सूचना र सञ्चार क्षेत्रलाई राज्यको चौथो अङ्ग मानिन्छ । आज कहीँ क्रान्ति भएको छ भने त्यो सूचना र सञ्चार क्षेत्रमा भएको छ । गएका डेड दसकयता सूचना-सञ्चार प्रविधि क्षेत्रमा आएको परिवर्तनले संसारमा उथल-पुथल ल्याएको छ । मान्छेको सोच्ने तरिकामा, गर्ने तरिकामा, बोल्ने तरिकामा, लाउने, हिंड्ने, खाने, बस्ने र मनोरञ्जन गर्ने, प्रेम गर्ने, बिहे गर्ने र सांस्कृतिक क्षेत्र, उत्पादन क्षेत्र, व्यापार, व्यवसाय, पठन-पाठन, स्वास्थ्य उपचार, लडाइँ, सङ्घर्ष गर्ने तरिका आदि हरेक क्षेत्रमा सूचना र सञ्चार प्रविधिले परिवर्तन ल्याइदिएको छ । यो आजको सञ्चार प्रविधि क्षेत्रमा मानव जातिले गरेको प्रगतिको देन हो ।
विक्रम संवत्को तेस्रो सहश्राब्दीको प्रारम्भतिर पनि राणा शासन कायम नै थियो । हामी त जन्मेको पनि थिएनौँ ।
सुनिन्छ- राणाहरूले कोही हातमा सीप भएको मान्छेको हात काटिन्थ्यो रे, लेख्न जान्नेको औंला काटिन्थ्यो रे, पढ्न र बोल्न जान्नेको जिब्रो काटिन्थ्यो रे ! सायद निरंकुश राणातन्त्रमा यो धेरै हदसम्म सत्य पनि हुन सक्छ । केही बढाइँ चडाइँ पनि होला तर सत्य के थियो भने जनताका छोराछोरीहरू पढन्, लेख्न र बोल्न पाउने स्वतन्त्रता थिएन । यो जहाँको पनि निरंकुशतन्त्रमा स्वतन्त्रता भन्ने हुदैन तर शासकवर्ग र सत्ताका मालिकहरू र तिनका परिवार, चाकडीबाज र भाइभारदारहरूमा यस्ता केही सुविधाहरू प्राप्त थियो ।
नेपालमा थोरै भए पनि शिक्षा दिक्षाको आरम्भ भएको २००७ सालपछि नै हो ।हामी जन्मिने बेलामा त नेपालमा स्कुलहरू गाउँ-गाउँमा खुल्दै थिए। म स्कुल पढ्न सक्ने भएको बेलामा ठाउँ-ठाउँमा निमावि र मावि शिक्षाहरू धमाधम खुल्दै थिए । हाम्रै गाउँमा निमावि स्कुल खुलिसकेको थियो र माविको पहल भइरहेको थियो । जब म पढन, लेख्न सक्ने भएको थिएँ; गाउँहरूमा दुईटा संस्थाहरू सँगसँगै जसो खुले एउटा स्कुल (विद्यालय) र अर्को हुलाक कार्यालय । स्वास्थ्य चौकी साइलो पर्न आउँछ । विद्यालय जेठो हुलाक सेवा माइलो र स्वास्थ्य चौकी साइँलो । यी सबै गाउँहरूमा खुल्न थाल्यो । हुलाकमा गोर्खापत्र आउँथ्यो । त्यसमा पुरानो बासी, हप्ता पन्ध दिनपछि पुगेपनि देश-विदेशका समाचारहरू पढन पाउँदा खुबै खुसी लाग्थ्यो ।
हामी सानै सानै थियौँ। स्कुल भर्खर-भर्खर जान लागेको बेला थियो। मेरो गाउँ थबाङ ४, जुर्बाङ पर्थ्यो। करिब ५० ओटा घरहरू मिलेर बनेको गाउँ थियो । त्यहीँ एकजना नाताले जेठान पर्ने बहादुर रोका नाम गरेको इन्दियन लाहुरे हुनुहुन्थ्यो । उहाँ दोस्रो विश्वयुद्धमा लड्न युरोपसम्म पुग्नुभएछ । फर्केर आउँदा धेरै सुन ल्याउनुभयो रे भन्ने सुनिन्थ्यो । कति ल्यायो त्योसँग मेरो मतलव होइन, यो प्रसङ्गका कुरो मात्र हो, मेरो मतलव उहाँले सुनसँग एउटा रेडियो पनि ल्याउनुभयो । यो नै हाम्रो गाउँमा रेडियोको पहिलो प्रवेश थयो ।
पहिलोपटक गाउँमा रेडियो ल्याउने लाहुरे बहादुर रोका थिए । त्यसबेला रेडियोलाई हाम्रो गाउँमा साँचा भन्थे । ए फलानाले त लाहुरबाट साँचा ल्याएको छ रे । गीत गाउँछ भनेर हल्लाखल्ली थियो । यो गीत सुन्न जाऊँ भनेर मान्छेहरू केटाकेटीहरू आपसमा कानेखुसी गर्थे । घरको पेटीमा मध्यम आकारको गेरु रङको बोक्रा भएको साँचा कौसीको खाँबोमा झुन्ड्याइएको, एरियल (त्यसबेला एरियललाई ताङ्का भन्थे) बाट लामो तार टाँगेर छानामाथि अग्लो भयाक्रोको टुप्पोमा बानिएको हुन्थ्यो । हामी केटाकेटीहरू झुमेर हेर्न र सुन्न जान्थ्यौँ। ठूलो ठूलो स्वरमा गीत गाउँदा मान्छेहरू अचम्म परेर हेर्थे । मान्छे बोल्दा हामी त केटाकेटी नै भयौँ ठूला मान्छे पनि छक्क पर्थे । यत्रो सानो साँचामा दिनभरि गीत गाउने मान्छेहरू कहाँ बस्छन्, कसरी अटाएका होलान् के खान्छन् भन्थे बूढाबूढी र ठूला मान्छेले पनि । यो काइँलो थियो सायद थबाङमा भित्रिएको नयाँ सञ्चार प्रविधि । कान्छोमा पुलिस चौकी थियो । यो हाम्रो गाउँको २०२४/०२५ साल वरिपरिको कुरा हो । यसमध्येमा सञ्चार माध्यमको नाममा हुलाक सेवा र यही रेडियो थियो । यसबाहेक गाउँमा कुनै सञ्चार माध्यम थिएन । १० वर्षको जनयुद्ध नै हामी डोकामा पोस्ट टु पोस्ट चिठीद्वारा बोकेर लडेका थियौँ। यो बेलामा सदरमुकाम र केही ठाउँहरूमा भीएफसी फ्रीक्वेन्सीद्वारा सञ्चालित सीडीएमए टेलिफोन सेवाहरू भर्खरै भर्खरै भित्रिरहेका थिए।
तरङ्ग सञ्चारमा सरकारी क्षेत्रमा सञ्चारको माध्यम भनेको सदरमुकाममा मुस्किलल एउटा दूरसञ्चार सेवा (आवा) थियो । श्रव्य सञ्चारमा रेडियोबाहेक गाउँघरमा अरू केही थिएन । टाढाटाढा देशविदेश खबरको एक मात्र भरपर्दो माध्यम हुलाक सेवा थियो । त्यस बेलामा आजको जस्तो मोबाइलहरू थिएनन् ।
जनयुद्ध यसकारण पनि जित्यो कि सरकारी सेना प्रहरीसँग पनि वाकीटकीबाहेकका अरू साधन थिएन, जो निश्चित दूरीसम्म एकापसमा कुरा गर्न मिल्थ्यो । पछिल्लो समयमा त बजारमा सञ्चार प्रविधिमा केही वाकीटकीजस्ता प्रविधिहरू भित्रियो प्राइभेट सेक्टरमा पनि । पुलिस चौकीहरू कब्जा गर्दा खोसिएको पुलिसहरूको सञ्चार प्रविधिहरू, हामीले प्राइभेट सेक्टरमा व्यापारीहरूले बजारमा ल्याएका वाकीटकी फोनहरू र हाई-कमानमा एक- एक सेटलाइट फोन लिएपछि सूचना-प्रविधिमा सरकारी सुरक्षा फौज र पुलिसहरूभन्दा हामी नै अगाडि भयौँ । त्यसैले हामीले युद्ध जितेको हो । जनयुद्धको विजयमा सञ्चार क्षेत्रमा हामी अगाडि हुनु पनि एउटा कारण थियो ।
दश वर्षको जनयुद्धमा हामीले जनसरकारहरू चलाइरहेका थियौँ । हाम्रा आफ्नै संरचनाहरू थिए । जनताका समस्याहरू गाउमै हल गरिरहेका थियौं । हाम्रै स्कुल, हाम्रै हुलाक, हाम्रै अस्पताल, हाम्रै अद्दालत, हाम्रै सहकारी, हाम्रै कम्युन, हाम्रै सेना, हाम्रै मिलिसिया, हाम्रै उद्योग, हाम्रै कृषि फर्म, हाम्रै प्रविधि, हाम्रै सत्ता हाम्रै सरकार, हाम्रै प्रतिनिधिसभा, हाम्रै वकिल, हाम्रै कानुन, हाम्रै जेल, हाम्रै प्रशासन सबै हाम्रै चलिरहेको थियो । विकास निर्माणका कामहरू राज्यले भन्दा प्रभावकारी बनिरहेको थियो । पछिल्लो समयमा चिठीमा टाँस्ने टिकट पनि छपाउने कुराकानी भइरहेको थियो । समाजमा छुवाछुट भेदभाव, असमानताको अन्त्य गर्ने प्रक्रिया सुरु भइसकेको थियो । जनवादी संस्कृतिको सुरुआत भइसकेको थियो । पुरानो सत्ता सीमित सदरमुकाम, ब्यारेक र राजधानीमा त्यो पनि तारबारभित्र खुम्चिएको थियो । सरकारी न्यायलयहरू भूतबङ्गलामा परिणत भएका थिए । अदलतहरूमा मुद्दा शून्य बनेको अवस्था थियो । सदरमुकाम र तारबारभित्रबाट पनि न्याय खोज्न जनता जनसरकार खोज्दै आइरहेका थिए । यसबेला हामीलाई एउटा अभाव खड्किरहेको थियो- हाम्रो आफ्नै श्रव्य सञ्चारको ।
हामीले तमिलहरूले रेडियो कसरी चलाइरहेका छन् । पेरुभियाली कम्युनिस्टहरूले कसरी रेडियो चलाइरहेका छन् । भन्नेबारे निकै चासो र छलफल गरिरहेका हुन्थ्यौँ । म त्यसबेला मगरात जनसरकारको प्रमुख पनि थिएँ। त्यस बेला हेडक्वाटर हाम्रै मगरातमा त्यसमा पनि आधार इलाकामा थियो । आधार इलाकीय विशेष क्षेत्रीय ब्युरोको इञ्चार्ज कमरेड विप्लव हुनुहुन्थ्यो । आधार इलाकीय समितिको सेक्रेटरी म आफैँ थिएँ। हामीले आधार इलाकामा नयाँ नयाँ निर्णयहरू गर्दै अघि बढिरहेका थियौँ । हेडक्वाटरको सुरक्षा र व्यवस्थापनदेखि जनसत्ता सञ्चालन, जनमुक्ति सेनाको आराम, तालिम र ठुल्ठूला कार्वाहीहरूको तयारीका कामहरू आरामसित गरिरहेका थियौँ। युवाहरूलाई एक आपसमा भातृत्व कायम गर्न, सुस्वास्थ्य र अनुशासनका लागि क्षेत्रीय स्तरका खेलकुद प्रतियोगिताहरूको आयोजना गरिरहेका थियौँ । आधार क्षेत्रमा एनजीओ र आईएनजीओहरूलाई पूर्णतः नियन्त्रण र नियमन गरेको थियौँ। उनीहरूलाई जनसरकारको इजाजत र अनुमति र सहमतिबिना हाम्रा जनसत्ता चलिरहेका ठाउँहरूमा प्रवेश निषेध थियो ।
एनजीओ र आईएनजीओको तर्फबाट वार्तामा युएनका नेपाल मामिला हेर्ने एकजना डाइरेक्टरसँगै कैयौँ चरणमा छलफल र वार्ताहरू भएका थिए ।जनयुद्ध अघि बढिरहेको थियो ।
ठाउँ ठाउँमा ठुल्ठूला भिडन्त र सदरमुकाम, ब्यारेकहरू कब्जा भइरहेका थिए । प्रत्येक दिन भिडन्त र झडप नभएको दिन हुदैनथ्यो । त्यो समाचारको एउटा भरपर्दो माध्यम बीबीसी रेडियो बनिरहेको थियो । सरकारी रेडियोले जनतालाई पूरै भ्रम दिने गरी झुट्टा र बनावटी समाचारहरू प्रचार गरिरहेको थियो । यस बेला हामीलाई सत्यतथ्य समाचार जनतामा पुऱ्याउन र झुट्टा एवम् बनाउटी समाचारको खण्डन गर्ने कुनै माध्यम नहुँदा आफ्नै रेडियोको खाँचो निकै खड्केको अनुभूति गरिरहेका थियौँ । यसलाई आंशिक रूपमा भए पनि पूरा गर्न र जनतालाई सत्यतथ्य सूचना र समाचारहरू प्रवाह गर्न आफ्नै रेडियो सञ्चार बनाउन जोड गयौँ ।
यस बेला प्राइभेट सेक्टरमा भर्खर-भर्खर एफएम रेडियोहरू भित्रिरहेको थियो । पार्टी केन्द्रको निर्णयमा पूर्व, मध्य, पश्चिम र सुदूर-पश्चिम क्षेत्रमा एक-एक आफ्नै एफएम रेडियो सञ्चालन गर्ने नीतिअन्तर्गत हामीले मगरात क्षेत्रमा एउटा घुम्ती एफएम रेडियो सुरु गरियो । सुरुमा हामीले डोकोमा बोकेर निश्चित समयमा एउटा डाँडामा गएर एक दुई घन्टा कार्यक्रम चलाउने र समाचार प्रवाह गर्ने र सकेपछि फेरि डोकोमा बोकेर टाप कस्ने गरियो । यो कहिले कुन डाँडाबाट र कहिले कुन डाँडाबाट सञ्चालन गरिदै आयो । पछि सापेक्षिक रूपले स्थायी प्रकारले स्थानहरू छनौट गरी १/१ महिनामा स्थान बदल्ने गरी रोल्पा, रुकुम, कहिले प्यूठान, बाग्लुङ र म्याग्दीका डाँडाहरूमा कहिले पूर्व कहिले पश्चिम घुमन्तु रूपमा रेडियो सञ्चालन गरिदै आयो । रेडियोको नाम थियो- ‘मगरात रेडियो गण्तन्त्र ।’ यो कमान कमानमा अलग-अलग नामले सञ्चालन गरिएको थियो ।
यसले सरकारी सञ्चार माध्यमहरूबाट एक्लौटी रूपमा प्रचार गर्दै आएको एकाधिकार र सञ्चार साम्राज्यलाई तोड्ने काम गन्यो । यो सूचना सञ्चारमा भएको अर्को फड्को थियो । जनताले पनि दिन-प्रतिदिन चासो दिएर सुन्न थाले। अप्ठेरो अवस्थामा हाम्रा पत्रकार, संवाददाताहरू, रेडियोकर्मीहरू निकै दुःखकष्ट झेलेर पहाडका टुप्पा-टुप्पाहरूबाट समाचार सम्प्रेषण गर्दा जनताले पनि एमएम रेडियोहरूमा कान ठाडा पारेर सुन्थे। यो प्रक्रियाबाट दश वर्षको जनयुद्ध गुजियो ।
शान्ति प्रक्रियामा आएपछि धेरै ठाउँहरूमा पहाडको डाँडाबाट रेडियो गणतन्त्रहरू सहर बजार झरे। माओवादी जनसत्ता नेतृत्वले विघटन गरी फालेपछि सबै सत्ताका संरचनाहरू विघटन भए। धेरै संरचना अलपत्र परे । त्यसमा यी हाम्रा रेडियोहरू पनि अलपत्र परे । त्यसका अवशेषहरू अहिले पनि कहीं कहीं ‘गणतन्त्र रेडियो’ को नामबाट सुन्न पाइन्छ ।
आज देशमा राजा छैन, त्यसबेला राजा थियो । राजतन्त्र थियो, आज गणतन्त्र आएको छ । त्यसबेला जनसत्ता थियो आज दलाल पुँजीवादी सत्ता छ । सञ्चारका अनेक शाखा विस्तार भएका छन् । त्यसबेला जनतालाई मोबाइल के हो, हामीलाई नै थाहा थिएन, झन् जनतालाई थाहा हुने कुरा भएन । एकजना आमा यो शान्ति प्रक्रियाको वरपर हो। कमाउन विदेश गएको छोराले आमालाई फोनमा भेट्न लिबाङ बोलायो । आमा सकीनसकी छोराको खबर सुन्न रोल्पा सदरमुकाम दूरसञ्चारमा आइन् । पालो कुरेर फोन गर्नु पर्थ्यो। एकछिनपछि आफ्नो पालो आएपछि अप्रेटरले भित्र बोलायो । छोराको फोनमा सम्पर्क भयो। अप्रेटरले आमालाई फोनको रिसिभर दियो । आमाले फोन कानमा हालिन् । छोराले आमा नमस्कार, ढोक गरेँ भन्यो । आमाले रिसिभर भुइँमा राखेर दुई जोडेर नमस्कार, भाग्यमानी भएस्, सञ्चै छौ भन्यो । तर फोनको रिसिभर टेबलमा एक्लै पल्टेको थियो र फोन कटिसकेको थियो । यस्तो थियो जमाना ।
यो धेरै भएको छैन । २० वर्ष मात्र भएको छ । यसपछि मोबाइल आयो । फोन लाउड गर्ने र साइलेन्ट गर्ने पनि आउदैनथ्यो मलाई नै । फोन लाउडमा रहेछ । यो २०६२/०६३ तिरको कुरा हो । मैले कल गर्ने बेला मोबाइलमा एकजना केटीले “तपाईंले गर्नुभएको फोनमा सम्पर्क हुन सकेन’ भन्यो । फेरि गरेँ, त्यही भन्छ । यो कुरा नजिक बसेका एकजना बैनीले सुनिरहेको रहेछ । उनी मतिर फर्केर भनिन्, दाइ त्यो केटीले ढाँट्छे के, सधै त्यस्तै भन्छे, मैले गर्दा पनि त्यस्तै भन्छिन्, उनको सहज जवाफ थियो । कम्प्युटर बोल्छ भन्ने पनि थाहा थिएन धेरैलाई ।
आज सम्झिँदा हाँसो लाग्छ तर त्यो सत्य घटना थियो, सञ्चार क्षेत्रमा वामे सर्दै गर्दाको कहानी। यस्तो अवस्था पार गरेर आज हलो जोत्ने किसान, घाँस काट्ने महिला, रुखको टुप्पामा चढेर डालो काट्ने गोठालोदेखि ठुल्ठूला अपार्टमेन्ट, कार्यालयहरू,बिहेबारी, कार्यक्रममा हातहात मोबाइल छ । के गाउँ के सहर सबैतिर मोबाइल । त्यसैमा पनि आज टचेबल मोबाइल, इन्टरनेट, वाईफाई, अनलाइन, केटाकेटीदेखि बूढाबूढीसम्म सबैलाई मोबाइल नभई नहुने भएको छ । मोबाइल नभई काम चल्दैन । मोबाइल नभई केटाकेटीहरू लभ गर्न पनि नसक्ने भए किन कि हिजोका मेला जात्रा, ठेगान जाने, चिठीपत्र आदान-प्रदान गर्ने पुरानो जमाना सकिसकेको छ । घरमा खाने चामल छैन । चामल किन्नुको सट्टा एकसयको रिचार्ज किनेर फोनमा भर्छ । साना स्कुले केटाकेटीलाई अनलाइनमा पढाउने, विदेश गएका बूढासँग मोबाइलमै आमने-सामने कुरा गर्ने, सरकारीदेखि गैरसरकारीसम्म, देशदेखि विदेशसम्म जुम मिटिङ बस्ने, संसारमा के भइरहेको छ सबै चीज मोबाइलमा आएको छ ।
पछिल्लो समयमा सबै चीज मोबाइलमा आएपछि हिजोका हुलाक, टिभी, टेलिफोन, दूरसञ्चार, रेडियो, टर्च, क्यामेरा, भित्ते पात्रो (क्यालेन्डर) समेत विस्थापित भएका छन् । एउटा अल इन वन मोबाइलमा सारा चीज अटेको छ । एक प्रकारले सञ्चारमा चमात्कार भएको छ ।
मोबाइलको सहायताले चोर, अपराधी पकड्न पुलिसलाई सजिलो भएको छ । पढ्ने र सुन्ने गरिन्थ्यो उस बेलामा राजा महाराजाहरूले, सञ्चारको रूपमा सूचना पुऱ्याउन बाज, परेवा, कुकुरजस्ता मानवमित्र पशुपंक्षीहरूलाई समेत प्रयोग गर्थे रे ! पछि रिले दौडको सूत्रमा हुलाक सेवामार्फत मान्छे टु मान्छे खबर पत्रहरू पु-याइन्थ्यो । आज यो हावाको तरङ्गमार्फत क्षणभरमा पृथ्वीको एक कुनाबाट अर्को कुनाका मान्छेसँग कुराकानी र भेटघाट हुन्छ । यो सूचना सञ्चारमा मानव जातिले गरेको प्रगति र विकासको अभूतपूर्व क्रान्ति हो ।
अर्कोतिर यसले कैयौँ विकृति पनि ल्याएको छ ।केटाकेटीहरूमा पढ्ने लेख्ने बानी हराएको छ । श्रम गर्ने संस्कार हरायो । कैयौँ दम्पतिहरूको सम्बन्ध-विच्छेद गराइदिएको छ । साइवर क्राइम बढ्दै गएको छ । खर्च बढाइदिएको छ । कैयौँलाई आत्महत्या गर्न लगाएको छ । सांस्कृतिक विकृति बढेको छ । समाजमा अराजकता फैलाएको छ । कैयौँ नेताहरूलाई यसैको कारणले विचार र कार्यदेशा बदल्न लगाएको छ । राजनीतिमा दलाली राजनीतिलाई बढवा दिएको छ । सङ्गठनमा फेसबुकबाटै राजिनाम दिने, कार्बाही गर्ने, दल अदल-बदल गर्नेजस्ता विकृतिहरू बढेको छ । पुरानो प्रकारको क्रान्तिहरूलाई रोकिदिएको छ। राजनीतिक क्षेत्रमा पनि ठुल्ठूला बहसहरू सिर्जना गरिदिएको छ । यसले राजनीतिज्ञ वा नेताहरूलाई पनि नयाँ ढङ्गले सोच्ने र सकारात्मक परिणाम दिने स्थिति पनि सिर्जना गरेको छ । आज विज्ञान-प्रविधिले मानिसको जीवन उलट-पुलट बनाइदिएको छ ।
मानव समाजमा सुरुमा गाँस, बास,कपासको ग्यारेन्टी गर्ने कुरालाई मानव जातिको आधारभूत आवश्यकताभित्र राखन्थ्यो । जनयुद्धसम्म आउँदा यसले गास, बास, कपास, शिक्षा, सुरुमा गास, बास, कपासको ग्यारेन्टी गर्ने कुरालाई मानव जातिको आधारभूत स्वास्थ्य, सञ्चारको ग्यारेन्टी गर्नुलाई मानिसको आधारभूत आवश्यकताको मागमित्र राखिन्थ्यो । आज सञ्चारको सुविधा र सीमित राजनीतिक परिवर्तनले मानिसहरूको आधारभूत आवश्यकताहरू न्यूनतम रूपमा प्राप्त भएपछि र राजनीतिक चेतनाको विकासले अब राजनीतिमा वैज्ञानिक समाजवादको चेतनामा मानिसलाई पुन्याएको छ। यो जमानामा आइपुग्दा मानिसको आधारभूत आवश्यकताको मागमा पनि विकास भएको छ ।
आज पुरानामा यातायात, विद्युट खाद्यान्न, रोजगारी, मनोरञ्जन र खाद्य सम्प्रभुताजस्ता मागहरू पनि मानिसको अनिवार्य आवश्यकताभित्र पर्न आएको छ ।
अब सूचना र सञ्चारबाट कट्नु एकजना मानिसका लागि सामाजिक रूपले मानवीय अपराध बन्न जाने स्थिति बनेको छ । त्यसैले सञ्चार क्षेत्र आजको मानव जीवनको एक अभिन्न अङ्ग बन्न आएको छ ।
यही ससञ्चार क्षेत्रमा आएको परिवर्तनले मानिसको सोच र चिन्तनमा कति गहिरो प्रभाव पार्दछ भन्ने कुराको एउटा उदाहारण जनयुद्ध र यसका नेतृत्व मण्डलमा आएको चिन्तनमा विचलन हो । सूचना प्रविधिमा भएको विकासले प्रचण्ड- बाबुरामलगायतका नेताहरूलाई अव लड्न सकिदैन भन्ने ठाउँमा पुऱ्यायो । यसले अब सशस्त्र क्रान्ति असम्भव छ, जस्ता मार्क्सवादविरोधी ठाउँमा लगेर उभ्याइदियो । हिजो सशस्त्र सङ्घर्ष अनिवार्य चीज हो भन्ने मान्छेलाई आवश्यक छैन भन्ने ठाउँमा पुऱ्यायो । कमरेड किरणसमेत धरमराउन पुग्नुभयो । यसैको कारण वस्तुगत र आत्मगत परिस्थितिको मूल्याङ्कन गर्ने सवालमा पनि आकाश-पातालका संश्लेषणहरू हुन पुगे, जसले माओवादी जनयुद्धको समापन र माओवादी आन्दोलन क्षतविक्षत बन्न पुग्यो | यसको एउटा मूल कारण यही सूचना र युद्ध प्रविधिमा आएको अभूतपूर्व क्रान्ति थियो । जब कि यसले त क्रान्तिलाई अझ टेवा पुयाउनुपर्छ किन कि यो भनेको भौतिक विज्ञानमा भएकको विकास हो। विज्ञानको विकास भनेको सामाजिक क्रान्तिको पनि ऊर्जा हो । सामाजिक क्रान्ति आफैँ बृहत् विज्ञान हो । त्यसैले सञ्चारमा भएको क्रान्तिले सामाजिक रूपान्तरण र परिवर्तनलाई टेवा पुयाउँछ र पुऱ्याउनुपर्छ । यो विज्ञानको नियम हो। यसबाट तर्सिनु र भाग्नु क्रान्तिबाट भाग्नु हो। यही कुरालाई कमरेड विप्लवले समात्नुभयो र त्यो असली विज्ञानलाई पछ्याउनुभयो । यसैको परिणाम ‘एकीकृत जनक्रान्ति’ को नयाँ संश्लेषण गरेर अलपत्र परेको नेपाली क्रान्तिको नयाँ ढोका खोलिदिनुभयो ।
यो निष्कर्षमा पुऱ्याउन क. विप्लव र नेकपालाई त्यही सञ्चार प्रविधिमा भएको विकासले मद्दत पुन्ययो भने यसैले केहीलाई साम्राज्यवादको दलालमा पु-याइदियो । यसले आज नेपाली क्रान्तिमा नेताहरूलाई वास्तविक धरातलमा उभिन बाध्य बनायो र सबैलाई आ-आफ्नो पहिचान र अनुहारमा उभ्याइदियो। सूचना र सञ्चार प्रविधिमा आएको विकास क्रान्तिबाट जसरी एउटा मोबाइलमा सबै चीज एकीकृत भएर आएको छ, नेपाली क्रान्ति वा आजको विश्व क्रान्ति पनि अब एक्लाएक्लै पुरानो तरिका हुदैन । यसलाई पनि सञ्चार प्रविधिको सिद्धान्तजस्तै राजनीतिक क्रान्ति पनि एकीकृत सिद्धान्तबाट सम्भव छ भन्ने ठाउँमा पुऱ्याइदिएको छ ।
अहिलेसम्मका सबै क्रान्तिहरूको संश्लेषण गर्दै सबै क्रान्तिहरूलाई एक अर्काको पूरक बनाउँदै एकीकृत जनक्रान्तिमा अल इन वन गरेर मात्र अबको क्रान्ति गर्न सकिन्छ ।
सूचना र प्रविधिमा भएको विकासले राजनीतिक वा सामाजिक क्रान्ति रोक्दैन, बरु यो यसको सहयोगी र पुरक बन्न सक्दछ । यसले अझ क्रान्तिको दूरीलाई छोट्याइदिन्छ । यसलाई सही ढग प्रयोग र सदुपयोग गरेको खण्डमा नेपालमा क्रान्ति सम्भव छ भन्ने विज्ञानलाई आत्मसात गर्दै नेकपाले आफ्नो कार्यदिशाको ७ विशेषतामा एउटा बुँदा विज्ञान र प्रविधिलाई पनि राखेको छ । यसले क्रान्तिलाई निर्णायक ठाउँमा पुऱ्याइदिन्छ भन्ने हाम्रो ठहर छ । यसमा सञ्चार क्षेत्रको भूमिका अहम् हुने गर्दछ ।
हरेक क्रान्तिमा राज्यका चौथो अङ्गको रूपमा कार्यरत सञ्चारकर्मीहरू भूमिका यससँग जोडिएको छ । यसलाई आत्मसात गर्नु नै आजको विज्ञानलाई समाउन सक्नु हो। यो क्रान्तिको सुनिश्चितता पनि हो ।
( जनपत्रकार संगठन नेपालको मुखपत्र अंक २)