३० कार्तिक २०८१, शुक्रबार

उत्पादन सङ्घर्ष र वर्गसङ्घर्ष एकीकृत गरी विकास गरौं  

0
 
                    भेषराज भुसाल
 
 
 
कमरेड माओको मृत्यु पश्चात विश्व कम्युनिस्ट आन्दोलन किन रक्षात्मक बन्न पुग्यो ? विगतमा लाखौंको त्याग, तपस्या र बलिदानका उच्च कृतिमान कायम गरिएका जनताका राज्य सत्ताहरू किन सहजै पुँजीवादी शोषणकारी राज्य सत्तामा बदलिए ? क्रान्तिमै सहभागी पुस्ताले सम्म त्यसको प्रतिवाद गर्न किन चाहेनन ? वा सकेनन ? माओको मृत्यु पश्चात् सुरु गरिएका जनवादी/समाजवादी क्रान्तिहरू कैयौ देशहरूमा त सफलताको सन्निकट पुगेर पनि पूर्णरुपमा सफल हुन सकेनन् र प्रतिक्रान्तिमा किन बदलिए ? यस्ता अहम प्रश्नहरूलाई नेपाली कम्युनिस्ट आन्दोलनका हस्ती ठानिएकाहरूले अत्यन्त हल्का र सतही पाराले उत्तर दिने गरेकाछन । उदाहरणका निम्ति सोभियतसंघमा समाजवादी सत्ता ढलेको होइन, त्यहाँ त ख्रुश्चेवको संसोधनवादी सत्ता ढलेको हो भन्ने गरेका छन् । त्यसो हो भने लेनिनको नेतृत्वमा स्थापना भएको सोभियत समाजवादी सत्ता कहाँ गयो त ? यसको वस्तुवादी उत्तर दिनु पर्दैन ? साँचो अर्थमा भन्ने आँट गर्नैपर्छ, त्यहाँ समाजवादी सत्ता नै ढलेको हो, बरु ती सत्ताहरू किन ढले ? त्यसको उत्तर दृष्टिकोणमा खोज्नुपर्छ, उत्पादन प्रणालीमा खोज्नुपर्छ र वैज्ञानिक समाजवादी सत्तामा खोज्नुपर्छ । हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पुनर्गठनकालदेखि नै माक्र्सवादी ज्ञान सिद्धान्तका तीनवटै पक्षलाई एकीकृत रुपमा प्रयोग गर्ने र माक्र्ससवादका तीनवटै संघटक अंगहरूमा थप विकास गरी लागू गर्ने विषयमा जोड दिंदै आएको छ । यस लेखमा उत्पादनका निम्ति संघर्ष र वर्गसंघर्षलाई किन र कसरी एकीकृत गरी लागू गर्न आवश्यक छ भन्नेबारेमा सही बुझाई कायम गर्नका लागि माक्र्सवादका तीनवटै संघटक अङ्गहरूको बुझाइमा स्पष्टता हुनु आवश्यक छ । त्यसमा पनि अझ बढी अर्थ प्रणालीका बारेमा स्पष्ट हुनुपर्छ । किनभने राज्यसत्ताको आधारमा विचलन नभइकन उपरीसंरचनामा विचलन आउँदैन । उपरिसंरचनामा विचलन नआइकन आधारमा विचलन आउँदैन । यसको द्वन्द्वात्मक सम्बन्ध हुन्छ । विगतका समाजवादी सत्ता ढल्नुका पछाडिका मूल कारण अर्थप्रणालीमा खोज्नु आवश्यक छ । किनभने दर्शन र विचार अर्थ प्रणालीसँग सम्बन्धित हुन्छन । यस सम्बन्धमा पार्टीको अर्थ दृष्टिकोणमा भनिएको छ, “(१) कम्युनिस्ट अर्थ दृष्टिकोण : ठोस रुपमा भन्नुपर्दा आजसम्मको वर्ग विभाजित मानव समाजको इतिहास मूलतः अर्थ सम्बन्धको इतिहास हो । वैज्ञानिक समाजवाद/साम्यवादले मात्र यो इतिहासलाई बदलेर वर्गविहिन अर्थसम्बन्धमा पु¥याउन सक्दछ । हरेक दर्शन र विचार अर्थसम्बधसँग सम्बन्धित छन् । 
 
कम्युनिस्ट पार्टीको अर्थ दृष्टिकोण 
जे जति र जे जस्ता तर्कहरू दिए पनि विगतमा समाजवादी सत्ता ढल्दा जनताले त्यसको पक्षमा आवाज नठाउनु भनेको उत्पादन प्रणालीमा आम जनता सन्तुष्ट नहुनु नै मुख्य कारण हो । त्यसबाट शिक्षा लिनै पर्दछ । 
नेपाली कम्युनिस्ट आन्दोलनमा पनि माक्र्सवादका तीनवटा संघटक अंगहरू मध्ये दर्शन र वैज्ञानिक समाजवादमा जति अध्ययन र बहस हुने गरेको छ । तीनको तुलनामा राजनीतिक अर्थशास्त्रको क्षेत्रमा अध्ययन, अनुसन्धान, बहस र छलफल हुने गरेको छैन । कमरेड माओले ज्ञान सिद्धान्तमा संश्लेषण गर्नुभएको छ, मानवसभ्यताका महान् ऐतिहासिक आन्दोलनहरू उत्पादनका निम्ति संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोग ज्ञान सिद्धान्तका आधारभूत तत्व हुन् । 
यसमा कसैको पनि फरक मत छैन । तर तीनलाई एकीकृत गरी प्रयोग र थप विकास गर्ने कुरामा गम्भीर रुपमा ध्यान पुगेको देखिंदैन । कमरेड माओका ज्ञान सिद्धान्तलाई एकीकृत रुपमा प्रयोग नगरेसम्म र माक्र्सवादका तीनवटै संघटक अंगहरूमा थप विकास गर्ने आँट र साहस नगरिकन माथि उल्लेखित प्रश्नहरूको उत्तर दिन तथा आजको २१औं शताब्दीमा वैज्ञानिक समाजवादी क्रान्तिलाई विजयमा पु¥याउन सकिँदैन । त्यसको बहस र छलफल त निकै भएका छन् र हरेकले आ–आफ्ना दृष्टिकोण अनुसारका निष्कर्षहरू निकालेका पनि छन् । समग्रमा ती वैज्ञानिक र वस्तुवादी छैनन् । समग्रतामा वैज्ञानिक तथा वस्तुवादी स्पष्ट निकाससहितको निष्कर्ष निकाल्ने र अनेकौं जोखिमहरूको सामना गर्दै व्यवहारमा प्रयोग गर्दै अगाडि बढ्ने आँट र साहस महासचिव कमरेड विप्लव सीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीले गरिरहेको छ । यसोभन्दा विश्व कम्युनिस्ट आन्दोलनका अध्येताहरू, माक्र्सवादका व्याख्याताहरूलाई अझै पाच्य नहुन सक्छ र अनेक तर्कहरू आउन सक्छन् । त्यसता तर्कहरूमा रचनात्मक आलोचना पनि होलान् । त्यस प्रकारका रचनात्मक आलोचनाको सम्मान नै गर्नुपर्दछ । आवश्यकता अनुसार स्वीकार पनि गर्नुपर्दछ । तर जीवन निर्वाहका निम्ति स–साना गुट चलाउनेहरूका ईष्या, डाहा, आग्रह र पुर्वाग्रहबाट गरिने ध्वंसात्मक विरोधहरू र साम्राज्यवाद र दलाल पुँजीवादको पक्षपोषण गर्ने कथित बुद्धिजीवीहरूका कुतर्कहरू तथा भ्रमजालहरूको भने डटेर प्रतिवाद गर्नै पर्दछ । किनभने कुतर्कको त कुरै छाडौ तर्कहरूभन्दा पनि तथ्यहरू बलिया हुन्छन । 
कमरेड माओ भन्नुहुन्छ, “चीन र रुसको ऐतिहासिक अनुभवहरूले के पुष्टि गरेका छन् भने क्रान्तिमा सफलता प्राप्त गर्नका लागि परिपक्व पार्टी हुनु सबैभन्दा महत्वपूर्ण स्थिति हुन्छ ।” व्यवहार बारे माओको उपरोक्त भनाइलाई कसरी बुझ्ने ? कम्युनिस्ट पार्टी परिपक्व हुनका निम्ति मालेमावादका तीनवटै संघटक अंगहरू– दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा परिपक्व हुनु पर्छ कि पर्दैन ? 
उपरोक्त संघटक अंगहरूबारे केवल सैद्धान्तिक रुपले परिपक्व भएर मात्र पुग्दैन । जीवन व्यवहारमा लागू गर्ने आँंट र साहस गरेर परिणाम निकाल्न सक्दामात्र कम्युनिस्ट पार्टी परिपक्व भएको ठहर्दछ । समाजवादी अर्थप्रणालीबारेको बुझाई, व्यवहारमा प्रयोग र व्यवस्थापनमा परिपक्व बन्नै पर्दछ । नयाँ–नयाँ ज्ञान र विचार पनि उत्पादनमूलक सामुहिक श्रम कार्यमा लाग्दा नै प्राप्त हुन्छन् । यससम्बन्धमा अलेक्जान्ड्रा कोलोन्ताइको निम्न भनाइ ध्यान दिन योग्य छ, “यो एउटा साँचो कुरा हो कि आर्थिक विकासका कारण पैदा हुने प्रत्येक नयाँ वर्गले भौतिक संस्कृतिका अनुकुल नयाँ विचारधारालाई जन्म दिने गर्दछ ।” उनले अगाडि लेख्छिन, “विरोधी सामाजिक शक्तिहरूसँग श्रमजीवी वर्गले नयाँ आदर्शहरू र मूल्यमान्यताहरूको आधारमा नै विजय प्राप्त गर्न सक्दछ ।” यौनिक सम्बन्ध र वर्ग संघर्ष, पृष्ठ २३० हिन्दी । यस भनाइबाट पनि के पुष्टि हुन्छ भने जुन तरिकाद्वारा मानिसले जीवनयापन गर्दछ, त्यही अनुसारको उसको चेतनाको विकास हुन्छ । मागेर वा उठाएर जीवन जिउनेहरूको पराश्रित चेतनाको विकास हुन्छ । कम्युनिस्ट पार्टीका नेता कर्याकर्ता आफ्ना जीवन यापनका साधन जुटाउन उत्पादनमूलक श्रम कार्यमा नलाग्ने हो भने त्यही मागिखाने चेतनाको विकास हुन्छ । मागिखाने चेतनाले क्रान्ति हुँदैन । नेता–कार्यकर्ताको दैनिक जीवन र पार्टी सञ्चालन गर्ने मुख्य आधार चन्दा र सहयोग भएपछि पार्टीको मुख्य काम माग्ने र उठाउने हुन्छ । जसले सबभन्दा बढी माग्न र उठाउन सक्छ, त्यही नै सक्षम नेता–कार्यकर्ता मानिन्छ । इमानदार र परिश्रमीको त्यहाँ कुनै कदर हुँदैन । नयाँ आदर्श र मूल्यमान्यता पनि स्थापित गर्न सक्दैन जसको आधारमा वर्गदुश्मनमाथी विजय प्राप्त गर्न सकियोस् । त्यसकारण इतिहासले हामीलाई के सिकाएको छ भने उत्पादनका निम्ति संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोगलाई एकीकृत रुपमा लागू गर्न र त्यसबाट प्राप्त नयाँ चेतनालाई संश्लेषण गर्न अनिवार्य छ । त्यही बाटोमा हाम्रो पार्टी अगाडि बढिरहेको छ । 
महासचिव कमरेड विप्लव सीको नेतृत्वमा हाम्रो पार्टीले कमरेड माओको मृत्युपश्चात् क्रान्ति सम्पन्न हुन नसक्नुका कारणबारे निकालेको निष्कर्षलाई एउटै वाक्यमा भन्नुपर्दा, मानव सभ्यताका महान् तीन ऐतिहासिक आन्दोलनहरू : उत्पादनका निम्ति संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोगलाई एकीकृत गर्न र माक्र्सवादका तीनवटै संघटक अंगहरूमा आजको २१औं शताब्दीमा विकसित नयाँ विशेषता अनुसार थप विकास गरी लागू गर्न नसक्नु हो भन्न सकिन्छ । 
माओवादी ज्ञान सिद्धान्तका तीनवटै विषयलाई एकीकृत गर्न र थप विकास गर्न नेपाल कम्युनिस्ट पार्टीद्वारा गरिएका संश्लेषणहरूमध्ये वर्गसंघर्षलाई कसैको दबाबबिना स्वतन्त्र रुपपमा अगाडि बढाउन, विजयमा पु¥याउनका निम्ति कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता आधारभूत रुपले आत्मनिर्भर बन्नका निम्ति उत्पादनका निम्ति संघर्ष अर्थात अर्थ–दृष्टिकोण कस्तो हुनुपर्दछ भन्नेमा मुख्य रुपमा ध्यान केन्द्रित गरिएको छ । 
अहिले सम्मको नेपाली कम्युनिस्ट आन्दोलनमा उत्पादनकार्यलाई क्रान्ति सम्पन्नतापश्चात् गरिने विषय बनाएर पार्टीलाई परनिर्भरताको दलदलमा फसाउने काम गरियो । आत्मनिर्भरता सम्बन्धमा नेपाली कम्युनिस्ट आन्दोलनमा जब्बर रूपमा जरा गाडेको विषय के हो भने वर्गसंघर्ष र आर्थिक उत्पादनका कार्य सँग–सँगै जान सक्दैनन् वा लैजान सकिन्न भन्ने रहेको छ । अहिले उत्पादन कार्यका लागि निर्माण गरिएका संरचना भोलि लडाइँका बेला दमनकारी राज्यले कब्जा गरिदिन्छ । यो अत्यन्त पछौटे चेतना हो । 
रुखको टोड्कामा बच्चा जन्माएको चराले त आफ्ना बच्चा जोगाउन विषालु सर्पसँग लडिरहेको हुन्छ । सर्पले, चीलले, बाजले खाइदिन्छ भनेर बच्चै नजन्माउने हो भने त्यस प्रजाति कै लोप हुनजान्छ । जसले जन्माउँछ उसले बचाउने उपाय र साहस गरेकै हुन्छ, गर्नै पर्दछ । 
उपरोक्त प्रकारको चिन्तनले चन्दा र आर्थिक सहयोगमा मात्र निर्भर हुने अवस्थाको सिर्जना गरेकोछ । हो आन्दोलनको उचाईका विशेष अवस्थामा आफ्नो मात्र आर्थिक क्षमताले नभ्याउने भएको खण्डमा मित्रशक्तिहरूसँग आर्थिक सहयोगको अपिल गर्नुपर्दछ तर दैनिक पार्टी सञ्चालन र नेता–कार्यकर्ताको दैनिक गुजारा समेत चन्दा उठाएर गर्ने प्रवृत्तिले पार्टी र क्रान्तिलाई कहिल्यै पनि आत्मनिर्भर बनाउँदैन । नेता र कार्यकर्ताका दैनिक आधारभूत आवश्यकतालाई परिपूर्ति गर्नका निम्ति उत्पादनमूलक श्रमकार्यमा लाग्नुको सट्टा दिनभरी झोला बोकेर लखर–लखर हिंडि दैलो–दैलो चहारेर हिँड्नु साँचो अर्थको क्रान्तिकारी हुनसक्दैन । यस प्रवृतिले मुखले जति चर्को रुपमा वर्गसंघर्षको कुरा गरे पनि व्यवहारमा वर्गसंघर्षलाई कमजोर बनाउने गर्दछ । जुन वर्गसँग संघर्ष गर्नु पर्नेछ, त्यही वर्गबाट आर्थिक सहयोग लिएर दैनिक गुजारा चलाउने पार्टीले संघर्ष उठाउने नैतिकता समेत गुमाउँदछ । उदाहरणका निम्ति मानव तस्करको रुपमा जनतामा बदनाम भएका मेनपावर कम्पनीहरू, शैक्षिक माफियाहरू, भूमाफियाहरू, तस्करहरू, कमिशनखोरहरू र भ्रष्टहरूसँग आर्थिक सहयोगको नाममा चन्दा उठाएर दैनिक गुजारा चलाउने नेता–कार्यकर्ता भएको पार्टी वर्गसंघर्ष होइन, वर्गसमन्वयको बाटोमा जान बाध्य हुनपुग्दछ । वर्गसंघर्षलाई सही ढंगबाट अगाडि बढाउनका लागि कसैले औंला ठडाउन र हेप्न नसक्ने नेता–कार्यकर्ता भएको पार्टी चाहिन्छ । त्यस्तो पार्टी तबमात्र बन्न सक्छ, जब नेता र कार्यकर्ताले आफ्नै श्रममा बाच्ने आँट र साहस गर्दछन् । 
कम्युनिस्ट पार्टी श्रमजीवी जनताको सत्ता पनि हो । क्रान्तिकालमा पनि आम श्रमजीवी जनतालाई जनसत्ताको अभ्यास र अनुभूति गराउनु पर्दछ । जनसत्ताका समग्र कार्यहरूमध्ये क्रान्तिकालमा सुरक्षा र न्याय प्रमुख रुपमा अगाडि आउँछन । चन्दामा मात्र टिकेको पार्टीले आम जनतालाई न्याय र सुरक्षा पनि दिन सक्दैन । यो उसको व्यक्तिगत चाहनाभन्दा पनि अन्याय गर्नेले चन्दा दिएको भरमा आफ्नो पक्षमा प्रभाव पार्नसक्छ र पीडितले वास्तविक न्याय पाउन सक्दैन । यसको निचोड हो, आत्मनिर्भरताले अन्यायका विरुद्ध विद्रोहतर्फ उन्मुख गराउँछ भने परनिर्भरताले आत्मसमर्पणतर्फ उन्मुख गराउँदछ । हिजोका दिनमा त्याग, तपस्या र बलिदानको कोटा चुक्ता गर्न पनि तयार भएका र संयोगले बाँचेका कैयौं कम्युनिस्ट नेताहरू आज भ्रष्ट भएर जेलमा सम्म पुग्नुका पछाडि उत्पादनमूलक श्रममा सहभागी नहुनु र भ्रष्ट, कमिशनखोर, तस्कर र भूमाफियाहरूको सङ्गत गरेर जीवन बिताउने प्रवृत्ति नै मुख्य कारण हो । यसो भनेर जनतासँग चन्दा र सहयोग लिनै हँुदैन भन्ने अर्थमा भने बुझ्नु हुँदैन । राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजिविकाको लागि गरिने आन्दोलनमा जनतासँग क्षमता अनुसारको सहयोग माग्नु पर्दछ र त्यो पारदर्शी पनि हुनुपर्दछ । यहाँ मूलरूपमा भन्न खोजेको विषय के हो भने पार्टीका नेता–कार्यकर्ताले आफ्नो दैनिक जीवन पनि चन्दा उठाएर चलाउने परिपाटिको पूर्णरुपमा अन्त्य गर्नुपर्दछ । नेता–कार्यकर्ता आफ्नै श्रममा बाँचेका छन् । चन्दा र सहयोगको एकपैसा पनि निजी प्रयोजनको लागि खर्छ गरेका छैनन भन्ने कुरा आम जनताले पूर्णविश्वासका साथ अनुभूत गर्ने अवस्थाको सिर्जना गर्नै पर्दछ । नेता–कार्यकर्ताको दैनिक जीवनयापनको स्रोतमात्र होइन, उनीहरूको सम्पत्ति अलिकति पनि वृद्धि भएको छ भने त्यसको पनि स्रोत पारदर्शी रुपमा जनताले थाहा पाउनु पर्दछ । श्रममा आधारित स्रोत नदेखिएमा त्यस्तो सम्पत्तिलाई जनताले सार्वजनिक सम्पत्तिमा बदल्न सक्ने सुनिश्चित गरिनु पर्दछ । 
यस्तो प्रवृत्तिका विरुद्ध केवल आलोचनात्मक चेत भएर मात्र हुँदैन । त्यसको अन्त्यका लागि योजनावद्ध रुपले सिङ्गो पार्टीलाई आत्मनिर्भर बनाउनका निम्ति उत्पादनमूलक श्रम–कार्यमा परिचालन गर्नु आवश्यक छ । यही उद्देश्य पूर्तिका लागि नेपाल कम्युनिस्ट पार्टीले उत्पादन अभियान सञ्चालन गरिरहेको छ । महासचिव विप्लवले उदघोष गर्नुभएको छ कि अबको तीन वर्षभित्र पार्टीलाई आत्मनिर्भर बनाउनु छ । बनाउन सकिन्छ । 
वर्गसंघर्ष र उत्पादन कार्यलाई सँग–सँगै लैजान सकिन्न भन्नु पराश्रित बन्ने चिन्तन प्रवृत्ति हो । यसबाट माथी उठेर वर्गसंघर्ष र उत्पादन–संघर्ष दुवै कार्यलाई निरन्तर सञ्चालन गर्नुपर्दछ । हो, कुनै बेला वर्ग संघर्ष प्रधान हुन जाँदा उत्पादन कार्य सहायक हुनसक्छ । तर उत्पादन कार्यलाई रोक्नु हँुदैन । विगतका प्रतिक्रान्तिबाट शिक्षा लिने हो भने क्रान्तिकालबाटै आत्मनिर्भरताको पहिलो आधार– कृषि उत्पादनलाई योजनावद्ध रुपमा अगाडि बढाउनु अनिवार्य हुन्छ र उद्योगहरू सञ्चालन गर्ने व्यवस्थापकीय क्षमताको पनि आधार खडा गर्दै जानुपर्दछ । विगतका समाजवादी क्रान्तिहरूमा विषेश गरी सोभियत संघमा क्रान्तिपश्चात् मात्र एकैचोटि व्यापक रुपमा सामुहिककरण र यान्त्रिकीकरण गर्नुप¥यो जहाँ जनता व्यवहारिक रुपमा अभ्यस्त नभएका कारण कैयांै जटिलताको सामना गर्नुप¥यो । सन १९१८को सुरुवातसँगै सोभियत सत्ताले कृषि सङ्कट झेल्नु परेको थियो । धनी किसान र उच्चमध्यम वर्गीय किसानहरूको एउटा ठूलै हिस्साले सोभियत सत्तालाई अनाजको आपूर्ति रोकिदिएको थियो र मुनाफाखोर कालाबजारीयाहरूलाई आपूर्ति गरिरहेको थियो भने उद्योगहरूको क्षेत्रमा मजदुरहरूद्वारा कब्जा गरिएका कारखानाहरूलाई कारखाना समितिहरूले एक वर्ष पनि सञ्चालन गर्न सकेनन् । कैयौं स्थानमा पुनः मालिकहरू कै जिम्मा लगाइदिए भने केही स्थानहरूमा त मजदुरले कारखानाका उपकरणहरू नै बिक्री गरेर गाउँतिर लागेका थिए । त्यसबाट शिक्षा लिएर आजका जनताका चाहना र आवश्यकताहरूको सम्बोधन गर्दै पूर्णसामुहिकीकरणमा पुग्ने उद्देश्य अनुरुप एकीकृत स्वामित्वको अवधारणाको विकास गर्दै हाम्रो पार्टीले योजनाबद्ध रुपमा उत्पादनका निम्ति संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगलाई एकीकृत रुपमा अगाडि बढाउने सैद्धान्तिक निर्णय मात्र होइन व्यवहारिक रुपमा लागुगर्दै अगाडि बढेको छ । त्यसका साथै माक्र्सवादका तीनवटै संघटक अंगहरूमा थप विकास पनि गरेको छ । 
सर्वप्रथम हामी के कुरामा स्पष्ट हुनुपर्दछ भने मालेमावादका सार्वभौम नियमको रक्षाका नाममा मालेमावादलाई गतिशील विज्ञानका रुपमा बुझेर आवश्यकतानुसार थप विकास गर्ने तर्फ जोड नगर्ने, बरु जडसूत्रका रुपमा बुझ्ने जडसूत्रवाद र वर्गसंघर्ष, बल प्रयोग तथा सर्वहारा वर्गीय अधिनायकत्व र उत्पादनमा स्वामित्वको स्वरुपलाई तिलाञ्जली दिएर केवल उत्पादकत्व वृद्धिलाई मात्र जोड दिने संशोधनवादी चिन्तनका विरुद्धको वैचारिक संघर्षलाई निर्णायक बनाई मालेमावादमा थप विकास गरेर मात्र मालेमावादको रक्षा हुनसक्छ भन्ने कुरालाई क्रान्तिकारीहरूले दह्रोसँग आत्मबोध गर्नुपर्दछ । कमरेड माओले तीनवटै आन्दोलनलाई सँग–सँगै अगाडि बढाउनुभयो । “क्रान्तिलाई दह्रोसँग पकड र उत्पादनलाई बढाउ ।” भन्ने माओको भनाइहरूको मर्मलाई गहिराईमा गएर बुझौं ।
हामीले माओको उपरोक्त भनाइलाई बुझेर व्यवहारमा लागू गर्नु पर्ने कुरा के हो भने आत्मनिर्भरताबिना स्वाधिनता र स्वाभिमान संभव हुँदैन । स्वाधिनता र स्वाभिमान गुमाएको कम्युनिस्ट पार्टीले क्रान्तिलाई विजयसम्म पु¥याउने त कुरै हुँदैन, उसले त क्रान्तिको सुरुवात पनि गर्न सक्दैन । यसोभन्दा प्रश्न उठ्न सक्ला कि दश वर्षे महान् जनयुद्ध कसरी सुरुभयो त ? त्यसलाई पनि आर्थिक दृष्टिकोणबाट राम्रोसँग विश्लेषण गर्नु आवश्यक छ । महान् जनयुद्ध दुर्गम ग्रामीण क्षेत्रहरूबाट सुरुभयो । हामी सबैलाई राम्रैसँग थाहा छ कि रोल्पा, रुकुम, कालिकोट, गोर्खा र सिन्धुलीलगायतका ग्रामीण क्षेत्रहरूबाट महान् जनयुद्धको थालनी भएर देशका समग्र ग्रामीण क्षेत्रहरूमा फैलियो । ती स्थानहरूमा आधुनिक शिक्षा, स्वास्थ्य, यातायात र संचार सुविधाबाट वंचित भए पनि आत्मनिर्भरताको आधारभूत कुरा खाद्यान्नमा त्यतिबेला ती ग्रामीण क्षेत्रहरू करिब–करिब आत्मनिर्भर नै थिए । सबैका पक्की घर नभए पनि आवास कै समस्या भने थिएन । खास गरेर नून, लत्ता–कपडा र भाँडाकुँडामात्र खरिद गर्नुपर्दथ्यो । कैयौं गाउँहरूमा त लत्ता–कपडा पनि आफै उत्पादन गर्दथे । खरिद गर्नेहरूले पनि आफ्नै कृषि, पशुपालन र हस्तकलाका वस्तु विक्री गरेर प्राप्त मुद्राद्वारा खरिद गर्दथे । अपुग हुनेहरूले पनि आफ्नै गाउँ–टोलबाटै ज्याला मजदुरी गरेर गर्जो टार्ने गर्दथे । आजको जस्तो वैदेशिक खाद्यान्नमा परनिर्भरता थिएन । जनयुद्ध थालनिका ५–६ वर्षसम्म जनताको त्यो आत्मनिर्भर अर्थतन्त्रले राम्रैसँग थेग्न सक्यो । जनताको त्यो आत्मनिर्भर अर्थतन्त्रलाई जनयुद्धले प्रोत्साहित ग¥यो । पछिल्लो चरणमा जनवादी अर्थप्रणालीका आधारहरू खडा गर्दै गएको पनि थियोे । उपरोक्त कारणले गर्दा ग्रामीण क्षेत्रका मानिसहरूमा उच्च स्वाभिमान थियो र त महान् जनयुद्धमा हजारांैको संख्यामा लामबद्ध भए । सबै कुरा यतिमात्र त हुन नसक्ला, अन्य सबै पाटा–पक्षमा पनि अध्ययन र विश्लेषण त गर्नु पर्ला यद्यपि महान् जनयुद्धमा ग्रामीण क्षेत्रका स्वाभिमानी किसानहरूको तुलनामा शहरी क्षेत्रका मानिसहरू लामबद्ध हुन सकेनन् । किनभने २०४६ सालपछि दलाल पँुजीवादी उत्पादन प्रणालीले नेतृत्व नै गर्न थालिसकेको थियो । दलाल पँुजीवादी उत्पादन प्रणाली भने कै परनिर्भरताको परिचालक हो । त्यसले शहरी क्षेत्रमा आफ्नो प्रभाव पारिसकेको थियो । 
त्यसैले शहरी क्षेत्रमा परनिर्भरता मौलाइसकेको थियो । उत्पादनमूलक श्रमबाट मानिस क्रमशः कट्न थालेको थिए । काठमाडौंका अधिकांश रैथाने बासिन्दाहरू उत्पादनमूलक श्रमतर्फ होइन कि जग्गा विक्री गर्ने र घर–भाडा उठाएर जिविका चलाउन थालिसकेका थिए । हरेक आन्दोलनमा काठमाडौ बाहिरबाट ज्याला मजदुरी गर्न, सानातिना ब्यापार व्यवसाय गर्न र गाउँ–गाउँबाट अध्ययन गर्न सहर गएका किसानका सन्तानहरू अग्रभागमा देखिन्थे र अहिले पनि देखिन्छन । यसले के साबित गर्दछ भने उत्पादनमूलक श्रमबाट कटेको मानिस संघर्षतर्फ नेतृत्वदायी भूमिका निर्वाह गर्न तत्पर हुँदैन । त्यसैले उत्पादनमूलक श्रममा सहभागी बन्दै आधारभूत रुपमा आत्मनिर्भर हुनु क्रान्तिकारीहरूका लागि अनिवार्य हुनजान्छ । महान् जनयुद्धको पछिल्लो चरणमा देखापरेको एउटा समस्या पार्टी र सेनाको खाद्यान्न आपूर्ति पनि एक हो । तत्कालीन दमनकारी राज्यले सामान्य मानवीय मूल्य–मान्यतालाई समेत सैन्य बुटले कुल्चिएर खाद्यान्न र औषधि समेत गाउँमा लैजान नदिनु, पार्टीले जनयुद्धको थालनीसँगै खाद्यान्न उत्पादनको योजना बनाउन नसक्नु । जनताको निजी उत्पादनले मात्र धान्न सक्ने अवस्था नरहनु, तर पार्टी र सेना जसरी पनि पालिनुपर्ने कारणले जनता माथि ठूलो बोझ पर्नगयो । यसै अन्तरविरोधमा टेकेर देशी–विदेशी प्रतिक्रियावादी तत्वहरूले केही ठाउँमा त आम जनतालाइ पार्टीका विरुद्ध प्रयोग पनि गरे । यसबाट हामीले शिक्षा लिनै पर्दछ । 
कमरेड माओले क्रान्ति र उत्पादनलाई सँग–सँगैअगाडी बढाउन गरेको निर्देशलाई आत्मसाथ गर्नै पर्दछ । गतिशील विश्वका समकालीन वस्तुगत अवस्था आ–आफ्ना देशका भौगोलिक अवस्थिति, मौलिकता र विशेषताहरूलाई माक्र्सवादका सार्वभौम नियमहरूसँग एकीकृत गर्नुपर्ने आवश्यकताको बोध गराउँदै माओले भन्नुभएको छः
“सर्वहारा वर्गको माक्र्सवादी दर्शन पनि झन् बढी सजीव रुपमा समकालीन राजनीतिक कार्यको सेवा गर्ने कुरासँग सम्बन्धित छ । माक्र्स, एंगेल्स, लेनिन र स्तालिनका कृतिहरू पढ्नु अपरिहार्य छ । त्यो काम पहिलो हुन आउँछ तर जुनसुकै देशका सर्वहारा वर्गीय दार्शनिक पङ्तिले पनि उनिहरूले सामना गरिरहेका राजनीतिक कार्यहरूको सेवा गर्नका लागि नयाँ सिद्धान्त सिर्जना गर्नुपर्दछ र स्वयं आफ्नै दार्शनिक जन्माउनु पर्दछ ।” माओ, सोभियत पाठ्यपुस्तक, राजनीतिक अर्थशास्त्रको आलोचनात्मक अध्ययन पृष्ठ ९० । 
कमरेड माओका उपरोक्त दुईवटा उद्धहरणले मानव सभ्यताका तीनवटै महान् आन्दोलनहरूलाई एकीकृत रुपमा अघि बढाएको प्रष्ट देख्न सकिन्छ । त्यसो नगरिकन समाज रुपान्तरणको वैज्ञानिक जनवादी÷समाजवादी क्रान्ति सम्पन्न गर्न असंभव हुन्थ्यो । कमरेड माओले माक्र्सवादका सार्वभौमिक नियमहरूलाई आफ्नो समयको समाज विकासको गति र चिनियाँ विशेषता अनुसार माक्र्सवादमा थप विकास गरेर मात्र चिनियाँ जनवादी÷समाजवादी क्रान्ति सम्पन्न गर्नुभयो । माक्र्सवाद–लेनिनवादलाई माओवादमा विकास गर्नुभयो । हामीले पनि उपरोक्त विषयहरूमा गम्भीर रुपमा ध्यान दिएका छाैँ । 
महासचिव कमरेड विप्लव सीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीले उपरोक्त तीनवटै आन्दोलनहरूलाई एकीकृत गर्दै र आजको २१औं शताब्दीमा समाज विज्ञान र प्रकृति विज्ञानमा भएका अभूतपूर्व विकासले नेपाली समाजमा पारेको प्रभावका साथै नेपाली मौलिकता, विशेषता र भौगोलिक अवस्थिति अनुसार मालेमावादमा थप विकास गरी अगाडि बढिरहेको छ । 
उत्पादनका निम्ति संघर्षमा मुख्यरुपमा स्वामित्वको स्वरुपको प्रश्न प्रमुख र निर्णायक हुने गर्दछ । स्वामित्वको स्वरुपले नै उत्पादनमा सहभागी मानिसहरूको आपसी सम्बन्ध र हैसियत निर्धारण गर्दछ । र, वितरणको स्वरुप पनि स्वामित्वको स्वरुपले नै निर्धारण गर्ने भएकाले सर्वप्रथम स्वामित्वको प्रश्नमा स्पष्ट हुनुपर्दछ । त्यसैले नेपाल कम्युनिस्ट पार्टीले उपरोक्त उत्पादन प्रक्रिया, उत्पादन प्रक्रियामा स्वामित्वको स्वरुप र वितरणको प्रक्रियाका सम्बन्धका बारेमा विगतका अन्तर्राष्ट्रिय शिक्षा, विगतका हाम्रा आफ्नै शिक्षा र वर्तमानका विशेषता र जनताका चाहना तथा आवश्यकता अनुसार महत्वपूर्ण संश्लेषण गरी व्यवहारिक रुपमा प्रयोग गरिरहेको छ । संभवत माओको मृत्युपश्चात् विश्व कम्युनिस्ट आन्दोलनमा र विशेषगरी नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा योजनाबद्ध रुपमा समाजवादी अर्थदृष्टिकोण सहित उत्पादन अभियान सञ्चालन गर्ने पार्टी नेपाल कम्युनिस्ट पार्टी हो भन्दा अतिशयोक्ति हुँदैन । उपरोक्त संश्लेषणहरूलाई बुँदागत रुपमा छलफल गर्न सकिन्छ : 
१) उत्पादनको क्षेत्रमा : आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता र आत्मनिर्भर कार्यकर्ता हुँदै आत्मनिर्भर जनता र कृषिमा आत्मनिर्भरताका साथै उद्योगद्वारा समृद्ध राष्ट्र निर्माणको स्पष्ट खाका अघिसारेको छ र त्यसलाई लागू गर्न सर्वप्रथम निर्णयकर्ताहरू नै अघि बढ्नुपर्दछ भन्दै दस्तावेजमा भनिएको छ– “कम्युनिस्ट नेताहरू आर्थिक विषयमा सहभागी हुँदा केवल नीतिगत पक्षमा मात्र होइन, उत्पादन कार्यमा पनि सहभागी बन्नु पर्दछ ।” – विप्लव, कम्युनिस्ट पार्टीको आर्थिक दृष्टिकोण पृष्ठ– ५३ । दस्तावेजको उपरोक्त निर्णयलाई आत्मसात गर्दै पार्टीको मूल नेतृत्वसहित सम्पूर्ण नेतृत्वको टीम, सम्पूर्ण कार्यकर्ता, जवस र मोर्चाका नेता–कार्यकर्ता तथा शुभचिन्तक जनता समेत २०औं दिनसम्म घाम–पानी नभनि निरन्तर खेत–बारीमा खटिएका छन् । नियमित रुपमा उत्पादन विभागका कमरेडहरू खटिने र बाली लगाउने र स्याहार्ने बेलामा सम्पूर्ण पार्टी पङ्ति खटिने व्यवस्था मिलाइएको छ । कुनै एक दुई ठाउँमा मात्र होइन, देशव्यापी रुपमा हिमाली जिल्लादेखि तराईका जिल्लासम्म उत्पादन अभियान सञ्चालन भइरहेका छन् । पार्टीका पोलिट्ब्युरो सदस्यहरू, पार्टीका विभिन्न तहका पूर्णकालीन युवायुवतीहरूउत्पादन विभागकै जिम्मा लिएर कुटो–कोदालो बोकेर खेतबारी र पशुपालनका निम्ति (गाईबाख्रा चराउन) खुसिसाथ वन–जङ्गलमा हिंडिरहेका छन् । उत्पादनका निम्ति संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोग अविभाज्य हुन्छन् भन्ने कुरालाई पार्टीले दह्रोसँग आत्मसात गरेको छ । उत्पादनमा सहभागी नभइकन सञ्चालन गरिएको आर्थिक जीवन जुनसुकै रुप र आवरणमा भए पनि त्यो परजीवीपूर्ण जीवन बन्न पुग्छ भन्दै दस्तावेजमा स्पष्ट भनिएको छ, “उत्पादन कार्यबिनाको आर्थिक जीवन एक खालको परजीवी वा शोषणमा आधारित जीवन बन्नपुग्छ ।” कमरेड विप्लव, दस्तावेज, कम्युनिस्ट अर्थ दृष्टिकोण पृष्ठ ५६ ।
महासचिव कमरेड विप्लवद्वारा प्रस्तुत तथा केन्द्रीय समितिद्वारा सर्वसम्मत रुपमा पारित दस्तावेजको मर्मलाई सिङ्गो पार्टीले तदारुकताका साथ जीवन व्यवहारमा लागू गरिरहेको छ । हाम्रो पार्टीको आर्थिक उत्पादन सम्बन्धी समग्र आमनीतिलाई निम्नानुसार सूत्रवद्ध गर्न सकिन्छ :
क)श्रममा भाग लिन उमेर र अवस्थाले नसक्ने बाहेक सबै नागरिक अनिवार्य उत्पादनमूलक श्रममा सहभागि हुनुपर्दछ । यो प्रत्येक नागरिकको कर्तव्य हुनुपर्दछ । 
ख)नाफा नोक्सानमा सबैको भागिदारिता हुनुपर्दछ । यो सबै नागरिकको उत्तरदायित्व हुनुपर्दछ । 
ग)उपभोगमा सबैलाई व्यक्तिगत स्वतन्त्रता प्राप्त हुनुपर्दछ । यो प्रत्येक नागरिकको अधिकार हनुपर्दछ । 
हाम्रो उद्योग व्यापार सम्बन्धी नीतिहरू पार्टीका दस्तावेजहरूमा प्रष्ट नै छन् । यसरी एकीकृत जन क्रान्तिको उत्पादन र उपभोग सम्वन्धी नीति निर्माण गरिएको छ । 
 २. क) वितरणको क्षेत्रमा : वितरणको स्वरुप उत्पादनका साधनमाथिको स्वामित्वको स्वरुपले निर्धारण गर्दछ । उत्पादनका साधनमाथि मुठ्ठीभर शोषक वर्गको निजी स्वामित्वलाई अन्त्य नगरेसम्म र उत्पादनमूलक श्रमकार्यमा सबै सहभागी नभइकन वितरण न्यायपूर्ण हुन सक्दैन । क्रान्तिको मुख्य कार्य नै उत्पादनका साधनमाथिको स्वामित्व परिवर्तन गर्नु नै हो । 
लेनिनले धेरै ठाउँमा उल्लेख गर्नुभएको छ, क्रान्तिको केन्द्रीय कार्यभार उत्पादनका साधनमाथिको स्वामित्व परिवर्तन गर्नु नै हो । क्रान्तिको मुख्य कार्यभार पूरा गरिसकेपछि वैज्ञानिक समाजवादी राज्य व्यवस्थामा आर्थिक प्रणाली  कस्तो हुने भन्ने कुराको अनुसन्धान गरी क्रान्तिकाल मै पनि प्रयोग गर्नु आवश्यक छ । निजी आवश्यकता र निजी स्वामित्व धेरै फरक कुरा हुन् भन्ने कुरालाई राम्रोसँग हेक्का राख्नु पर्दछ । क्रान्तिकाल बाटै नेतृत्व पंक्तिले निजी उत्पादनबाट मुक्त हुनुपर्दछ र सामुहिक उत्पादनमा लाग्नु पर्दछ । यसरी सामुहिक उत्पादनमा लाग्दा नेतृत्वको हकमा योग्यता अनुसारको काम र आवश्यकता अनुसारको दामको वितरण प्रणाली वैज्ञानिक हुन्छ । आवश्यकता असीमित हुने हुनाले आवश्यकता अनुसारको दामलाई कसरी परिभाषित गर्ने भन्ने प्रश्न खडा हुन्छ । यसबारे दस्तावेजमा भनिएको छः “आवश्यकतालाई उत्पादन र खपतको अवस्था अनुरुप व्यवस्थापन गर्नु कम्युनिस्ट दृष्टिकोण हो भने आवश्यकतालाई उपभोगवादसम्म तन्काएर प्रयोग गर्नु भनेको पुँजीवादी फजुल खर्ची र विलासी प्रवृती हो ।” विप्लव, –कम्युनिस्ट पार्टीको आर्थिक दृष्टिकोण, पृष्ठ ५५
हाम्रो यस निर्णयले आवश्यकतालाई लम्बाएर विलासी जीवनतर्फ जाने प्रवृत्तिलाई रोक्दछ । र कम्युनिस्ट पार्टीको नेतृत्वलाई निजी आर्थिक जीवनबाट अर्थात् निजी स्वामित्वको लोभ लालचबाट मुक्त भई समाजको पथप्रर्दशक र आदर्श बन्ने मार्गतर्फ अग्रसर बनाउँदछ । 
२. ख) कार्यकर्ताको सवालमा नेतृत्वको भन्दा अलि खुकुलो नीति आवश्यक हुन्छ । कार्यकर्ताका निम्ति योग्यता अनुसारको काम, काम र आवश्यकता अनुसारको दामको नीति वैज्ञानिक र व्यवहारिक हुन्छ । 
कार्यकर्ताको आर्थिक जीवन समाजवादी सामुहिक स्वामित्वतर्फ उन्मुख हुनुपर्दछ । कार्यकर्ताको अर्थ जीवनबारे दस्तावेजमा भनिएको छ ः “कम्युनिस्ट कार्यकर्ताको अर्थ–जीवन जनताभन्दा भड्किलो, उत्ताउलो, खर्चिलो र विलासी हुनुहँुदैन । उनीहरूको जीवन सुव्यवस्थित, सरल एवम् पारदर्शी हुनुपर्छ ।”– विप्लव, कम्युनिस्ट पार्टीको आर्थिक दृष्टिकोण – पृष्ठ ५७ । 
विगत नेपाली कम्युनिस्ट आन्दोलनमा अर्थ दृष्टिकोण सम्बन्धी रहेका गलत विरासतबाट मुक्त हुनैपर्दछ । सैद्धान्तिक रुपमा हामी दुईवटा प्रवृत्तिबाट मुक्त हुनुपर्दछ भनी दस्तावेजमा उल्लेख गरिएको छ, “हामी आर्थिक सम्बन्धमा काल्पनिक आदर्शवाद र अर्थवादी व्यवहारवाद दुवैबाट बच्न जरुरी छ । काल्पनिक आदर्शवादले विचार र आवश्यकताको अन्तरसम्बन्धलाई ठीक ढंगले समाधान गर्न सक्दैन र द्वैतअर्थि जीवन भोग्ने पाखण्डिमा परिणत गरिदिन्छ । अर्थवादी व्यवहारवादले सिद्धान्त र आदर्शलाई उपभोगवादको दलदलमा डुबाइदिएर वैज्ञानिक मान्यताहरूप्रति नै भयानक द्विविधा र अविश्वास खडा गरी दिन्छ हामीले यी दुवै विचलनबाट बच्दै सिद्धान्त र व्यवहार, आदर्श र जीवनको द्वन्द्वात्मक एवम् जीवन्त प्रयोगलाई आत्मसात गर्नुपर्दछ ।”– विप्लव, कम्युनिस्ट पार्टीको आर्थिक दृष्टिकोण, पृष्ठ ५०–५१ । 
अतः कार्यकर्ताको वितरण प्रणाली योग्यता अनुसारको काम, काम र आवश्यकता अनुसारको दाम उपयुक्त हुन्छ । 
२. ग) आम श्रमजीवी जनताको हकमा पँुजीवादी उत्पादन प्रणालीमा गरिने अतिरिक्त श्रमसमयको शोषणबाट मुक्त गरी योग्यता अनुसारको काम र काम अनुसार कै दामको वितरण प्रणाली नै लागू गर्नुपर्दछ । यसो गरेर आजको जुन परिस्थिति छ, नेता सबभन्दा धनी, कार्यकर्ता जनताभन्दा धनी र श्रमजीवी जनता सबभन्दा गरीब यसलाई ठीक उल्टो बनाउनु पर्दछ । र, सम्पूर्ण जनतालाई योग्यता अनुसारको काम र आवश्यकता अनुसारको दाम प्राप्त हुने महान् साम्यवादी समाजमा रुपान्तरण गर्ने उद्देश्य लिनुपर्दछ । 
उपरोक्त सैद्धान्तिक मान्यतालाई जीवन व्यवहारमा प्रयोग गर्न मानवीय आवश्यकताहरूलाई वैज्ञानिक रुपबाट वर्गीकरण गरी परिभाषित गर्नु आवश्यक हुन्छ । जसअनुसार मानवीय आवश्यकताहरूलाई तीन भागमा वर्गीकरण गरी परिभाषित गर्नु पर्दछ ः
क) सार्वभौमिक आवश्यकता । 
ख) विशिष्ट आवश्यकता । 
ग) वैव्यक्तिक आवश्यकता । 
 क) सार्वभौमिक आवश्यकतालाई आधारभूत आवश्यकता पनि भन्न सकिन्छ । जस अन्तर्गत मूलरूपमा गास, बास, कपास, शिक्षा, स्वास्थ्य, यातायात र संचार पर्दछन । यी आवश्यकताहरूमा सम्पूर्ण जनताको पूर्णरुपमा समानताको हक सुनिश्चित हुनुपर्दछ । पदीय जिम्मेवारीका हिसाबले असमानता गरिनु हुँदैन । 
ख) विशिष्ट आवश्यकताभित्र पदीय जिम्मेवारी, कामको प्रकृति र शारीरिक अवस्थाका कारण आवश्यक पर्ने वस्तुहरूको आवश्यकतालाई बुझ्नु पर्दछ । ती आवश्यकताहरू पनि पूरा गर्नु नै पर्दछ । त्यस्ता आवश्यकता पूरा गर्दा सर्वप्रथम ती औचित्यपूर्ण छन् भन्ने कुरा पुष्टि गर्नुपर्दछ । दोस्रो ती वस्तुहरूको आपूर्ति संस्थागत निर्णयद्वारा गरिनु पर्दछ, तेस्रो ती पारदर्शी रुपमा प्रयोग हुनुपर्दछ र चौथो जुन जिम्मेवारी, कामको प्रकृति र शारीरिक अवस्थाका कारणले वस्तुहरूको प्रयोग गर्नु पर्ने हो, ती अवस्था नरहेमा फिर्ता गर्ने सुनिश्चित गर्नुपर्दछ । 
ग) वैयक्तिक आवश्यकता भन्नाले व्यक्ति सामुहिकता र निजीत्वको योग हो । सामुहिकता नै प्रधान हँुदाहँुदै पनि व्यक्तिका इच्छा, स्वभाव, रुचि फरकफरक हुने गर्दछन् । त्यसकारण उसले शारीरिक तथा मानसिक श्रम गरे बापत प्राप्त पारिश्रमिकलाई आफ्नो स्वविवेकमा खर्च गर्न स्वतन्त्र हुन पाउनु पर्दछ । यद्यपि ऊ सर्वहरा वर्गीय आचरण र संस्कृतिको परिधिभित्र भने रहनु पर्दछ । 
२. घ) उत्पादन प्रक्रियामा स्वामित्वको स्वरुपः स्वामित्वको शाब्दिक अर्थ प्रभूत्व, वस्तुमाथी कानुनी अधिकार, आधिपत्य र कब्जा भन्ने लाग्दछ । हामीले राजनीतिक अर्थशास्त्रको भाषामा उत्पादन प्रक्रियामा स्वामित्वको स्वरुप भन्नाले उत्पादनका साधनहरू माथिको स्वामित्वलाई बुझ्नु पर्दछ । माथि पनि उल्लेख गरिएको छ कि विगतका समाजवादी सत्ता असफल हुनुका पछाडि प्रमुख रुपमा उत्पादन सम्बन्धमा देखापरेको समस्या नै हो । अझ ठोस रुपमा भन्नुपर्दा उत्पादनका साधन माथिको स्वामित्व कै समस्या हो । यस सम्बन्धमा दस्तावेजमा भनिएको छ, “वस्तुतः विगतका वैज्ञानिक समाजवादी सत्तामा आएको असफलता भनेको त्यहाँ पैदाभएको अर्थराजनीतिक अन्तरविरोध र चलिरहेको अर्थसम्बन्ध या उत्पादन सम्बन्ध कै असफलता हुन आउँछ । त्यसै गरी आज विश्वमा देखिएको सङ्कट  पनि चलिरहेको भूमण्डलीकृत पुँजीवादको अर्थराजनीतिक सम्बन्ध या अर्थसम्बन्ध कै सङ्कटको विषय हो ।”– विप्लव, राजनैतिक प्रतिवेदन, नवौं महाधिवेशन, पृष्ठ– ८० । सामुहिक उत्पादनमा निजी स्वामित्व नै सम्पूर्ण आर्थिक सङ्कटको मूल कारण हो । 
आजसम्म जनताले अपनत्व लिनेगरी हल गर्न नसकिएको विषय नै स्वामित्वको विषय हो । आदिम साम्यवादलाई छाडेर दासयुग, सामन्ती युग र पुँजीवादी युगका स्वामित्व प्रणाली ठ्याक्कै एउटै प्रकारका नभए पनि ती मूल रुपमा निजी स्वामित्वमा आधारित उत्पादन प्रणाली नै हुन् । निजी स्वामित्वमा आधारित उत्पादन प्रणालीले मानिसहरूका बीचमा वर्ग विभाजित ग¥यो । वर्ग शोषण, उत्पीडन र विभेद ग¥यो । मुठ्ठीभर परजीवी पुँजीपती वर्गले भोगविलास सहितको विलासी जीवन बिताउने र करोडौं श्रमजीवी वर्गले अभाव, अशिक्षा र गरीबीको नारकीय जीवन बिताउन बाध्य थिए र आज पनि छन् । जबसम्म सामुहिक उत्पादनमाथिको निजी स्वामित्वको अन्त्य हुँदैन तबसम्म स्वतन्त्रता, समानता र दिगो शान्ति सम्भव नै छैन । तर प्रश्न कहाँ रह्यो भने लाखौंको त्याग, तपस्या र बलिदानका उच्च कृतिमान कायम गरेर विगतमा स्थापित गरिएका सामुहिक स्वामित्वमा आधारित समाजवादी राज्य व्यवस्थाहरू पनि त टिक्न सकेनन् । सैद्धान्तिक हिसाबले अत्यन्त वैज्ञानिक र वस्तुवादी हुँदाहुँदै पनि त्यस प्रकारका सामुहिक स्वामित्वमा आम जनता किन रमाउन सकेनन ? आजका २१औं शताब्दीका कम्युनिस्ट क्रान्तिकारीहरूले यस प्रश्नको उत्तर खोज्नै पर्दछ । त्यसका निम्ति निजी स्वामित्वबाट पूर्णसामुहिक स्वामित्वमा पुग्नका लागि एउटा संक्रमणकालीन एकीकृत स्वामित्व प्रणाली अवलम्बन गर्नु वैज्ञानिक र वस्तुवादी हुन्छ । जसलाई “आधारभूत आवश्यकता राज्यको दायित्व अत्यधिक समृद्धि व्यक्तिको क्षमता”– कमरेड विप्लव सी । भन्ने नारालाई आत्मसात गर्नुपर्दछ । 
अन्त्यमा उपरोक्त महान् उद्देश्य प्राप्तिका लागि मानव सभ्यताका तीन महान् ऐतिहासिक आन्दोलनहरू उत्पादनका निम्ति संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगमा थप विकास गर्दै अगाडि बढ्न आँट साहस गर्नै पर्दछ । त्यसरी मात्र वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्न सकिन्छ । यहि नै नेपाल कम्युनिस्ट पार्टीले प्रयोग गरिरहेको कार्यदिशा “एकीकृत जनक्रान्ति”को मूल उदेश्य हो ।
 
स्रोत: जनपत्रिका मासिक छैठौँ अंक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।