७ बैशाख २०८१, शुक्रबार

प्रचण्डसङ्ग पार्टी एकताबारे कुनै छलफल भएको छैन

0

(मुलुकमा आर्थिक -राजनीतिक संकट मडारिरहेको छ।वाह्य हस्तक्षेप बढ्दै गएर देशको स्वाधीनताको प्रश्न जटिल बन्दै गएको छ।गणतन्त्र स्थापनापछि समेत दशकौंदेखिका समस्या समाधान हुने अपेक्षा विपरीत दलालीकरणको प्रक्रिया जारी छ र पछिल्लो समयमा उल्लेखित समस्याहरुको सम्बोधन गर्ने उदेश्यसहित समाजवादी मोर्चा निर्माण भएको छ।यी बिषयमा र मुलुकको समसामयिक बिषयमा नेकपाको धारणा बुझ्न पोलिटब्युरो सदस्य सञ्जीव सीसङ्ग शेरबहादुर विश्वकर्माले गरेको कुराकानी प्रस्तुत गरेका छौं ।)
 तपाइ जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिको प्रकृयामा हुनुुहुन्छ, हिजो सामन्तवादसँग र अहिले दलाल पुँजीवादसँग प्रधानअन्तरविरोध रहेको भन्दै फेरि पनि क्रान्तिको अपरिहार्यताको कुरा गर्नुहुन्छ, यसलाई संक्षिप्तमा कसरी बिश्लेषण गर्नुहुन्छ ?
स्वभाविक रूपमा राजनीतिक विज्ञान भनेको समाजविज्ञान पनि हो । समाजका अन्तरविरोधहरुलाई हल गर्नका लागि समयसापेक्ष र अन्तरविरोधको विकासक्रमलाई हेरेर राजनीतिक दलहरुले आफ्नो नीति, कार्यक्रम र कार्यादिशा तय गर्नुपर्ने हुन्छ । यो सिलसिलामा जनयुद्धको शुरुवात भए देखि २०६२/०६३ सम्म वा गणतन्त्र स्थापनासम्म नेपालको प्रधानअन्तरविरोध सामन्तवादलाई मानेका थियौं । यस विरुद्ध लडने क्रममा स्वभाविक रुपमा जनयुद्ध हाम्रो कार्यदिशा थियो ।

जनयुद्ध राष्ट्रिय -अन्तराष्ट्रिय रुपमा चर्चाको  विषय पनि भयो । ठूल्ठूला  उपलब्धीहरू समेत हासिल भएका थिए । तर विडम्वना जनयुद्धको मुख्य नेतृत्वले नै आत्मसमर्पण र विसर्जनको बाटो लिएपछि बिचार र क्रान्तिका लागि हामीले पार्टीको पुनर्गठन गर्यौ । पार्टीको पुनर्गठन पछि हामीले  एकीकृत क्रान्तिको कार्यादिशा संश्लेषण गर्यौं।

एकीकृत जनक्रन्तिको संश्लेषण गर्ने क्रममा विश्व कम्युनिस्ट आन्दोलन देखियताका क्रन्ति र प्रतिक्रान्तिका शिक्षाहरु, आजको भूमण्डलीकृत साम्राज्यवादले विकास गरेका पछिल्ला  आर्थिक, राजनीतिक, सामाजिक र साँस्कृतिक पक्षहरु, भूमण्डलीकृत सूचना प्रविधिकको विकास तथा हाम्रा आफ्नै अनुभव र शिक्षाहरु विशेषत, जनयुद्धका शिक्षाहरुलाई हेरेर हामीले एकीकृत जनक्रान्तिको कार्यदिशा तय गरेका हौं । एकीकृत क्रान्तिको सिद्धान्तअनुसार यसको प्रयोग भनेको गाँउ र शहरलाई एकीकृत गर्न, मध्यम वर्ग र राष्ट्रवादी देशभक्त शक्तिलाई पनि जोड्ने, इतिहास र वर्तमानलाई पनि जोड्ने, शन्तिपूर्ण आन्दोलन र वल प्रयोगलाई जोड्ने कुरासँग सम्बन्धित छ ।

जहाँसम्म  प्रधान अन्तरविरोधको सवाल छ, अहिलेको प्रधान अन्तरविरोध भनेको सामन्तवाद होइन, दलाल पूँजीवाद हो भन्ने हाम्रो निष्कर्ष हो । त्यसैले प्रधानअन्तरविरोधलाई हल गर्न र त्यसका विरुद्धमा एकीकृत ढगंले अगाडि बढेर मात्र क्रान्तिलाई विजयी बनाउन सकिन्छ । यसबारे हाम्रो ९औं महाधिवेशनले नयाँ ढंगले संश्लेषण गरेको छ र हामी त्यही अनुसार अगाडि बढेका छौं ।

एकीकृत क्रान्तिलाई तपाईंहरु यो रसियन क्रान्ति पनि होइन, चिनियाँ मोडलको नयाँ जनवादी क्रान्ति पनि होइन, यो त नेपाल र आजको विशेषताहरूमा आधारित मौलिक खालको क्रान्ति हो भनिरहनु भएको छ, यसलाई एकथरी मानिसहरु सारसंग्रहवादी कार्यदिशा भनेर आलोचना गर्छन् नि !
अबको कम्युनिस्ट पार्टी सञ्चालनको तरिका वा समाजवादी क्रान्तिको कार्यदिशा सवासय वर्ष पुरानो रसियन मोडलबाट पनि सम्भव छैन । जतिबेला शहरलाई मुख्य वेश बनाएर क्रान्ति  गरिएको थियो । अर्कातिर माओले चिनमा गरेको दीर्घकालिन जनयुद्ध गर्ने बेलाको गाँउ र समाजको पस्थिथिति पनि छैन , स्थिति निकै फेरिएको छ ।

यो स्थितिमा चिनियाँ क्रान्ति र रुसी क्रान्तिका  सार्वभौमिक पक्षहरुलाई नेपालको सन्दर्भमा प्रयोग गर्ने सोचेका छौं । माओले पनि एक पटक रुसी क्रान्ति जसरी नै चिनियाँ क्रान्ति हुन सक्दैन भन्नु भएको थियो । नेपाली क्रान्तिमा एकिकृत क्रान्ति गर्ने भनेको न यो मार्क्सवादलाई छोडेको कुरा हो, न त यो  केहि मानिसले अनुमान गरेको जस्तो सारसंग्रहवादी तरिका नै हो । यसलाई वस्तुको विकासलाई बुझ्ने र त्यहि अनुसार क्रान्तिलाई अगाडि बढाउन अघि सारिएको कार्यदिशा हो।

नेपालको अधुरो क्रान्तिलाई पूरा गर्ने उद्घोषसहित तपाईंहरुले एकिकृत क्रान्तिको प्रयोग गरेको पनि १ दशक भयो । देशको आन्दोलन र नेपाली क्रान्ति उहि पुरानै ठाउँमा छ, नयाँ केहि हुन सकेन पनि भन्न  मिल्दैन ?

समाज ,क्रान्ति र विकासका सामान्य नियमहरुलाई नबुझ्ने मानिसहरूले यस्तो भन्न सक्छन् । क्रान्तिको विकास भनेको एउटा गुणात्मक हुन्छ भने अर्का मात्रात्मक । मानिसहरुले मात्रात्मक गतिलाई देख्न र बुझ्न सक्दैनन् । उनीहरुले खाली गुणात्मक गतिलाई मात्र देख्छन् र बुझ्छन् । जस्तो समुद्रको छाललाई जसले पनि देख्छ तर समुद्र भित्रको त्यसको करेन्ट प्रवाहलाई मानिसहरु देख्न र बुझ्न सक्दैनन् । क्रान्तिको विकास प्रक्रियालाई पनि हामीले यसरी नै हेर्नुपर्छ ।
जहाँसम्म नेपाली समाज र क्रान्ति पुरानै ठाउँ र स्थितिमा छ भन्ने छ त्यो सहि बुझाई होइन । यो बिचमा जनताका समस्या, राष्ट्रियताका समस्याबारे हाम्रो निरन्तर संघर्षले राज्यलाई दबाबमा राख्दै आएका छौं । त्यसको अभावमा देशमा बग्रेल्ती प्रकारका  समस्याहरू आउन सक्थे ।

त्यसरी नै आन्तरिक हिसाबले पनि हामीले पार्टीको निर्माण गर्दै ,कार्यदिशाको विकास गर्दै ,आठौं महाधिवेशनदेखि नै विचारको प्रयोग र विकास गर्दै आएका छौं । यसरी पार्टीले आन्तरिक जीवनलाई फर्केर हेर्दा थवाङमा सम्पन्न आठौ महाधिवेशनलाई विचार सश्लेषण र प्रयोगको अवधिको रूपमा बुझ्न सक्छौ भने नवौ महाधिवेशन भनेको विचारको विकास र प्रयोगको श्रीङ्खलाको रूपमा बुझ्न सकिन्छ । यसरी हेर्दा वाह्य रूपमा वर्गसंघर्ष, प्रतिबन्ध, प्रतिवाद र प्रतिरोध हुँदै तीन बुदे सहमति गर्दै यहाँसम्म आएका छौं भने पार्टीको आन्तरिक जीवनमा सार्वभौमिक पक्षहरुको प्रयोग गर्दै आएका छौं । यसको प्रयोगको क्रममा नै गत वर्ष व्यक्तिवादी, अराजकतावादी समूह पनि देखा पर्यो, त्यसलाई पनि हामीले वैचारिक रुपमा पराजित गर्यौं । यी सबै घटनाको कुल योगमा भन्दा हामीले आफूलाई अझबढी प्रज्वलित, गतिशील र क्रान्तिकारी बनाउँदै समाज विकासको नियम अनुसार निरन्तर क्रान्तिको क्रममा अगाडि बढीरहेका छौं ।

यहाँले देश र जनताको प्रधानअन्तरविरोध फेरियर सामन्तवादको ठाउँमा दलाल पुँजीवाद आएको भन्नुभयो । तर यहाँ त क्रान्तिकारी भूमिसुधार भएको छैन्, भूमिमाथीको सामन्ती स्वामित्व अझै कायम छ, सुकुम्वासी र भूमिहिनहरुको मुद्धा सम्बोधन भएको छैन, दलितमाथि जातिय छुवाछुत र महिलामाथिको लैङ्गिक उत्पीडन काममै छ, अझै उत्पादन सम्बन्धमा सामन्ती स्वामित्व प्रणालीका विशेषताहरु जीवितै छन् । यस्तो अवस्थामा दलाल पुँजीवादको समस्याको मात्र चर्चा गरेर हुन्छ त ?

नेपालमा सामन्तवादका जुनखालका आर्थिक, सामाजिक साँस्कृतिक पक्षहरुको कुरा छ ,यो स्वभाविक रुपमा दलाल पुँजीवादसँग अन्तरघुलित हुनपुगेको छ । विगतमा सामन्ती राजतन्त्र छदै गर्दा समेत देशको आर्थिक संकटलाई मोचन गर्दा अन्तराष्ट्रिय मुद्राकोष र विश्व बैंक आएर काम गर्न थालिसकेका थिए ।भने सामन्तवाद पनि आफ्नो  अस्तित्व रक्षाका लागि पुँजीवादसँग जोडिदै गइरहेको थियो । जहाँसम्म अहिलेको कुरा छ भूमि लगायत विभिन्न जाती जनजातीका जुन समस्याहरु छन्, यसमा दलाल पुँजीवाद हावी भैसकेको छ । सामन्तवाद र दलल पुँजीवाद एकआपसमा जोडिदै गएपछि समान्तवादका जुन परम्परागत सामाजिक, साँस्कतिक पक्ष छन्, त्यसलाई हल गर्न विगतको बाटो अब रुढीवादी भैसक्यो । अहिलेको सामाजिक अन्तरविरोध जुन छ, त्यो मुलत दलाल पुजीवादसँग नै सम्बन्धित छ ।

भूमिमा स्वामित्वको स्थिती हेर्दा १९ प्रतिशत श्रमिक समुदायको हातमा २.१ प्रतिशत मात्रै छ । त्यो सामन्तवाद भन्दा पनि दलाल पूँजीवादको समस्या हो । सामन्ती मालिकहरू स्वयम् दलाल पुँजीवादको प्रभावमा परिसके । औद्योगिक क्षेत्रमा त झन् स्वतः दलालीकरण हुने नै भयो । यसरी हेर्दा समाजको समग्र क्षेत्र दलाल पुँजीवादीकरण भएकाले  देशको प्रधान अन्तरविरोध दलाल पुँजीवादसङ्ग हो भनेका हौं ।

 यसको अर्थ, अब तपाईंहरूले नयाँ जनवादी क्रान्तिको कार्यक्रम त्याग्नुभएको हो र ?

 त्यागेको होइन, त्यो अब पछि पर्छ भनेका हौं ।

नेपालले एमससी पास गरेपछि देशको आन्तरिक राजनीति बढी नै तरङ्गीत छ । चीन पनि नेपाल मामलामाअझ बढी सक्रिय हुदै गएको देखिन्छ, यसलाई कसरी हेर्नु हुन्छ ?

नेपालमा एमसीसी आउनुका पछाडि मुख्यगरी उदियमान शक्ति राष्ट्र चीनलाई घेराबन्दी गर्ने कुरासँग सम्वन्धित छ । अहिलेको विश्व वहुधुव्रिय छ ।  एकातिर रुस- चीनसहितका देशहरूको ध्रुव्र छ भने अर्कातिर अमेरिका लगाएतका देशहरुको धुव्र छ । तर एक धुव्रीय  शक्ति अहिले छैन, यो सकियो भन्दा हुन्छ । योसँगै अब सबै दृष्टिकोणले एशियाली क्षेत्रको उदय र सम्भावना अगाडि आइरहेको छ ।

यसमध्ये पनि मूलत: चीनले ठूल्ठूला परियोजना अगाडि सारिरहेको छ । जस्तो सन २०१३ देखि बीआरआई र हाल आएर ग्लोवल सिभिलाइजेसन इनिसिएटिभ ,ग्लोवल सेक्युरिटी इनिसिएटिभ र ग्लोवल डेभलपमेन्ट इनिसिएटिभ लगायतका परियोजना अगाडि सारेको छ ।

यसबाट हेर्दा साम्राज्यवादका आर्थिक, सामाजिक, सांस्कृतिक घेराविरुद्ध प्रतिघेरा बनाउने उसको योजना देखिन्छ ।

आर्थिक दृष्टिले पनि अमेरिकाको मुख्य प्रतिस्पर्धी नै अहिले चीन हो, त्यसैले चीनलाई घेरावन्दी गर्नलाई सहज मार्ग भनेको नेपालको बाटो हो । किनकी नेपाल चीनसँग जोडिएको क्षेत्र हो । त्यसैले स्थल क्षेत्रबाट उसले नेपालमा टेकेर चीन घेराबन्दी गर्न खोज्दैछ । हवाई लगायतका अन्य  माध्यमहरु पनि स्वतः त्यसमा जोडिहाल्छ ।

अमेरिकाले नेपालमा एमसीसी अन्तर्गत ४०० केबी क्षमताको प्रशारण लाइन बनाउने जुन कुरा छ, त्यो भनेको मिसाइलको व्याट्री चार्ज गर्ने कुरासँग सम्बन्धित छ । त्यसैगरी ९९ कि.मि सडकको/सुरुङ् खन्न जुन विषय छ, त्यो भनेको पनि आवश्यक पर्दा फाइटर विमान अवतरण गर्न आवश्यक पूर्वाधार बनाउने कुरासँग जोडिएको छ ।

यसरी हेर्दा उसले चीन प्ररिलक्षित योजनाहरु छनोट गरेको छ । यसैगरी नेपालमा खनिज लगायत बहुमूल्य प्राकृतिक सम्पदाहरु छन् । युरोप अमेरिकामा उनीहरुले ती सम्पदाहरु खाइसकेका छन् । अफ्रिकामा पनि साम्रराज्यवादले खाइसकेको छ । उनीहरु अब हाम्रा सम्पदाहरुलाई निलेर आफ्नो अर्थव्यवस्थाको संकट मोचन गर्न चाहान्छन । अर्को कुरा नेपालमा जुन प्रकारको  कम्युनिस्ट जनमत छ, यसलाई पनि उनीहरू समाप्त गर्न चाहान्छन् ।

यहाँहरूले पछिल्लो समयमा नेपालमा अमेरिकी साम्रज्यवाद र भूमण्डलीकृत पुँजीवाद आइसकेकोले त्यस विरुद्धको प्रतिरोध मोर्चाको रुपमा समाजवादी मोर्चा नेपाल घोषणा गरिएको जस्तो गरि भनेको पाइयो यसलाई आफ्नो राजनीतिक यात्राको सहज अवतरणका लागि मात्र काल्पनिक दुस्मन खडा गर्न खोजिएको भनेर आलोचना गर्नेहरू पनि छन् नि ?
त्यो उनीहरुको मनोगतवादी तर्क हो । हामीले विचार गर्नुपर्ने कुरा के हो भने दोस्रो विश्वयुद्धपछि अमेरिकी साम्रराज्यवाद वा अरु कुनैपनि साम्रराज्यवाद सेना लिएर जाने भन्दा पनि उनीहरु राजनीति, आर्थिक, सामाजिक र सांस्कृति हिसाबले आफ्नो प्रभाव र पहुँच विस्तार गर्दै अगाडि बढेको पाइन्छ । अहिलेको विश्वमा साम्रराज्यवादले शुरुमा राजनीतिक ढंगले जाने, उत्पीडित देशहरुका शासकहरूलाई दलाल बनाउने, दलाल बन्न नसक्नेहरूलाई फौजी रूपमा हस्तक्षेप गर्ने ध्वस्त पार्ने, मार्ने, कब्जा गर्ने गर्छ। जस्तै, इराक अफगानिस्तानलाई उदाहरणको रूपमा हेर्न सक्छौ।

तर पछिल्लो पटक विश्वशक्ति समिकरणमा जुनखालका घटनाहरु घटित भैरहेका छन्, ति तिब्रतामा छन् । अमेरिका रुसको ढोका मै आउन थालेपछि आफ्नो प्रतिरक्षाका लागि पनि रुसले हमला गर्नुपर्न स्थिति आयो ।

नेपालमा अमेरिकाले ६/७ वटा जिल्लामा आफ्नो सैन्य क्याम्प राख्न ठाउँ खोजिरहेको छ । उसले सामजिक क्षेत्रमा केही काम गर्ने बहानामा देशका केहि जिल्लाहरु नै मागिरहेको भन्ने छ । यसको पछाडि ऊ रफ्तारमा उदयमान चीनलाई कसरी घेराबन्दी गर्न सकिन्छ भन्नेमा छ । 

नेपालमा अहिले आइरहेका अमेरिकी कर्मचारीहरु पनि सारतत्वमा बर्दिविहिन अमेरिकी सेना नै हुन् । 

गत साल पाल्पामा एमसीसीको कार्यालयमा हामीले तालाबन्दी गर्दा अमेरिकी गोराहरु आफै आएर त्यसलाई तोडेका थिए । तिनिहरू हेर्दा सिभिल जस्तो देखिए पनि आर्मी कै मान्छे हुन भन्ने देखिन्छ । अमेरिकाले अहिले संसारभरी ८ सय भन्दा बढी ठाउँमा सैनिक क्याम्प खडा गरिरहेको छ ।

विगतमा नेपाल मामलामा अमेरिकीहरु भारतमार्फत डिल गर्थे ,अहिले उनीहरु भारतलाई समेत उछिनेर आफै प्रत्यक्ष काम गरिरहेका छन् । यसले भारत अमेरिकाबिच चिसोपन बढ्दैछ । उनिहरु अहिले नेपालमा एकदमै रफ्तारमा आइरहेका छन् । कुनै पनि हिसाबले नेपाललाई आफ्नो उपनिवेश बनाउन योजनामा उनीहरु छन् ।

यसको अर्थ प्रचण्ड, माधव, उपेन्द्रहरु साम्रराज्यवादी हस्तक्षेप विरुद्ध बिरोधमा आउँछन भन्ने तपाईहरुको विश्वास हो ?
वैदेशिक उपनिवेशवादका विरुद्ध संघर्ष गर्न र देशमा दलाल पुँजीवादी सत्तालाई समाजवादी सत्तामा रुपान्तरण गर्न र अग्रगामी दिशातिर जाने उद्देश्यका साथ नै संयुत्त मोर्चा बनेकोले हामी त्यों काम पुरा गर्न सक्छौ भन्ने विश्वास छ ।

 चार पार्टी सम्मिलित समाजवादी मोर्चाको घोषणापत्रमा ‘समाजवादको नेपाली बाटो’ भन्नु भएको छ । के यसले तपाईहरुले भनिरहनु भएको वैज्ञानिक समाजवाद त्यागेको अर्थ लाग्दैन ?
लाग्दैन, त्यो होइन । त्यसो भन्न मिल्दैन । किनकी हामीले समाजवादको परम्परागत बाटोको अध्याय सकियो भनेर नवौं महाधिवेशनमा भनिसकेका छौं । समाजवादको परम्परागत बाटो भन्नुको अर्थ विगतमा रुस, चीन, यूरोपमा जे जस्ता अभ्यास गरियो त्यो अपर्याप्त छ भनेका हौं । हाम्रा लागि त्यो अपुग र पछि पर्‍यो। हामीले कुनै न कुनै रुपमा समाजवादमा नयाँ कुरा खोज्नुपर्छ ।

हामीले समाजवादमा जुन वैज्ञानिक शब्द प्रयोग गर्छौं यो तथ्यहरुमा आधारित छ भनेका हौं । तथ्य र सत्यमा आधारित भएकाले यो वैज्ञानिक समाजवाद भनेका हौं । जहाँसम्म समाजवादको नेपाली बाटोको जुन सवाल छ, यसलाई त्यसै सन्दर्भमा हेर्नुपर्छ ।

संयुक्त मोर्चासँगै माओवादी केन्द्र र तपाईंहरुबिच पार्टी एकता हुने चर्चा पनि छ ,खासमा यसबारे के भइरहेको छ ?
संयुक्त मोर्चाको छलफल, घोषणा र कार्यान्वयनको कुरा अगाडि बढेको हामी सबैले देख्ने विषय भयो । पार्टी एकताबारे चर्चा छैन, कुरै हुन्न भन्ने पनि होइन् । तर अहिले बाहिर जुन रुपमा चर्चाहरु भैरहेका छन्, यी आवश्यकता भन्दा बढी भैरहेका छन् ।

हाम्रो कुरा भनेको संयुक्त मोर्चाका सामूहिक जिम्मेवारी पूरा गर्दै आ–आफ्ना पार्टीगत स्वतन्त्रतासहित जाउ भन्ने हो । अहिले नै पार्टी एकताका कुराहरू हल्लाका विषयहरु र अनुमानका कुराहरू मात्र हुन् । यसबारे हाम्रो पार्टीमा कुनै आधिकारिक छलफल समेत छैन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।