![](https://janapatrika.com/wp-content/uploads/2023/08/IMG_20230819_164245.jpg)
लिलाराज सी
विगत बीसौँ शताब्दिमा विश्वका मुलुकहरू तीन खेमामा विभाजित थिए । अमेरिकी साम्राज्यवाद र सोभियत युनियन (USSR) अनि विकसित युरोपेली राष्ट्रहरू र विकासोन्मुख राष्ट्रहरूमा विभाजित थिए । बीसौँ शताब्दिको उत्तरार्धमा सोभियत युनियन, रूसी सामाजिक साम्राज्यवादको पतन भयो । विश्वमा अमेरिकी साम्राज्यवादले विश्व साम्राज्यवादी मुलुकहरूको नेतृत्व गर्न पुगेको छ । यसै अन्तर्गत अमेरिकी साम्राज्यवादले आफ्नो शोषण उत्पीडनको सञ्जाल (Network) विश्वमा फिँजाउनका लागि विश्वब्यापिकरण (Globalization) र उदारिकरण (Liberalization) को नारा अगाडी सारेको छ । यसले विशेष गरेर विकासोन्मुख राष्ट्रहरू र अविकसित राष्ट्रहरूमा उत्पीडन र शोषण जारी राखेको छ भने अन्य विकसित राष्ट्रहरूलाई घेराबन्दी गरी उद्योग–धन्धा र व्यापारमा नाकाबन्दी गरी उत्पीडन थोपरेको छ । यसरी अमेरिकी साम्राज्यवादले विश्वको अर्थतन्त्रलाई आफ्नो पञ्जामा लिन हरतरहले कोसिस गरिरहेको छ । यसको परिणामस्वरूप इराक र अफगानिस्थानमाथि आक्रमण गरेको हो । इरान र उत्तर कोरियामाथि आक्रमण गर्न जाल रचिरहेको छ भने नेपालका क्रान्तिकारीहरूलाई निर्ममतापूर्वक दबाउनको लागि अमेरिकी साम्राज्यवादले नेपालको प्रतिक्रियावादी दलाल नोकरशाही पुँजीवादी राज्य सत्तालाई हर तरहले सहयोग गरिरहेको छ । विश्वमा अमेरिकी साम्राज्यवादको हैकम विस्तारित भइरहेको समयमा त्यसको विरुद्धमा विश्वका जनताले सर्वहारा वर्गको नेतृत्वमा एकाकार (Unified) भई क्रान्ति जारी राख्न नितान्त आवश्यक भएको छ ।
यसरी नै सर्वहारा वर्गको नेतृत्वमा अर्ध (औपनिबेसिक उत्पीडनको विरुद्धमा राष्ट्रिय मुक्ति आन्दोलन र अन्तर औपनिवेसिक उत्पीडनको विरुद्धमा जातीय आन्दोलन जारी राख्न आवश्यक छ । नेपालमा सर्वहारा क्रान्तिकारी वर्गको नेतृत्वमा सञ्चालन गरिने ‘एकीकृत जनक्रान्ति’ विभिन्न जनजातिहरूले जातीय मोर्चा गठन गरी राष्ट्रिय मुक्ति आन्दोलनलाई तत्कालीन अवस्थामा अगाडी बढाइएको थियो । नेपालमा सर्वहारा वर्गीय आन्दोलनसँग महान् गौरवशाली १० वर्षे जनयुद्धकालमा वर्गीय मात्र नभएर जातीय, क्षत्रीय, लिङ्गीय आन्दोलन पनि निक्कै मुखरित हुनपुग्यो । जनयुद्धको कार्यदिशासँगै जातीय आन्दोलनलाई अभिन्न अंगको रूपमा १० वर्षे जनयुद्धकालमा आत्मासात गरिएको थियो । नेपाली क्रान्तिलाई अन्तिम बिन्दुसम्म नलगी बिचैमा प्रचण्ड–बाबुराम मण्डलीहरूले तुहाउने काम गरेपछि वर्गीय आन्दोलनमात्र होइन जातीय आन्दोलनमा पनि भड्कावहरू देखिएका छन् । जातीय आन्दोलनलाई अहिले डलरको खेती गर्ने साम्राज्यवादी, विस्तारवादी तथा युरोपियन युनियनका दलालहरूले डोनेशन गरी जातजातिलाई फुटाउने र लडाउने धन्दामा नाङ्गो रूपमा लागि रहेका छन् ।
अन्ध–जातिवाद भनेको के हो ? हामी प्रष्ट हुन जरुरी छ । अन्ध–जातिवाद भनेको अर्को जाति (राष्ट्र)भन्दा आफ्नै जाति (राष्ट्र)लाई उच्च ठान्ने र अन्य जाति (राष्ट्र)को हितलाई शोषण, दमन उत्पीडन गरेर पनि आफ्नै जाति (राष्ट्र)को उन्नति चाहने राजनैतिक भावना तथा विचार नै अन्धजातिवाद हो । राष्ट्र भनेको जातिकै पर्यायवाची रूप हो । त्यसैले जातिवादलाई राष्ट्रवादको रूपमा पनि मान्ने गरिन्छ ।
विश्वको समाजवादको विकासक्रमलाई हेर्दा विश्वमा सामन्तवादबाट पुँजीवादको उत्पत्ति र विकासको यो जातिवाद शब्दबाट राष्ट्रवाद शब्दको पनि उत्पत्ति भएको हो । राष्ट्रवादलाई बुर्जुवा विचारधारा तथा राजनीतिकै एउटा सिद्धान्त मानिन्छ । त्यसैले बलियो, बिजित र प्रभुत्वशाली राष्ट्र (जाति)माथि आफ्नै राष्टवाद लादेर घृणा उत्पन्न गराउने र उत्पीडन गर्ने गर्दछ । यसलाई अर्को शब्दमा जातीय अहंकारवाद पनि भनिन्छ । राष्ट्रियता (जातीयता) आफैँमा नकरात्मक विषय हुँदै होइन । तर जब यसले चरम उग्ररूप लिएर अहंकारवादमा परिणत हुन्छ, यसले जातीय विभेद र असमानता जन्माउने गर्दछ । र, यो खतरनाक रूपमा परिवर्तित हुन्छ । साम्राज्यवादीहरूले अल्पविकशित राष्ट्रहरू एशिया, अफ्रिका, ल्याटिन अमेरिकी देशहरूमा औपनिवेशीक कालमा शासनसत्ता सञ्चालन गर्दा निर्माण गरिएको विचारहरूलाई अहिले हाम्रो देशमा भरपर्दो दलालहरू निर्माण गरी लागु गरिराखेका छन् । यिनीहरूले अफ्रिकी महादेशमा जातजातिलाई लडाएर त्यस देशमा भएका अमूल्य चिजहरू हिरा, पत्थर, सुन खानीहरू बहुराष्ट्रिय कम्पनिको माध्यमबाट नाङ्गो रूपमा कब्जा जमाइरहेका छन् । नेपालमा वर्तमानमा जातीय आन्दोलन विजयतर्फ उन्मुख हुँदै गर्दा पुँजीवादी शक्तिको सङ्किर्ण कट्टरपन्थी हिस्साले सर्वहारावर्गलाई जातीय आन्दोलनबाट अलग्याएर आन्दोलनको नेतृत्व हत्याउन र विस्तारवाद र साम्राज्यवादको पोल्टामा हाल्न खोजिरहेको छ । साम्राज्यवादी, विस्तारवादी तथा युरोपियन युनियनलगायतकाहरूले क्रान्तिकारी सर्वहारा वर्गको नेतृत्वलाई विस्थापित गरेर जातीय सौहार्दता समाप्त पारी देशलाई विखण्डनतिर लैजान खोजिराखेको छ । देशी तथा विदेशी प्रतिक्रियावादीहरूले जातीय विखण्डनलाई अझ अगाडी बढाउँदै उत्पीडित जाति भित्रका विभिन्न जातहरूबिच फाटो पैदा गरेर उत्पीडित जातिलाई टुक्रा–टुक्रा पारेर जातीय एकता र सौहार्दतालाई तहसनहस पार्न खोजिरहेका छन् । समाजमा वर्गको उत्पत्तिपछि जातीय समस्या उत्पन्न भएको हो । वर्गको अन्त्य नहुँदासम्म जातीय समस्याको पूर्ण अन्त्य सम्भव छैन । जातीय मुक्ति आन्दोलन भनेको वर्गीय मुक्ति आन्दोलनको अभिन्न अंग हो ।
अझ प्रष्ट रूपमा भन्ने हो भने जातीय मुक्ति आन्दोलन भनेको साम्राज्यवाद विरोधी आन्दोलन हो । वर्गीय आन्दोलन र जातीय आन्दोलनलाई एक अर्कालाई अलग गर्ने हो भने न वर्गीय आन्दोलन सम्भव छ, न जातीय मुक्ति नै सम्भव छ । सामन्तवाद विरुद्धको पुँजीपति वर्गको सङ्घर्ष सँगै जातीय मुक्ति आन्दोलनको सुरुवात भएको हो । यस अर्थमा जातीय मुक्ति आन्दोलन राष्ट्रिय पुँजीवादी आन्दोलन पनि हो । शास्त्रीय पुँजीवादको विकासको चरणमा सामन्तवादको विरुद्ध पुँजीपति वर्ग र जातीय मुक्ति चाहनेहरूले सँगसँगै मिलेर पुँजीवादी क्रान्ति सम्पन्न गरेका थिए । जब पुँजीवादले एकाधिकार पुँजीवादमा फड्को मारेर साम्राज्यवादको रूप लिएपछि अन्तर्राष्ट्रिय राजनीतिक क्षेत्रमा नयाँ समिकरण पैदा भयो । जातीय मुक्ति (राष्ट्रिय पुँजीको विकास) लाई रोक्न र क्रान्तिकारी सर्वहारावर्गको मुक्ति आन्दोलनलाई योजनावद्ध रूपमा कमजोर बनाउनको लागि सामन्तवाद र साम्राज्यवादको गठबन्धन कायम भयो । जसको परिणाम स्वरूप अब जातीय मुक्ति आन्दोलन सामन्तवादसँग मात्र होइन साम्राज्यवादसँग पनि टकराउन पुग्यो । नेपालका अन्धजातिवादी डलरको खेती गर्ने जातिवादी सङ्गठनहरूले माथिका उल्लेखित वैज्ञानिक माक्र्सवादी शास्त्रीय कुरालाई बुझ्न र आत्मासाथ नगर्नु भनेको उदेकलाग्दो विषय बन्न गएको छ । विश्वमा चलिरहेको राष्ट्रिय मुक्ति आन्दोलनहरू नेपालका जातजाति, जनजातिहरूले चलाएको राष्ट्रिय आन्दोलन र नेपालमा मालेमावादी क्रान्तिकारिहरूले सर्वहारा वर्गको नेतृत्वमा चलाइने एकीकृत जनक्रान्ति (Unifi ed people’s Revolution) बिचमा के कस्ता सम्बन्ध तालमेलहुन आवश्यक छ ? प्रथमतः वर्तमान विश्वमा अमेरिकी साम्राज्यवादको हैकम रहेको छ । यसबाट विश्वका मुलुकहरू शोषण र उत्पीडनमा परेका छन् । विश्वका जाति, भाषा, क्षेत्र, आर्थिक, राजनैतिक, धार्मिक, साँस्कृतिक दृष्टिले साझा दुश्मन अमेरिकी साम्राज्यवाद नै हो । मालेमावादी सर्वहारा विचारले मात्र अमेरिकी साम्राज्यवादलाई परास्त गर्न सकिन्छ । नेपालमा चलिरहेको जातीय आन्दोलनहरू (राष्ट्रिय मुक्ति आन्दोलनहरू) हुन् । यी जातीय आन्दोलनहरू नेपाल राष्ट्र अन्तरगत औपनिवेशिक उत्पीडनबाट मुक्ति पाउनलाई चलाइएका आन्दोलनहरू हुन् । यी आन्दोलनलाई अतिहिन्दु उच्च जातीय अहंकारवादीहरूले साम्प्रदायिक र राष्ट्र बिखण्डनकारी आदिको विशेषण दिने काम पनि गरेका छन् । हामीले संसारमा भएका क्रान्तिहरू, आन्दोलनहरू कसरी भएका थिए ? र एक्काइसौँ शताब्दीको क्रान्ति अथवा आन्दोलनको स्वरूप कस्तो हुनुपर्छ ? आदि विषयमा गहिरो अध्ययन गरी आन्दोलनलाई जारी राखेमात्र सफल हुन सक्दछ । विगतका जातीय आन्दोलनहरू साम्प्रदायिक र राष्ट्र बिखण्डनकारी आन्दोलनहरू नै हुने गर्दथे ।
लेनिन भन्नुहुन्छ, “हरेक राष्ट्रिय मुक्ति आन्दोलनको प्रवृत्ति जातीय राज्य बनाउने दिशामा हुने गर्दछ, जस अन्तर्गत आधुनिक पुँजीवादको यो खाँचो सबभन्दा राम्रो किसिमले पूरा हुन पाउँदछ ।” हरेक राष्ट्रिय आन्दोलनको प्रवृत्ति जातीय राज्य बनाउने दिशामा हुने गर्दछ । जस अन्तर्गत आधुनिक पुँजीवादको यो खाँचो सबभन्दा राम्रो किसिमले हुन पाउँदछ ।” यसरी क. लेनिनले अठारौँ र उन्नाइसौँ शताब्दीको राष्ट्रिय मुक्ति आन्दोलनलाई बिश्लेषण गरी त्यो समयको सामन्तवादी राज्य सत्ताले चलाएको जातीय उत्पीडनको विरोधमा राष्ट्रिय मुक्ति आन्दोलनबाट सामान्ति राज्य सत्ताको बदलामा पुँजीवादी राज्य सत्ताको स्थापना भएको थियो । यसमा विश्वमा उदाहरणहरू प्रशस्त पाइन्छन् ।
पेरिस कम्युनको विद्रोहले गर्दा विश्व क्रान्तिको नेतृत्व पुँजीवादीहरूबाट सर्वहारा वर्गमा हस्तान्तरण हुन पुग्यो । त्यसकारणसन् १७८९देखि सन् १८७१सम्म बिचको अवधिलाई लेनिनले यसरी उल्लेख गर्नु भएको छ कि क्रान्तिको युग राष्ट्रिय मुक्ति आन्दोलन तथा जातीय राज्यहरूको स्थापनाको काल थियो । यसरी विश्वमा भएको क्रान्तिहरूको नेतृत्व पनि काल, समय परिस्थिति अनुरूप परिवर्तन भएको छ । वर्तमान समयमा जातीय आन्दोलन जारिराख्नलाई विश्व राजनैतिक परिस्थितिको लेखाजोखा गर्दा सन् १८७१को पेरिस कम्युन विद्रोहदेखि विश्वको राष्ट्रिय आन्दोलन होस् या वर्गीय क्रान्ति होस्, त्यसको नेतृत्व मालेमावादी सर्वहारावर्गले मात्र गर्न सक्दछ भन्ने तथ्यलाई सबै अन्धजातिवादी, एउटा जातको मात्र राजनैतिक पार्टी नेतृत्व गरिरहेकाहरूले गम्भिरतापूर्वक ध्यानमा राख्नुपर्ने हुन्छ । वर्तमान एक्काइसौँ शताब्दीमा विश्व साम्राज्यवादको नाइके अमेरिकी साम्राज्यवाद विरुद्धमा विश्व सर्वहारा वर्गको क्रान्ति राष्ट्रिय मुक्ति आन्दोलनहरू र अन्तर्राष्ट्रिय आन्दोलनहरू (साम्राज्यवाद विरोधी) एक अर्काका अन्योन्याश्रित रूपमा रहेका छन् । नेपाल एक अमेरिकी साम्राज्यवादको औपनिवेशिक मुलुक बन्न गएको छ । यहाँका जनता गरिब र पिछडिएका सामाजिक व्यवस्था भएको सामन्तवादी राज्य सत्तामा आधारित छन् । यहाँका जनता जात, जाति, भाषा भाषी सामन्तवादी राज्यसत्ता विस्तारवादी राज्य सत्ता र साम्राज्यवादी राज्य सत्ताको दोहोरो तेहेरो शोषण उत्पीडन र दमनबाट पिल्सिएका छन् । यी सबै उत्पीडनबाट मुक्ति पाउनको लागि जातिवादी ढंगले हैन कि मालेमावादी क्रान्तिकारी सर्वहारा वर्गको नेतृत्वले मात्र सम्भव छ । सबै नेपाली जनताले सामन्तवादी राज्य सत्ताको उत्पीडनबाट मुक्ति पाउनको लागि सर्वहारा वर्गको नेतृत्वमा हुने क्रान्तिको हरहालतमा साहारा लिनु पर्ने हुन्छ । नत्र जातीय आन्दोलनहरू साम्प्रदायिक र बिखण्डनकारी आन्दोलनमा परिणत हुन जान्छन । हामी सचेत अन्तर्राष्ट्रिय सर्वहारावादी मालेमावादीहरूले के हेक्का राख्नु पर्दछ भने वर्गीय आन्दोलनबाट जातीय आन्दोलनलाई अलग हुन दिन साम्राज्यवादी, विस्तारवादी, युरोपियन डलरवादी दलालहरूको हातमा नेतृत्व गयो भने नेपालमा जातीय आन्दोलनमाथि विष बमन गर्ने घरेलु प्रतिक्रियावादीहरूको भनाइहरू सत्य सावित हुनेछन् ।
अहिलेको एक्काइसौँ शताब्दीमा विज्ञानले आमुल परिवर्तन गरेको सूचना सञ्चार प्रविधिको विकासले गर्दा विश्वको मुलुकहरूलाई साँघुरो घेराभित्र कैद गरेको अवस्था छ ।
विश्वको यस परिस्थितिमा कुनै देशको एक जातिले मात्र आन्दोलन गरेर मुक्ति पाउन बिल्कुलै असम्भव छ । तसर्थ नेपालको जातजाति, जनजातिहरूका आन्दोलनहरू विश्व सर्वहारावर्गको क्रान्तिसँग अभिन्न रूपमा गाँसिएको हुन्छ । यस कारणले गर्दा नै विश्वका उत्पीडित मुलुकहरूको राष्ट्रिय मुक्ति आन्दोलनहरू सर्वहारा क्रान्तिको अभिन्न अंग बन्न गएको छ ।
कार्ल माक्र्सको मानव समाजको विकास सम्बन्धी सिद्धान्तअनुसार समाजको विकासको चरणहरू उत्पादन प्रणालीबाट नै निर्धारित हुन्छ । विश्वमा हाम्रो मानव समाजमा जस्तो उत्पादन प्रणाली छ, सोहि अनुरूप मानव समाजमा वर्गको जन्म हुन्छ । वर्तमान विश्व मानव समाजको वर्गीकरण साम्राज्यवादी र सर्वहारावादी दुइ वर्गमा विभाजित भएका छन् । तर हाम्रो नेपाली समाजमा भएका बहुजातीयहरू मध्ये केहि जाति मानव समुदायहरू काठका भाँडा–वर्तनहरू, धनुँकाँड, गुलेली मात्र बनाउन जानेका छन् । यो एक्काइसौँ शताब्दीमा नेपाली मानव समाजको चित्रण हो । यस्तो नेपाली मानव समाजको उत्थान र विकास गर्नुको सट्टामा नेपालको दलाल नोकरशाही पुँजीवादी राज्य सत्ताले यिनै उत्पीडित, शोषित नेपाली जनतालाई दमन गर्न व्यस्त छ । यस्तो राज्य सत्ताको विरोधमा जबसम्म नेपालका उत्पीडित जातजातिहरू र जनजातिहरूले जातीय उत्पीडनको विरोधमा सङ्घर्ष गर्दैनन्, तबसम्म नेपालमा जातीय मुक्ति पाउन असम्भव छ । नेपालमा जातीय मुक्तिको प्रश्न नेपालका जातिहरूमा भएको उत्पीडन र शोषणबाट मुक्ति पाउन घुमन्ते मानव समुदाय र कबिलाइ समाजबाट जातिहरूमा मात्र विकास नभएर यो प्रश्न २१औं शताब्दीमा निरपेक्ष रूपले वर्गीय सङ्घर्षसँग पनि जोडिएको छ । वर्तमान नेपाली समाजको बनावट भनेको गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको समयमा बिजित राज्यहरू र कबिलाइ राज्यहरूको सम्मिश्रण एकीकृत रूप नै नेपाली समाज हो । नेपालको एकिकरण समय भन्दा पहिले यहाँ एकल जातीय समाजको बसोबास थियो । तर नेपालको एकिकरणपछि भने यहाँ कहिँ पनि एकल जातीय समाजको बसोबास नभएर बहुजातीय समाजको विकासमा पनि विविधता नै रहेको छ । नेपाली मानव समाजको विकासक्रमलाई अन्वेषण गर्दा युरोप महादेशको मानव समाजको विकासक्रमको बाह्रौ, तेह्रौ शताब्दीको आभाष झल्कन्छ । त्यस महादेशमा जति पनि जातीय आन्दोलनहरू भए, ती जातिहरूमा विकास भएर एक जातिबाट अर्को जातिमा भएको जातीय उत्पीडनको विरोधमा आएका एक राष्ट्र अन्य राष्ट्रमा विलय हुँदा जातीय आन्दोलनहरू भएका थिए । युरोप महादेशमा राष्ट्रिय जनजागरण सत्रौँ, अठारौँ शताब्दीमा नै तीब्र रूपमा चलेको थियो । एशिया महादेशमा सन् १९०५देखि मात्र राष्ट्रिय जनजागरणको शुरुवात भएको थियो । त्यसमा पनि एसिया महादेशको एउटा सानो भूभाग नेपालमा भने २१औँ शताब्दीको शुरुदेखी मात्र राष्ट्रिय जागरणको शुरुवात भएको छ । नेपाल जस्तो बहुजातीय समाजमा एकल जातीय हिन्दु आर्य नश्लको
शोषण, उत्पीडन खप्न बाध्य भएका छन् ।
तर देशमा नारायणहिटि दरवार हत्याकाण्डपछि भारतीय विस्तारवादी शासकहरूको यो देशमा रहेको प्रमुखको स्थानमा अमेरिकी साम्राज्यवादको प्रभुत्व रहन गएको छ । वर्तमान समयमा नेपाल अमेरिकी साम्राज्यवादको नवऔपनिवेशिक रहन गएको छ । यसरी नै यो राज्य विश्व साम्राज्यवादीहरूको प्रभुत्व र भारतीय विस्तारवादी शासकहरूको हस्तक्षेपले पीडित छ । यिनीहरूको शोषण र उत्पीडनबाट नेपाल राज्य र नेपाली जनतालाई यो सामन्तवादी राज्य सत्ताले मुक्त गराउन सकेको छैन र यो सामन्ती राज्य सत्ताले देश र जनतालाई मुक्ति गराउन पनि सक्दैन । संसारमा सामन्तवादी राज्य सत्ताहरूको जनतामा अन्याय, अत्यचार, भ्रष्टचार, शोषण, उत्पीडन र दमन गर्नु नै हो यसकारण यसबाट मुक्ति पाउन एकीकृत जनक्रान्तिबाट मात्र सम्भव छ । वैज्ञानिक समाजवादी क्रान्तिले मात्र बाह्य प्रभुत्वको हस्तक्षेप र वर्गीय शोषण, जातीय उत्पीडनबाट नेपाली जनतालाई मुक्त गराउन सक्दछ । राजा पृथ्वीनारायण शाहले स्थापना गरेको नेपालको सामन्तवादी राज्यसत्ताको आयू करिब अढाइ सय वर्ष हुन लागेको छ । यस बिचमा करिब ७८ वर्ष शाह शासन, राणा शासन १०४ वर्ष, २००७ सालको जनक्राान्तिपछि २००७ सालदेखि २०१७ सालसम्म बहदलीय शासन प्रणाली, २०१७ सालदेखि २०४६ सालसम्म पञ्चायती शासन प्रणाली, २०४६ सालको जन आन्दोलनपछि नेपाल राज्यमा बहुदलीय व्यवस्थाको स्थापना भयो । त्यसपछि १० वर्षे जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलन भई नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सारमा नेपालको आधारभूत चरित्र दलाल नोकरशाही पुँजीवादी राज्य सत्ता नै रहेको छ । यस्तो राज्य सत्ताले नेपाली जनताको के हित गर्ला ? यसरी नै यो राज्य सत्ता अढाइसय वर्ष बितिसकेको छ ।
तसर्थ यो राज्य सत्ता आमुल परिवर्तनबिना नेपाली जनता उत्पीडन र शोषणबाट मुक्त हुन सक्दैनन् । नेपालका जातजाति र आदिवासी जनजातिहरूको जातीय मुक्तिको लागि नेपालको राज्य सत्तामा आमुल परिवर्तनको आवश्यकता छ । नेपालमा विनाजनक्रान्तिले यो नव–औपनिवेशिक राज्य सत्ताको आमुल परिवर्तन संभव छैन ।
नेपाल एक अमेरिकी साम्राज्यवादको नव– औपनिवेशिक मुलुक हो । हाम्रो देश संसारको सबैभन्दा अधिक जनसंख्या भएको विशाल देशहरू भारत र चीनले घेरिएको छ । नेपाल राज्यको उत्तरमा विशाल चीन पर्दछ भने दक्षिण पश्चिम र पूर्वमा विशाल भारतीय भूभागले घेरेको छ । नेपाल राज्य एक भुपरिवेष्ठित मुलुक हो । यस्तो भए तापनि यो देश आफ्नै मौलिकता र विशेषतामा आधारित छ । गोर्खाका राजा पृथ्विनारायण शाहले एकिकरण गर्नुभन्दा पहिले पूर्वका स–साना किराँती कबिलाई राज्यहरू (त्चष्दब िक्तबतभक) थिए भने पश्चिममा पनि स–साना राज्यहरूलाई आक्रमण गरी पराजित गरेर राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरी सामन्तवादी राज्यसत्ताको स्थापना गरेका थिए ।
निष्कर्ष
सर्वहारावर्ग अन्तर्राष्ट्रिय जाति हो । अन्तर्राष्ट्रिय जाति भएर पनि सर्वहारा वर्गले जातीय मुक्ति आन्दोलनलाई कडिको रूपमा ग्रहण गर्नुपर्ने परिस्थितिको विकास भयो । यो प्रष्ट छ कि साम्राज्यवाद र सामन्तवादको विरुद्ध राष्ट्रिय पुँजीपति वर्गले एक्लै सङ्घर्ष गर्न सक्दैन । एकातिर राष्ट्रिय पुँजीपति वर्गको सर्वहारा वर्गसँगको आन्तरिक सङ्घर्ष र अर्कोतिर राष्ट्रिय पुँजीको विकासका लागि सामन्तवाद र साम्राज्यवाद विरुद्धको सङ्घर्षले स्थितिलाई झन जटिल बनाइदियो । सामन्तवाद र साम्राज्यवादबाट उत्पीडनमा पर्दा पुँजीपति वर्ग सर्वहारा वर्गसँग नजिक हुन्छ । र, सर्वहारा वर्गले क्रान्ति सम्पन्न गर्ने परिस्थितिमा नेतृत्व हात पार्नको लागि सामन्तवादसँग सहवास गर्ने हुँदा द्वैत चरित्रका कारण राष्ट्रिय पुँजीपति वर्गले जातीय मुक्ति आन्दोलनको नेतृत्व गर्न नसक्ने भएकोले नेतृत्व गर्ने अभिभारा सर्वहारा वर्गको काँधमा आएको हो । जसको परिणाम स्वरूप जातीय मुक्ति आन्दोलन सर्वहारा जनवादी वा समाजवादी आन्दोलनको अभिन्न अंग बन्न पुग्यो ।
स्राेत: जनपत्रिका चाैथाे अङ्क