२४ पुष २०८१, बुधबार

विद्रुप वर्तमान

0

              मधु श्रेष्ठ

शासन सत्ताको
नाम बदलियो
शैली बदलियो
पात्र बदलियो
बदलिएन संस्कृति
अनि सोचहरू
झन् थपिंदै गयो
उचो–निचको पर्खालहरू
अझ थपिए महलका तलाहरू
भत्किंदै गए झुपडीका छानाहरू
अनि बारहरू ।
बेचिए कल–कारखानाहरू
बेचिए युवाहरू
श्रम र पसिनाका तलाउहरू
त्यस्तै,
चेली अनि तिनका अस्मिताहरू
बेचिएन ढुङ्गा, गिटी बालुवा मात्रै
बेचिए स्वयम नदी–नालाहरू
अनि थपिए भट्टिपसल र बारहरू
गगनचुम्बी महलका अरु कैयौं तलाहरू ।

बेच्ने र बेचिने क्रम रोकिएन
बेचियो शिक्षा,
शिक्षालय भयो सस्तो पसल
बेचियो न्याय,
न्यायालय भयो लिलामघर
जसले उच्च बोली लगाउँछ,
न्याय उसैको पोल्टामा जाने भयो ।
स्वास्थ्यसेवा सेवा रहेन
मृत्यु बाँड्ने पसल भयो
निर्धा–निमुखाहरूको पोल्टाभरी
सित्तैमा राहत स्वरुप मृत्यु आयो
भ्रष्टाचारी र कमिसनखोरीका लागि
यो कमाउने अथाह समुन्द्र भयो ।
हिजो,
बेचिन्थ्यो नागरिकता
टेबुलमुनिबाट पैसा लिई
आज,
नागरिकता बिक्रिको लागि
टेण्डर आह्वान हुँदैछ
खुद्रा बिक्रिले मात्र नपुगेर
थोक बिक्रिका लागि
दक्षिणतिर बिक्रि डिपो खोलेर
थोक बिक्रेता भर्ति गरिँदैछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।