५ जेष्ठ २०८१, शनिबार

राज्यको दलाल चरित्रका कारण भ्रस्टाचार मौलायो

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लव सी ले दलाल पूँजीवादी व्यवस्थाका कारण देशमा भ्रष्टाचार मौलाएको ठोकुवा गर्दै दलाल पूँजीवादी व्यवस्था कै कारण मुलुकमा भ्रष्टाचार नागरिक तहसम्म सल्केको समेत बताएका छन। सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै महासचिव ‘विप्लव सी ले सो कुरा बताएका हुन्।

महासचिव ‘विप्लव सी ले अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरु सहभागी हुनु खुशीको कुरा भएकोसमेत बताए । उनले भ्रष्टाचार विरोधी लडाईमा सरकार आफैं सहभागी हुनु राम्रो कुरा भएको उल्लेख गर्दै त्यसका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिईरहेको बताए ।

महासचिव ‘विप्लव सी ले श्रेष्ठ गृहमन्त्री भएको भए तत्कालीन समयमा आफ्नो पार्टीमाथि प्रतिबन्ध लाग्दैन थियो कि भन्ने अहिले आफूलाई लागि रहेको समेत बताए ।

सोहि कार्यक्रममा आफ्नो धारणा राख्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा प्रमाणले दोषी देखिएका जोसुकै भए पनि कारबाही गर्ने बताए ।
उनले भ्रष्टाचार र अनियमितको प्रकरणमा प्रमाणले दोषी देखिएका जोसुकैलाई कानुनी कारबाही गरिने उल्लेख गर्दै नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा हिनामिना र १०० किलो सुन बरामद प्रकरणका दोषी उम्कने हुन् कि भन्ने आशंका उब्जिएका बेला दोषी देखिएका सबैलाई कानुनी कारबाही गरिने बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले निष्पक्ष रुपमा अनुसन्धान गर्न आफूले निर्देशन दिएको र दोषीलाई छोड्न नहुने र निर्दोष फस्न नहुने गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइने बताए ।

यसैगरी, सोहि कार्यक्रममा आफ्नो धारणा राख्दै नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा हुन नसकेको बताए । उपाध्यक्ष पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको जरो बीचमै काटिँदा अनुसन्धान पूरा नभएको उल्लेख गर्दै भ्रष्टाचार अहिले संघदेखि स्थानीय तहका वडा सदस्यसम्म फैलिएको बताए ।

पाण्डेले अहिले को छ भ्रष्टाचारी भन्दा पनि को छैन भ्रष्टाचारी भनेर खोज्नुपर्ने स्थिति देखिएको भन्दै अनियमतितामा सरकारले जरैसम्म पुगेर अनुसन्धान गरी दोषीउपर कारबाही गर्नुपर्ने बताए ।
उपाध्यक्ष पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने देशमा सुशासन कायम हुन नसक्ने समेत बताए ।
यसैगरी, सोहि कार्यक्रममा आफ्नो धारणा राख्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यता रहेको बताए । उनले महंगो निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन गरेकाले त्यसको सुधार तत्काल गर्नुपर्ने भन्दै राजनीतिक तहमै हुने संस्थागत भ्रष्टाचार नै मुलुकमा समाजवादी व्यवस्था ल्याउनका लागि मुख्य बाधक रहेको समेत बताए ।


अध्यक्ष यादवले नेपालजस्तो अल्पविकसित मुलुकमा पनि विकसित देशहरुको भन्दा महंगो निर्वाचन प्रणाली हुनु दुःखद् कुरा भएको भन्दै नेपालमा समाजवाद ल्याउने सपना देखेका कम्युनिष्ट पार्टीका नेताहरु नै नवधनाढय वर्गमा परिणत भएको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।