२५ कार्तिक २०८१, आईतवार

जातीय विभेदको परकाष्ठा

0

पुँजीवादले सामन्तवादलाई राजनितीक रुपमा त परास्त गर्‍यो तर सामन्तवादले निर्माण गरेका सांस्कृतिक अस्त्रहरु भने नस्ट गरेन बरु तिनै पुराना मनोबैज्ञानीक अस्त्रहरुकोको प्रयोग द्वारा आफ्नो सत्ता समाजमा स्थापित गराउने प्रयत्न गरिरह्यो ! यन्त्र प्रविधि , भौतिक विकास निर्माणको संस्कृति बाहेक नयाँ सामाजिक संस्कृति निर्माणद्वारा समाज बदल्ने प्रक्रियामा कुनै चासो देखाएन । परस्पर सम्मान र सदभावपुर्ण समता समाजको विकास गर्न सकेन ! नेपाल जस्तो चरम जातीय विभेदले गाँजीएको पुरातन समाजको रुपान्तरणका लागी कुनै ठोस योजना अघि सारिएन ।

विद्यमान समाजको चित्रण गर्ने क्रममा यहाँ एउटा सन्दर्भ सामग्री प्रस्तुत गर्न चाहान्छु।
त्यहि सम्बन्ध संभ्रान्त र कथित उच्च जाति भनिएकाले गाँस्दा पवित्र प्रेम हुँदोरहेछ भने तल्लो जात भनिएका गरिबले गाँस्दा अपराध हुँदोरहेछ, त्यसैले होला एकजोडी मलेवाको प्रेमिल सफर सबैको माया, साथ र समर्थन पाएर मायाको खुल्ला आकाशमा सुरक्षित उडान भरिरहेका छन् भने त्यस्तै पवित्र सम्बन्धमा रहेको अर्को मलेवा जोडीलाई जातका ठेकेदारहरुले पासोमा पारी, जोडी फुटाइ, मलेविलाई आफ्नै गुणमा फर्काइयो र मलेवालाई अपहरणकारीको आरोप लगाई कानुनी सहायतामा बन्दी बनाइयो !

नेपाली समाजमा जातपात ,उचनिच, भेदभाव जस्तो मानव सभ्यतालाई नसुहाउने अप्राकृतिक व्यवस्था नभई दिएको भए सायद बाग्लुङका प्रभात विक र प्रीति घिमिरेको अन्तरजातीय भनिएका प्रेमिल जोडीको चोखो मायाले पनि सजिवता पाउने थियो र आज आफ्नै मायाको रंगिन आकाशमा उडिरहेका हुन्थे ।रुकुम घटनामा जाजरकोटका नवराज विकको प्रेमले बलिदान दिनु पर्दैनथ्यो , काभ्रेका अजित मिझारको हत्याको न्यायिक फैसलाको अभावमा उनको मृत शरीरले दाहसंस्कार पाउन नसकी काठमाडौ महाराजगंज स्थित शिक्षण अस्पतालमा आजसम्म लास सडिरहेको अवस्थामा हुँदैनथ्यो। पछिल्ल्ला ताजा घटना हेर्दा गत असार पन्ध्र गते दाङमा दलित भन्ने थाहा पाएपछि महेन्द्र विक र अमर राज परियारलाई कोठा निकाला गरेको घटना लगत्तै द्दुई दिन पछि १७ गते जुम्ला तातोपानीका मुकेन्द्र नेपालीले बसन्ति गिरीसंग प्रेम विवाह गरेको कारण मुकेन्द्र नेपालीको घरमा आगजनी गरेको घटना हुँद्दैनथ्यो होला ।

जातकै कारण घटाइएका यि र यस्ता प्रकारका अन्य थुप्रै घटनाहरु छन् पछिल्लो चरणका घटनाक्रम हेर्दा समाजमा बलियोसंग गाडिएर बसेको जातीय विभेदको जरो सबैले देख्नेगरी उदाङ्गो भएको छ ।देशमा लोकतान्त्रिक राज्य व्यवस्था छ भनिन्छ तर विडम्बना भनौं आज पनि नेपाली समाजको मुल चरीत्र बदलिन सकेको छैन। हाम्रो समाज देखेको सत्यमा नभई सुनेको कथ्यमा बढी विश्वास गर्ने चेतनामा छ। अर्थात धार्मिक अन्धविश्वासमा आधारित सोच , चिन्तन प्रणाली । त्यसमा पनि हिन्दु धार्मिक- संस्कृति रितिरिवाज्र परम्परा नै सबैलाई उत्तिकै आत्मसम्मान पुर्वक जिउन नदिने , नेपाली समाजलाई युग अनुसार बैज्ञानिक रुपान्तरण हुन नदिने मुख्य बाधक तत्व हो !

संसारमा अन्य धेरै धर्महरु छन् ति मध्ये कुनै पनि धर्मले मानिसलाई छुत अछुत मानेर भेदभाव गर्दैन ।इस्लामले इस्लाम जन्माउँछ, ईशाइले ईशाइ जन्माउँछ वुद्दिष्टले बुद्दिस्ठ नै जन्माउँछ तर हिन्दु मात्र यस्तो धर्म हो जसले ठुलो सानो जात जन्माउँछ र त्यही धर्म मान्ने एकथरी मान्छेलाई पवित्र ठान्छ र अर्को थरिलाई अपवित्र बनाउँछ !

यदि धर्म भन्दा माथि जात नराखिएको हुन्थ्यो भने यहाँ दुई आत्मालाई जोड्ने भावना र विश्वासको समर्पण सबैको माया प्रेमले उस्तै महत्व र सम्मान पाउँथ्यो होला जति चर्चा र साम्मान एक पाकिस्तानी मुस्लिम केटी एलिजे जमाली र नेपाली हिन्दु केटा आयुश सिं ठकुरी बिचको प्रेम सम्बन्धले पाएको छ ! यहाँ धर्मले कहिंकतै छेकेको देखिदैन जुन जात वर्ग वा धर्मको भएपनि माया त सबैको उस्तै हुन्छ नि, हैन र ? तर गरीब तथा कथित तल्लो जात भनिएकाले उपल्लो जात भनिएकी प्रेमिकालाई गरेको चोखो मायालाई अपराध ठहर्याइयो !

अब यसो गरौं नेपाल जातपातले सम्पन्न संसारकै धनी देश हो , यो सम्पत्ति मासिन हराउन दिनु हुँदैन अझै जातको उत्पादन बढाउ, संरक्षण गर र समृद्धि हासिल गर ।

नेपालले विदेश निर्यात गर्ने मुख्य बस्तु नै मानव जनशक्ति हो सक्छौ भने यसलाई पनि ग्रेडिङ गरेर बाहुन छेत्रीको मुल्य महँगो, दलित भनिएका श्रमिक समुदायको मुल्य सस्तो राखेर हेर । अन्तर्राष्ट्रिय श्रम बजारमा शिप र क्षमताको आधारमा पारिश्रमिक तोकिन्छ त्यहाँ कुनै जातको नभै नेपालीको मुल्य पाउँछौ ।

विश्व मानव समाज भन्दा अलग रहेको अर्ध चेतको एउटा जंगली मानव समुदाय जो अमेजनको जंगलमा बस्छन् तिनीहरु जस्तै दक्षिण एसियाका नेपाल भारत र बंगलादेश लगायतका क्षेत्रलाई हिन्दु धार्मिक प्रभावद्वारा आधुनिक युगको पिछडिएको चेतना बोकेको समाजका रुपमा परिचीत गराएको छ जुन सिंगो मानव सभ्यताको विकासमा कलंक मात्र होइन लोकतान्त्रिक युगको दासत्व हो भने मानवता विरुद्धको अपराध पनि हो ।

देशमा लिखित संबिधान छ, विभिन्न संबैधानिक अंगहरु छन् न्यायालय छ , प्रशासनिक निकायहरू छन् समग्रमा कानुनी राज्य छ ,फेरि पनि फैसला गर्ने समाजको छुट्टै कानुन छ ! जातको नियम -कानुन उलंघन गरेमा श्रमिक/ दलित समुदायले मृत्युदण्ड पाइरहेका छन् । किन? यस प्रकारको बर्बर अत्याचार सहेर यही समाजमा जीउन विवश पारिएका शोषित पीडित वर्ग र समुदायको मुक्ति कम्युनिस्ट व्यवस्थामा मात्र संभव छ जसका लागी बैज्ञानिक समाजवाद अनिवार्य आवस्यक छ ।साथै श्रमिक समुदायका लागि हिन्दु धर्म र जात व्यवस्था विसालु सर्प जस्तै हो जसलाई दुध खुवाइ खुवाइ पालेर संरक्षण गर्‍यो अन्ततः आफैलाई डस्छ !

यसरी आफ्नै काल किन पालेर राख्ने ? त्यसैले अब सम्पुर्ण उत्पीडितहरु , कम्युनिस्ट क्रान्तिकारीहरु र परिवर्तनका पक्षधरहरु सबै सी जातीमा रुपान्तरीत भइ भौतिकवादी विचार दर्शन आत्मसात गरी थप उन्नत र प्रगतिशील नयाँ मानव सभ्यताको विकासमा अघि बढ्न जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।