४ असार २०८१, मंगलवार

समाजवादी सङ्घीय प्रणाली आवश्यक : सन्तोष सी

0

• जनपत्रिका मासिकमा यहाँलाई स्वागत छ । कमरेड, आजभोली यहाँको दैनिक जीवन कसरी चलिरहेको छ ?

अन्तरवार्ताका लागि धन्यवाद । पार्टी कार्यक्रम, श्रम र उत्पादनको काम, सामाजिक–साँस्कृतिक काम, अध्ययन–लेखन र कतिपय व्यक्तिगत–पारिवारिक कामहरूलाई समायोजन गरेर दैनिक कार्यसूची बनाएर काम गरिरहेको छु । नियमित र योजनागत कामहरू तथा आकस्मिक र भइपरि आउने कामहरूमै व्यस्त रहन्छु ।
देशको पछिल्लो राजनीतिक परिस्थिति बारे यहाँको धारणा बताइदिनुस् न ।
देशको पछिल्लो अवस्था एकातिर सङ्कटपूर्ण अवस्थामा छ भने अर्कोतिर यसले केही नयाँ संभावना र अवसरहरू पनि लिएर आएको छ । एकातिर देशमा विदेशी हस्तक्षेप तीब्र बनेको अवस्था छ । यसले राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न पेचिलो बनेको छ । अर्कोतिर राजनीतिक सङ्कट झनझन गहिरिंदै गएको छ । यसमा पनि विदेशी हस्तक्षेपकै भूमिका प्रमुख बनेको छ । राजनीतिक दलहरूभित्र चर्को अन्तरविरोध र विदेशी चलखेल नयाँ ढंगले अगाडि बढेको छ । नक्कली भूटानी प्रकरण, बालुवाटार ललिता निवास जग्गा कब्जा प्रकरण, विभिन्न अवस्थाका भ्रष्टाचारका घटनाहरू उधिनिरहेका छन् । यी सबै योजनावद्ध रूपमा आइरहेका छन् ।
जनताले व्यवस्थाको विकल्प खोजिरहेका छन् । कोशी प्रदेश नामाङ्कनको विरोधमा त्यहाँका आदिवासी जनजातिहरू आन्दोलित छन् । प्रहरीको गोलीद्वारा एक जनाको ज्यानसमेत गएको छ । जनता आन्दोलित छन् । प्रदेश सरकारहरूको समीकरण बदलिने र सरकारहरू ढल्दै जाने क्रम जारी छ । यी सबै राज्यसत्ताकै असफलताको सूचक हो ।
महँगीले आकाश छोएको छ । जनताको दैनिकी सङ्कटग्रस्त हुँदै गएको छ । खेतीपातीको मौसम आएको छ । किसानले मल पाएका छैनन् । आर्थिक रूपले देश टाट उल्टिने अवस्थामा पुगेको छ । कर्मचारी र प्रहरी–सेनाले तलव पाएका छैनन् । बजारमा पैसा छैन । बैंकहरूबाट ऋण प्रवाह रोकिएको छ । पैसा नेता र दलालहरूले कोठाहरूमा लुकाएका छन् । मीटर व्याजेहरू, लघुवित्त सञ्चालकहरू भूमिगत र अर्धभूमिगत अवस्थामा घुम्ती कार्यालय सञ्चालन गरिरहेका छन् । जनता विरोधमा सङ्घर्षमा उत्रेका छन् । राज्यले घाटा बजेट पेश गरिरहेको छ । एक जना व्यक्तिको टाउकोमा ७४ हजार ऋण पुगेको छ । देश ऋणैमाथि ऋणमा डुब्दै गएको छ । मुद्रा निरन्तर अवमूल्यन हुँदै गएको छ । युवाहरू विदेशीने र विदेशबाट बाकसमा फर्किने क्रम बढ्दो छ । भर्खरैको एउटा आँकडाका अनुसार २०७०/७१देखि यताको १० वर्षमा साढे १२ हजार वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरू बाकसमा नेपाल फर्केका छन् । यी कुराहरूले देश गंभीर सङ्कटमा छ । जनता विकल्पको खोजीमा छन् । रविहरू उदाउनु यसैको कारण हो । यसरी एकातिर देश गंभीर सङ्कटमा छ भने अर्कोतिर व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद हो भनेर नेकपाले जनतालाई क्रान्तिकारी विकल्प पनि दिंदै आएको छ । यो एकीकृत जनक्रान्तिबाट मात्र संभव छ भनेर नयाँ क्रान्तिकारी निकास पनि दिएको छ । सबै कम्युनिस्टहरूलाई एकताबद्ध गर्न र यो व्यवस्थाको विकल्प दिन समाजवादी संयुक्त मोर्चा बनाउन पहल पनि गरिरहेको छ । देशलाई नवउपनिवेशबाट बचाउन देशभक्त र राष्ट्रवादी शक्तिहरूसँगको सहकार्यमा जोड दिदै आएको छ । यसले नेकपा आम जनताको आशाको केन्द्रविन्दु पनि बनेको छ । यदि देश र जनताको उज्वल भविष्यको निम्ति उचित राजनीतिक निकास नदिने हो भने देश असफल राष्ट्रमा पुग्ने निश्चित छ । यसको लागि नेकपाले जनतालाई अग्रगमनको विकल्प पनि दिइरहेको यो अवस्थामा देश सङ्कटमा छ र सङ्कटको समाधान पनि छ भन्ने सन्देश दिंदै आएको छ । यही नै आजको देशको समग्र चित्रण हो ।
• नेपालमा अमेरिकी हस्तक्षेप प्रत्यक्ष रूपमा भयो भन्ने तपाईहरूको धारणा देखिन्छ । त्यसलाई कसरी पुष्टि गर्नुहुन्छ ?
विल्कुल सहि कुरा । पछिल्लो समय अमेरिका एमसीसी मार्फत प्रत्यक्ष पसेको छ । एसपीपी मार्फत अमेरिकी सेना ल्याउने योजनामा छ, अर्को खम्पा विद्रोहको तयारी गर्दैछ । अमेरिका एमसीसी मार्फत पहिलो, चीनलाई घेराबन्दी गर्ने रणनीतिमा छ । दोस्रो, नेपालको संभावित समाजवादी सत्ताको आगमनलाई रोक्ने, दमन गर्ने र कम्युनिस्टहरूलाई सिध्याउने योजनामा छ । तेस्रो, एमसीसी मार्फत देशको बहुमूल्य खनिजहरू र साधन–स्रोतहरू लुट्ने दाउमा छ । चौथो, नेपालमा सैन्य अखडा जमाउने र संभावित भावी चीनसँगको युद्ध आफ्नो पक्षमा पार्न नेपाललाई दक्षिणतिरको सुरक्षित युद्धपोत बनाउने दाउमा छ । पाँचौ, कथित ४०० केवी क्षमताको उच्च प्रसारण लाइन बनाएर पहिलो आर्थिक लुटगर्ने र दोस्रो युद्ध भइहाल्यो भने मिसाइल चार्ज गर्नसक्ने विद्युतीय क्षमताको विस्तार गर्न जवरजस्त जनताका विरोधका बाबजुद पनि एमसीसी कार्यान्वयन गर्दैछन् । त्यो गर्न गराउन नेपालको सत्तामा उसको खाँटी दलालको आवश्यकता भएको छ । यसको लागि अहिलेदेखि नै गगन–रविहरूलाई सूक्ष्म पाराले अगाडि सारेको छ । एसपीपी सदनबाट पारित गर्नबाट पछि हटेकै कारण काँग्रेस पार्टीभित्र पनि अब देउवाको ठाउँमा गगनहरूलाई ल्याउँदै छ । यसको आधार तयार पार्न नक्कली भुटानी शरणार्थी प्रकरण अमेरिकी योजनामा ल्याइएको छ । यो चाल ‘एक गोलीले दुई चरा मार्ने’ दाउ हो । एक कम्युनिस्टहरूलाई जुधाउने र सिध्याउने, दोस्रो असफल पुराना नेताहरूलाई पाखालाएर नयाँ दलालहरूलाई भर्ना गर्ने दाउमा छ । त्यसैले यो दुनियाँले देखेको तर बुझ्न नसकेको घटनाहरू हेर्दा विल्कुल उल्टो जस्तो देखिने घटनाक्रमहरू अमेरिकाको प्रत्यक्ष नेपाल आगमनलाई पुष्टि गर्ने ताजा उदाहरण हुन् ।
• अमेरिका नेपालमा भारत भएर आउँछ भनिन्थ्यो, अब सिधै आउन थालेको हो ?
आउन थालेको हैन, आइ नै सक्यो । अमेरिका नयाँ तरिकाले नेपाल पसिसक्यो । नवउपनिवेशको तरिकाले पसेको छ । नयाँ इष्ट इन्डिया कम्पनीको ठाउँमा मिलेनियम च्यालेञ्ज कम्पनी (एमसीसी)को नाममा पसेको छ । अमेरिकी साम्राज्यवाद भूमण्डलीकृत साम्राज्यवादको विशेषतासहित नेपाल पसेको छ । साम्राज्यवादको पुरानो तरिका– पहिलो प्रत्यक्ष सेना लिएर आउने, दोस्रो सीमा मिचेर भूगोल नै हडप्ने गरी आउने र तेस्रो सिधै शासन आफै चलाउने थियो । अहिलेको साम्राज्यवाद भूमण्लीकृत साम्राज्यवादको विशेषतामा आएको छ । यो सूक्ष्म व्यवस्थापन (Micro Manegment)को माध्यमबाट आएको छ । भारत अझै पनि सीमा मिच्दै, भौगोलिक सीमा हडप्दै आएको छ भने अमेरिका भिन्दै ढंगबाट नेपाल पसेको छ । यसको लागि भारतलाई गुहारिराख्न र भारत भएर आउनै पर्ने बाध्यता अमेरिकालाई छैन । यो भूमण्डलीकृत साम्राज्यवादको नवऔपनिवेशिक नीति अनुसार आएको छ । यो नीतिले स्वयं भारतलाई समेत प्रभाव पारिरहेको छ ।
• यो स्थितिलाई राष्ट्रिय मुक्तियुद्धको पूर्वसन्ध्या भन्न सकिन्छ ?
यदि अमेरिका आफ्ना यी कदमहरू रोक्दैन र जबरजस्त नेपाली जनताको विरोधलाई पनि बेवास्ता ग¥यो भने यसले अनिवार्य रूपले निम्त्याउने राष्ट्रिय प्रतिरोध युद्ध र राष्ट्रिय स्वाधिनताको युद्ध नै हुनजान्छ । यो स्थिति नआओस्, अमेरिकी सरकारले पुनरविचार गरोस्, तपाईको यो लोकप्रिय पत्रिका मार्फत यो आग्रह गर्न चाहन्छु कि अमेरिकी सरकार र नेपाली जनताका बिच लामो समयदेखि रहँदै आएको मित्रता यो कारणले नभत्कियोस् । एक पटक अफगानिस्तानी जनता र तालिवानी विद्रोहको स्मरण गराउन चाहन्छु । यदि यतिभन्दा पनि अमेरिकी सरकार जबरजस्त नेपालमा हस्तक्षेप बढाउन चाहन्छ भने राष्ट्रिय स्वाधीनता र प्रतिरक्षाका लागि सबै स्वाभिमानी नेपाली देशभक्त जनता यसको विरोधमा एक भएर प्रतिरोध गर्न तयार हुनुपर्दछ ।

समाजवादी मोर्चा गठन गर्नु भएको छ, यसको औचित्य पुष्टि कसरी गर्नु हुन्छ ?

समय आउँछ पर्खिंदैन । समयले मौकाहरूलाई आकस्मिक रूपले ल्याउँछ यदि त्यो मौका छोप्न सकिएन भने अवसर आउन दशकौं कहिले त सयौं वर्ष पनि पर्खिनु पर्ने हुन्छ । मौका गुम्यो भने त्यो समय पर्खिन धेरै समय पर्खिनु पर्छ अर्थात यस्तो अवसर (chance) विरलै मात्र फर्केर आउँछ । आज हामीले बदलिएको राजनीतिक परिवेशमा आज धेरै मेहनतपछि यो समाजवादी मोर्चा गठन गरेका छौं । यो समयको माग र आजको राजनीतिक आवश्यकता हो ।
मोर्चा गठन गर्न ३/४ ओटा सैद्धान्तिक चरणहरू पार गर्नुपर्छ । पहिलो– यसको धारणा तयार पार्नु, दोस्रो यसको लागि आवश्यक वस्तुगत राजनैतिक रूपले अनुकूल वातावरणको छनौट गर्नु अर्थात आएको अनुकूल वातावरणलाई समयमै छोप्न सक्नु, तेस्रो, यसको लागि आवश्यक आधार तयार पार्नु र संरचनागत पहल गर्नु, चौथो यसलाई कार्यरूप दिनु वा कार्यान्वयन गर्नु, पाँचौं, यसलाई निरन्तरता दिनु र विकास गर्नु, छैठौ, यसलाई लक्षसम्म पु¥याउनु । यसमा पहिलो र दोस्रो चरण पूरा गरेका छौं । अब तेस्रो चरणमा पाइला टेकेका छौं । केही ठोस कार्यक्रमहरू बनाएर जनताका बिच लैजान्छौं । त्यसमा हामी मोर्चामा आवद्ध दलहरू साझा सहमतिका प्रस्तावमा सबै सहमत र प्रतिवद्ध नै छौं । हामी बाहेक मोर्चाका अन्य सहभागी घटक दलहरू सरकारमा पनि भएकोले र सदनमा वर्षे अधिवेशनको चपेटा र बजेट पारित गर्नुपर्ने भएकोले समयको तालमेल मिलाउन बाँकी छ । दोस्रो बाह्य कार्यक्रमहरू वर्षायामका कारण पनि अलि प्रतिकुल बन्दै गएका छन् । तर फेरी बसेर आन्तरिक कार्यक्रमहरू मिलाउन सकिन्छ होला । तेस्रो, यसलाई निरन्तरता दिने जुन कुरा छ, लाग्छ हामी आफ्नो तर्फबाट प्रतिवद्ध नै छौं र वहाँहरू पनि अहिलेसम्म प्रतिवद्ध नै देखिनु हुन्छ । लाग्छ यो अगाडि बढ्छ किन कि यो समयको माग र ऐतिहासिक आवश्यकता हो ।
प्रसङ्ग बदलौं, १ नं. प्रदेशमा जनजाति–आदिवासी जनताले आन्दोलन गरिरहेका छन् । त्यो जनविद्रोहलाई कसरी हेर्नु भएको छ ?
१ नं. प्रदेशमा अहिले प्रदेशको नाम कोशी प्रदेश राखिएकोमा जनता त्यसबाट असन्तुष्ट छन् र त्यसको विरोधमा जनता आन्दोलित छन् । यसलाई मैले केन्द्रीय जनपरिषदको तर्फबाट त्यसैबेला समर्थन गरेर एउटा वक्तव्य पनि दिएको थिएँ । नामाकरणको जुन प्रसङ्ग छ, त्यो जनताको माग र मनोविज्ञानलाई सम्बोधन गर्नुपर्छ । यसको ऐतिहासिक पहिचानलाई झल्काउने गरी नामाकरण गरे के बिग्रन्छ र ? यति गर्न पनि तयार नहुने सरकार र राज्यलाई के लोकतान्त्रिक राज्य भन्ने ? संघीयताको अर्थ विविधताहरूको सम्बोधन र विविध मनोविज्ञानहरूलाई समाधान गर्नु पनि हो । यो केवल आर्थिक रूपमा तल्लो र माथिल्लो सरकारहरूको बिचमा स्रोतहरूको विभाजन गरेर खाने गरी भौगोलिक विभाजन गरिएको हो भने यस्तो संघीयताको जरुरी छैन । हामीले भनेका छौं नेपालमा यहाँका आदिवासी जनजाति समुदायहरूको सन्दर्भमा संघीयता जरुरी छ । तर महिला, श्रमिक समुदाय, अल्पसंख्यक समुदाय र किसान, मजदुरहरूको सम्बोधन संघीयताले गर्दैन । त्यसैले नेपालको सन्दर्भमा पुरानो परंपरागत खालको पुँजीवादी संघीयता जो विश्वमा असफल भएको छ यसको कुनै काम छैन । त्यो मिति गुज्रिएको संघीयता आवश्यक छैन । नेपालमा नेपाली जनताको जीवनस्तर उकास्ने, उनीहरूको मनोविज्ञानको सम्बोधन गर्ने, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई कायम राख्ने संघीयता आवश्यक छ । यो समाजवादी संघीय प्रणाली हुनुपर्छ जो स्वायत्त प्रणालीमा आधारित होस् । संघीयताको सहि अवधारणा र नेपाली समाज सुहाउँदो संंघीयता नभएर विदेशको नक्कल गरिएको संघीयता लादिएकोले यो समस्या आएको छ । यो समस्या आज पूर्वमा छ, भोली अन्य प्रदेशहरूमा पनि आउन सक्दैन भन्न सकिंदैन किनकि यो समस्या सबैतिर छ । यो जनताको समस्या नभएर व्यवस्थापकीय असफलता र संघीयताको असफलताको संकेत मात्र हो ।
प्रसङ्ग बदलौं, श्रम उत्सव मनाउनु भयो, त्यो कस्तो रह्यो ? त्यसलाई आगामी दिनमा कसरी अगाडि बढाउने योजना छ ?
हामीले यही असार १५ गते कपिलवस्तु, चितवन, बर्दिया, कैलाली, पूर्वमा झापालगायतका विभिन्न स्थानमा पार्टीको उत्पादन बढाऔं पार्टी, नेता, कार्यकर्तालाई आत्मनिर्भर बनाऔं भन्ने नीति अन्तर्गत एउटा उत्सवको रूपमा धान दिवस मनाएर उद्घाटन गरेका छौं । कपिलवस्तुमा केन्द्रीय कार्यालयको मातहत रहेको अढाई बिघा जमिनमा इन्द्रेणी साँस्कृतिक परिवारका कृष्ण कँडेल, युवराज चौलागाई, छत्र शाही, कृष्णा बजगाई, भूमिकालगायत कलाकारहरूसँग महासचिव कमरेड विप्लव सीले कम्युनिस्टहरूको अन्तराष्ट्रिय गीत गायनसँगै व्यानर उद्घाटन गरेर यसको सार्वजनिक गर्नुभयो । बडो रमाइलो वातावरणमा शुरुभएको यो उत्सवले केवल मनोरञ्जन मात्र दिएको छैन कि बाँच्नको लागि विदेश हैन यही देशमा श्रम गरे सुन फलाउन सकिन्छ र देशलाई आत्मनिर्भर समाजवादी सत्ता निर्माण गर्न संभव छ भन्ने सन्देशसहित आम जनता, कार्यकर्ता र देशवासीलाई श्रमद्वारा आत्मनिर्भर बनौ.भन्ने सन्देश दिन सफल भएको अनुभूत भएको छ । यसरी नै आगामी दिनमा यसलाई पार्टी र जनता मिलेर नयाँ श्रम संस्कृति निर्माण गर्न सबैलाई प्रेरणा पनि दिएको छ । पार्टी पंक्तिलाई त यो एउटा निर्देशन नै हो । हाम्रो पार्टीले यही उत्पादनको लागि असार १० गतेदेखि २० दिनलाई सबैलाई बिदा दिइएको छ । आगामी दिन र वर्षहरूमा यसलाई अझ गुणात्मक बनाउने पार्टीको योजना छ ।
कुराकानीको लागि धन्यवाद । अन्तिममा थप केही भन्न चाहनुहुन्छ कि ?
म पुनः तपाईको यो जनप्रिय पत्रिका ‘जनपत्रिका’ मार्फत आम नेपाली जनता, युवाहरू सवैलाई आह्वान गर्दछु कि बिस्तारै बिर्सिंदै र नासिदै गइरहेको नेपालीहरूको श्रम–संस्कार पुनः जोडौं । खेतवारी बाँझो नराखौं, विदेशमा खेरफालिने हाम्रो श्रम र पसिना आफ्नै भूमिमा सिंचित गरौं । राज्यले कृषि र खाद्यान्नमा जोड दिंदै विदेश आयात रोकौं । देशमै उद्योग कलकारखाना खोलेर सबै नागरिकहरूलाई रोजगार प्रबर्धन गरौं । यसरी मात्र देश समृद्ध हुनेछ । युवाहरू विदेशिने र बाकसमा फर्किने संस्कारको अन्त्य हुनेछ ।
मेरो विचारहरू जनतासम्म पु¥याउन तपाईको पत्रिकामा स्थान दिनुभएकोमा जनपत्रिका परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु र पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ! धन्यवाद !


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।