६ जेष्ठ २०८१, आईतवार

पार्टीको आवधिक योजना र नेतृत्व: एक छलफल

0

हरेक राजनैतिक पार्टी या सँघ–संस्थाहरुले उनिहरुका आफ्ना घोषित उद्धेश्य र लक्ष्यहरु प्राप्त गर्नका लागि निर्माण गरेका नीति–योजना र त्यसको कार्यान्वयनका लागि नेतृत्वको छनौट गरेका हुन्छन । यसर्थमा नीति,योजना र नेतृत्वका विचमा गहिरो र परिपुरक सम्वन्ध रहेको हुन्छ । हरेक तहको मुख्य नेतृत्वले कार्ययोजनाका लागि नीति-योजना सम्वन्धित प्रस्ताव पार्टी समितिमा पेश गर्दछ र पार्टी समितिमा वृहतर छलफल पश्चात नीति–योजना पारित हुन्छ । पारीत गरिएको नीति–योजना कार्यान्वयनका लागि मुख्य नेतृत्व स्वयं प्रतिवद्ध हुनुपर्दछ । किनकि हरेक तहको मुल नेतृत्व र सवै तहका नेतृत्वहरु सम्वन्धित तहको पार्टी समितिको मातहतमा रहेका हुन्छन ।

यो राजनीतिक पार्टीहरु र त्यसमा पनि मुलत: कम्युनिष्ट पार्टीमा लागु हुने मुल नियम हो । कम्युनिष्ट पार्टी संगठनमा हरेक तहको पार्टी समितीको वैठक,भेला–सम्मेलन र केन्द्रिय तहमा राष्ट्रिय सम्मेलन वा महाधिवेशनका निर्णय र योजनाहरु कार्यान्वयन गर्न सवै स्तरका पार्टी समिती र नेताहरु निशर्त रुपमा तयार हुनुपर्दछ । किन कि

हरेक नीति,योजना र निर्णयहरु पारीत गर्नुपूर्व त्यहाँ वृहतर जनवादको अभ्यास गरिएको हुन्छ अर्थात जनवादको वुहतर अभ्यासको मार्गनिर्देशनमा नीति,योजना र निर्णयहरु तय गरिएको हुन्छ । पार्टी संगठनका हरेक नेतृत्वले नीति,योजना र निर्णयहरु तदारुकताका साथ कार्यान्वयन नगर्नु र नगराउनु सारत: संगठनात्मक अवसरवादको समस्या हो ।

यसलाई उदारवादको समस्या पनि भन्न सकिएला ।

यस प्रकारको समस्याले पार्टीको लक्ष्य–उद्धेश्य कहिल्यै पनि पुरा हुन सक्तैन ,वरु पार्टी केवल गफ गर्ने साझा चौतारीको रुपमा विकसित हुन पुग्दछ । नेपाली कम्युनिष्ट आन्दोलनमा यो नकारात्मक प्रवृति लामो समयदेखि रहदै आएको छ । हाम्रो पार्टीले यस प्रकारको समस्यालाई मालेमावादी विज्ञानको क्षेत्र अर्थात विचार,राजनीति,संगठन र सँस्कृतिको क्षेत्रमा नयाँ संश्लेषण सहित हल गर्ने प्रयत्न गरेकोछ ।

कम्युनिष्ट पार्टी कुन लक्ष्य–उद्धेश्यका लागि निर्माण गरिन्छ ? कम्युनिष्ट पार्टीले उक्त लक्ष्य–उद्धेश्य हासिल गर्नका लागि दिर्घकालिक र तात्कालिक योजनाहरु के बनाएकोछ ? ति योजना कार्यान्वयनका लागि कस्तो प्रकारको पार्टी समिती र नेतृत्व निर्माण गर्नु पर्ला ? यी विषयहरु सामान्य जस्तो लागे पनि सारत असाधारण महत्व राख्ने राजनैतिक–वैचारिक तथा संगठनात्मक मामिलाहरु हुन, जसले पार्टीको तात्कालिक र दिर्घकालिक निर्णयको कार्यान्वयन गर्दै आफ्नो घोषित लक्ष्य वैज्ञानिक समाजवादी–साम्यवादी राज्यसत्ता स्थापनाका लागि सञ्चालन गरिने क्रान्तिमा निर्णायक महत्व राख्दछ ।

सामान्यत कम्युनिष्ट पार्टी समाजको अग्रगामी रुपान्तरण या निरन्तर क्रान्तिका लागि निर्माण गरिन्छ यसर्थमा यो अन्य यथास्थिती र वुर्जुवा पार्टीहरुको तुलनामा कैयौं गुणा भिन्न र अग्रगामी रहेको हुन्छ । कम्युनिष्ट पार्टी सारत अग्रगामी रुपान्तरण या निरन्तर क्रान्ति मार्फत मानव जातीलाई वैज्ञानिक समाजवाद–साम्यवादमा पुर्‍याउने महान लक्ष्य–उद्धेश्यमा अन्तर्निहित रहेको हुन्छ । आज हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीले ठीक यहि कुरा अर्थात मानव जातीलाई वैज्ञानिक समाजवाद–साम्यवादमा पुर्‍याउने महान क्रान्तिकारी कार्यको नेतृत्व गरिरहेकोछ । नेपालको सातदशक लामो कम्युनिष्ट आन्दोलनमा चलेका कयौं वीरतापुर्ण संघर्ष र वलिदानको जगमा नेपाली समाजको केवल मात्रात्मक रुपान्तरण मात्र भईरहेकोछ ।

एकातिर वीरता र वलिदानका ठुल्ठुला पिरामिडहरु निर्माण गरिएका छन भने अर्कोतिर त्यहि वीरता र वलिदानको पिरामिडको जगमा संशोधनवाद र आधुनिक संशोधनवादको उदय र विकास पनि सँगसँगै अघि वढिरहेकोछ । नेपाली कम्युनिष्ट आन्दोलनले आफ्ना गौरवपुर्ण सात दशक पुरा गर्दासम्म पनि केवल मात्रात्मक परिवर्तनमा सिमित हुनुको पछाडिको एउटा महत्वपुर्ण र निर्णायक कारण कम्युनिष्ट पार्टीमा संशोधनवाद र छदम संशोधनवादको निरन्तर विकास र विस्तार भईरहेकोमा सायदै दुईमत नहोला ।

हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको सातदशक लामो कालखण्डमा विकसित भईरहेको संशोधनवाद,आधुनिक संशोधनवाद,सवै खाले अवसरवाद र छदम अवसरवादका विरुद्ध राजनैतिक–वैचारिक वहस र संघर्ष मार्फत त्यस प्रकारका प्रवृतिहरुमाथि सापेक्षित रुपमा विजय हासिल गर्दै एकिकृत जनक्रान्तिको महान र युगान्तकारी प्रक्रियामा अघि बढिरहेकोछ ।

वि.स. २०६९ र ७१ को दुई पल्टको पार्टीको पुनर्गठन पश्चात राष्ट्रियता,जनतन्त्र र जनजीविका क्षेत्रमा विद्यमान समस्या तथा दलाल संसदीय पुुँजीवादी राज्यसताले राष्ट्र र जनतामाथि लादेको तमाम उत्पीडनका विरुद्ध हाम्रो पार्टीको नेतृत्वमा सञ्चालन गरिएको न्यायपुर्ण संघर्षले पार्टीको लोकप्रियतालाई नयाँ उचाईमा स्थापित गरयो ।

जनतामा स्थापित भएको लोकप्रियतालाई देख्न नसकेर आफुलाई कम्युनिष्ट बताउने दलाल संसदिय पुँजीवादी राज्यसताले वि स २०७५ फागुन देखि २०७७ फागुनसम्म ठीक दुई वर्ष हाम्रो पार्टीका विरुद्ध प्रतिवन्ध सहित दमन सञ्चालन गर्नपुग्यो । राज्यसताद्धारा सञ्चालन गरिएको दमनको वैचरिक र भौतिक प्रतिरोध गर्नुका साथै पार्टीको आन्तरिक जीवनमा निरन्तर विकास भईरहने गैर क्रान्तिकारी विचार–प्रवृतिका विरुद्ध राजनैतिक वैचारिक संघर्षमा हेलिदै र त्यसमाथि विजय प्राप्त गर्दै हामी आजको यो उचाईमा उपस्थित छौं । यो उचाई भन्नुको तात्पर्य हाम्रो पार्टीले मालेमावादी दर्शन,राजनीति,सँगठन र साँस्कृतिक क्षेत्रमा नयाँ संश्लेषण सहित त्यसको प्रयोग गर्दै नेपाली समाजको गुणात्मक र क्रान्तिकारी रुपान्तरणका लागि निर्णायक क्रान्तिको आधार तयार गर्नका लागि अविचलित र निर्भिकतापूर्वक अगाडी बढिरहेकोछ ।

यो साचो र सत्य कुरा हो कि नेपालको दलाल सँसदीय व्यवस्थाको विरुद्ध आगामी दिनमा पार्टीको नेतृत्वमा सञ्चालन गरिने वैज्ञानिक समाजवादी–साम्यवादी क्रान्तिले विगत र वर्तमानको तुलनामा अझ वढि एकतावद्ध पार्टी संगठन,अझ वढि वलिदान,अझ वढि दुखकष्ट र अझ वढि परिश्रमको गुणात्मकता माग गर्नेछ । हरेक क्षेत्रमा आवश्यक पर्ने गुणात्मक आवश्यकताहरु पुरा गर्नका लागि पहिलो शर्त क्रान्तिकारी कम्युनिष्ट पार्टी संगठनको निर्माण नै निर्णायक र मुख्य काम हुनेछ । त्यसो त यो प्रश्न उठ्छ कि के कम्युनिष्ट पार्टी निर्माण भएको छैन ? प्रश्न यो हो कि,कम्युनिष्ट पार्टी विगत सात दशकयता नेपालमा वर्गसँघर्षका विभिन्न स्वरुपहरु र पार्टीको आन्तरिक जीवनमा विभिन्न विचार–प्रवृति सँग संघर्ष गर्दै अगाडी वढिरहेकोछ र भोली पनि रहने नै छ ।

यहाँ भन्न खोजीएको कम्युनिष्ट पार्टीको तात्पर्य आजको भूमण्डलीकृत पुँजीवादले विकास गरेका आर्थिक,राजनैतिक,सामाजिक,साँस्कृतिक र सामरिक पक्षहरुलाई नकाम सावित गर्नसक्ने,माओको मृत्युपछि अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा विधमान रहेको गत्यावरोध चिर्न सक्ने र वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने मात्र होईन वरु त्यसलाई प्रतिक्रान्तबाट रक्षा र विकास गर्न सक्ने कम्युनिष्ट पार्टीको निर्माणको प्रश्न हो ।

आजको दुनियाँमा क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको एकमात्र शर्त मालेमावादी दर्शन,राजनीति,संगठन र सँस्कृतिको विकास र प्रयोग गर्नुमा अन्तर्निहित रहेकोछ । हाम्रो पार्टीले आठौ र नवौ महाधिवेशनबाट मालेमावादी दर्शन,राजनीति, सँगठन र सँँस्कृतिको क्षेत्रमा नयाँ खोज,अध्यन–अनुसन्धान सहित नयाँ सश्लेषणहरु अगाडी सारेकोछ । विचार निर्माणको यो मुल शर्त आधारभूत रुपले पुरा भईसकेपछि पार्टीको अगाडी महत्वपुर्ण आवश्यकता भनेको विकसित दर्शन,राजनीति संगठन र सँस्कृतिलाई कुशलतापूर्वक कार्यान्वयन गर्ने पार्टी समिती र नेतृत्व निर्माण हो । त्यस प्रकारको कम्युनिष्ट पार्टी निर्माणका लागि हाम्रो पार्टीले समवर्गियहरु विचको एकता र सँघर्ष,कम्युनिष्ट पार्टी कम्युनिष्टहरुको संगठन,तथ्यहरुमा आधारीत रचनात्मक र सिर्जनशिल अन्तरपार्टी संघर्षका साथै मासवेश र क्याडर वेशलाई समायोजन गर्ने सैद्धान्तिक मान्यताहरु अगाडी सारेकोछ । यसको प्रयोगले पार्टीका सवै क्षेत्रमा क्रमश: सिर्जनशिल,योग्य,प्रतिभावान,गतिशिल र हजारौ क्रान्तिकारी नेता–कार्यकर्ताहरुको निर्माण गर्नेछ र पार्टी श्रमिक जनसमुहहरुसँग एकाकार हुन पुग्नेछ ।

हामीलाई यस प्रकारको आवश्यकता परिपुर्ति गर्नका लागि

हरेक क्षेत्रमा अध्ययन–अनुसन्धान सहित मेहेनत गर्नसक्ने कम्युनिष्ट नेता–कार्यकर्ता चाहिएकोछ । आज पार्टी काममा गतिशिल र सक्रिय होईन,अल्छि र जड वन्ने,प्रधान र सहायक कामको विशिष्टीकरण गर्न नसक्ने बरु सवैलाई घालमेल पार्ने,आफूलाई वरिष्ठ ठान्ने तर कामको परिणाम हेर्दा सुन्य देखिने, पार्टी योजनामा परिणाम मुखी होईन केवल औपचारीता निर्वाह गर्ने,पार्टी समितीमा आफैले गरेका योजनाहरु किन कार्यान्वयन भईरहेका छैनन भनेर जाच–पड्ताल नगर्ने,समस्याहरुको चाङ देखेर पनि त्यसलाई सच्याउने आट नगर्ने उदारवादी वा सँगठनात्मक अवसरवादको समस्याहरु पार्टी सँगठनमा यत्रतत्र देखा परिरहेका छन ।

एकिकृत जनक्रान्तिको महानतालाई न्यूनिकरण गर्ने,उताउला र हावादारी कुरा गर्ने,भनाई र गराईमा भारी अन्तर देखापर्ने,आफुलाई सवै कुरामा पारंगत रहेको स्वाङ पार्ने तर वर्गसंघर्षको सवाल आउदा कुनै न कुनै रुपले पार्टीको जिम्मेवारीबाटट उम्किने वा सहायक जिम्मेवारीको वकालत गर्ने जस्ता समस्याहरु पनि पार्टीले झेल्नु परिरहेकोछ ।

हाम्रो पार्टीले अहिले आवधिक योजनाको अवधारणा सहित माथि उल्लेखित समस्याको निराकरण गर्ने प्रक्रिया अगाडी सारेकोछ । आवधिक योजनाको आधारणा हाम्रो पार्टी पुनरगठन यता अर्थात एक दशकका हाम्रा अनुभव र शिक्षाहरुमा अन्र्तनिहित ज्ञान सिद्धान्तमा आधारित रहेकोछ । पार्टी पुनरगठन यताका करिव एक दशकमा पार्टीले विकास गरेको दर्शन,राजनीतिक सँगठन र साँस्कृतिक क्षेत्रलाई किन प्रभावकारी प्रयोग गर्न सकिएन ? हाम्रा बैचारिक सँश्लेषणहरुबाट सवै नेता–कार्यकर्ता उत्साहित हुने तर सँगठनात्मक क्षेत्र अर्थात विचारलाई भौतिक शक्तिमा वदल्ने सँगठनात्मक मामिला किन यथास्थितीमा रहयो ? अर्थात हामीले एकिकृत जनक्रान्तिका आधारहरुलाई किन विकास र विस्तार गर्न सकेनौ ? हामीले यी गहन प्रश्नको सहि उतर आवधिक योजनाको कार्यान्वयन सँगै तथ्यगत रुपमा पहिचाहन गर्ने उद्धेश्य राखेका छौं ।

पहिलो आवधिक योजनाको कार्यान्वयन सँगै अहिले यति भन्नु उपयुक्त हुन्छ कि पार्टीका सँश्लेषणहरुलाई भौतिक शक्तिमा वदल्ने र पार्टीको निरन्तर सुदृढिकरण र विस्तारका साथै एकिकृत जनक्रान्तिका आधारहरु सुदृढ हुन नसक्नुमा मुख्यत पार्टी संगठनमा विद्यमान संगठनात्मक अवसरवाद वा उदारवादको समस्या नै मुख्य रहेकोछ । जुन प्रवृति व्यावहारत पार्टीका योजनालाई गहिराईपूर्वक आत्मसात गर्ने,वोध गर्ने र लागु गर्ने होईन बरु केवल औपचारीकता निर्वाह गर्ने,पार्टीका योजना कार्यान्वयनका सन्दर्भमा किन परिणाम प्राप्त भईरहेका छैनन अर्थात ती योजनाका लक्ष्यहरु किन प्राप्त हुन सकिरहेका छैनन ? आदि विषयहरुको खोज,अध्ययन–अनुसन्धान र त्यसको निराकरण गर्नतिर ध्यान नदिने प्रवृतिको रुपमा व्यक्त भईरहेकोछ ।

केन्द्रिय योजनाका सूचकाङकहरु कार्यान्वयन नहुनु या लक्ष्य पुरा हुन नसकेकोमा लज्जावोध वा आफनो समस्या रहेकोमा आफैतिर फर्कनुको सट्टा माथि या तल फर्केर समस्यावाट उम्किन चाहने प्रवृति यसको चारित्रिक विशेषता रहि आएकोछ ।

पार्टीका हरेक तहका नेतृत्वले यो कुरालाई आत्मसात गर्नु पर्दछ कि योजना कार्यान्वयनको सन्दर्भमा देखिने समस्या आफुमा अन्तरनिहित रहेको कुरालाई आत्मसात गरेर मात्र यो समस्याको समाधान गर्न सकिन्छ । हरेक तहका नेतृत्वमा रहेका नेता तथा कार्यकर्ताहरु आफुले समस्या समाधानमा चासो या वोध नगर्ने,आफु भन्दा माथिल्लो निकायमा समयमा तथ्यगत रिर्पोट पनि नगर्ने,माथिको निर्देशन या अनुगमनलाई वोझिलो महसुस गर्ने आदी समस्याहरु पनि यस विचमा देखा परेकाछन ।

यी तमाम प्रकारको समस्याको समाधान पनि आवधिक योजनाको अवधारणले दिएकोछ । आवधिक योजनाको अवधारणले सवै तहका पार्टी समिती र तिनका नेतृत्वहरुले समस्याको कारण आफु भन्दा तल या माथि फालेर होईन बरु आफैमा अन्तरनिहित रहेको कुरालाई आत्मसात गर्दै आफ्ना सिमा तथा समस्याहरुको आत्मसमिक्षा गर्ने,आफ्ना अपोजिशनहरु सँग आफै सँघर्ष गर्ने र आफूलाई रुपान्तरण गर्ने,आफ्नो क्षमता या वल वुताले नभ्याएमा इमान्दारीपूर्वक आफ्नो समितीमा राख्ने र सक्ने जिम्मेवारी लिने कुरा प्रयोग गर्नुपर्ने सैद्धान्तिक तथा व्यावहारिक प्रस्थापना अगाडी सारेकोछ, । हामीले यो कुरालाई जीवन्त रुपमा प्रयोग गर्नु पर्दछ ।

नकारात्मक कुरामा होईन,सकारात्मक कुरामा प्रतिस्पर्धा गर्ने,शास्त्रीय तर्कमात्र होईन व्यवहारद्धारा तथ्यहरु साबित गर्ने, ध्वंसात्मक होईन रचनात्मक बन्ने कम्युनिष्ट सँस्कृतिको निर्माण र प्रयोग गरौ । कम्युनिष्ट पार्टीमा देखापर्ने उदारवाद वा संगठनात्मक अवसरवादको विरुद्ध सँघर्ष गर्दै एकिकृत जनक्रान्तिका आधारहरु सुदृढ र विस्तार गर्ने आवधिक योजनाको मुल अन्तरवस्तुलाई गहिरो गरि मनन गरौं । हामी आफैले आफु भित्र रहेको समस्यालाई जित्न सक्यौ भने हाम्रो विजयलाई कसैले रोक्न सक्ने छैन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।