७ पुष २०८१, आईतवार

बर्मझिया

0

 

कृष्ण सेन ‘इच्छुक’
घरीघरी पटक–पटक
बग्न त रगत पानीसरी बगिरहेकै छ
के पहाड के मधेस चारैतिर
नयाँ दशकको हत्याराले
नयाँ युगका राता रक्तबिजहरू छरिरहेकै छ
अभावको कालो बजारमा महङ्गीको हाहाकार बढेर
सबैथोक दुर्लभ बने पनि
गल्ली–गल्ली सडक–सडक
र गाउँ बस्ती भरी
गोलीले ढलेर मान्छेको ज्यान भने
झनै सस्तो भइरहेकै छ
तर तिम्रो काखमा त्यै एउटा ज्यान ढल्दा
घाम पनि आकाशमा मधुर भएको छ ।

बर्मझिया !
तिम्रो प्रत्येक थोपा रगत ब्युँझेर
आज बैरीलाई क्रुर कालकुट भएको छ ।
एउटै रगतको साइनो रहेछ आखिर
मेची र महाकालीका साँधहरूमा एउटै वर्गको नाता रहेछ आखिर
कमला र भेरीका छालहरूमा एउटै धर्मको उपासना रहेछ आखिर
झापा र धनुषाका बलिदानहरूमा
एउटै कर्मको आराधना रहेछ आखिर
गोर्खा र रोल्पाका अनुष्ठानहरूमा
निरन्तर चलिरहेको रक्तिम युद्धमा
मिसिसिपीदेखि भोल्गासम्म एउटै रङ्ग छ
निरन्तर फैलिरहेको वर्गीय युद्धमा
लिमादेखि मनिलासम्म एउटै तरङ्ग छ
यतिखेर तिम्रो काख पूर्वमा रगतपच्छे हुँदा
पश्चिममा रुकुम पनि प्रतिशोधले चुर भएको छ
बर्मझिया तिम्रो प्रत्येक थोपा रगत ब्युँझेर
आज बैरीलाई क्रुर कालकुट भएको छ ।

माटोमा भिजेका तिम्रै रगतका टाटाहरूले
जनअदालतको खुला इजलासमा
बर्बर हत्याको किटानी जाहेरी दिइरहेछन्
उदास नहरको सन्तप्त किनारमा
शोकमग्न उम्रेका सिसौका बोटहरूले
तिम्रो ज्यानमुद्दाको सरजमिन गरिरहेछन्
मकैका घारीले बारीबाट
आक्रोशित मुद्रामा तिम्रै हत्याको साँक्षी बकिरहेछन्
प्रत्यक्षदर्शी पटुवाका झाडीले
फरार अपराधीहरूका बर्बर अनुहारहरू सम्झँदै
गिरफ्तारीको हुलिया काटिरहेछन्
शोकविह्वल छन् सबै गाउँ
शोकविह्वल छन् सबै ठाउँ
तै पनि शान्त र सहज भएर
अशान्त जीवनको सागरमा
निरन्तर चलिरहेछ मुक्तियात्राको नाउ
आफ्नो शोकाकूल घडीलाई नयाँ शक्तिमा फेरेर
फेरि पनि दृढ र कर्मशील मनस्थिति लिएर
साँझ–बिहान पँधेराहरूले
गाइरहेछन् ‘पेरूमा लालझण्डा’का गीतहरू
सबेरै झिसमिसेमा उठेर चराहरूले
घन्काइरहेछन् कलख स्वरमा सङ्घर्षका नाराहरू
रूष्ठ हावाले सतर्क भएर
दुश्मनका गुप्त पदचापहरू पछ्याइरहेछ
फेरि उस्तै सङ्घर्षशील भएका छन् सबै ठाउँ
एउटा ‘मास्टर साहेब’लाई मारेर
जनपाठशाला नै बन्द गर्न खोज्ने
जल्लादहरूको मृगतृष्णा
एउटा जनयोद्धालाई हत्या गरेर
मुक्तियुद्ध नै रोक्न खोज्ने मोशादहरूको कपोलकल्पना
यतिखेर चकनाचूर भएर
निष्फल बनेका छन् बैरीहरूका सबै दाउ
मातृभूमिका महान् सन्ततिहरूको
मृत्युञ्जयी बलिदानले अभिभूत भएर
यसबेला सिङ्गो राष्ट्र नै एउटै जुलुस भएको छ
बर्मझिया !
तिम्रो प्रत्येक थोपा रगत ब्युँझेर
आज बैरीलाई क्रुर कालकुट भएको छ
तिम्रो सम्मानमा गौरवले झुकेर उठ्दै
सारा देश नै
अरिङ्गालको गोलो झैं एकजुट भएको छ ।
– २०५६ भदौ १
(आदरणीय मास्टरसाहेब क. रामवृक्ष यादवको सम्झनामा)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।