७ जेष्ठ २०८१, सोमबार

कार्यदलद्वारा प्रस्तुत प्रतिबेदन पारित गर्दै समाजवादी मोर्चाको दोश्रो बैठक सम्पन्न

0

काठमाडौँ । समाजवादी मोर्चा नेपालको दोश्रो बैठकले मोर्चाको कार्यदलद्वारा प्रस्तुत कार्यविधि, संगठनात्मक संरचना, आगामी कार्यक्रम र आचारसंहिता पारित गरेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अध्यक्षतामा शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको दोश्रो बैठकले मोर्चाको कार्यविधि, संगठनात्मक संरचना, आगामी कार्यक्रम र आचारसंहिता पारित गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालको कार्यदलका सदस्य प्रकाण्ड सीले जानकारी दिए ।

 बैठकले मोर्चाको केन्द्रिय समितिमा पाँच–पाँचजना रहने व्यवस्था गरेको छ भने हाल प्रत्येक पार्टीवाट चार–चारजना सदस्य पठाउने निर्णय गरिएको छ । मोर्चाको अध्यक्षमा प्रत्येक चार–चार महिनामा आलोपालो हुने व्यवस्था गरिएको छ । जुन पार्टीले बैठकको अध्यक्षता गर्छ सोही पार्टीको सचिवालय सदस्य मोर्चाको सदस्य सचिब रहने व्यवस्था समेत गरेको बताइएको छ ।

 संगठनात्मक संरचनाअन्तर्गत केन्द्र, प्रदेश र स्थानीय तह रहने निर्णय गरेको छ । जसअन्तर्गत केन्द्रमा प्रत्येक पार्टीवाट चार–चारजना रहने छन भने प्रदेशमा प्रत्येक पार्टीवाट तीन–तीनजना र स्थानीय तहमा प्रत्येक पार्टीवाट दुई–दुईजना रहनेछन ।

यसैगरी, बैठकले केन्द्रिय सचिवालय समेत गठन गरेको छ । जसमा नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी, नेकपा समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहने छन् । यसैगरी, बैठकले मोर्चामा पार्टीको प्रतिनिधि पठाउँदा समावेशितालाई ध्यान दिनु पर्ने निर्णयसमेत गरेको बताइएको छ ।

 प्रत्येक महिना मोर्चाको केन्द्रिय समितिको बैठक बस्ने निर्णयसमेत गरेको छ भने आगामी साउन महिनामा सातै प्रदेशमा कार्यक्रम गर्ने समेत निर्णय लिएको बताइएको छ ।

 समाजवादी मोर्चामा संलग्न दलहरुले मोर्चाको नीति, कार्यक्रम र उद्देश्य बिपरित कार्य नगर्ने तर आफ्नो पार्टीगत कार्य भने गर्न पाउने निर्णय गरेको बताइएको छ ।  बैठकले समाजवादी मान्यता बोकेका अन्य राजनीतिक दलसँग वार्ता र छलफल गर्दै मोर्चामा सहभागी गराउन प्रयत्न गर्ने निर्णय समेत गरेको बताइएको छ ।

 असार ४ गते गठन भएको  समाजवादी मोर्चाको सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।