१६ बैशाख २०८१, आईतवार

दलाल पुँजीवादका कारण नेपालका लाखौं युवाहरु चाडपर्वमा परिवार भन्दा टाढा छन्ः सविन सी

0

दाङ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले दलाल पुँजीवादी संसदीय व्यवस्थाका कारण नेपालका लाखौं युवाहरु चाडपर्वमा परिवारभन्दा टाढा भएर बस्नुपर्ने बाध्यतामा रहेको बताएका छन् ।

शनिबार नेकपा पश्चिम दाङद्वारा तुलसीपुर –१५ मलवारमा आयोजित शुभकामना आदानप्रदान तथा ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन् ।

नेकपा राप्ती ब्युरो इन्चार्ज समेत रहेका नेता सविनले भने ‘नेपालमा चलिरहेको दलाल पुँजीवादी संसदीय व्यवस्थाका कारण नेपाली युवाहरुले नेपालीहरुको बिशेष चाडमा समेत परिवारसंगै बसेर खुसी साट्ने अवसरबाट बन्चित छन् । यो सत्ताले नेपालमा युवाहरुलाइ रोजगारी प्रदान गर्न नसक्दा आज लाखौं युवाहरु बिदेशी भूमीमा आफ्नो श्रम बेच्न बाध्य छन् ।’

उनले नेपाललाई आत्मनिर्भर बनाउन सकिने बताउदै नेपालका युवाहरु नेपालमा बसेर नेपाललाई बनाउन सक्ने विश्वास व्यक्त गरे । उनले भने ‘तर यहाँको सत्ताले रेमिट्यान्सको लोभमा दैनिक हजारौं युवाहरुलाई बिदेशमा धकेलिरहेको छ । हामी यो सत्ता त्यही भएर बदल्न चाहेका छौँ । हामी नेपालमै युवाहरूलाई रोजगारीको ग्यारेन्टी, गाँस, बाँस, कपास, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी हुने व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्न चाहान्छौ ।’

नेपालमा दलाल पुँजीवादी सत्ताको विकल्प समाजवाद भएको उनले ठोकुवा गरे । नेता सविनले नेपालका पुराना पार्टीहरु विघटनको संघारमा पुगेको समेत बताए ।

एक अर्को प्रसंगमा बोल्दै नेता सविनले नेपालका अगाडि दुईवटा समस्याहरु ज्वलन्त रुपले खडा भएको बताए । उनले समस्याहरुको चर्चा गर्दै भने ,‘एउटा नेपालमा अमेरिका आएको छ । अमेरिका जहाँ पुग्छ त्यहा विनाश मच्चाउछ । अमेरिकाले साम्राज्यवादी युद्धहरुमा नेपाली युवाहरुलाइ प्रयोग गरिरहेको छ भने अर्कोतिर नेपाललाई युवा विहिन बनाएर नेपालमा सैनिक क्याम्पहरु खडा गरिरहेको छ । नेपालला प्राकृतिक सम्पदाहरु कब्जा गर्ने र चिनका विरुद्ध घेराबन्दी गर्ने अमेरिकी योजना छ । जनता जागरुक नभए नेपाल युक्रेन , अफगानिस्तान र इजरायल–प्यालेस्टाइन बन्ने खतरा छ ।’

यस्तै शुभकामना आदानप्रदान तथा ध्रुवीकरण कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सीले देश र जनतालाइ सार्वभौमसत्ता सम्पन्न बनाउन समाजवाद स्थापनाको विकल्प नरहेको बताए ।

नेता प्रदिपले अहिले बनेको समाजवादी मोर्चा बारेमा भ्रमित नहुन अपिल गर्दै मोर्चा नेपाली बिशेषताको समाजवाद स्थापनाका लागि बनेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम युवा संगठन नेपालका महासचिव तिलक सीले जनताका आधारभूत समस्याहरु हल नगर्ने पार्टीलाई अब जनताले बिश्वास नगर्ने बताएका थिए ।

ध्रुवीकरण कार्यक्रम मार्फत नेकपा प्रवेश गरेका एमालेका तत्कालीन जिल्ला कमिटी सदस्य हिरालाल वलीले नेकपाको क्रान्तिकारी बिचारधारा मार्फत मुलूकलाइ समुन्नत राष्ट्रका रुपमा विकास गर्न सकिने बताए ।

यस्तै नेकपा प्रवेश गरेका सहकारीकर्मी कृष्ण योगीले नेकपाको आत्मनिर्भर अभियानबाट प्रेरित भएर पार्टी प्रवेश गरेको बताए ।
कार्यक्रममा नेकपा पश्चिम दाङको सामना परिवारले बिशेष सांगीतिक नृत्यहरु प्रस्तुत गरेको थियो ।

नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सीले संचालन गरेको कार्यक्रमको अध्यक्षता नेकपा पश्चिम दाङका सचिव निर्मल सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।