२३ बैशाख २०८१, आईतवार

यौनिक सम्बन्ध र वर्गसङ्घर्ष

0

                                अलेक्जान्ड्रा कोलन्ताई

 

आजका मानवताका अगाडि जुन समस्याहरूमाथि ध्यान दिन अत्यन्त आवश्यक हुन गएको छ, ती मध्ये निश्चितै रूपमा सबैभन्दा निर्णायक समस्याहरू मध्ये एउटा हो यौनिक समस्या । केही गाथात्मक ‘द्वीपहरू’लाई छाडिदिने हो भने सम्भवत कुनै देश वा राष्ट्र होस् जहाँ यौनिक समस्या एउटा ज्वलन्त समस्या नबनेको होस् । आज मानवता एउटा तीव्र यौनिक सङ्कटमा फस्न गएको छ जुन यति घातक र अस्वस्थकर छ कि त्यसलाई ढाकछोप गर्न सकिँदैन र गर्नु हुँदैन । मानवताको लामो इतिहासमा सम्भवत कुनै त्यस्तो समय रहेको होस् जहाँ कामवासनाका समस्याहरू समाजमा यसप्रकारको केन्द्रमा रहेका होउन् जस्तो आज । आज महिला पुरुषका बिचका सम्बन्ध करोडौं मानिसहरूका लागि दुःखका कारण बनेका छन् भने अर्कोतर्फ कलाका हरेक विधामा प्रेरणाका स्रोत ।
समस्याहरू जति–जति कठिनभन्दा कठिन हुँदै गइरहेका छन्, त्यति–त्यति मानिसहरूले यस असमाधेय प्रश्नको उत्तर खोज्न लागि नै परिरहेका छन् तर निराश देखिइरहेका छन् । किनकि समस्याको समाधानका हरेक प्रयासहरू व्यक्तिगत सम्बन्धहरूका गाँठाहरूलाई पहिलेभन्दा झन् धेरै बल्झाइदिइन्छ र त्यो धागाको टुप्पो भेट्याउनै सकिँदैन जसबाट गाँठाहरू फुकाउन सकियोस् । यौनिक समस्या यस्तो दुष्चक्र बन्न गएको छ कि मानिस त्यसबाट जति नै ग्रस्त होस् र यताउता भाग्ने प्रयास गरोस् कुनै उपाय काम लागि रहेको छैन ।
मानवताका अनुदार तथा परम्पराग्रस्त मानिसहरूले यस्तो सोच्ने गर्दछन् कि अतितका राम्रा सम्बन्धहरूतर्फ फर्कनु पर्दछ र परिवारका पुराना आधारहरूलाई बलिया बनाउनु पर्दछ ता कि चौतर्फ परीक्षण गरिएका यौनिक–नैतिकताका पुराना मापदण्ड बनिरहुन् । अर्कोतर्फ, बुर्जुवा व्यक्तिवादका समर्थकहरूले भन्दछन् कि हामीले पाखण्डपूर्ण र पुराना बन्न गएका यौनिक व्यवहारहरूका प्रतिबन्धहरूलाई नष्ट गर्नु पर्दछ । अनावश्यक र दमनकारी बन्धनहरूलाई पछाडि छोडिदिएर व्यक्तिका अन्तरात्मा र इच्छाहरूमाथि छाडिदिनु पर्दछ कि अन्तरङ्ग प्रश्नहरूका बारेमा किन अरूले निर्णय लिने गर्दछ ? यसका विपरित समाजवादीले जोड दिएर भन्दछन् कि यौनिक समस्याहरूको समाधान तबमात्र मिल्नेछ जब समाजको सामाजिक र आर्थिक संरचनाको पुनर्गठन हुनेछ । ‘समस्याको समाधानलाई भविष्यको निम्ति छाडिदिनु’ यसले बताउँदछ कि हामीसँग अहिले नै ‘जादुई समाधान’ मिलेको छैन । तब के हामीले यस जादुई समाधानलाई खोजी गर्न जुट्नु पर्दैन ? के यो हाम्रो तत्कालीन दायित्व होइन ? मानव सभ्यताको इतिहास विभिन्न सामाजिक गुटहरू र वर्गहरूका परस्पर टक्राउने स्वार्थहरूका बिचको सङ्घर्षको इतिहास हो र त्यसैमा नै समाधान मिल्नेछ । यो पहिलो अवसर होइन कि मानव जाति यौनिक सङ्कटमा फसिरहेको देखिएको छ । यो पहिलो अवसर होइन जब यौनिक सम्बन्धहरूका बारेमा बदलिएका मूल्यहरू र आदर्शहरूको ज्वारभाटाले विभ्रम उत्पन्न गरिदिएको छ ।

अनुवादः भेषराज सी
    अनुवादः भेषराज सी

 
यौनिक सङ्कट पुनर्जागरण र धर्मसुधार आन्दोलनका क्रममा हदै सङ्कटग्रस्त थियो । त्यस समय एउटा महान् समाजिक प्रगतिले सत्ताधारी पितृसत्तात्मक सामन्तहरूलाई पछाडि धकेलिदियो र एउटा नयाँ सामाजिक शक्ति बुर्जुवा वर्ग (पुँजीपति र मध्यम वर्ग)को विकासको मार्ग प्रशस्त ग¥यो । सामन्ती समाजको यौनिक नैतिकता प्राचीन जनजातीय जीवनबाट निक्लिएको थियो, जब अर्थव्यवस्था सामुदायिक थियो र जनजातीय नेतृत्वले व्यक्तिको व्यक्तिका इच्छालाई फल्न–फूल्न दिँदैनथ्यो ।
त्यस्तो नैतिकता उदीयमान मध्यम वर्गको नैतिकतासँग टक्राउँथ्यो । नयाँ नैतिकता सामन्ती नैतिकताको एकदमै विरुद्ध थियो । पहिलेको सामुदायिक कर्मको प्रतिस्पर्धाले नयाँ समाजमा व्यक्ति र ‘आण्विक परिवार’को महत्व बढ्न थाल्यो । पुँजीवाद अन्तरगत प्रतियोगिताको नैतिकता प्रकट भयो र व्यक्तिवाद तथा निजी सम्पत्तिको उभारले समुदायको विचारलाई परास्त गर्न शुरु ग¥यो । जीवनको  जटिल प्रयोगशालामा जब पुराना मापदण्डहरूको स्थानमा नयाँ मापदण्डहरू विकसित भइरहेका थिए र माथिबाट नयाँ नैतिक विचार स्थापित भइरहेका देखिन्थे । त्यस समयमा सामान्य मनुष्य दुईवटा परस्पर विपरीत यौनिक आचारहरूका बिचमा फसेर कहिले एउटा त कहिले अर्को बाटो अपनाउने गर्दथ्यो । परन्तु परिवर्तनको त्यस रङ्गिन र चमकदार दिनहरूमा यौनिक सङ्कट त्यति धेरै खतरनाक लागिरहेको थिएन जस्तो कि त्यो आज हुन गएको छ । त्यसको मुख्य कारण यो थियो कि महान् पुनर्जागरणको नयाँ युगमा जबकि मध्य युगिन जीवनको एकरसतालाई बहुरङ्गी संस्कृतिले प्रकाशित गरिरहेको थियो । साँस्कृतिक सङ्कटले समाजको अपेक्षाकृत थोरै मानिसहरूलाई प्रभावित गरिरहेको थियो । समाजको सबैभन्दा ठूलो हिस्सा किसान नयाँ परिवर्तनहरूबाट अत्यन्त थोरै र अत्यन्त मन्द गतिमा प्रभावित भइरहेको थियो । समाजका चोटीका सिंढिहरूमा नै दुईवटा परस्पर विरोधी समाजिक दुनियाहरूका बिचमा द्वन्द्व थियो । त्यही नयाँ विचारहरू र तत्सम्बन्धी यौनिक सङ्कटको प्रभाव देखिन्थ्यो । किसान त्यतिबेला पनि नयाँ कुराहरूबाट अनभिज्ञ थिए र चलिआएको परम्परासँग टाँसिएका थिए । जब सङ्कट आर्थिक क्षेत्रमा शिखरमा थियो तब पनि यौनिक सङ्कट धेरै प्रकटीकरण भएको थिएन । आर्थिक, राजनीतिक आँधिबेहरीको क्रममा पनि किसान आफ्नै घरजमसँगै जोडियो, व्यक्तिगत जीवनका परम्पराहरूमा नै बाँचिरह्यो ।
आजको कहानी एकदम भिन्न छ, यौनिक सङ्कटबाट किसान पनि बच्न सक्दैनन् । एउटा सङ्क्रामक रोगजस्तै यस सङ्कटले उँच–नीचमा फरक गरिरहेको छैन । समाजका उच्च वर्गहरूदेखि लिएर छाप्रा–कटेराहरूसम्म देखिइरहेको छ र त्यसबाट बच्नका निम्ति सुरक्षाको कुनै ‘पर्खाल’ देखिइरहेको छैन । यस्तो बुझ्नु गलत हुनेछ कि केवल समाजका उच्च वर्गमात्रै यौनिक सङ्कटबाट ग्रस्त छन् । श्रमजीवी जनता पनि आफ्नो दैनिक जीवनमा यस सङ्कटबाट ग्रस्त बन्दै गइरहेका छन् । त्यसकारण यो बुझ्न कठिन भइरहेको छ कि यति धेरै आवश्यक मुद्दामा समाजमा यति अक्षम्य तटस्थता किन हुन्छ । श्रमिक समुदायका अगाडि सबैभन्दा ठूला सङ्कटहरूमा एउटा यो छ कि कसरी महिला र पुरुषका बिचमा स्वस्थ र आनन्ददायक सम्बन्ध स्थापित गर्न सकिन्छ ।
यस्तो अक्षम्य तटस्थताका जरा कहाँ छन् ? हामीले यस पाखण्डको व्याख्या कसरी गरौं कि यौनिक समस्याहरू ‘निजी मामला’ हुन् र यस विषयमा समुदायले ध्यान दिन कुनै आवश्यकता छैन । यस विषयमा किन अनदेखा गरिरहेको छ कि अहिलेसम्मका सामाजिक सङ्घर्षहरूका क्रममा लगातार महिला र पुरुषहरूका बिचका सम्बन्धहरूलाई बदल्ने प्रयास हुँदै आएका छन् तर त्यसलाई लगातार अनदेखा गरिरहिएको छ ।
हाम्रो समाजको त्रासदी यो होइन कि व्यवहारिक रूप र सिद्धान्त नै ध्वस्त हुन गए र तिनको बिचबाट नयाँ रूप विकसित भइरहेका छन् । जसबाट यस्तो आशा जागिरहेको छ जुन तत्काल पूरा हुने देखिइरहेको छैन । हामी यस्तो दुनियामा बसिरहेका छौं जुन सम्पत्ति सम्बन्धहरू, कठिन वर्ग अन्तरविरोधहरू र व्यक्तिगत नैतिकतामा आधारित छ । हामी अपरिहार्य एकाङ्कीपनका बिच बाँचिरहेका छौं । त्यस्तो एकाङ्कीपन नगरहरूसम्म जहाँ सम्पूर्ण हल्लाखल्ला र श्रमकार्यको क्रममा हुने सहभागिताका बिचमा पनि विद्यमान रहने गर्दछ । यस एकाङ्कीपनका कारण व्यक्तिले फरक लिङ्गका सदस्यलाई अपनाउने बारेमा अस्वस्थ र भ्रामक तरिका अवलम्बन गरिरहन्छन् । विकट एकाङ्कीपनको अन्धकारबाट निक्लिने बाटो, भलै थोरै समयका निम्ति नै सही व्यक्तिले कामुकतामा खोजिरहन्छ ।
सम्भवत मानिस कहिल्यै ‘आत्मिक एकाङ्कीपन’को यति धेरै शिकार भइरहेका थिए होलान् जति आज भइरहेका छन् । यसका विपरीत हुन पनि के सक्थ्यो । अँध्यारो यति धेरै कालो कहिल्यै हुँदैन जति कि जब अगाडि प्रकाश चम्किरहेको होस् ।
आज मानिस ढिला–ढाला समुदायहरूमा बाँचिरहेका छन् । आज यौनिक सम्बन्धहरूमा परिवर्तनको अवसर छ । आज अन्धो शारीरिक सम्बन्धहरूको स्थानमा मित्रता र परस्परतामा आधारित नयाँ रचनात्मक सम्बन्ध बन्न सक्दछन् । आजको सम्पत्तिमा आधारित व्यक्तिवादी नैतिकता खुल्ला र प्रष्ट रूपमा दमनकारी देखिन थालेको छ । आज मानिस यौनिक सम्बन्धहरूको गुणवत्ताको आलोचना गरिरहेको छ र जारी नैतिकताका रूपहरूलाई जहाँ त्यहीं अस्वीकार पनि गरिरहेको छ । उसको एकाङ्की आत्माले सम्बन्धहरूको रूपान्तरणलाई खोजिरहेको छ । ऊ ‘महान् प्रेम’का निम्ति तड्पिइरहेको छ । यस्तो सम्बन्ध जसले व्यक्तिका एकाङ्कीपनलाई हटाएर एउटा रचनात्मक न्यानोपनको सञ्चार गरोस् ।
यदि आजको यौनिक सङ्कटको तीन चौथाई बाहिरी सामाजिक र आर्थिक सम्बन्धहरूका कारण हुन् भने एक चौथाई कारण निश्चित नै आजको पुँजीवादी विचारधाराद्वारा पोषित ‘परिस्कृत व्यक्तिवादी मानिस’ पनि हो । जर्मन लेखक माइसेल हेशका अनुसार आज मानिसहरूमा ‘प्रेम गर्ने शक्ति’ अत्यन्त कम हुन गएको छ । महिला र पुरुष एक अर्कालाई आफ्नो आत्मिक र शारीरिक सुखका निम्ति खोजी गर्ने गर्दछन् । त्यो अर्को व्यक्ति पहिले नै अर्कासँग वैवाहिक सम्बन्धमा बाँधिएको छ वा छैन, त्यो गौण हुन्छ । दोस्रो व्यक्तिका भावनाहरू र मनोविज्ञानमा के घटिरहेको होला ? त्यसबाट पहिलोको कुनै सरोकार नै हुँदैन । आजको दुनियाँको ‘कुरूप व्यक्तिवाद’ यौनिक सम्बन्धहरूमा सबैभन्दा खराब रूपमा प्रकट हुने गर्दछ । आफ्नो एकाङ्कीपनबाट भाग्न चाहने व्यक्तिले केटाकेटी पाराले सोच्ने गर्दछ कि ‘प्रेम’ले अर्को व्यक्तिको आत्मामाथि अधिकार प्रदान गर्दछ । भावनात्मक निकटता र आत्मबोधका किरणहरूद्वारा प्रज्वलित हुने अधिकार हामीले कल्पना गर्दछौं कि हामीले आफू निकटका व्यक्तिहरूसँग ‘महान् प्रेम’को आनन्दसम्म पुग्न सक्दछौं आफ्नो कुनै कुरा नगुमाइकन ।
हामीले आफ्नो यौन–साथीमाथि पूर्ण अविभाजित दाबी गर्दछौं, हामीले प्रेमको सिधा–साधा नियम लागु गर्दैनौं– प्रेम गरिने व्यक्तिप्रति भरपुर ध्यान दिनु पर्दछ । महिला–पुरुष सम्बन्धहरूका बारेमा नयाँ धारणाहरूका रूपरेखा बन्दै गइरहेका छन् । तिनको सहयोगबाट त्यस्ता नयाँ सम्बन्ध बन्न सक्दछन्, जसको आधार हुन्छ– पूर्ण स्वतन्त्रता, समानता र साँचो प्रेम । यस क्रममा हामीले नयाँ युगको सपना सजाएर राख्नु पर्नेछ, जब मानिसहरूका बिचमा परस्परताका सम्बन्धहरूलाई जीवित राख्दै जीवनका नयाँ स्थितिहरूतर्फ बढ्दै जानु पर्नेछ ।
यौनिक सङ्कटको समाधान तबसम्म हुन सक्दैन जबसम्म मनुष्यको मानसिक शक्तिमा मूलभूत सुधार हुँदैन र उसको प्रेम गर्ने क्षमतामा विस्तार हुँदैन । त्यसका लागि आवश्यक छ कि सामाजिक तथा आर्थिक सम्बन्धहरूको रूपान्तरण गर्न सकियोस् । हामीले सामान्यत चिन्तन गरौं आज कति प्रकारका महिला–पुरुष सम्बन्धहरू प्रचलित छन्– स्थायी परिवारवाला सम्बन्ध, जसमा विवाहको बन्धन कहिल्यै तोड्न सकिँदैन, ‘स्वतन्त्र गठबन्धन’, गोप्य रूपमा परपुरुष या परमहिला सम्बन्ध, विवाह नगरी महिला–पुरुष सँगै बस्नु अर्थात् एउटा ‘जङ्गली विवाह’ जसलाई आज सह–जीवन(Living Together) भनिन्छ । जोडि विवाह तथा तीन या चार व्यक्तिहरूका बिचमा विवाह, यसका अतिरिक्त वेश्यावृत्तिका अनेक रूपहरू छन् नै । यति धेरै प्रकारका सम्बन्ध पहिले कहिल्यै हुँदैन्थे । किसानहरूका बिचमा पनि एकातर्फ पारम्परिक सम्बन्ध बनेका छन् भने अर्कोतर्फ थोरै–थोरै नयाँ बुर्जुवा सम्बन्ध पनि बनिरहेका छन् । ससुरा–बुहारीका बिचका सम्बन्ध पनि सुनिने गर्दछन् । आश्चर्यको कुरा त यो छ कि यति प्रकारका परस्पर विरोधी सम्बन्धहरूका बिचमा पनि नैतिक अधिकारको धारणामाथि मानिसहरूको विश्वास बनिरहेको छ । नयाँ नैतिकताको बहस–पैरवी गर्ने अधारभूमि पूर्ण रूपमा तयार भएको छैन । हाम्रो दायित्व हुन्छ कि यसप्रकारका जटिल सम्बन्धहरूका बिचबाट प्रगतिशील र क्रान्तिकारी नैतिकताका सिद्धान्त स्थापित गरिनु पर्दछ ।
आजका मानसिकतामा दुईवटा कमजोरी त छन् नै– अतिव्यक्तिवादिता र अहङ्कार, यसका अतिरिक्त आधुनिक पुरुष मनोविज्ञानका दुईवटा कुरा अझै विचारणीय छन् –
१) पत्नीमाथि स्वामित्वको विचार
२) यस्तो विश्वास कि महिला पुरुषसमान हुन सक्दैनन् ।
दुवैका बिचमा हरेक स्तरका असमानता हुन्छन्, यौनिक क्षेत्रमा पनि ।
बुर्जुवा नैतिकता निजी सम्पत्तिको सुरक्षामा आधारित हुन्छ र त्यसले स्थापित गरेको छ कि पुरुष महिलाको स्वामी हुने गर्दछ । विवाहको सम्बन्धमा यो धारणा निकै सफल रहेको छ । जनजातीय समयहरूमा पुरुषको महिलामाथि स्वामित्व यहीसम्म सीमित थियो कि पत्नीले पतिका प्रति अटुट सम्बन्ध राख्नु पर्दछ । महिलाको आत्मा उसको आफ्नै हुने गर्दथ्यो । सामन्तले पनि यो स्वीकार गर्दथे कि उसकी पत्नीका अरू पनि प्रशंसक हुन सक्दछन्, परन्तु पुँजीवादी समाजमा पत्नीलाई पूर्णरूपमा एकनिष्ट हुनु आवश्यक छ । अर्थात् पत्नी पतिकी सम्पत्ति हुन् । पतिलाई पत्नीका भावनात्मक जगतमाथि पनि अधिकार हुन्छ । आजको प्रेमी आफ्नो एकाङ्कीपनबाट आक्रान्त, आफ्नी प्रेमिकामाथि यसप्रकार प्रभाव जमाइराख्न चाहन्छ कि उसमाथि आफ्नो एकाधिकार ठान्दछ । उसले उनको बारेमा एक–एक कुरा जान्न चाहन्छ । ‘स्वतन्त्र सम्बन्धहरू’मा पनि आफ्नो निजी ‘खजाना’ नै बुझ्ने गर्दछ । दुई जना व्यक्ति जुन हिजोसम्म अपरिचित थिए, प्रेममा लागेपछि यसप्रकार एकअर्कासँग रमाएका देखिन्छन् कि कुनै तेस्रो व्यक्तिलाई सहन सक्दैनन् । एक–अर्काको निजित्व उलङ्घन गरेर अर्काका चिठ्ठी पढ्ने दावा गर्दछन् । अन्य मित्रहरूलाई पनि सहन गरिँदैन, स्वभाविक छ कि यस्ता सम्बन्धहरूमा धोकाधडी पनि चलि नै रहोस् ।
यौनिक असमानताको धारणाले यौनिक सङ्कटलाई बढाउँदछ । दुई प्रकारका नैतिकताले महिला–पुरुष सम्बन्धहरूलाई विषाक्त गराइरहन्छ, यस्तो विचार कि महिला र पुरुषमा असमानता हुन्छ । एउटै प्रकारका शारीरिक तथा भावनात्मक अनुभवलाई महिला र पुरुषका लागि फरक–फरक तरिकाबाट हेर्ने गरिन्छ । प्रबुद्धभन्दा प्रबुद्ध व्यक्तिले पनि महिलालाई आफूभन्दा तल्लो दर्जाको ठान्ने गर्दछ । एउटै उदाहरण प्रशस्त हुनेछ– कल्पना गरौं एउटा मध्यम वर्गीय बुद्धिजीवीको जुन विद्वान छ, सामाजिक र राजनीतिक कामहरूमा जोडिएको छ, अर्थात् विशेष व्यक्ति हो, उसले आफ्नो भान्सेसँग नाजायज सम्बन्ध राख्दछ (र यो कुनै अनौठो कुरा होइन) हुनसक्छ उसले त्यस भान्सेसँग विवाह पनि गर्ला । के उसको समाजले यस्ता व्यक्तिको नैतिकतामाथि शंका गरेर उसलाई नीच मान्न सक्दछ ? निश्चित रूपमा मान्दैन ।
अब एउटा अर्को अवस्थाको कल्पना गरौं, त्यसै समाजकी एउटी महिला जुन लेखिका वा चिकित्सकको रूपमा प्रतिष्ठित छिन्, कुनै ‘सानो व्यक्ति’सँग साथी बन्ने वा विवाह गर्दछिन् । अहिलेसम्म ‘सम्मानित’ ती महिलाप्रति उनको समाजको कस्तो दृष्टिकोण होला ? उनीसँग घृणा गरिनेछ र उनलाई बदनाम गरिनेछ, यदि ती महिलाको पति सुन्दर भएको वा उसमा अन्य गुण भएको छ भने त पाखण्डि समाज उनलाई अझै तथानाम गालि गर्नेछ ।
आजको समाजले महिलालाई आफ्नो निगरानीमा राख्न चाहन्छ । उसैले निश्चित गर्दछ कि उनले कोसँग प्रेम गर्ने वा कोसँग विवाह गर्ने र कोसँग नगर्ने ।
हामीले लगातार त्यस्ता महत्वपूर्ण पुरुषहरूलाई देख्दछौं कि जसले त्यस्ता महिलाहरूलाई आफ्नो जीवनसाथी बनाएका छन् जुन एकदमै उनीहरूको योग्य हुँदैनन् । त्यस्ता पुरुषहरूमाथि अरूले दयाको दृष्टि लगाउन सक्दछन कि उसले एउटी अयोग्य महिलालाई आफ्नो जीवनसाथी बनाए परन्तु यदि यसका विपरीत कुनै महिलाले त्यस्तो गरिन् भने त कति छिःछिः दुर–दुर होला त्यसको कल्पना गर्न सकिन्छ । यस्तो दोहोरो मापदण्ड किन ? यसको कारण के हुन सक्दछ ? कारण स्पष्ट छ, परम्परागत रूपबाट महिला र पुरुषका बारेमा भिन्न मूल्य र विधान छन् । हामीले महिलाका व्यक्तिगत गुणहरू र उनको व्यक्तित्वलाई महत्व दिँदैनौं र उनलाई पुरुषका पिछलग्गु नै मान्दछौं । महिला पुरुषको प्रकाशमा नै प्रज्वलित हुन सक्दछिन् । यस्ता गलत र पाखण्डपूर्ण विचारबाट महिलालाई तबमात्र मुक्ति मिल्न सक्दछ जब उनको आर्थिक स्थिति बदलिन जान्छ । उनी स्वतन्त्र रूपमा उत्पादन प्रक्रियामा लाग्न सक्छिन् ।
यसप्रकार आधुनिक मानसिकतालाई बिगार्ने तीनवटा मूलभूत परिस्थितिहरू– अति अहङ्कार, महिलामाथि पुरुषको स्वामित्व र महिला र पुरुषलाई हरतरहबाट असमान ठान्नुलाई बदल्नु पर्दछ । यो स्थिति तब बदल्न सकिन्छ जब महिला र पुरुषका बिच कमरेड जस्तै बराबरीका सम्बन्ध स्थापित हुन सकोस् ।
के यस्तो अपेक्षा अति आदर्शवादी त होइन ? यस्तो समानताको कुरा गर्नु के बालसुलभ आदर्शवाद त होइन ? मानिसमा प्रेम गर्ने क्षमता कसरी बढाउन सकिन्छ ? के यस विषयमा बुद्ध, कम्फ्युशियसदेखि लिएर ईसामसिहसम्मले सोचिरहेका थिएनन् त ? के कुनै ‘जादुगरी’ पुँजीको खोजी मानव स्वभावको निहित कमजोरीको स्वीकारोक्ति होइन ? के यस मानसिकतामा परिवर्तन कहिल्यै सम्भव होला ? परन्तु के यो पनि सत्य होइन कि एउटा नयाँ सामाजिक–आर्थिक परिवर्तनले मनोवैज्ञानिक परिवर्तनको आधार प्रस्तुत गरिरहेको छ ? नयाँ प्रगतिशील वर्गले निश्चित रूपमा नै महिला–पुरुषका सम्बन्धहरूलाई नयाँ दृष्टिबाट हेर्नेछ ।
सामाजिक–आर्थिक सम्बन्धहरूमा भइ– रहेको नयाँ जटिल विकासले महिलाको सामाजिक जीवनप्रतिको दृष्टिकोणलाई बदलिरहेको छ । पारम्परिक नैतिकतालाई कमजोर बनाइरहेको छ । यसका दुई वटा परस्पर विरोधी परिणाम निक्लिरहेका छन् । एकातर्फ नयाँ सामाजिक–आर्थिक परिस्थितिहरूका अनुसार आफूलाई बदल्ने प्रयास भइरहको छ । जसअनुसार पुराना रूपहरूमा नयाँ अन्तरवस्तु हाल्ने प्रयास भइरहेको छ, जस्तै– विवाहका पुराना स्वरूपलाई स्वीकार गरेर पनि महिलाको स्वतन्त्रतालाई स्वीकार गर्न थालिएको छ । अर्कोतर्फ सम्बन्धका नयाँ रूपहरू विस्तारै विकसित भइरहेका छन् । नयाँ रूपहरूको खोजी गर्ने तर्फ पूर्ण विश्वासका साथ मानिस अगाडि बढ्न पाइरहेको छैन । परन्तु नयाँ विजयहरूतर्फ उन्मुख श्रमजीवी वर्गको यात्रालाई गम्भीरताका साथ लिन आवश्यक छ ।
आजका आर्थिक परिस्थितिहरूको दबावमा थोरै ज्याला प्राप्त गर्ने श्रमजीवीले पहिलेको अपेक्षा ढिलो विवाह गर्दछ । उसको साँस्कृतिक जीवन पनि बदलिइरहेको छ । अब उसले नाटक हेर्न, भाषण सुन्न र अखबार तथा पत्रपत्रिकाहरू पढ्न चाहन्छ । उसले केही समय सङ्घर्ष र राजनीतिलाई पनि दिन चाहन्छ । त्यसकारणले पनि उसले ढिलो विवाह गर्दछ । परन्तु शारीरिक आवश्यकताहरूले त ती कुराहरूमा ध्यान दिन सक्दैनन्, त्यसकारण ऊ वेश्यावृत्तितर्फ उन्मुख हुने गर्दछ । प्रतिकूल परिस्थितिहरूमा आफूलाई समायोजित गर्ने यो एउटा नकारात्मक तरिका हुन सक्दछ । एउटा अर्को उदाहरण लिऔं, जब मजदुरले विवाह गर्दछ, तब थोरै आम्दानीका कारण उसले पनि मध्यम वर्गीय परिवारले जस्तै परिवार नियोजन गर्न चाहन्छ । यसप्रकार वेश्यावृत्ति र बालमृत्युदर जस्ता परिस्थितिहरू उत्पन्न हुने गर्दछन् । यस्ता अवस्थाहरू अन्य वर्गहरूका बिचमा पनि पाउन सकिन्छ ।
दमनकारीले वास्तविकतामा आफूलाई समायोजित गर्नुका विपरीत केही रचनात्मक र सक्रिय शक्तिहरूलाई नयाँ आदर्शहरू कार्यान्वित गर्नका लागि नयाँ उपायहरू पनि खोजिरहन्छ । मध्यम वर्गले पनि नयाँ परिस्थिति अनुसार परिवर्तन गर्न चाहन्छ । उदाहरणका निम्ति मध्यम वर्गका बुद्धिजीवीहरूले स्थायी अटुट विवाहको स्थानमा स्वतन्त्र ‘सिविल म्यारिज’लाई अति उत्तम मान्दछ । यसले पनि पारम्परिक जड्ता र सम्पत्ति केन्द्रित पारिवारिक नैतिकतालाई कमजोर बनाउँदछ । महिलाको पराधिनता मध्यम वर्गीय परिवारहरूमा पनि कमजोर हुँदै गइरहेको छ ।
एउटा उदाहरण लिऔं,– मानौं कि एउटा व्यापारिले पारिवारिक समस्याका कारण त्यस समयमा आफ्नो व्यवसायबाट पैसा निकाल्न चाहन्छ जबकि व्यवसायमा सङ्कट छ । मध्यम वर्गीय नैतिकताले भन्दछ कि परिवारको हित सबैभन्दा पहिले हेर्नुपर्दछ । यस दृष्टिकोणलाई अलिकति मजदुर माथि लागु गरौं, त्यो परिवार भोकै नमरोस त्यसकारण उसले
मजदुरहरूको हितमा गरिएको हड्ताललाई छोडेर काम गर्न जान्छ । उसलाई भन्ने गरिन्छ, मजदुर वर्गको हित सबैभन्दा पहिले । एउटा अर्को उदाहरण लिऔं– एउटा मध्यम वर्गीय पतिको परिवारसँगको प्रेमले उसकी पत्नीलाई घरभन्दा बाहिरका कुनै पनि हितबाट विमुख गराएर उसलाई चुलोचौका र बालबालिका पालन पोषणमा लगाउने गर्दछ । मध्यम वर्गीय मान्यता अनुसार आदर्श परिवारको भरणपोषण गर्न सक्नुपर्छ । त्यस्तो अवस्थामा मजदुर वर्गले आफ्नी त्यस्ती पत्नी वा महिला मित्रलाई देख्नेछ जसले सामाजिक सङ्घर्षबाट विमुख भएर परिवारमा नै जुटेकी हुन्छिन् । व्यक्तिगत र पारिवारिक खुसिका निम्ति पनि श्रमजीवी वर्गको नैतिकताले माग गर्दछ कि महिलाहरूले त्यस जीवनमाथि पनि ध्यान दिउन् जुन परिवारको दुनियाभन्दा बाहिर हुन्छ । महिला घरभित्रै बन्द हुनु, जुन प्रकारले परिवारका हितहरूलाई सर्वोपरि राख्ने गरिन्छ र जुन प्रकारले सम्पत्तिका अधिकारहरूको रक्षाका निम्ति पतिले पत्नीमाथि सर्वाधिकार बनाई राख्दछ– यस्ता विषयहरूले मजदुरहरूको एकतालाई चुनौति दिने गर्दछन् ।
एउटै वर्गका महिला सदस्यलाई पुरुष सदस्यका बराबर नबुझ्नु र पुरुषका मातहत राख्नु । यो सिद्धान्ततः गलत हुन्छ । मजदुर वर्गको विचारधाराको आधार नै सदस्यहरूका बिचमा पूर्ण समानता हो । यसैबाट श्रमजीवी वर्गको नैतिकताको आधार विकसित हुनेछ । यस्तै नैतिकताले नै पुरुषको व्यक्तित्वलाई नयाँ शिराबाट वृद्धि गर्नेछ । उसलाई भावनाको क्षेत्रमा समर्थ बनाउनेछ र स्वतन्त्रताको स्वाद चखाउनेछ । यस्तै अवस्थामा नै असमानता र अधिनताको स्थानमा कमरेड जस्तो व्यवहार सम्भव हुन सक्नेछ ।
यो एउटा सच्चाई हो कि आर्थिक विकासले उत्पन्न गरेका प्रत्येक नयाँ वर्गले नयाँ भौतिक संस्कृति अनुकूल नयाँ विचारधारालाई जन्म दिने गर्दछ । यौनिक व्यवहार पनि विचारधाराकै अङ्ग हुने गर्दछ । यो भन्नु ठिक हुने छैन कि यौनिक नैतिकताको प्रश्न उपरिसंरचनाको प्रश्न हो । त्यसकारण जबसम्म त्यसको निर्माण हुन सक्दैन, तबसम्म समाजको आर्थिक आधार बदलिँदैन । नयाँ विचारधारा स्वयं पुरानो आर्थिक आधारकै क्रममा उत्पन्न हुन जान्छन् । मानव समाजको इतिहासले यही बताउँदछ कि कुनै पनि सामाजिक समुदायले आफ्नो विचारधारा र तदनुकूल यौनिक नैतिकता विरोधी सामाजिक शक्तिहरूसँगको सङ्घर्षको क्रममा नै विकसित गराउँदछ ।
श्रमजीवी वर्गका आवश्यकताहरूका अनुकूल नयाँ आत्मिक मूल्यहरूको मद्दतबाट नै उनीहरूको सामाजिक अवस्था धेरै राम्रो र बलियो हुनेछ । विरोधी सामाजिक शक्तिहरूसँग उसले नयाँ आदर्शहरू र मूल्य मान्यताका आधारमा नै विजय प्राप्त गर्न सक्दछ । त्यसकारण श्रमजीवी वर्गका विचारहरूले श्रमजीवी वर्गका यौनिक नैतिकताका प्रश्नहरूलाई अनिवार्य रूपले समाधान गर्नु पर्दछ । विद्यमान समाजका यौनिक सम्बन्धहरूका अन्तरविरोधहरूको विकल्प प्रस्तुत गरेर नै प्रगतिशील श्रमजीवी वर्गले आफूलाई श्रेष्ठता साबित गर्न सक्दछ ।
हामीले ख्याल राख्नु पर्दछ कि त्यही यौनिक नैतिकता जुन श्रमजीवीहरूका समस्याहरूका अनुकूल छ, त्यसैले उनीहरूका सङ्घर्षहरूलाई बलियो बनाउन सक्दछ । इतिहासले यही पाठ सिकाएको छ । यस्तो श्रमजीवीको हितमा र उनीहरूद्वारा गरिने एउटा धेरै गहिरो तथा आनन्ददायी महिला–पुरुष सम्बन्धहरूका लागि सङ्घर्षहरूमा प्रयोग गर्नबाट कसले रोक्न सक्दछ ?

स्रोतः जनपत्रिका पाचौँ अंक


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।