२३ भाद्र २०८१, आईतवार

नेकपा नेता कृति सीको प्रश्न, ‘एमसीसीका बारेमा किन बोल्दैनन् काठमाडौंका मेयर बालेन ?’

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि अमेरिकी एजेण्ट भएको हुन सक्ने आशका व्यक्त गरेका छन् । नेकपा काठमाडौं जिल्ला नम्बर १ को दोश्रो आवधिक योजनाको पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै कृतिले बालेन एमसीसीको पक्ष वा विपक्षमा नबोलेर अमेरिकालाई सहयोग गरिरहेको हुन सक्ने भन्दै आशंका व्यक्त गरेका हुन् ।

‘भारतले एउटा सामान्य फिल्ममा सिताको बारेमा बोलेको डाइलगलाई लिएर बबण्डर गर्ने, चीनले आफ्नो प्रशासनिक नक्सा बनाउँदा नेपालको चुच्चे नक्सा नसमेटिएको भन्दै भ्रमण रद्द गर्ने बालेन यति ठूलो राष्ट्रघाती एमसीसीका बारेमा किन बोल्दैनन् ?’, बैठकका प्रमुख अतिथिसमेत रहेका उनले भने, ‘यी पनि अमेरिकी दलाल हुन सक्छन् । अमेरिकाले यस्तैयस्तै पात्र खडा गरेर आफ्नो स्वार्थ पूर्ति गरिरहेको हुन्छ ।’

नेपाल विश्व भूराजनीतिको केन्द्र बनेको बताउँदै कृतिले यसको मारमा नेपाली जनता पर्न लागेको बताए । ‘चीन आर्थिक रुपले अबको पाँच वर्षमा पहिलो राष्ट्र बन्दैछ । अमेरिकालाई त्यो सैह्य छैन । उसले जसरी पनि चीनलाई आर्थिक रुपमा पहिलो शक्ति हुनबाट रोक्नुछ ।’, उनले भने, ‘कम्युनिस्ट वा समाजवादी देशहरुको प्रगति भएको अमेरिकालाई पच्दैन । आर्थिक रुपमा चीन अमेरिकालाई उछिन्दैछ, प्राविधिक रुपमा रसियाले उछिनिसकेको छ । चीनलाई कण्ट्रोल गर्ने उपयुक्त ठाउँ भनेको नेपाल हो । त्यही भएर ऊ एमसीसीमार्फत नेपाल आएको हो ।’

अमेरिकी हस्तक्षेप रोक्न सक्ने शक्ति नेकपासँग मात्र रहेको भन्दै जनताले पनि साथ दिने बताए । ‘साम्राज्यवादसँग लड्न सक्ने शक्ति हामीसँग छ । जनताको म्याण्डेट पनि हामीसँग छ ।’, उनले भने, ‘उसले पुराना दलालहरुलाई विश्वास गर्न छोडेर नयाँ दलालहरु उत्पादन गरेको छ । उसको विरुद्धमा पुराना दलालहरु शेरबहादुर देउवा, केपी ओली वा अरु कोही जान सक्ने अवस्थामा छैनन् । प्रचण्डको घाँटीमा टिआरसीको तरबार झुण्ड्याएको छ । क्रान्तिकारी भन्नेहरु पनि अमेरिकी डलरसँग बिकी सकेका छन् । त्यही भएर अमेरिकासँग लड्ने शक्ति भनेको नेकपा हो । हामी लड्छौं ।’

नेपालको सत्ता अमेरिकाको हातमा गएको भन्दै यसलाई संचालन गर्न राजनीतिक रुपमा रविहरुलाई तयार पारेको उनको आरोप थियो । ‘चीनलाई घेर्न अमेरिका २५ वर्षदेखि नेपालमा खेलिरहेको छ । नेपालमा यसलाई कांग्रेसले नेतृत्व गरेको थियो । शेरबहादुर देउवाले एमसीसी पास गर्न ढिलाई गरेपछि अमेरिकाले विश्वास गर्न छोडेको छ । देउवामार्फत आफ्नो काम नहुने देखेपछि रवि लामिछाने, गगन थापा, सिके रावतलाई नयाँ दलालका रुपमा परिचालन गरेको छ । हामीले जनतालाई यो कुरा बुझाउनुपर्छ ।’

अमेरिकाको अर्को मिसन कम्युनिस्टहरुलाई सिध्याउने समेत रहेको उनको भनाई थियो । अमेरिकी नेपालका कम्युनिस्टहरुलाई सहयोग गरेको जस्तो देखाएर सिध्याउन लागेको जिकिर गर्दै यो मिसनलाई असफल पार्न पहिलो चरणमा माओवादी एक हुनुपर्ने बताए । माओवादी मात्र एक भएर नपुग्ने भन्दै उनले अमेरिकालाई परास्त पार्न सबै कम्युनिस्ट र राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्ने बताए ।

बैठकमा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला नम्बर १ कि इन्चार्ज भृकुटी सीले काठमाडौं क्रान्ति र प्रतिक्रान्तिको केन्द्र भएको बताउँदै यसलाई जित्नुपर्ने बताए । काठमाडौंलाई जितेको खण्डमा क्रान्ति जितिने तर्क गर्दै उनले यसका लागि काठमाडौंका जनतालाई संगठिन गर्नुपर्नेमा जोड दिए । जनयुद्धमा देशको ८० प्रतिशत भूभाग कब्जा गर्दा पनि क्रान्ति सम्पन्न नभएको स्मरण गर्दै काठमाडौंलाई जित्दा सिंहदरबार जितिने गरे ।

पार्टीको माग र आवश्यकताका आधारमा कार्यक्षेत्र परिवर्तन हुने भन्दै आफूलाई सहयोग गर्न सबै जिल्ला सदस्यहरुलाई आग्रह गरे । पार्टीको आवश्यकताले आफूहरुलाई नेतृत्वमा पठाएको भन्दै भोलीको नेतृत्व लिनेगरी काममा जोडिन निर्देशन दिए ।

जिल्ला सेक्रेटरी दीपक सीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका पूर्व इन्चार्ज गुरुवा सीलाई विदाई गरेर भृकुटीलाई स्वागत गरेको थियो । बैठकमा प्रतिनिधि समिति सदस्य तथा पूर्व जिल्ला इन्चार्ज गुरुवा सी, अ.ने.म.संघ क्रान्तिकारी उपत्यका ब्युरो संयोजक विनिता सी, युवा संगठनका उपत्यका व्युरो संयोजक अनिल सी र प्रतिनिधि समिति सदस्य गोपाल सीले मन्तव्य राखेका थिए । बैठकले एमसीसीका विरुद्धमा संघर्ष गर्ने, राष्ट्र राष्ट्रियता र जनजीविकाका पक्षमा संघर्ष गर्ने, मिटरव्याजी लघुवित्तहरुको ज्यादतीका विरुद्धमा संघर्ष गर्ने निर्णय गरेको छ ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।