५ जेष्ठ २०८१, शनिबार

विप्लवको ‘ग्रीन रेभ्युलुसन’

0

‘विप्लव’ यो नाम नेपाली राजनीतिमा चर्चामा आइरहने नाम हो । विप्लवको अर्थ बिद्रोही भन्ने बुझाउछ । नामको अर्थसंगै मेल खाने उनी नेपालको राजनीतिक वृतमा बिद्रोही ,आँटिला , हक्की स्वभावका क्रान्तिकारी नेता मध्यका एक हुन् ।

उनको खास नाम नेत्र विक्रम चन्द हो तर अहिले उनी चन्द होइनन् । उनले चन्द हटाएर सी लेख्दा नेपालको राजनीति तरंगित बन्यो ।

विप्लवले नेतृत्व गरेको नेकपाले पार्टीको नवौं महाधिवेशनबाट पुरानो परम्परागत जातीको सट्टा ‘सी’ जाती लेख्ने निर्णय सर्वसम्मत पारित गर्यो । ‘सी’ भनेको कम्युनिस्ट , साम्यवादी जाती ।

अहिले नेकपाका महासचिव विप्लवसहित पार्टीका देशभरीका नेता-कार्यकर्ताहरुले आफ्नो पुरानो जाती / थरको सट्टा नामको पछाडी सी लेख्ने गरेका छन् ।

दस वर्षको जनयुद्धका कुशल कमान्डर हुँदै शान्तिप्रक्रियामा आउँदा पनि क्रान्तिकारी राजनीतिमा विप्लवको क्रेज घटेन । जनयुद्धका कार्यभार पूरा हुन बाकी रहेको ,पार्टीको नेतृत्वले जनयुद्धलाई धोका दिएको र संसदवादी भासमा गएको भन्दै विप्लवसहित मोहन बैध किरणले प्रचण्ड-बाबुरामसंग सम्बन्ध बिच्छेद गर्दै नयाँ पार्टी गठन गर्दा पनि चर्चा विप्लवकै थियो ।

प्रचण्ड-बाबुरामसंग अलग भई नेकपा -माओवादी गठनसंगै किरण अध्यक्ष भए विप्लवचाहिँ सचिव बनाइए । त्यतिबेला पनि किरणको भन्दा चर्चा विप्लवको नै हुने गर्दथ्यो ।

किरणसंग पनि विप्लव लामोसमय संगै रहन सकेनन् । किरणले क्रान्तिको ठोस तयारी गर्न नसकेको भन्दै विप्लवले आफ्नै नेतृत्वमा नयाँ पार्टी पुनर्गठन गरेका थिए ।

विप्लवले पार्टीको आठौं महाधिवेशनबाट पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी बनाए ।

नेकपाले देशव्यापी ऐनसेलको करछली , अबैध म्यानपावर कम्पनी , भुमाफिया , दलाल , भ्रष्टाचारीका विरुद्ध कठोर एक्सनमा उत्रीए पछि तत्कालीन केपि ओली नेतृत्वको सरकारले नेकपामाथी प्रतिबन्ध लगायो ।

पार्टीमाथी प्रतिबन्ध लागेपछी विप्लव भुमिगत भए । राज्य र नेकपाबिच संघर्ष चर्कियो । ठाउँठाउँमा प्रतिरोधात्मक संघर्षहरु चलिरहे । यसविच नेकपाका करिव १२ जना नेता-कार्यकर्ताहरुले सहादत प्राप्त गरे ।

विप्लवका आफ्नै सहोदर दाइ बिरजंगको कारागारमा उचित उपचार नपाएर मृत्यु भयो । राज्य र नेकपाबिचको मुडभेडमा राज्य पक्षको पनि केही क्षती हुन पुग्यो ।

नेकपामाथि प्रतिबन्ध लगाउदा दुई महिनामा सिध्याउने अभिव्यक्ति दिएका तत्कालीन सरकारका प्रधानमन्त्री केपि शर्मा ओलीले अन्ततः आफैले नेकपामाथीको प्रतिबन्ध फुकुवा गर्न सहमत भए । नेकपा र सरकारबिच तीन बुदे सहमती भयो र नेकपामाथिको प्रतिबन्ध सरकारले हटायो । विप्लव शान्तिपुर्ण राजनीतिक गतिविधि गर्न सहमत भए ।

प्रतिबन्ध फुकुवापछी पनि विप्लव चुपचाप बसेनन । राष्ट्रघाती एमसिसी सम्झौता खारेजीका लागि नेपाल बन्द , लघुवित्त , मिटरव्याज , चर्को बैंक ब्याजदर विरुद्ध देशव्यापी सडक आन्दोलन तताए । नेकपाले मिटरव्याजीहरुका जग्गा कब्जा , घर कब्जा गर्ने समेतका संघर्षलाई अगाडि बढाइरहेको छ ।

तीन बुदे सहमतीपछि शान्तिपुर्ण गतिविधिमा आएका विप्लवले सहमती अनुसार राज्यले बन्दीको रिहाई र झुठा मुद्दा खारेज नगरेको भन्दै असहमती जनाइरहेका छन सहमतीप्रति राज्य इमानदार नदेखिएको उनको बुझाइ छ ।

यो बिचमा नेकपा झन शक्तिशाली बन्दै गयो । नेकपाले काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा शक्ति प्रदर्शन गर्यो । सोही अवसरमा नेकपा र कर्णजित बुढाथोकी (सुशील) नेतृत्वको नेकपा माओवादी समाजवादीबिच पार्टी एकता समेत भयो भने त्यसको केही दिनपछि नेकपा र श्रमिक जनता पार्टीबिच एकता भयो ।

यता नेकपाबाट अलग भइ बहुमत समूह बनाएका धर्मेन्द्र बास्तोला र शुदर्शनसहित केही केन्द्रीय सदस्यहरु मोहन बैध किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)संग एकता गरेका छन् ।

विप्लवले स्थानीय निर्वाचनलाई पार्टी दर्ता नगरी स्वतन्त्र ढंगले देशभक्त , जनवादी , बामपंथी , प्रगतिशील , राष्ट्रवादी शक्तिहरुलाइ सहयोग गर्ने , निर्वाचनमा उठाउने नीति लिएपछी धर्मेन्द्र -शुदर्शनहरु नेकपाबाट अलग भएका हुन् ।

विप्लवलाई संसदवादीको आरोप लगाउदै पार्टीबाट अलग भएका धर्मेन्द्र -शुदर्शनले अन्ततः संसदीय चुनावमा भाग लिइसकेको चुनावका लागि देशभक्त जनगणतान्त्रीक मोर्चा बनाएको बैध नेतृत्वको क्रान्तिकारी माओवादीसंग एकता गरेका छन् ।यसैबिच विप्लवले संसदीय व्यवस्था विरुद्ध व्यापक जनमत सिर्जना गर्न केही हदसम्म सफल पनि भएका छन् । उनले सत्तासिन पार्टी माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र जसपालाई समेत जोडेर समाजवादी मोर्चा बनाएका छन् ।

समाजवादी मोर्चा नेपालमा संसदीय व्यवस्था असफलताको परिणाम भएको नेकपाले बताउदै आएको छ ।

केहिले यसलाई विप्लव घुमिफिरी संसदीय व्यवस्थामा जानलाइ गरिएको अभ्यास पनि भनेका छन् भने कतिपयले विप्लव माओवादी केन्द्रको महासचिव बन्दैछन भन्ने चर्चाको त झन सिमा नै छैन । तर विप्लवचाहिँ यी दुबै कुरालाई ठाडै अस्विकार गर्दै आएका छन् ।

पुर्व माओवादीहरुलाइ एक बनाउनुपर्ने आवश्यकता भएको भएपनी अहिले नै माओवादीसंग एकता भएर आफू त्यो पार्टीको महासचिव बन्ने कुरा सम्पुर्ण हिसाबले भ्रमपुर्ण , तथ्यहिन र कपोकल्पित भएको विप्लव बताउछन् ।साथै उनले विप्लव संसदवादी बन्न त्यति सजिलो नभएको समेत बेलाबेलामा बताउने गरेका छन् । विप्लवले एउटा सार्वजनिक बहसमा भनेका छन्  – ‘संसदीय व्यवस्थामा जाने कुरा कल्पना समेत गर्न सकिदैन बरु संसदीय व्यवस्थाबाट भएन भनेर ४ पार्टीबिच समाजवादी मोर्चा बनेको हो । हामी चार पार्टी समाजवादसम्म जानलाइ सहमत भएपछी मोर्चा बनाएका हौं ।’

विप्लवको ‘ग्रीन रेभुलुसन’

नेकपाका महासचिव विप्लव यतिबेला प्राय हरियो धान खेतबारीको बिचमा देखिन्छन् । नेपालमा नेकपा पहिलो पार्टी बनेको छ जसले देशभर उत्पादनका लागि असार १५ गतेदेखी असार मसान्तसम्म केन्द्रीय समितिले बिदा दिने निर्णय गरेको छ ।
नेकपाले आत्मनिर्भर पार्टी ,आत्मनिर्भर नेता-कार्यकर्ता तथा आत्मनिर्भर देशको उद्देश्यसहित देशव्यापी १०० बिघामा धान खेती गर्ने लक्ष्य लिएको छ ।विप्लवसहित तलदेखि माथिल्लो कमिटीका सबै पार्टी कमिटी , जवस/मोर्चाहरु यतिबेला धान रोपाइँमा सक्रिय देखिन्छन् ।

विप्लवले कपिलवस्तुमा असार १५ गते धान रोप्न हिलो बनाइएको खेतबाटै ड्रोन उडाएर श्रम उत्सवको उद्घाटन गरेका हुन् ।पार्टीको केन्द्रीय उत्पादन योजना अन्तर्गतआत्मनिर्भर उत्पादन , आत्मनिर्भर पार्टी केन्द्रिय अभियान २०८०लेखिएको ब्यानर खोलेर ड्रोन उडाउदै महासचिव विप्लवले श्रमउत्सवको उद्घाटन गरेका हुन् ।

उद्घाटनको अवसरमा महासचिव विप्लवसहित सहभागी नेताकार्यकर्ता , कलाकारहरुले पेरिस कम्युनका योद्दा युजिन पोतरले रचेको कम्युनिस्ट अन्तरास्ट्रिय गित गाउँदै धर्ती हामी श्रमिकको हो, होइन जाली झेली काँतरहरुको भनेर सन्देश दिए ।

श्रम उत्सबमा इन्द्रेणीका कलाकार कृष्ण कडेलसहित छत्र शाहीको उपस्थितिले विप्लवको क्रेज देशभर सामाजिक संजाल मार्फत व्यक्त भयो ।सोही अवसरमा इन्द्रेणीका कलाकार कृष्ण कडेल र विप्लव हिलाम्य खेतमा छमछमी नाँचे ।विप्लवले कपिलवस्तुबाट श्रम उत्सबको उद्घाटन गरे भने नेकपाका नेता-कार्यकर्ताहरुले देशैभरीजिल्लाजिल्लाबाट धान रोपाइको उद्घाटन गरे ।
यता पार्टीका प्रवक्ता प्रकाण्ड सीले चितवनमा धान रोपाइको उद्घाटन गरे भने पार्टीका स्थायी कमिटीका सदस्य रणबिर सीले बर्दियाको राजापुरमा २८ बिघा जमिनमा धान रोपाइँको उद्घाटन गरेका हुन् ।

विप्लवले नेपालमा वैज्ञानिक समाजवादको सपना देखिरहेका छन् । उनले संसदीय व्यवस्था पुर्णरुपले असफलसिद्ध भईसकेकाले यसको विकल्पमा वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना निर्विकल्प बनेर आएको समेत बताउदै आएका छन् ।
विप्लवले यतिवेला देशको परनिर्भरताको पराकाष्ठा देखेरै हुनसक्छ भासणमा भन्दा श्रमलाइ प्राथमिकता दिईरहेका छन् ।सबैले नेपालमा केही हुँदैन , युवाहरू बिदेश जाउ , आफ्नो व्यक्तिगत जीवन समृद्ध बनाउ भनिरहेका बेला नेपालमा सबै सम्भव छ भन्दै युवाहरुलाई विप्लवले आशावादी बनाइरहेका छन् । 

नेकपाका एक नेताका अनुसार विप्लव बिहान-बेलुका दैनिक कम्तिमा २ घण्टा अनिवार्य श्रममा भाग लिने गर्दछन। साच्चिकै नेपालमा विप्लवले ‘ग्रीन रेभुलुसन’ सुरु गरेका छन् ।वैज्ञानिक समाजवादमा विप्लवले देशलाइ आत्मनिर्भर बनाउन कृषि मार्फत आत्मनिर्भर र उधोग मार्फत समृद्धिको नीति लिइने समेत बताउने गरेका छन् ।

आफ्नो देशलाइ माथि नउठाउदासम्म बिदेशिको अगाडि नेपालीको शिर कहिल्यै उचो नहुने विप्लवको ठहर रहेको छ।
नेपालको जमिनले ६ करोड नागरिकलाई खान पुग्ने भएपनी अहिलेको उत्पादनले ३ महिनापनि खाना नपुग्ने अवस्था रहेको भन्दै विप्लवले सबै युवाहरु देशमै उत्पादनमा जोडिनुपर्ने बताउछन् ।

विप्लव नेतृत्वको नेकपासंग पार्टीको ३०० रोपनी आफ्नै जग्गा रहेको र देशभर ६० बिघा जमिन लिजमा लिइ उत्पादन कार्यलाइ तिब्रता दिइरहेको नेकपाले जनाएको छ।विप्लव हाल ललितपुरमा छन् । नेकपाले ललितपुरको हरिसिद्धीमा पनि धान रोपाइँ सम्पन्न गरेको छ । ललितपुरमा रोपेको धानको झारपात गोडमेलमा विप्लव आजभोली सक्रिय भएको देखिन्छ ।

विप्लव र उनले नेतृत्व गरेको नेकपा नै यतिबेला नेपालको राजनीतिक वृतमा सबैको चासो , चर्चा , परिचर्चाको विषय बनेको छ ।यता नेकपाले दाङ , चितवन लगाएतका क्षेत्रमा माछापालन , तरकारी खेती लगाएतका उत्पादनलाई पनि तिब्रतामा विकास गरिरहेको छ ।

कपिलवस्तुमा पनि सो पार्टीले बङ्गुर पालन , पशुपालन , तरकारी खेती , स-साना घरेलु उत्पादनलाई जोड दिदै आएको छ ।नेकपाले कृषि उत्पादनमा सुरु गरेको ‘ग्रीन रेभुलुसन’ले उक्त पार्टी र समग्र देशको अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला त्यो भने समयले बताउने नै छ तर हामी भने नेपालको परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भरता तिर लिएर जाने नीति कार्यक्रम बनाएर देशभर सिंगो पार्टीपंक्तिलाई उत्पादनमा जोड्ने विप्लव र उनको नीतिलाइ समर्थन गर्दछौं ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।