जीवन र जगतलाई हेर्ने आ-आफ्नै आँखा हुन्छन् । मानव समाजलाई हेर्ने, बुझ्ने र बदल्ने आ-आफ्नै तर्क र दृष्टिकोण हुने गर्दछ । तिनै दृष्टिकोण मध्ये मार्क्सवादी दर्शन एक भौतिकवादी दर्शन हो । यो समाजलाई बुझ्ने र बदल्ने गतिशील विज्ञान हो । उन्नाइसौं शताब्दीमा जर्मन शास्त्रीय दर्शनशास्त्र, अंग्रेजी राजनैतिक अर्थशास्त्र र फ्रान्सेली समाजवादको रुपमा मानवजातीले विकास गरेको श्रृजनाको वैधानिक उत्तराधिकारी मार्क्सवाद हो । सन् १८४८ मा मार्क्स र एङ्गेल्सले कम्युनिष्ट घोषणा-पत्र लेखेर मानव सभ्यताको इतिहासमा नविन अध्यायको सुनौलो ढोका खोल्नुभयो । इतिहासको आर्थिक व्याख्या र अतिरिक्त मूल्यको सिद्धान्त दुई महत्वपूर्ण श्रृजनाले श्रमिकवर्गको जीवन र सोच्ने तरिकामा आमुल परिवर्तन ल्याइदियो ।
बलप्रयोगको सिद्धान्त, सर्वहारावर्गको अधिनायकत्व, वर्गसंघर्ष तथा समाजवाद र साम्यवादमा पुग्ने बाटो, सत्ता विलोपीकरण सम्बन्धी सिद्धान्तलाई मार्क्सवादले गहिरो गरी आत्मसात गरेको छ । मार्क्स र एङ्गेल्सले प्रतिपादन गर्नु भएको घोषणापत्र नै पछि गएर उत्पीडित र उपेक्षित वर्गकोलागि समाज बदल्ने महत्वपूर्ण हतियार बन्यो । सोहि घोषणापत्रको आधारभुत मान्यतामा टेकेर पेरिस, रुस, चाइना, भियतनाम, कोरिया लगायत विश्वका विभिन्न देशहरुमा क्रान्ति सम्पन्न भएकोथियो । नेपालमा पनि कम्युनिष्ट पार्टीहरुको नेतृत्वमा विभिन्न जनसंघर्ष तथा वर्गसंघर्षहरु भए । भएका संघर्ष मध्ये विश्वका श्रमिकहरुलाई नै उत्साहित र आर्कषित बनाउने क्रान्ति नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा सञ्चालित जनयुद्ध थियो ।
कम्युनिष्ट घोषणापत्रमा मार्क्स, एङ्गेल्सले ‘आज युरोपलाई साम्यवादी भूतले आतंकित पारिरहेको छ’ भने जस्तै नेपाली जनयुद्धले पनि नेपालका सामन्ती तथा प्रतिक्रियावादी वर्गलाई आतंककित बनाउदै आफ्नै रफ्तारमा अघि बढेको थियो ।
महान् जनयुद्धमा पार्टीको नेतृत्वमा उत्पीडित वर्ग, जाती, क्षेत्र, लिङ्ग र समुदाय ठुलो संख्यामा केन्द्रित हुन पुगेका थिए । यस आन्दोलनमा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक रुपमा पछाडि पारिएका महिलाहरु विशाल संख्यामा संगठित हुन पुगेका थिए ।
विगत देखि वर्तमानसम्म महिलाको अवस्था :
मानव समाजमा लामो समय सबैभन्दा दुःख पाएको समुदाय महिला हो। तथ्याङ्कले प्रष्ट गरे अनुसार, विश्वमा १ दिनमा अर्वभन्दा बढी महिलामाथि दैनिक हिंसा हुने गर्दछ । पितृसत्तात्मक समाजले अहिले पनि महिलाहरुलाई दासी र बिकाउ मालमा बिम्बित गरेको छ । अहिले पनि महिलाहरुमाथिको दासताको बन्धन र हिंसाको गहिराई उत्तिकै छ, मात्र शोषणका रुपहरु फरक छन् । नीजि सम्पतीको प्रारम्भसँगै महिलाहरुमाथि शोषणका नयाँ जालोहरु बुनिदै गएका थिए । त्यसैको निरन्तरता स्वरुप महिलाहरु आजको यो अवस्थामा छन् । नेपालका महिलाहरु राजनैतिक, लैङ्गीक, आर्थिक, सामाजिक सांस्कृतिक, धार्मिक, शैक्षिक लगायत पितृसत्तात्मक शोषणबाट अझैं मुक्त हुन सकेका छैनन् ।
सामन्तवादले महिलाहरुलाई चुलोचौको र घरमा सिमित गराएको थियो भने पुँजीवादले घर बाहिर त निकाल्यो तर नयाँ शोषणको जालोहरुमा लपेट्यो । निर्मला पन्त, सम्झना वि.क लगायतका बालिका तथा महिलाहरुलाई बलात्कार पछि निर्ममतापुर्वक हत्या गरिएको छ । निर्मला जस्ता कयौँ बालिकाहरुको हत्यारा पत्ता लगाई कार्वाही गर्न नसक्नु जस्तो तितो यथार्थ हामीबीच जगजाहेर नै छ । महिलाहरुलाई उपयोग र उपभोगको वस्तुकरण गरेर व्यापार गरिएको छ । विगतको सामन्ती पितृसत्ता महिलाहरुमाथिको शोषणको अस्त्र थियो भने हाल केन्द्रीकृत एकाधिकार पुँजीवाद शोषणको अर्को अस्त्र बनेर उभिएको छ। नाफाका निम्ति महिलाहरुलाई वस्तुकरण गर्ने असामाजिक र अमानवीय दलाल पुँजीवादी व्यवस्था रहदासम्म महिलाहरुको पूर्ण मुक्तिअसम्भव छ ।
नेपालमा वि.सं. १९१० पुस ७ गते मूलुकी ऐनको १६३ महल जारी गरी सती प्रथालाई बैधानिक बनाइयो । श्रीमतीको उमेर १६ बर्ष नपुगेको, उनको छोरा १६ बर्ष र छोरी ५ वर्ष मुनि भएमा, गर्भवती भएमा र अर्को विवाह गरेर बसेमा बाहेक श्रीमानको मृत्यु हुँदा महिलाहरु सती जाने प्रथा लागु गरियो ।
जंग बहादुर राणाको निधन हुँदा उनका ३ वटा श्रीमतीसँगै सती गएका थिए। यस्तो अमानवीय र क्रूर चलन १९७७ असार २५ गतेबाट मुलकी ऐन शंसोधन गरेर चन्द्र शम्शेरको पालामा हटाइयो। सती जाने र जान दिने दुवै ज्यानमारा बात लाग्ने भनी उल्लेख गरियो । उक्त ऐनमा तागाधारीको हकमा ५ वर्ष र अन्य जातीको हकमा ६ वर्षमा बालिकाहरुको बिहे गर्न पाउने हदबन्दी तोकिएको थियो ।
मुलुकी ऐनमा श्रीमतीले अर्को विवाह गरेमा जारी तिराउने, जार काट्न पाउने, जात हेरेर सजाय घटीबढी हुने डरलाग्दो जारीप्रथा भने कायमै राखियो ।
२००४ सालको वैधानिक कानुनले महिलाहरुलाई मताधिकार प्रदान गर्यो । २०१५ सालको आम निर्वाचनमा ५ जना महिला उम्मेदवारमध्ये नेपाली कांग्रेसबाट द्धारिकादेवी ठकुरानी निर्वाचित भइन् । उनी नेपालको पहिलो महिला मन्त्री बन्न सफल भइन् । नेपाल अधिराज्यको संविधान २०४७ ले समानताको हक सम्बन्धी थप व्यवस्था गर्यो । २०६३ को पुनःस्थापित संसदले आमाको नामबाट नागरिकता प्रदान गर्ने, हरेक संरचनामा ३३% महिला सहभागीता, सम्पत्तिमा समान हक, प्रजनन स्वास्थ्य सुरक्षाको घोषणा गर्यो । सोही मुताविक २०७२ को नेपालको संविधानले राजनीतिक लगायत अन्य तहमा ३३ % महिला सहभागिता सुनिश्चत गर्दै अन्य अधिकारहरु प्रदान गरेको छ। महिलाहरुको यो राजनीतिक प्रतिनिधित्वको सुनिश्चितता माओवादी जनयुद्ध र २०६२/०६३ को जनआन्दोलनको परिणाम थियो ।
महिला अधिकारका ऐतिहासिक पहलहरु :
नेपालमा राष्ट्रियता, जनतन्त्र, जनजीविका र लैङ्गिक सवालहरुमा महिलाहरुले ऐतिहासिक भुमिका खेलेको देखिन्छ । विशेषत: वेलायती साम्राज्यसँगको युद्धमा महिलाहरुले महत्वपूर्ण वीरता प्रस्तुत गरेका थिए । वि.सं. १८७१ को नालापानी र काँगडाको युद्धमा इन्द्रेणी थापा र सावित्री देवी जस्ता राष्ट्रवादी महिलाहरुले महत्वपूर्ण भूमिका खेलेका थिए । मल्लकाल, लिच्छवीकालमा पनि सत्ता सञ्चालनमा महिलाहरुले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । राजा मानदेवकी आमा राज्यवतीको राजनीतिमा महत्वपूर्ण भूमिका थियो । राजा धर्मदेवको मृत्यु पश्चात रानीहरु सती जाने इच्छा देखाउदा राजा मानदेव लगायतले सती जान रोकेका थिए । १०४ वर्षे राणा शासनमा महिलाहरु अझ बढी चुलोचौका र उपभोग्य वस्तुमा सिमित रहन पुगे । विशेषत राणा शासनका विरुद्ध योगमायाँ न्यौपानेले गरेको जलसमाधी महिला संघर्षको ऐतिहासिक कोशेढुङ्गा थियो ।
योगमायालाई नेपाली महिला आन्दोलनमा शक्तिको स्वरुपमा बुझिन्छ । उनी भोजपुरमा जन्मिएर जीवनमा धेरै दुःख, हण्डर खाएर पनि मानव हितमा लागिपरिन् । मानव -मानवबीच हुने भेदभावको अन्त र मानव दुःखको अन्त्यकालागि धर्मराज्यको वकालत गरिन् । राणाशासन र समग्र कू-संस्कारका विरुद्ध पटक पटक अग्नि तथा जलसमाधीको योजना बनाइन् । अन्तमा वि.स. १९९८ साल असार ३१ गतेका दिन ६८ जना अनुयायी लिएर अरुण नदीमा जलसमाधी लिइन् । मध्ययुगीन सामन्ती शोषणकाविरुद्ध निर्भिकतापूर्वक उभिन सक्ने बहादुर योद्धा योगमायाँको संघर्ष ऐतिहासिक र युग युगसम्म बाँचिरहने छ ।
नेपाली महिला आन्दोलनको खास सुरुवात
वि.सं. १९४५ मा दुर्गादेवी आचार्य दीक्षितले स्त्री शिक्षाको महत्व अगाडि सारेर भएको थियो । वि.सं. १९७४ मा योगमाया कोइरालाको नेतृत्वमा दिव्या कोइरालाहरु समेत रहेको एक महिला समिति गठन भएको थियो । २००४ सालमा ६५ जना महिला भेला भएर मंगलादेवी सिंहको नेतृत्वमा नेपाल महिला संघ गठन भएको थियो । बहुविवाह, बालविवाह, अनमेल विवाह अन्त्य गर्ने उद्देश्य सहित राणा विरोधी आन्दोलनमा ती महिलाहरु सहभागी भएका थिए ।
२००८ सालमा कामाक्षादेवीको नेतृत्वमा अखिल नेपाल महिला संघ गठन गरिएको थियो । उक्त संघले यस्ता विभिन्न खाले आन्दोलन र दबाब श्रृजना गरी महिला आन्दोलनको मुद्दा उजागर गर्न सफल भएको थियो । २०२० सालमा संशोधित मुलुकी ऐनमा महिलाहरुलाई केही सिमित अधिकार प्रदान गरियो। जसमा बालविवाह, अनमेलविवाह, बहुविवाह माथि प्रतिबन्ध लगाइएको थियो । २०४६ सालको जनआन्दोलनमा महिलाहरुको महत्वपूर्ण भुमिका रह्यो । उक्त आन्दोलनपछि नेपालमा केही नयाँ वातावरण बन्यो ।
जनयुद्ध र महिला सहभागीता
१. जनयुद्ध थालनी
२०४६ सालको संयुक्त आन्दोलनको क्रममा चैत्र २६ गते ने.का र वाममोर्चाले राजासँग संवैधानिक राजतन्त्रको पक्षमा संझौता गरे । आन्दोलन गरिरहेको अर्को घटक संयुक्त जनआन्दोलन संयोजन समितिले चैत्र २६ गतेको संझौता धोका हो भनी भण्डाफोर गर्यो । यता २०४५ सालमा नेकपा (मशाल) को राष्ट्रिय सम्मेलनले नयाँ वर्गविश्लेषण सहित माओवाद पास गरेको थियो । २०४८ मा सम्पन्न एकताको केन्द्रीय महाधिवेशनले जनयुद्धको कार्यदिशा पास गयो । ०५१ को पार्टी विभाजन पछि फागुन २-५ सम्म तेश्रो विस्तारित बैठक बसी पार्टी नाम नेकपा(माओवादी) र जनवादी क्रान्तिको कार्यदिशा पास गर्यो । उक्त पार्टीले २०५२ माघ २१ गते तत्कालिन प्रधानमन्त्री शेर ब. देउवा समक्ष ४० बुँदे माग पेश गर्यो । जसको १९ नम्बर बुँदामा महिलामाथिको पितृसत्तात्मक शोषणको अन्त्य गरिनु पर्छ, छोरीलाई छोरा सरह पैत्रिक सम्पत्तिमा समान अधिकार दिनु पर्छ भन्ने रहेको थियो ।
असारमा बसेको केन्द्रीय समितिको बैठकले जनयुद्धको पहिलो योजना र नारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै, नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौ ‘ तय गर्यो ।
फागुन १ गते रोल्पाको होलेरी, रुकुमको राडी र सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी तथा गोर्खाको साना किसान विकास बैंक कब्जा सहित साना ठुला ७००० भन्दा बढी कार्वाही भएका थिए ।
कम्युनिष्ट घोषणापत्रमा मार्क्स र एङगेल्सले “क्रान्तिको उद्देश्य सर्वहारालाई शासक वर्गको स्थानमा स्थापित गर्नु र जनवादको निम्ति लडाईमा विजय प्राप्त गर्नु ” भन्ने कुरा उल्लेख गरेर राज्यसत्ता प्राप्तिको महत्वलाई पहिलो पटक स्पष्ट किटान गरेका थिए ।
सशस्त्र बलद्धारा राज्यसत्ता कब्जा गर्नु, युद्धद्धारा समस्याको हल गर्नु क्रान्तिको केन्द्रीय काम र सर्वोच्च रुप हो । क्रान्तिको यो मार्क्सवादी लेनिनवादी सिद्धान्त सर्वत्र लागु हुन्छ । यही मार्क्सवादको आधारभूत मान्यताको आधारमा टेकेर बल प्रयोगद्धारा सत्ता प्राप्तिको बाटोमा माओवादी जनयुद्ध शुरु भएको थियो । सर्वहारावर्गको नेतृत्व तथा मजदुर किसान एकताको आधारमा जनवादी क्रान्ति सम्पन्न गर्ने राजनीतिक लक्ष्य तय गरेको थियो । राज्यसत्ता बाहेक अरु सबै भ्रम हो, राज्यसत्ताको जन्म बन्दुकको नालबाट हुन्छ भन्ने प्रसिद्ध मार्क्सवादी प्रस्थापनासँगै जनयुद्ध बाहेक अर्को विकल्प छैन भनी पार्टी, सेना र संयुक्तमोर्चाको निर्माण गरी संघर्षलाई अघि बढायो ।
२. जनमुक्ति सेनामा महिला सहभागीता
जनयुद्धको शुरुवाती चरणमा ने.क.पा (माओवादी) को १९ जनाको केन्द्रीय समितीमा १ जना मात्र महिला थिइन् । अगुवा महिलाहरु सीमित मात्रामा थिए । जनयुद्ध बढ्दै जाँदा यसमा आकर्षण ह्वात्तै बढ्यो । ०५२ सालमा संयुक्त जनमोर्चाको अध्यक्षको जिम्मेवारी पम्फा भुसाललाई दिइयो । जनमुक्ति सेना नेपाल घोषणा भन्दा अगाडी बनेको जनमिलिसिया, स्वयंसेवक दल, सुरक्षा दल, लडाकु दल, स्क्वार्ड संरचनामा अनिवार्य महिला सहभागी हुने नीति बन्यो । संघर्षको अग्रभागीय मोर्चामा सहभागी भएर कमाण्डरको निर्देशन अनुसार महिलाहरुले जिम्मेवारी पुरा गरे ।
०५६ सालको बैशाखमा भएको रोल्पाको जेलवाङ दङ्गा वेसक्याम्पमा ६ जना, रुकुम तकसेरामा २१ जना, जाजरकोट पाँचकटियामा २५ जना, ०५८ को दाङ घोराही ६८ जना महिलाहरु एसल्टमा लडेका थिए । ०५८ मा सेनाको औपचारिक घोषणा भन्दा अगाडी महिलाको मात्र प्लाटुन फर्मेसन गठन भएको थियो । रोल्पा १, रुकुम १ र पश्चिममा २ गरी ४ वटा महिला प्लाटुन बनेको थियो । रणनैतिक प्रत्याक्रमणको चरणमा महिलाहरुको सहभागीता ४० % रहेको थियो ।
शान्ति प्रकृयाको शुरुवात सँगै जनमुक्ति सेनालाई ७ मुख्य र २१ सहायक शिविरमा क्यान्टोनमेन्टमा राखिएको थियो । अनमिनको मध्यस्थता पछि त्यो संख्या १९६०२ रहेको मध्ये महिला ३८४६ रहेका थिए। अयोग्य भनेर छुट्टाइएका ४००८ मध्ये महिला १२१७ जना रहेका थिए। सेना समायोजनमा जाने १०५ महिला मध्ये क्याप्टेन तहमा ३ जना महिला रहेका थिए । जनमुक्ति सेनामा महिला नेतृत्व तहमा व्रिगेड कमिसार(९द्यच् एऋ०) ४ जना, व्रिगेड कमाण्डर९द्यच्च ऋ० १ जना, व्रिगेड भ्वाइस कमाण्डर ९द्यच्च ख्ऋ० ११ जना रहेका थिए भने बटालियन कमाण्डर (द्यल्ऋ) दुई दर्जन)) सेरोफेरो संख्या रहेको थियो ।
जनयुद्ध र जनमुक्ति सेनामा महिला सहभागीताले नेपाली महिला आन्दोलनमा एक खालको क्रमभंगता ल्यायो । महिलाको हातले उठाएको बन्दुकको सामना गर्न पुरानो राज्य संयन्त्रले पनि महिलाहरुलाई हतियार बोक्ने ठाँउमा प्रवेश गराउन बाध्य भयो । नेपाली सेना तथा शसस्त्र प्रहरी बलमा महिला सहभागीताको ढोका खुल्यो । जनयुद्धको प्रभावको कारण नेपाली सेनामा सन् २००४ बाट महिला भर्ती खुलाएको थियो । हाल नेपाली सेनामा महिलाको संख्या ६६३२ (प्रशासनिक, प्राविधिक सहित) र सामान्य सेवामा ५४०१ रहेको छ। बदलिंदो राजनीतिक परिस्थितिले किनारामा पारिएका महिलाहरुलाई राजनीतिक दल र राज्यको सुरक्षा निकायसम्म सहभागी हुने ढोका त्यति बेला देखि नै खुल्न थालेको हो त्यति मात्र होइन, साँघुरो घेरामा सिमित महिलाहरुको हातमा बन्दुक र गोलीका मालाहरु सजिन थाले ।
यसो हुनुमा पितृसत्तात्मक शोषण र उत्पीडनका कारण मात्र महिलाहरु सेनामा सहभागी भएका थिएनन् अपितु आफ्नो जीवनको सुनौलो भविष्य देखेर नै हाँसीहाँसी बलिदान गर्न सेनामा सहभागी भएका थिए। ‘कोक्रो हल्लाउने हातले बन्दुक चलाउन सक्छ’ भन्ने चर्चित भनाइलाई महिलाहरुले व्यवहारमा पुष्टि गरे। माओवादीले महिला र सीमान्तकृत समुदायको मुद्दालाई नयाँ शिराबाट उठान गर्दा अवसर पाए कम छैनौ भन्ने कुरालाई युद्धमोर्चाबाटै प्रमाणित गर्दै महिलाहरु पनि निरन्तर लागि परे । महिलाहरुको यही साहस र मेहनतले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नयाँ सञ्चार गराउन जनयुद्ध सफल भएको थियो ।
त्याग, समर्पण र बलिदानको अपूर्व नमुनाः
“साहसी वीरहरु लड्ने गर्दछन् तर कायर र डरछेरुवाहरु आत्मसमर्पण गर्दछन ।” – माओ
दश वर्षको जनयुद्धको इतिहासमा महिला वीरंङ्गनाहरुले त्याग, तपस्या र बलिदानका अनुपम कृतिमानहरु प्रस्तुत गरे । रोल्पाका कुमारी बुढालाई जिउदै आँखा निकालेर मारियो, बागमती थापाहरु सामुहिक बलात्कार भए। देवी खड्काहरु बलात्कृत भए तर गोपनीयता र पार्टी अनुशासन भंग गरेनन् । युद्ध कला, क्षमता, इमान्दारिता र गतिशिलताको नमुना प्रदर्शन गरे । जनयुद्धको पहिलो सहिद धनमाँया श्रेष्ठले बलिदानको साहसिक खाता खोल्नु भयो ।
करिव २५०० महिलाहरुले लडाइमा बलिदान गरे । रामेछापको बेथानमा दिलमायाँ योञ्जन, घोराहीमा श्रीमान् सहित सपनाको बलिदान भयो । पेटमा बच्चा हुँदा समेत कम्पनी कमाण्डर सपनशीलाले एसल्टमा लड्दा लड्दै शहादत प्राप्त गरिन् । नेतृ उमा भुजेलको नेतृत्वमा ६ जना महिलाहरुद्धारा गरिएको साहसिक गोर्खा जेलब्रेक घटना, कालीकोटका दलित महिलाहरुले सामान्य हातहरुले सुरक्षाकर्मीको हतियार खोसेका घटना इत्यादि ऐतिहासिक घटनाहरु थिए ।
वास्तवमा समाज रुपान्तरण गर्ने साँचो त्यस समुदायका महिलाहरु हुन । त्यो रुपान्तरणको साँचो फुकाउने काम माओवादी जनयुद्धले गर्यो। जसका कारण महिलाहरुले त्याग, साहस, समर्पण र बलिदानका नयाँ कृतिमानका अनुपम काम गर्न सफल भए । जसले परम्परागत सोचाईमा क्रमभंगता गरेको थियो ।
३. जनयुद्धमा महिला अधिकारको स्थिति
महिलामाथि उत्पीडनका स्वरुपहरु अरु उत्पीडित समुदायमा भन्दा व्यापक, गहिरो, दीर्घकालिन र वर्गीयमुक्तिआन्दोलनसँग जोडिएको समस्या हो । चुलोचौकाको दासी, बच्चा पाउने मेशिन, आफ्नो शरीरमाथि आफ्नै अधिकार नभएको, विवाहबारे स्वतन्त्र निर्णय लिन नपाउने, उत्पादनका साधनमाथि न्युन अधिकार, धार्मिक तथा सांस्कृतिक गलत मान्यतामा बस्नुपर्ने पितृसत्तात्मक मान्यतालाई जनयुद्ध र महिलाहरुको पहलकदमी र सक्रियताले तोड्न सफल भयो । महिला शारीरिक रुपमा कमजोर हुन्छन् भन्ने आधारहिन कुरा हो। पितृसत्तात्मक संरचनाका कारण तिनीहरु निर्बल, निरीह र कमजोर बनाईएका हुन । भारतमा झाँसीकी रानीले बच्चा पिठ्युमा बोकी घोडा चढेर ब्रिटीस फौजविरुद्ध लडेको इतिहास छ । नेपालकै नालापानी किल्लामा पनि नेपाली महिलाहरु बहादुरीपूर्वक लडेको इतिहास हामीसँग छ ।
उत्पादनका साधनमाथि अधिकार अर्थात सम्पतिमाथि समान अधिकारबाट बञ्चित हुँदा महिला कमजोर हुन पुगेका हुन् । शुरुवाती चरणमा समाजको प्रतिबिम्व ‘महिला कमजोर नै छन् की ?’ भन्ने मनोविज्ञान पार्टी नेतृत्वमा परे पनि महिलाहरु आफ्नो कठोर मेहनत र साहसले यो मनोविज्ञानलाई तोड्न सफल भए ।
जनयुद्धकालमा सम्पत्तिमा समान अधिकार, पारपाचुके गर्न सक्ने आत्मनिर्णयको अधिकार, जनसत्ताको नियम र कानुनले व्यवस्था गयो ।
पार्टी, सेना, संयुक्त मोर्चामा ५० % महिला सहभागी गराउने पार्टी नीतिका कारण नेतृत्व विकास र सहभागीतामा जोड गरियो । जनसत्ताले आममा लागु गर्न नसके पनि आफ्नो पंक्तिमा महिलालाई सम्पत्ति दिने विषय अनिवार्य बनायो । छोरीलाई अंश दिने बाबुआमालाई अभिनन्दन गर्ने प्रचलन बसाइयो । जसले महिलाहरुलाई थप उत्साहित बनायो । यो स्प्रिट पहिलो संविधानसभासम्म कायमै रह्यो । पहिलो संविधानसभा (२०६४) मा प्रत्यक्ष निर्वाचन तर्फ २४ जना, समानुपातिक र मनोनित ५२ जना सहित जम्मा ७६ जना महिलाहरु निर्वाचित हुनु ऐतिहासिक उपलब्धी थियो ।
जनयुद्धका यस्तै प्रभावका कारण उत्पीडितहरुको संकेन्द्रण माओवादी आन्दोलनमा हुन पुग्यो ।
४. महिला अधिकारको वैयक्तिक पाटो :
क्रान्तिका ३ वटै साधन पार्टी, सेना र संयुक्त मोर्चामा काम गर्नु, नीति निर्माण गर्नु, योजना बनाउनु, कार्यान्वयन गर्नु, आउने चुनौतीहरुलाई सामना गर्नु त पुरुष सरहको दायित्व भित्र नै पर्दथ्यो । यसको अलावा महिलाहरुलाई घर, परिवार र बच्चाबच्ची हुर्काउने थप कार्यभार पनि पर्थ्यो । महिलाहरु जन्मजातै संगठक पनि हुन् । आफ्नो घर छोडेर श्रीमान्को घरमा उनको आमाबुवा परिवारलाई आफ्नो बनाएर परिवार चलाउने काम कुशल संगठकमा हुने क्षमताभित्र नै पर्दछ । जुन पुरुषलाई निभाउन गाह्रो हुन्छ । यही कलाले पार्टीमा संगठन विस्तार गर्न, नयाँ चेतना प्रवाह गर्न धेरै राम्रो मद्दत गर्यो ।
हरेक व्यक्तिको सामुहिक जीवनको अलवा व्यक्तिगत जिम्मेवारी पनि हुने गदर्छ। युद्धमा सहभागी महिलाहरुको लागि यो अप्ठ्यारो र चुनौतीपूर्ण विषय पनि थियो । मार्क्सवादीहरुको प्रेम, विवाह र यौनसम्बन्धी आफ्नै दृष्टिकोण हुनेगर्छ । माओवादीहरुले यो मामलालाई समग्र युद्धसँग नै जोडेर हेरेका थिए। पुरुष र महिलाबीचको पवित्र प्रेम, विवाह र यौनलाई सर्वहारा हित अनुरुप पारिवारिक सम्बन्धलाई जोड्नेमा ध्यान दिएको माओवादी जनसत्ताले पुरुष २२ वर्ष र महिला २० वर्ष भएपछि एकनिष्ठताको आधारमा विवाह गर्न पाउने नियम बनाएको थियो । बच्चा जन्माउने र हुर्काउने विषय महिलाहरुको थप जिम्मेवारी र कार्यभार थियो। संगठन र मोर्चामा खट्ने महिलाहरुको तुलनामा सेनामा खट्ने महिलाहरुकोलागि यो जिम्मेवारी झन कठिन थियो ।
सैन्य क्षेत्रमा रहेका महिलाहरुलाई निरन्तरताको समस्या नै प्रमुख बनेर आउथ्यो। विवाह, गर्भ, सुत्केरी, बालबच्चा, घरपरिवारका कारण जिम्मेवारी दिने, लिने र निर्वाह गर्नेमा केही असर नपर्ने तर पनि सैन्यमोर्चामा लामो समय अनुपस्थित हुँदा स्वतः हिनताबोध र चिन्ताको मनोविज्ञानले महिलाहरुलाई सताउने कुरा स्वभाविक थियो । यति हुँदाहुँदै पारिवारिक जिम्मेवारी सहित पार्टी र सेनाको जिम्मेवारी पुरा गर्दा जनवादी क्रान्तिमा थप इट्टाको काम गर्न सकेको कुरा सहभागी महिलाहरु गर्वका साथ बताउछन् ।
निष्कर्ष :
अहिले विश्व र नेपाली समाज कुनै न कुनै रुपमा पुँजीवादी धारा र समाजवादी धाराबाट प्रभावित छ । महिला आन्दोलन पनि योबाट अछुतो छैन । नेपाली महिला आन्दोलन पनि यी दुई दृष्टिकोणबाट प्रभावित र निर्देशित छ। बाइसे चौविसे राज्य, जहाँनिया राणाशासन, केन्द्रिकृत एकात्मक राजतन्त्रात्मक व्यवस्था, वहुदलीय व्यवस्था र अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा महिलाहरुले समानताको माग एकल वा सामुहिक राख्दै आइरहेकाछन् ।
संघर्षको उतारचढाव शसक्त वा सुसुप्त जे भए पनि निरन्तर आन्दोलन चलिरहेको हुन्छ। परिस्थिति अनुसार दबाब र आन्दोलनबाट थप उपलब्धि थपिदै जान्छ । शसस्त्र विद्रोहबाट बलपूर्वक राज्यसत्ता कब्जा गर्ने कुरा नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ विषय होइन । तथापि माओवादी शसस्त्र विद्रोह सबैभन्दा संगठित, विस्तारित र निरन्तरताका हिसावले लामो शसस्त्र आन्दोलन हो । छिटफुट हतियार नेपालमा नउठेका होइनन् तर यो विद्रोहको चरित्र नितान्त भिन्न र व्यापक प्रकृतिको थियो ।
जसले महिला अधिकार र आन्दोलनमा क्रमभंग ल्याइदियो । महिला आन्दोलनले नेपालको राजनीतिमा महिलाको भूमिकालाई जबर्जस्ती स्थापित मात्र गरेन राज्यसत्ताका हरेक अंगमा महिला अनिवार्य उपस्थिति वा सहभागीताको सुनिश्चितता गयो ।
(नाङगेली वर्ष १, अङ्क १, २०८०)