२५ बैशाख २०८१, मंगलवार

नेपालमा कम्युनिस्ट पार्टीको निर्माण आफैमा क्रान्ति थियो

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले नेपालमा जहानिय राणाशासनको बेला देशलाई जनवाद र समाजवादको दिशामा लिने उदेश्यले पुष्पलालले कम्युनिस्ट पार्टीको स्थापना गर्नु आफैमा एउटा क्रान्ति भएको बताएका  छन् ।

नेपाल प्रज्ञा- प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स)को सहकार्यमा आइतबार आयोजित `वर्तमान सन्दर्भमा पुष्पलाल विषयक´ अन्तर्कृया कार्यक्रममा विचार राख्ने क्रममा नेकपा महासचिव विप्लवले यस्तो धारणा राखेका हुन् ।

“नेपालमा कम्युनिस्ट पार्टी निर्माण गर्नु आफैमा क्रान्ति थियो,पछि के कस्तो भयो, के कस्ता समस्या र प्रवृति आए, त्यो अर्कै कुरा हो, तर पुष्पलाल र उहाँ सहित नेकपाका संस्थापकहरुले कम्युनिस्ट पार्टी निर्माण गर्ने कुरा तत्कालीन समयको क्रान्ति नै थियो”- उनले भने- “हामी ६५% कम्युनिस्ट जनमत भएको देशमा छौं ,नेपालमा समाजवाद र साम्यवादको सपना देख्ने पीढी छ,यो पुष्पलालको योगदानको परिणाम हो, अब बिभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने बेला आएको छ ,सबै कम्युनिस्टहरु एक भएर समाजवादमा जानुपर्छ,यो नै अहिलेको सामाजिक क्रान्ति हुनेछ र पुष्पलालको सम्मान पनि, यो बहसमा काङ्ग्रेसलाई पनि ल्याउनुपर्छ ।”

युवा अध्ययता रामचन्द्र श्रेष्ठद्वारा प्रस्तुत `आगतको सङ्घारमा पुष्पलालको पदचाप पछ्याएर´ शीर्षकको प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्ने क्रममा महासचिव विप्लवले- कार्यपत्रको मुख्य पाटो भनेको पुष्पलालले कहाँ ,के कस्ता संघर्षहरु गर्नु पर्यो भन्ने बिषयलाई सजीव रूपमा औल्याइएको छ यसका लागि प्रस्तुतकर्तालाई धन्यवाद छ भन्दै उनले कार्यपत्रले विगतको बिषय उठान गरेर राम्रो गरेको भएपनि आजको नेपाली कम्युनिस्ट आन्दोलनका प्रवृति वा समकालीन विषयको बिष्लेषणमा कार्यपत्र चुकेको बताए।

“कम्युनिस्ट आन्दोलनका अहिलेका धाराहरुबारे प्रस्ट्याउन जरुरी छ ,सबै पार्टी , नेता र बिचार उस्तै उस्तै  हुन भन्ने निष्कर्षले हामीलाई अराजकता र निराशतिर लिन्छ त्यसो हुन दिनु हुदैन,अब स्कुल , कलेज, र विश्वविद्यालयमा पुष्पलाल पढाइनुपर्छ,पुष्पलाल नपढेसम्म इतिहास अपुर्ण हुन्छ” उनले भने ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५ औं स्मृति दिवसको अवसरमा आयोजित `आजको सन्दर्भ र पुष्पलाल´ विषयक कार्यक्रममा विप्लवले सबै ऐतिहासिक पात्रहरु जस्तै पुष्पलालका पनि केहि सिमाहरु रहेको भन्दै समिक्षात्मक मूल्याकंन गरे।

पुष्पलालले निकै मेहनत गरेका थिए जस्तो  कि नेपाली समाजको बर्गविश्लेषण , किसान आन्दोलन, नयाँ जनवादको राजनीतिक कार्यक्रम र नेपाली समाजको मार्क्सवादी दृस्ठिकोणद्वारा विश्लेषण उहाँकै वौदिक योगदान हुन् ,छरपस्ट भएको कम्युनिस्ट आन्दोलनलाई ०२५ साल पछि एकीकृत गर्न  उहाँले नै प्रयत्न गर्नुभयो,उहाँको विशेषता भनेको उहाँ आफैले भनेको कुरामा अन्तिमसम्म पनि टिक्नु भयो,पुष्पलालले जनवाद र स्वाधीनता दुइटा बिषयमा जहिल्यै जोड दिनु भएको थियो ,प्रजातान्त्रिक शक्तिहरुसङ्ग मिलेर सामन्तवाद र निरङ्कुश शक्ति फ्याक्नु पर्छ भन्ने उनको बुझाई थियो, त्यो निकै वस्तुवादी र सहि निष्कर्ष भएको बताए।

महासचिव विप्लवले आधारभूत रूपमा पुष्पलाल सहि, महान र क्रान्तिकारी थिए तर केहि सिमा पनि थिए भन्ने कुराबाट शिक्षा लिनुपर्ने कुरामा जोड दिए।”संगठनात्मक क्षेत्रमा उहाँले पर्याप्त रूपमा ध्यान दिन नसक्नु, आफ्नो विचारलाई साथ दिने र कार्यान्वयनमा खरो रूपमा उठ्न सक्ने टिमको निर्माण र बिकास गर्न नसक्नु ,बैचारिक हिसाबले बिषयलाई तिखो बनाउने र धारमा बदलेर प्रयोगमा लिन नसक्नु वा ठोस बनाउन नसक्नु उनको सिमा हो”महासचिव विप्लवले समिक्षा गर्दै भने।

त्यस्तै मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे बोल्दै उनले भारतभन्द्दा अमेरिका  अहिले नेपालको मुख्य समस्या भएर आएको,नेपालमा सामन्तवाद होइन दलाल पुँजीवाद मुख्य भुमिकामा भएको, यसले मान्छे ,मान्छेको श्रम, सिर्जना सबै बेचेर खाने तर ,केहिपनि बनाउदैन, त्यसैले अबको समाजवादी क्रान्तिमा यो अन्तरबिरोधलाई हल गर्नुपर्नेमा जोड दिए।

पछिल्लो पटक निकै कुख्याति कमाएको भुटानी शरणार्थी काण्डबारे बोल्दै महासचिव विप्लवले नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउनेहरुसङ्गै नक्कली  शरणार्थी बन्नेहरुलाई पनि जेल हाल्नुपर्ने टिप्पणी गरे।
“आफ्नो देश, नागरिकता बेचेर अमेरिका जानेकुरा पनि दलाली हो, त्यसलाई पनि हामीले गम्भीर रूपमा लिनुपर्छ ।”

नेपालमा कम्युनिस्ट आन्दोलनलाई सफलतामा पुर्‍याउन अब विगतका विरासतबाट माथी उठेर नयाँ ढङ्गले सोच्नुपर्ने, मार्क्सवादी दर्शनशास्त्रको द्वन्द्ववाद सम्बन्धि नियममा रहेका अपुर्णताहरुलाई पछिल्लो विज्ञान र प्रविधिको विकासको आधारमा विकास गर्नुपर्ने र राजनीतिक  अर्थशास्त्रको क्षेत्रमा पनि नीजी स्वामित्वमा आधारित प्रणाली  स्वत: अपुर्ण र अन्यायपूर्ण रहेको तर त्यसको विकल्पमा आएको सुन्दर व्यवस्था – समाजवादी प्रणाली वा  परम्परागत सामुहिक स्वामित्व पनि फेल खाईसकेकोले अब सोभियत संघ रुस ,२० औं शताब्दीको पुर्वीयुरोप र तत्कालीन  चीनको जस्तो समाजवादी प्रणालीले काम नगर्ने भएकोले एकीकृत अर्थप्रणाली अनुसार समाजवादको विकास गर्नुपर्ने महासचिव विप्लवको जोड थियो।

प्रज्ञा-भवनको देवकोटा सभाकक्षामा भएको कार्यक्रममा एमाले नेता डा दिप्तप्रकाश भट्ट , एकीकृत समाजवादी नेतृ अरुणा पराजुली, हरि रोका, गोपिरमण उपाध्यायले टिप्पणी गरेका थिए भने कार्यक्रमलाई धनकुमारी सुनारले सहजीकरण गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।