८ पुष २०८१, सोमबार

नेपालको कला संस्कृति सामन्तवाद र साम्राज्यवादी अर्थव्यवस्थाको चपेटामा छ : प्रकाण्ड 

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालको कला संस्कृति सामन्तवाद र साम्राज्यवादी अर्थव्यवस्थाको चपेटामा रहेको बताएका छन् । शुक्रबार मध्यबानेश्वरस्थित डाइनिङ्ग पार्कमा आयोजित जनवादी गीत ‘साम्यवाद’ को सार्वाजनिकीकरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

आफैद्वारा रचित जनवादी गीत साम्यवादको रचनाको पृष्ठभूमि सुनाउदै गीतकार तथा कार्यक्रमका प्रमुख अतिथि प्रकाण्ड सीले जनवादी कला संस्कृतिले जनताको आवाज देशमा भएको अन्याय, अत्याचार र बेथितिको उजागर गरेतापनि यसलाई निमिट्यान्न पार्न र यसको लोकप्रियता खस्काउन जनताको आवाज मुखरित गर्न नदिन नेपालको विद्यमान सामन्तवादी र साम्राज्यवादी अर्थव्यवस्थाको अहम भूमिका रहेको बताए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘विगतमा जनवादी प्रगतिशील भनेर जनतामाझ पस्किएतापनि अब यसलाई समाजवादी साम्यवादी संगीत भन्नुपर्ने बेला आएको छ ।’

उनले आफ्नो गीत संगीतमा लगाव जनयुद्धकालदेखि नै भएतापनि प्रतिकुल परिस्थितिका कारण यसलाई बाहिर उजागर गर्न नसकेको बताए । उनले गीत लेख्ने सोचाइ जनयुद्दकालमा पनि आफ्नाे मानस्पटलमा रहेको भन्दै आज आएर यो सोच पूरा गर्न सहयोग गरिदिएकोमा गायक, गीतकार संगीतकार चिरन पुन लगाएत गीतसँग अनुबन्धित सबै कलाकारहरुको खुलेर प्रशंसा गरे ।

नेपालमा राणा, पञ्चायतलाई पराजित गर्ने होस् या प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होस् २०४६ सालपछि भएका विभिन्न परिवर्तनजकारी आन्दोलनका साथै जनयुद्ध जनआन्दोलनमा पनि जनवादी, प्रगतिशील गीत संगीतले जनताको चेतनालाई उजागर गरेका कारण आजको परिवर्तन सम्भव भएको जिकिर गरे ।
उनले थपे, पार्टीको नवौ महाधिवेशनमा मेरो दिमागमा आएको गीत महाधिवेशनको चापले पूर्ण रुप दिन सकिएन । पछि चुनाव बहिस्कारको बेलालाई सदुपयोग गर्दै म लगाएत साम्यवादसङ्ग अनुबन्धित कलाकारहरुको अथाह मेहनतले आज सार्वजनिक गर्ने अवस्थामा पुग्यौँ । पूर्ण समर्पित भावले कलाकारहरुले गीतप्रति देखाएको आफ्नोपनले आज गीतले यो स्तर पाएको छ ।’

यो सार्वजनिकरणलाई परम्परागत गर्न नखोजेको भन्दै यस्ता कार्यक्रमले जनयुद्द लगाएत विभिन्न सांस्कृतिक आन्दोलनका कलाकारहसङ्ग एकाकार गर्न महत्वपूर्ण हुने भएकाले कार्यक्रम आयोजना गरिएको बताए ।
कला संस्कृति र साङ्गीतिक क्षेत्र भनेको सांस्कृतिक क्रान्तिको क्षेत्र पनि भएकाले नेपालको कला संस्कृतिमाथि हुने सबैखाले हस्तक्षेपलाई सबै मिलेर निमिट्यान्न पार्नुपर्नेमा जोड दिए ।

प्रवक्ता प्रकाण्डले भने, ‘नेपाली संस्कृतिलाई जनताको संस्कृति बनाउन सकिएन अहिले पनि नेपालको कला संस्कृति सामन्तवाद साम्राज्यवादीहरुको कब्जामा छ, यसलाई सांस्कृतिक रुपान्तरणसहित उनीहरुको चंगुलबाट मुक्त बनाउनु पर्छ ।’
कार्यक्रममा नेपालमा विकास भएको पुजिवादी संस्कृति र पछिल्लो राजनीतिक घटनासँग सम्बन्धित कुरा राख्दै उनलेे देशमा जनताले आन्दोलन गर्दै आएकाे तर मुक्ति प्राप्त गर्न नसकेको बताए ।

कला, संस्कृति राजनीति र अर्थव्यवस्थाको ऐना भएकाले दलाल पुजिवादी संसदीय व्यवस्थामाथि धावा बोल्दै समाजवादी कला, सस्कृतिले समाज रुपान्तरणका लागि मिसाइलको प्रतिनिधित्व गर्नुपर्नेमा उनको जोड थियो ।

उनलेे भने, ‘नेपाल अहिले दलाल पुजिवादी संस्कृतिको चपेटामा छ यस्तो संस्कृतिको अन्त्य नगरिएसम्म नेपालको मुक्ती सम्भव छैन । अहिलेको राज्यव्यवस्था राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तवरले तनावग्रस्त छ । यो सब दलाल पुजिवादी व्यवस्थाको उपज हो, यसको अन्त्य समाजवाद, साम्यवादबाट मात्र सम्भव छ, नेपाललाई दलाल पुजिवादको सङ्कटबाट मुक्त गर्न नयाँ कार्यक्रमको जरुरी छ । त्यो भनेको समाजवाद हो, अहिलेका दलाल पुजिवादी व्यवस्थाले सिर्जना गरेको सङ्कट जनताको नेतृत्व र समाजवादी कार्यक्रमबाट हल गर्नु पर्छ ।’

उनले कार्यक्रमको अन्तमा भने, ‘हाम्रो देशको प्रगतिको बाधक भनेको दलाल पुजिवाद र साम्राज्यवाद हो यसलाई समाजवादी कार्यक्रमबाट हल अपरिहार्य छ । यसका लागि विशेषगरी क्रान्तिकारी कम्युनिस्ट, देशभक्त, प्रगतिशीलहरुले एकाकार भएर आन्दोलनको नेतृत्व लियौँ भने हामी निकट भविष्यमा नै समाजवाद र समाजवादी संस्कृतिको स्वर्णिम बगैचामा हुनेछौँ ।’

जनवादी गीत साम्यवाद लोकार्पण समारोहमा गीतसँग अनुबन्धित सबै कलाकारहरुलाई मायाको चिनो प्रधान गरिएको थियो भने प्रवक्ता प्रकाण्डद्वारा रचित जनवादी गीत साम्यवादको शब्द संगीत, म्युजिक भिडियो लगायतमा केन्द्रित रहेर वरिष्ठ जनवादी गीतकार, संगीतकार तथा गायकहरुले समीक्षात्मक मन्तव्य राखेका थिए ।

सुरुवातमै आफ्नो समीक्षात्मक मन्तव्य राख्दै चर्चित जनवादी गीत ‘गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ का गायक श्याम तमोटले जनवादी गीत संगीतको इतिहास स्मरण गर्दै जनताको पक्षमा गीत सङ्गीतको यो स्वरुप आउनुमा २०२४ मा भएको राल्फा आन्दोलन महत्वपूर्ण रहेको बताए ।
चिरन पुनकाे अफिसियल युट्युब च्यानलबाट आज मात्र नेकपाका प्रवक्ताको हातबाट एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको साम्यवाद नामक जनवादी गीतमा जनवादी गायक, सर्जक, संगीतकार, राजनीतिज्ञ चिरन सीको संगीत, प्रकाण्ड सीको शब्द रचना, र रमण थामी, कर्ण विद्रोही, शारदा रसाइली, सुशिला सी, प्रगति महरा लगायतका चर्चित जनवादी कलाकारहरुको आवाज रहेको छ । गीतमा नृत्यकार प्रजिता पौड्याल, सरल सी, सुबिना तामाङ, सङ्गीता सी, मन्दिरा दोङ्ग, महेश्वरमानराज भन्डारी, ध्वनी सम्पादक नारायण दङ्गाल, सङ्गीत संयोजन सुबिर चौहान, टिम कार्टुन साजन चौहान, किरण राई, अशोक घिमिरे, सङ्गिता गुरुङ्ग, लक्षमण सी, प्रस्तुती सी, भिडियो सम्पादन जितु तामाङ लगायतका कलाकारहरु अनुबन्धित रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।