३ आश्विन २०८१, बिहीबार

समाजवादी मोर्चाकाे बैठकमा राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमको विषयमा गहन छलफल

0

काठमाडौँ: समाजवादी मोर्चा नेपालले पछिल्लो समयमा विकसित राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमको विषयमा गहन छलफल गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय बुद्धनगरमा शुक्रबार अपरान्ह बसेको समाजवादी मोर्चा नेपालको सचिवालय बैठकले हाल जातिवादी र साम्प्रदायिकतावादी भड्काव ल्याउन खोजिएको र यसकार्यमा खासगरी दलाल र साम्राज्यवादीहरुको साठगाठ भएको निष्कर्ष निकालेको बुझिएको छ ।

उक्त बैठकले मोर्चाको सूदुरपश्चिममा तत्काल सन्देश सभा आयोजना गर्ने र ७७ वटै जिल्लामा यही असोज महिनाभित्र मोर्चाको जिल्ला संरचना गठन गरि सक्ने निर्णय गरेको समाजवादी मोर्चा नेपालको सचिवालय सदस्य तथा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले जानकारी दिए ।

यस्तै बैठकले राष्ट्रियता र स्वाधिनतामाथि खतरा बढ्दै गएको निष्कर्ष निकाल्दै यस्तो अवस्थामा देशका तमाम दलाल पुँजीवाद र साम्राज्यवाद विरोधीहरु एकजुट भएर देशको संकटमोचनमा जुट्नु पर्ने र यसका निम्ति समाजवादी मोर्चा नेपालले पहल गर्ने निर्णय भएको बताइएको छ । बैठकले समाजवादी मोर्चा नेपालको गठन र त्यस पश्चात् छ वटा प्रदेशमा सन्देश सभा भैसक्दा यसमा जनताको उत्साहबर्द्धक र उल्लेख्य सहभागिता रहेको निष्कर्ष निकाल्दै यसले मोर्चामा आबद्ध पार्टी र राष्ट्रिय राजनीतिमा सकारात्मक सन्देश प्रवाह गरेको विषयमा छलफल भएको बताइएको छ ।

बैठकले मोर्चाका मुख्य नेताहरुसँग छलफल गरेर सूदुरपश्चिममा छिट्टै सन्देश सभाको आयोजना गर्ने निर्णय गरेको बताइएको छ। त्यसैगरी, उक्त बैठकले यहि असोज मसान्तभित्र ७७ वटै जिल्लामा समाजवादी मोर्चा नेपालको जिल्ला संरचना गठन गरि सक्न मोर्चाको प्रदेश संरचनालाई निर्देशन गर्ने निर्णय भएको बताइएको छ ।
स्मरणीय छ, समाजवादी मोर्चा नेपालको सचिवालयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ, नेकपा समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।