्पष्ट पारे कि शत्रुहरूविरुद्ध जनतालाई सङ्गठित गरेर तथा स्वतन्त्र छापामार युद्धको प्रारम्भिक रणनीतिक कालबाट नियमित युद्धको दोस्रो रणनीतिक कालसम्म सशस्त्र प्रतिरोधलाई व्यापक बनाउनका लागि लड्दै नै चिनिया कम्युनिस्ट
पार्टीले युद्ध जित्नेछ ।

राष्ट्रव्यापी प्रतिरोध युद्ध छेड्नासाथ चिनिया कम्युनिस्ट पार्टीको केन्द्रीय समिति र कमरेड माओत्सेतुङले स्वतन्त्र छापामार युद्ध चलाए र शत्रुको पृष्ठभागमा जापानविरोधी आधारक्षेत्र स्थापित गर्न थुप्रै निर्देशन जारी गरे-
पहिलो, छापामार युद्ध स्वतन्त्र रूपमा आफ्नै पहलकदमीमा सुरू गर्न सेनालाई अलगअलग टुकडीहरूमा बाँड्न दिनु । जनतालाई लामबन्द गर्न र जापानविरोधी आधारक्षेत्र स्थापित गर्न शत्रुको पिठ्‌यूँपछाडिको भूभागमा गहिरोसँग घुसपैठ गर्नु ।
दोस्रो, उत्तरी चीनमा पार्टीको मुख्य उद्देश्य छापामार युद्ध जारी राख्नुपर्छ र बाँकी सबै गतिविधिहरू त्यसैको वरिपरि केन्द्रित गर्नुपर्छ । स्थानीय पार्टी शाखाहरूले जनतालाई लामबन्द गर्नुपर्छ, यताउता छरपस्टिएको हतियार एकत्रित गर्नुपर्छ, लाखापाखा लागेका सैनिकहरूलाई भर्ती गर्नुपर्छ र योजनाअनुसार सबै क्षेत्रमा छापामार दस्ता गठन गर्नुपर्छ ।

तेस्रो, पहिले नै स्थापित गरिएका जापानविरोधी आधारक्षेत्र (उदाहरणका लागि सानसी- छाहाङ-हपे आधारक्षेत्र)लाई सुदृढ गर्ने सबैभन्दा प्रभावकारी उपाय थियो- फौजहरूलाई पुनर्गठन र प्रशिक्षण दिनु, पार्टीको काममा स्फुर्ति ल्याउनु, आधारक्षेत्रहरूबाट गुण्डाहरूलाई लखेट्नु, अनियमित प्रकृतिका सेनाहरूलाई प्रशिक्षित गर्न प्रयास गर्नु । यसो गर्नु किन जरूरी थियो भने उनीहरूले आक्रमणकारीहरूविरूद्ध लड्नु थियो र स्थानीय देशद्रोहीहरूको सफाया गर्नु थियो । यी उपायहरूको सफलतासँगै सानसी-छाहाड-हपे आधारक्षेत्रलाई पश्चिमी तथा मध्य हपेदेखि पूर्वी हपेसम्म विस्तार गर्न प्रयास गर्नु जरूरी थियो ।
|
चौथो, यदि सम्पूर्ण राष्ट्र प्रतिरोध युद्धमा डटिरहने हो र जनतालाई जागृत गर्ने काम तगडासँग गर्न सक्ने हो भने सानतुङ र हपेको मैदानी फाँटमा जापानविरोधी छापामार युद्ध सुरू गर्न र त्यसलाई व्यापक स्तरमा सञ्चालन गर्न विलकुलै सम्भव हुनसक्थ्यो । यी मैदानी क्षेत्रहरूमा छापामार इलाका तुरून्त रेखाङ्कित गर्न र मुख्यालय स्थापना गरेर एकएक गर्दै छापामार गतिविधि अघि बढाउन जरूरी थियो । शत्रुहरूबाट मुक्त गरिएका क्षेत्रहरूमा जापानविरोधी जनसरकार गठन गर्नुपर्थ्यो, छरपस्टिएका हतियारहरू एकगठ गर्नुपर्थ्यो र जनतालाई छापामार दस्ता तथा नियमित सेनामा सहभागी गराउनुपर्थ्यो । पार्टी केन्द्रीय समितिले मध्य चीनमा नयाँ चौथो सेनालाई जनतालाई लामबन्द गर्न र क्वाङ्ते, सुचओ, छनच्याङ, नानकिङ र उहुबीचको विशाल भूभागमा जापानविरोधी आधारक्षेत्र स्थापित गर्न निर्देशन दियो । माओसान आधारक्षेत्र स्थापना गरेपछि सुचओ, छनच्याङ र उहुका बीचको भूभागमा सैन्य डफ्फा पठाउने तयारी गर्नु थियो । त्यसका अतिरिक्त याङ्सी नदीको उत्तरी इलाकामा पनि एक डफ्फा पठाउनु थियो ।

नयाँ चौथो सेनाले त्यही मौकाको फाइदा उठाउँदै शत्रुका क्षेत्रमा घुसपैठ गरेर नदीको कुनै एकापट्टि छापामार आधारक्षेत्र स्थापना गर्नुपर्ने थियो । नयाँ चौथो सेनाका नेताहरूलाई जापानविरोधी युद्ध र गृहयुद्धको दौरानमा सङ्घर्षको विकास र काम गर्ने तरिकामा रहेको आधारभूत भिन्नताबारे पार्टी सदस्यहरूलाई राम्ररी सम्झाउन निर्देशन दिइयो । त्यस्तै गरेर पार्टी र क्रान्तिकारी सेना विस्तार गरेर मात्र संयुक्त मोर्चालाई व्यापक र सुदृढ बनाउन सकिन्छ तथा कोमिन्ताङमा रहेका कट्टरपन्थी (die-hards) हरूको क्रान्तिकारी सैन्यशक्तिमाथि दमन गर्ने नीतिलाई चकनाचुर बनाइनुपर्छ भन्ने कुरा पनि स्पष्ट पारियो ।

जापानविरोधी युद्धमा रणनीतिक रक्षाको चरणमा चिनिया कम्युनिस्ट पार्टीले कोमिन्ताङको नीतिविपरीत सम्पूर्ण जनप्रतिरोधको नीतिअन्तर्गत चल्दै स्वतन्त्र छापामार युद्ध चलायो र शत्रुको पछाडि थुप्रै जापानविरोधी आधारक्षेत्रहरू स्थापना गन्यो ।

अगस्ट १९३७ मा आठौं स्थल सेना र ४० हजारभन्दा बढी सङ्ख्यामा रहेका नयाँ सेना मोर्चातर्फ लाग्यो । आठौं स्थल सेना उत्तरी चीनतर्फ र नयाँ चौथो सेना याङ्सी नदीको उत्तर तथा दक्षिणी इलाकातर्फ लाग्यो । आठौ स्थल सेनामा सेनापति चु तेह थिए, जसमा तीन डिभिजन सेना थियो (११५औं, १२०औं र १२९औं) । उनीहरूको कुल सङ्ख्या ३० हजारभन्दा बढी थियो । नयाँ चौथो सेनाको कमान्डर थिए ये थिङ र डेपुटी कमान्डर थिए स्याङ इङ । त्यसमा १२ हजार सैनिक थिए । यी दुवै सेना सङ्ख्याको दृष्टिले कोमिन्ताङको सेनाभन्दा कयौंगुणा कम थियो तर गुणवत्ताका दृष्टिले कोमिन्ताङ सेनाभन्दा कयौंगुणा श्रेष्ठ थिए । उनीहरूको राजनीतिक चेतनाको स्तर ज्यादै माथि थियो, जनतासँग उनीहरूको घनिष्ट सम्बन्ध थियो र उनीहरू समग्र राष्ट्रका लागि लडिरहेका थिए । यी कुराहरूमा कोमिन्ताङका सेनाहरूले लालसेनालाई छेउटुप्पो पनि भेट्टाउँदैनथ्यो । त्यसैले गर्दा जब आठौं स्थल सेना र नयाँ चौथो सेना लडाइँको मैदानमा उत्रियो, कोमिन्ताङका सेनाको ठीक उल्टो सफलता नै सफलता हात पारे र कोमिन्ताङका सेनाहरूले फुत्काएका विशाल क्षेत्रहरू शत्रुहरूको कब्जाबाट खोस्न सफल भए ।

मोर्चामा पुग्नेबित्तिकै आठौं स्थल सेनाको मुख्य शक्ति ११५औं डिभिजनले जापानी सेनालाई थाएय्वानको दक्षिणतर्फ अघि बढ्नबाट रोक्नका लागि फिङसिङक्वानतर्फ अघि बढ्यो । २५ सेप्टेम्बरमा उनीहरूले शत्रुलाई मटियामेट बनाउन कमरेड लिन प्याओको कमान्डमा पहिलो लडाइँ सुरू गर्यो र शत्रुका ३ हजार बर्बर सैनिकहरूलाई लखेटी पठायो । यो विजयले सेनाको प्रतिष्ठामा ठूलो वृद्धि भयो र जनतालाई अन्तिम विजयमा विश्वास गर्न प्रोत्साहित गर्यो ।

कोमिन्ताङ सेना होसहवास उडेको अवस्थामा पछि हट्न थाल्यो जबकि आठौं स्थल सेनाले सिनखओ र थाएय्वानमा लगातार दुईवटा लडाइँमा चङतिङ-थाएय्वान तथा ताथुङ- फुचओ रेलमार्ग हुँदै अघि बढिरहेका जापानीहरूलाई रोक्यो ।
८ नोभेम्बर १९३७ मा थाएय्वान जापानीहरूको कब्जामा गयो र कोमिन्ताङका सेनाहरू दक्षिण-पश्चिमी भागतर्फ पछि हटे । तर, उत्तर-पूर्वी सानसीको उथाएसान क्षेत्र र चङतिङ-थाएय्वान रेलमार्गका साथै शत्रुका पछिपछिबाट गतिविधि सञ्चालन गरिरहेको आठौ स्थल सेनाको विभिन्न इकाईहरूले आक्रमणकारी जापानीहरूलाई हैरान खेलाइरहेका थिए । उनीहरूले जापानी सेनाहरूलाई येल्लो रिभर पार गरेर पश्चिमतर्फ अघि बढ्न रोकिराखेका थिए । यसरी रणनीतिक आवरणको शानदार कौशलद्वारा पछि हटिरहेका लाखौको सङ्ख्यामा रहेका कोमिन्ताङ फौजलाई धरासायी हुनबाट बचाइयो ।

यसपछि आठौं स्थलसेना शत्रुहरूको क्षेत्रमा भित्रभित्रसम्म घुसेर थुप्रै जापानविरोधी आधारक्षेत्र स्थापनामा जुट्यो । त्यसमध्ये मुख्य यसप्रकार थिए-

(क) सानसी-छाहाड-हपे जापानविरोधी आधार क्षेत्र

फिङसिङक्वानको लडाइँपछि ११५औं डिभिजनको एउटा हिस्सा उथाएसान क्षेत्रमा कार्यरत रह्यो । त्यसबखत सानसी-छाहाड-हपेको जोडिएको सीमाक्षेत्रमा घोर अव्यवस्था फैलिएको थियो । घरिघरि त मुठ्ठीभर जापानी लुटेराहरू जापानी झण्डा हल्लाउँदै कुनै काउन्टीको गाउँ कब्जा गर्थे । कोमिन्ताङका सेनाहरू शत्रुहरूलाई देख्नुभन्दा पहिले नै दक्षिणी दिशातर्फ भागिसक्थे । स्थानीय कोमिन्ताङ शासनव्यवस्था धरासायी हुनुका कारण यस्तो स्थिति पैदा भएको थियो । आठौं स्थल सेनाले सन् १९३७ को हिउँदमा यस्तो अवस्थाको अन्त्य गरेर उथाएसानलाई केन्द्र बनाउँदै सानसी-छाहाङ-हपे फौजी ‘जोन’ स्थापना गर्यो । उत्तर-पूर्वी सेनाको एउटा रेजिमेन्ट आनक्वो, होच्येन, स्येनस्येन, काओयाङ र अन्य काउन्टीहरूमा कठपतुली शासनव्यवस्थालाई समाप्त गरेर मध्ये हपेको मैदानी भूभागमा जापानविरोधी आधारक्षेत्र स्थापना गरे । १५ जनवरी १९३८ मा हपेको फुपिङमा सीमान्त क्षेत्रका सैनिक, कर्मचारी र नागरिकहरूको एउटा सम्मेलन आयोजना गरेर सानसी-छाहाड-हपे सीमान्त क्षेत्रको प्रशासनिक परिषद् गठन गरियो । आठौं स्थल सेनाले जुन १९३९ मा पूर्वी हपेमा जापानविरोधी विद्रोहको नेतृत्व गरेर त्यहाँ आधारक्षेत्र स्थापना गर्यो ।
(ख) सानसी -हपे – सानतुङ-हनान जापानविरोधी आधारक्षेत्र

थाएय्वानको पतन भएपछि जब कोमिन्ताङको सेना दक्षिणतर्फ पछाडि हटिरहेको थियो, त्यहीबखत आठौं स्थल सेनाका १२९औं डिभिजनले कम्युनिस्ट पार्टीको स्थानीय सङ्गठन र नवगठित स्थानीय जापानविरोधी सैन्य दलसँग तालमेल कायम गरेर थाएहाङ पहाडी इलाकामा केन्द्र रहेको थाएहाङ आधारक्षेत्र स्थापना गर्यो । सन् १९३७ को अन्त र १९३८ मा १२९औं डिभिजन सेना पेकिङ-हानखओ रेलमार्ग पार गरेर हपे-सानतुङ-हनानको मैदानी भूभागमा आइपुग्यो । र, जनतालाई छापामार युद्धका लागि सङ्गठित गर्न गर्यो । सन् १९३९ मा हपे-सानतुङ-हनान फौजी ‘जोन’ स्थापना गरेर विशाल मैदानी भूभागमा हपे- सानतुङ-हनान आधारक्षेत्र कायम गरे ।
(ग) सानसी-स्वेय्वान जापानविरोधी आधारक्षेत्र
सन् १९३७ को जाडोमा आठौ स्थल सेनाको १२०औं डिभिजन सानसीको उत्तर-पश्चिमी इलाकातर्फ अघि बढ्यो । फेब्रुअरी १९३८ मा यो डिभिजनले ताथुङ-फुचओ रेलमार्गको उत्तरी भागको सम्पर्क बाँकी रेलमार्गबाट कटाउने जिम्मा लियो । यसो गर्दा थाएय्वानमा गर्न लागिएको जवाफी हमलासँग तालमेल बनाउन सकिन्थ्यो । यो काम गर्ने दाबी कोमिन्ताङले गरिरहेको थियो । यस्तो परिस्थितिमा १२०औं डिभिजन सेना पछाडि मोडियो र शत्रुको मुकाबिला गर्दै सातवटा काउन्टीलाई मुक्त गर्यो । मार्चमा उत्तर-पश्चिमी सानसीमा जापानविरोधी अधारक्षेत्रको स्थापना गर्यो । अगस्टमा डिभिजनको एउटा टुकडी उत्तरी स्वेय्वानको ताचिङतर्फ अघि बढ्यो । र, सेप्टेम्बरमा ताओलिन र अक्टोबरमा उलानवालाई मुक्त गयो ।

(घ) सानतुङ जापानविरोधी आधारक्षेत्र
सन् १९३७ को अन्त्यतिर सानतुङका तत्कालिन शासक हान फुच्चि एक गोली पनि नपड्काइ लगातार पछि हटिरहेका थिए । कम्युनिस्ट पार्टीको सानतुङ प्रान्तीय कमिटी र थायआन काउन्टी कमिटीले स्थानीय किसान, पेकिङ र थ्येनचिनबाट राष्ट्रिय मुक्तिआन्दोलनमा सामेल भएका विद्यार्थीहरूलाई सङ्गठित गयो । छुलाए पहाडमा जापानविरोधी विद्रोहको ढोल बजायो । सन् १९३८ को हिउँदमा सानतुङमा सेनाको सङ्ख्या बढेर नौ दस्ता पुगेको थियो । उनीहरूले सानतुङ प्रायद्वीपका वास्येन, फङलाए र येस्येन क्षेत्रमा छापामार इलाका स्थापना गरे । ल्याओछङको स्थानीय पार्टी सङ्गठनले स्थानीय जननेता फान च्विसेनलाई सानतुङ प्रान्तको उत्तर-पश्चिमी इलाकामा जापानविरोधी कार्वाही सञ्चालन सुरू गर्न सहयोग गर्‍यो।
(ङ) मध्य चीनको जापानविरोधी आधारक्षेत्र

दक्षिणका लाल छापामार युनिटलाई पुनर्गठित गरेर बनाइएको नयाँ चौथो सेनाले जनवरी १९३८ मा नानछङमा आफ्नो मुख्यालय स्थापना गर्यो । त्यसपछि यो सेना दुईवटा बाटोबाट मध्य चीनको शत्रुहरूको कब्जाभित्र रहेको इलाकामा पछाडिबाट घुस्यो- एउटा टुकडी याङ्सी नदीको दक्षिणतर्फबाट र अर्को उत्तरतर्फबाट । दक्षिणी टुकडी जुन १९३८ मा नानकिङ-साङ्घाइ रेलमार्गमा पुग्यो । उसले दक्षिणी च्याङ्सुलाई मुक्त क्षेत्र घोषणा गयो । त्यसको केन्द्र माओसानपछाडिको इलाका थियो । उत्तरी टुकडी मे १९३८ मा आनवेइ प्रान्तको छाओ हु, उबेइ र थिङय्वान क्षेत्रमा पुग्यो । उसले उथाङलाई केन्द्र बनाएर एउटा मुक्त क्षेत्र स्थापित गयो ।
( हो कान च: नयाँ जनवादी क्रान्ति)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।