३ मंसिर २०८१, सोमबार

आफ्नै अतितमा विचरण गर्दा

0

          नारायण शर्मा ‘विपिन’

 

इ है बम्बै नगरिया तु देख बबुवा
सोने–चांदी कि डगरिया तु देख बबुवा
उपरोक्त हिट गीत सुनेर हुर्केको मलाई बम्बै हिरो–हिरोनीको ठाउँ, गुण्डा र डनहरूको अड्डा, गहिरो समुद्र र गनेर नसकिने तला भएको अग्लो बिल्डिङ्ग एउटा रोमाञ्चक अनुभुती पैदा गर्दथ्यो । बम खसेर बनेको खाडी (द्यबथ) भएका कारण बम्बे, बम्बै हुँदै मुम्बई बनेको सहरमा बम खसेको ठाउँ देखिन्छ कि देखिँदैन होला ? मनको एक कुनामा प्रश्न ज्युँंदै थियो । न्यु जलपाइगुडीबाट दादर स्टेसन पुग्ने बेलासम्म रेलको छुकछुकसँगै यी गितहरू रिमिक्स भएर मन भित्रै बजिरहे ।
बम्बै से आया मेरा दोस्त
दोस्तको सलाम करो
रातको खाओ पिओ
दिनको आराम करो …..
सुटेड बुटेड भएर बम्बै कमाउन गएकाहरू फर्किन्थे । कालो चस्मा, आइरन फक्स छालाको जुत्ता अनि तिनिहरूले हान्ने गफ खतरै हुन्थ्यो । उनका साथीसङ्गीहरू र आफन्तहरूलाई ल्याइदिएको कपडाहरू र अरु कोसेलीहरू देखेर मनै लोभिन्थे । गीत त यिनैलाई हेरेर लेखेको रै’छ झैं लाग्थ्यो । काम केही गर्नु पर्दैन । टक्क कुर्सीमा बस्यो, सेठहरूको गाडी आउँदा गेट खोल्यो, फेरि बस्यो । हाम्रो तिर चौकिदारहरू दिनभरी चिया बगान डुल्नु पर्दथ्यो । गाई–बाख्रा बगानभित्र छिरेको भए खेदाउनु, गोठालोले अटेरी गरे ख्वार लैजानु पर्दथ्यो । गाँउलेहरूले सराप्थे अलग्गै, “थुक्क बजिया, त्यसको हातमा किरै परोस” । चौकिदार त चौकिदार नै हो, कत्रो फरक रैछ भन्ने लाग्थ्यो । लिफ्टमा सुकिलो मुकिलो बस्यो, कति तलामा जाने हो त्यही बटन थिच्यो स्याट्ट त्यहीं पु¥याउने हो । हामि गाइ–वस्तु, खेत–खला गर्नु पर्ने मान्छेलाई त्यो सुन्दै अचम्मै लाग्दथ्यो ।
म बम्बै पुग्नुमा आमा र मेरो छुट्टाछुट्टै स्वार्थ थिए । सायद दुवै जायज थिए । हाम्रो स्वार्थहरू क्यारेमका सेतो र कालो गोटी जस्ता प्रतिस्पर्धी अनि पुरक जस्ता थिए । गोटि कालो वा सेतो जुनै भए पनि स्ट्राइकर गोटि चैं कमन नै हुन्छ । हाम्रो हकमा स्ट्राइकर गोटि चै म आफैं थिएँ ।
मैले स्नातक सकेपछि मेरो साङ्गठनिक सक्रियता ह्वात्तै बढ्यो । पढ्ने कामबाट फुर्सद भयो । एक जोर लुगा झोलामा हालेर हिंडेको छोरा कहिलेकाहीं एक हप्तापछि घर आइपुग्थ्यो । विस्तारै एक हप्ता पनि कम हुन थाल्यो, दस पन्ध्र दिन हराउन थाल्यो । घर बसे पनि कोहि न कोहि साथीहरू पाहुना लाग्न आइपुग्ने । कहिलेकाहीं केटीहरू पनि आउँथे । अचम्मका मान्छेहरू । उनीहरू पनि उस्तै घर छोडुवा । मान्छेहरू मुस्किलले एक बीस पुगेका, कुरा चैं बाह्र सत्ताइसका गर्ने । पढे–लेखेको मान्छे, कुनै इलम गर्ला, नोकरी गर्ला भन्यो, भाषण गर्दै हिंड्छ । सडकमा नारा लगाउँछ । भित्तामा लेख्दै हिँड्छ । कहिले गाउँमा घरै पिच्छे यति मान्छेलाई भात खुवाउनु प¥यो भन्दै भात माग्दै हिड्छ । बाहुन बाजेको घर, कहिले कसलाई ल्याँउछ, गाउँभरिका केटाकेटीलाई बटुलेर नाच्न–गाउन सिकाउँछ । सिकाउने मान्छेहरू को हुन् चिनिँदैन । गीत पनि चल्तिका भन्दा अर्कै गाउँछन । देश गाउँछन, दुःख गाउँछन र विद्रोह बोल्छन् । यो मान्छे अर्कै हुँदैछ । कहिले विद्यार्थी संघ भन्छ, कहिले एकता समाज भन्दै कुद्छ । कहिलेकाहीं त महिला सङ्गठनको कार्यक्रममा पनि हिंड्छ । कलेजमै पढ्दा पनि कलेज र
घरभन्दा बढी समय बाहिरै बित्थ्यो । सबैले ठूली बोजुलाई सुनाए छोरो बिगँ्रदै छ भनेर । आमालाई छोरा सुधार्नु थियो ।
उमेरमा मान्छे सुधार्ने उपाय भनेको बिहेवारि गर्दिने नै हो । घरजाम गराएर खुट्टा बाँधिदिनका लागि म मात्रै हैन मेरो परिवार समेत तयार थिएन । अर्को उपाय भनेको सङ्गठनबाट छुट्टाएर टाढा पु¥याउने । न ति साथी रहन्छन्, न त सङ्गठन नै । मेरा आफन्तहरू र गाउँलेहरू कमाउन भनेर बम्बै पुगेकाहरू धेरै थिए । आमालाई त्यही ठिक लाग्यो । मलाई बम्बै जान फकाउने, घुक्र्याउने र थर्काउने सबै गर्न थाल्नुभयो, “एकपल्ट जा न त !”
आमाको आँखाको डिलभरी आँसु र गलामा पहिरो खसेको बाटो पन्छाएर निस्के जसरी रोकिइ–रोकिइ आउने आवाज हुन्थ्यो । त्यो मैले खप्न नसक्ने पल हुन्थ्यो । म नबोली आमालाई हेरिरहन्थे । त्यसै त काले म, त्यो बेलामा खोइ कस्तो पो हुन्थें हुँला हौ ।
सके कमाउलास्, नभए घुमेर आउलास् । तँलाई नपुग्दो के छ र ? ठाउँ पनि हेरिन्छ, मुख पनि फेरिन्छ भन्न थाल्नुभयो । हाम्रो कान्छी सानिमा–सानबा, कान्छा मामा, एकजना काका, अनिल दा, अनि थुप्रै साथी र गाउंँलेहरू मुम्बईमा थिए । उमेर पुगे पछि पुरुषत्व देखाउन पनि कमाउनै पर्ने मनोविज्ञान केटाहरूको अगाडि आइहाल्छ । परिवारको जेठो छोरो भएको कारण ममाथि केही गर्नै पर्ने परिस्थिति सिर्जना भइरहेको थियो ।
बाबालाई भने छोरो ज्योतिष बनिदिए हुन्थ्यो भन्ने थियो । साँवा अक्षर पढ्नु भएको हाम्रो बाबालाई परिस्थितिले पुरोहित बनायो । बिरु सुनुवारले छोरीको न्वारान गर्दिने बाहुन पाएनन् अरे । तिनले हाम्रो बाबालाई न्वारान गरिदिन भनेछन् । बाबाले ‘जान्दिन’ भन्दा ‘कि जनै खोलेर खस्रेको रुखमा झुन्ड्या, हैन भने न्वारान गरिदे’ भनेपछि जजमानी शुरु गर्नुभएको रहेछ । गर्दै जादाँ त्यो क्षेत्रकै राम्रो पुरोहित हुनुभयो । कतिपय ठाउँमा बाजे चिना हेरिदिनुन भन्थे । बाबालाई ज्योतिष आउँदैन थियो । आफूले गर्न नसकेको काम छोराले गरिदिए हुन्थ्यो भन्ने बाबाको प्रवल चाहना थियो । म टपरे बाहुन बन्दिन भनेको थिएँ । “तैँले जजमानी नगरे पनि फरक पर्दैन, ज्योतिष सिक् । कमाउनु कहिँ जानू पर्दैन, मान्छे पैसा बोकेर घरमै आउँछन् । इज्जतको काम हो” बाबाले सम्झाउनु हुन्थ्यो । मैले बाबाको आँखामा सिधा नजरले कहिल्यै हेरिन । डर लाग्थ्यो । माया गरेर धाप मार्दैमा पनि जिउमा मायालु औंलाले आफ्ना निशान छोडी हाल्थे ।
साङ्गठनिक जिम्मेवारी र सक्रियता दुवै बढदो थियो । उमेर तन्नेरी र चेतना नयाँ थियो । सबै जितिन्छ जस्तो जोस् आउँथ्यो । सङ्गठनको भने पछि जस्तोसुकै काम गर्न पनि लाज–घिन केही नलाग्ने, कस्तो अचम्म ! काठमाडौंमा सम्पन्न अखिल क्रान्तिकारीको चौधौं राष्ट्रिय सम्मेलनमा आउँदा दमन र प्रतिरोधको जुन दृश्य भोगियो, मनभित्रको विद्रोही भावना झन सबल बनेर आयो । पाइला क्रान्तिको मैदानतिर दौडिन खोज्दै थिए, परिवार छेकवार लाउन खोज्दै थिए । विद्रोह जरुरी थियो । आफैंभित्रको संघर्ष पनि तीव्रतामा थियो । अब अगाडि कुनै पेशा व्यावसाय गर्ने कि नोकरी खोज्ने ? म केटाकेटीलाई ट्युसन पढाउँथे । कक्षा आठ पढ्दा खेरि नै मैले पढाउन थालिसकेको थिएँ । आमाको चाहना त्यसैलाई व्यवस्थित गरे हुन्थ्यो भन्ने थियो । दिनभरि कहिलेकाहीँ राती अबेरसम्म सङ्गठनको काममा व्यस्त भइन्थ्यो । सुत्ने बेलामा आमाको आँखाबाट खस्नै लागेको आँशुले झकाउन दिंदैन थियो ।
मैले आफ्नो समस्या साथीहरूसँग राखें । साथीहरूका पनि समस्या उस्तै थिए । घरबाटै खर्च मागेर सङ्गठनमा हिड्नु पर्ने । एकाध बाहेक सबै बेखर्ची । उतै गएर सङ्गठनमा जोडिएर काम गर्नु नि, जहाँ गरे पनि सङ्गठन कै काम त हो । केही साथीहरूले सुझाव दिए । घरबाट विद्रोह गर्ने सुझाव पनि नआएको हैन । केही पेशासहित सङ्गठनमा काम गर्ने सल्लाह पनि दिए साथीहरूले । मलाई भने मुम्बई जाने नै ठिक लाग्यो । सङ्गठन छोड्ने त कुरै आउँदैन थियो । टाढा भएपछि आमाले कराउनु पनि पर्थेन र आमा रोएको देख्नु पनि पर्ने थिएन ।
सन् १९९८ वा ९९को कुरा हो । सायद १९९९ । तिहारपछिको कुनै एउटा दिन । शरद ऋतुले आफुलाई विस्तार गर्दै थियो । चिसो बढ्न थालेको थियो । हामी आठ–नौ जना थियौं । न्यु जलपाइगुडी जंक्सनसम्म बसमा गइयो । राती एन्जेपी–दादरको ट्रेन चढेर हिंडियो बम्बै । अरुहरू भविष्य बनाउन जाँदै थिए । म चाहिँ पलायन हुँदै थिएँ कि स्थानान्तरण ? बाहिर भन्दा बढी चिसो मनमा थियो । दिमागमा भने तिनै दुईटा गित बजि रहेको थियो ।
 …. …..
बम्बै बाहिरबाट जस्तो देखिन्छ, त्यो भन्दा धेरै मायावी रहेछ । केही समय साथीहरू भेट भएनन् । सम्पर्क र सञ्चारको भरपर्दो माध्यम चिठी नै थियो । टेलिफोन गर्नलाई समस्या थिएन । एक रुपियाँको सिक्का हालेर लोकल कल गर्न मिल्थ्यो । तर ड्राइभर, दरवान र मजदुरहरूसँग केको फोन हुनु र ! जसोतसो साथीहरूसँग सम्पर्क भयो । अब उस्तै दिनचर्या शुरुभयो । सङ्गठन र जागीर सँगसँगै चल्दै थियो । मालिकको काम र क्रान्तिको काम सँगसँगै  चल्न नसक्ने नै थियो । मैले धेरै खाले कामहरू गरें । केही समय फिल्म क्षेत्रमा लाइट व्यवस्थापनको काम गरें । ग्रीटिङ्ग कार्ड कम्पनीमा पियनदेखि मार्केटिङसम्म गरें । मोजा र बच्चाको अन्डरगार्मेन्ट कम्पनीमा व्यवस्थापन र मार्केटिङ दुवै गरें, कम्प्युटर सिकें, फेब्रिक कम्पनीमा सुपरभाइजरको नोकरी गरें । तर कहिँ पनि धेरै समय टिक्न सकिनँ ।
मामाले बारम्बार खबर पठाए, “भानिज त कता जान्छन् कता ।” सानिमाले “खोइ के गर्छ कुन्नी, रुममा पनि आउँदैन । कता जान्छ, के गर्छ थाहै पाँउदिन” भन्नुभएछ । आमाको मनमा फेरि ढ्याङ्ग्रो बज्न थाल्यो । सुधार्न पठाएको छोरो झन पो बिग्रियो कि क्या हो ? अब यसलाई ठेगान लाउनु प¥यो भनेर आमाको मनमा के के योजना बन्न थाल्यो कुन्नी ।
 बिचमा पनि म घर आउने गरेको थिएँ । कहिले कमाएर कहिले खाली हात जस्तै । “पैसै बच्दैन आमा,” भन्थेँ । आमाले कहिल्यै किन पैसा कम भयो भनेर गुनासो गर्नु भएन ।
 म पूर्णकालिन भएपछि फेरि घर आएँ । सायद ०६१÷०६२ तिर होला । अब भने मलाई रोक्ने र खुट्टामा सिक्री बाँधिदिने सल्लाह गरेका रहेछन् । त्यसभन्दा अघिल्लो चोटि पनि यस्तै प्रयास भएको थियो । धन्य, त्यतिखेर कुरा गरेको केटी र म दुइटैको इन्ट्रेस्ट मिलेन र रोकियो । यसपटक भने साह्रै सकस भयो । केटी हेरेर कुरा गरिसकेका रहेछन् । “तपाइँंहरूको इज्जतभन्दा ठूलो अरु केही हुन सक्दैन, हेर्न चाहिं जाऔं, तर म बिहे गर्दिन । मेरो आफ्नै जिन्दगीको भर छैन कहाँ अर्काको छोरिको भविष्य खराब गर्ने,” मैले भनें । केटी हेर्न गइयो, मैले मन परेन भनें । अरु धेरै झमेला र जटिलता व्यहोरेर पिछा छुटाएँ ।
 म फसें, फसि सकें भन्ने मलाई लाग्न थाल्यो । त्यो बिचमा त्यहाँको सङ्गठन ध्वस्त भइसकेको थियो । अधिकांस साथीहरू या त जेलमा थिए या भूमिगत÷फरार । धेरै दिन घर बस्नु भनेको चक्रव्युहमा झन फस्नु हो भन्ने निक्र्यौलमा म पुगें । नयाँ घर बन्दै थियो । बिहान भरी भाइ र म मिलेर मसला बनाएर मिस्त्रीलाई सघायौं । खाना खाएपछि बजार जान्छु भनेर निस्किएँ । सानिमाको छोरीको रगत जाँचेको रिपोर्ट लिनु थियो, त्यही भनेर निस्किएँ । आमाले पानको पत्ता मगाउनु भयो ।
 साइकल चित्रा दिदीको दोकान अगाडि खडा गरें । पानको मुठा र अरु के सामान थियो, चित्रा दिदीको हातमा थमाइदिएँ । चित्रा दिदीले बिहे गर्ने अरे, कि नगर्ने ? कुनै साथिले सोध्न लगाएको प्रश्न उहाँले दोहो¥याउनु भयो । म एक छिनमा आउँछु है भनेर त्यहाँबाट हिँडे । म फर्किइन । आमाले पानको पत्ता लगेर खानु भयो कि भएन थाहा छैन । खाएकै भए पनि पानको रंग चढेन होला । छोरो भागेर जिन्दगीको रङ्ग हराएको बेलामा पानको रङ्ग के आयो होला र ?
 रिक्सा पक्डेर बस स्टेण्ड पुगें, बस चढेर सिलगढी अनि ट्रेन चढेर मुम्बई ।

स्राेत: जनपत्रिका छैटौं अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।