म २०४७/०४८ सालदेखि नै वरिष्ठ साहित्यकार, प्रकाशक, लेखक शान्तदास मानन्धरको पाठक थिएँ । भेट्ने, भलाकुसारी गर्ने इच्छा हुँदाहुँदै अवसर जुटेको थिएन । कात्तिक २८ गते, तिहारको माचो समाजको लागि । मातृका पोखरेल साथीको सामाजिक सञ्जालमा उहाँको मृत्युको खबर रहेछ । एउटा असल अग्रजको मृत्यु आफैमा दुःखद् र पीडाको विषय थियो ।
सम्झन्छु २०७१ कात्तिक ५ गते । म शान्तदास दाइलाई खोज्दै झोंछे पुगेको थिएँ । झोंछे, ओमबहाल, जैसीदेवल काठमाडौंका यी पुराना नेवार बस्तीप्रति छुट्टै अनुराग छ हृदयमा । विद्यार्थी नेता सीपी दत्त ओमबहालमा बस्थे । म काठमाडौं पुग्दा त्यहीं बस्थें । त्यही वरपरबाट अग्रज नेता दिपेन्द्र शर्मा र साथी मिलन नेपाली गिरफ्तार भएका थिए । जनयुद्धकालमा यो बस्तीले हामीलाई सुरक्षा दिएको थियो । मानन्धर दाइको घर नजिक पुगेर फोन गरें । विद्यालयको छेउमा उभिएर भेटघाटको प्रतिक्षामा थिएँ । सेतै कपाल, सेतो कमिज सुरुवाल लगाएका अग्रज शान्तदास आए । अघिल्लो दिन समय माग्दा “तपाई काठमाडौं बाहिरबाट आउनुभएको मान्छे, तपाईकै अनुकुलमा आउनुस् न” भनेका थिए ।
भलाकुसारी शुरु भयो । मानन्धर २०१२ सालमा पहिलो पटक चितवनको पुरानो गाउँ जुटपानी पुगेका रहेछन् । त्यसबेला काठमाडौंबाट चितवन जाने नारायणगढ–मुग्लिङ सडक बनेको थिएन । भीमफेदी–हेटौंडा भएर जानुपथ्र्यो । उनले त्यसबेलाका सम्झनाहरु फरर सुनाइहाले । उसबेला चितवनमा विद्युत थिएन । भित्री मधेसमा घट्ट चल्ने भएन । कुटानी–पिसानी गर्न डिजेलबाट चल्ने मिल हुन्थे । दुईजना लाठेले इन्जिन ‘स्टार्ट’ गर्नुपथ्र्यो । ठूलो फित्तावाल इन्जिन विद्युतीय भ¥याङजस्तै सुलुलु सर्पझैं घुम्थ्यो । इन्जिनको धुवाँ उत्सर्जन हुने प्वालमा गिलासजस्तै भाँडो राखेपछि निस्कने आवाज ५ कोस टाढासम्म सुनिन्थ्यो । त्यो आवाज सुनेर ग्राहकले मिल चले–नचलेको थाहा पाउँथे । ती सन्दर्भहरु सम्झेर हाँस्दै “मिलको आवाजले गाउँ खाऔं, गाउँ खाऔं भनेझैं लागेको थियो ।” चितवनको यस्तै प्रसङ्ग उधिनेका थिए उनले ।
म उनको निवासमा पुग्दा वरपर साहित्यिक पत्रपत्रिका छरिएका थिए । उनी बाल कोशेलीका सम्पादक र प्रकाशक पनि थिए । हामी पुस्तक, अखवारको बिचमा पुरानो शैलीको घरमा थियौं । हाम्रो वरपर विदेशी जाँडका बोत्तल थिएनन् । ‘अलिकति लिने दाइ !’ भन्ने आधुनिक जण्डहरु पनि थिएनन् । घरेलु साडी–चोलीकी एउटी अधबैंसे नारीले चियाको गिलास टक्र्याएर सालिन भावमा अलप भइन् । हामी फेरि गफिन थाल्यौं ।
हाम्रो छलफल राजनीतितिर मोडियो । शान्तदासले नेकपा (माओवादी)को खरीपाटी भेलाको प्रसङ्ग पस्किए । कलाकारहरु, कविहरु विम्बमा बोल्छन् । विम्बमा बोल्नेलाई बिग्रेको टेप रेकर्डझैं लम्बेतान बोल्नु पर्दैन । रोबोर्ट मानवले झैं विम्बले आफै बोल्छ । “अनन्तले तपाईहरुलाई ‘जुजु धौ’ खाने सूचना जारी गरेका रहेछन् । तपाईहरु खुशी हुनुभएछ । जुजु धौ अर्थात् राजा दही, राजा त खराब हो नी । तपाईहरुलाई राजा भनेर फुर्काउने, तपाईहरु फुर्कने ! यो आइस्योस–गइस्योसको यात्रा कता को हो ?” हाँस्दै उनले भनेथे । उनले दिलिप महर्जनको विषयमा कुराको पोयो फुकाए । “दिलिपलाई माक्र्सवाद बुझेको छैन भनौं भने बलिदान गर्न जो पायो त्यही जाँदैन । नबुझेको भन्न मिलेन । तर प्रचण्डतिरै किन लागेको होला । याम फेरिएपछि रोग लाग्न सक्छ । याम फेरियो; नेताहरुलाई रोग लागेको छ” उनले भनिहाले ।
म सुनाउन होइन सुन्न, अग्रजबाट सिक्ने भोकले गएको थिएँ । साहित्यमा निजी, व्यक्तिवादी विम्ब र आदेशात्मक शैलीप्रति पनि असहमति जनाएका थिए । पार्टी फुट्नु हुन्थेन । त्यहीं बसेर आफ्नो पक्ष बलियो बनाउनु पथ्र्यो । फुटेपछि त त्यहाँ भित्रका राम्रा मान्छे पनि शत्रु भएर गए भन्दै थिए । उनको त्यो धारणाप्रति म सहमत थिइन । तर प्रतिक्रिया दिन उचित लागेन । मानन्धरलाई बुझ्नमा तल्लिन थिएँ ।
शान्तदास बाल–कथाका सर्जक हुन् । उनलाई बाल–मनोविज्ञानका धेरै विषय थाहा हुने नै भयो । बच्चा र गरिबलाई सम्मान, माया र समानताको व्यवहार गर्नुपर्छ । ‘रे’ लगाएर बोलाउँछन् भन्दै ‘म त बच्चालाई तपाई नै भन्छु’ उनी भन्थे । त्यसपछि मेरै विषयमा टिप्पणी गर्न थाले । “केही नगरोस्, केही नलेखोस् भनेर शासकहरुले तपाईलाई जेलमा हाले । तर जेलमा जेलकै विषयमा लेखिदिनुभयो । लेखकलाई कसले रोक्न सक्छ ?” उनी भन्दै थिए ।
छलफलको मेलोमेसो थिएन । मनमौजी दगुर्ने स्वतन्त्रता थियो । उनले २०२८ सालको एउटा प्रसङ्ग सुनाए । त्यसदिन चिनियाँ दूतावासले रात्रीभोजको निम्तो पठाएको रहेछ । उनी दौरा–सुरुवालमै गएछन् । इन्द्रचोकको चिनेजानेको साहुले ‘ए, शान्तदास के गरेर आएको; त्यस्तो पनि हो’ भनेछन् । उनले भ्याइन भनेछन् । राणा, राजा, साहुजस्तो हुनुपर्ने किन भन्दै यो पनि उही ‘जुजु धौ त हो नि’ भन्दैथिए ।
लामो छलफलपछि शान्तदासले “तपाईले यत्ति धेरै सुन्नुभयो । त्यति धेरै सुन्न सक्नुको पछाडि तपाईको पृष्ठभूमि होला । म त आफ्नो कथा भनेर नथाक्ने मान्छे । रमाइलो छलफलले मेरो अनुहार रातो भयो होला । रक्त सञ्चार बढ्यो होला । म १ दिन बढी बाँच्ने भएँ भाइ” हाँस्दै भनेथे । “तपाईले चासो राख्दा, पाठकले माया गर्दा सम्मानित, गौरवान्वित भइन्छ । बाँच्ने आशा बढ्छ” त्यसबेला भने उनी गम्भीर मुद्रामा थिए । मैले राजनीतिक दौडधूप र छिर्के दाउको जुवाको खेलबाट मुक्त भएझैं अनुभूति गरेको थिएँ । उनले ‘सम्झनामा भारतीय जेल’ पहिले नै पढिसकेका रहेछन् ।
मानन्धरले राज्य ढुकुटीको पनि विषय उठाए । माधवकुमार नेपाल सरकारमा भएको समयमा उपचार खर्च दिन खोजेका रहेछन् । “मजस्ता सबैले पाउँछन् त ?” भनेपछि बोलेनन् र केशव बडालले भेटहुँदा “हामीले त सहयोग गर्न खोजेको हो । दाइले लिनु भएन” भनेछन् । एमालेले दिने भनेको जनताको दिने त हो भन्ने उनको भनाई थियो ।
मेरो पुस्तकालयमा शान्तदासको बालकथा छ । एउटा अङ्कमा ‘बाल–साहित्य लेखन र प्राथमिकताको कुरा’ लेखमा भनेका छन्, “लय जहाँ पनि हुन्छ, हुनुपर्छ । हिंड्दा लय मिलेन भने हिंडिरहेको मान्छे लड्छ । लय छाडि ढलपल गरेर हिंडिरहेको मान्छेले कुनै कुरालाई सिलसिला मिल्नेगरी देख्न सक्दैन । यो कुरा मनमा राखेर लेखिएका कविता वा प्रस्तुती स्वतः लयात्मक हुन्छ । भावानुप्रासले हृदयलाई छुन्छ; शब्दानुप्रासले कानलाई मिठो लाग्ने बनाउँछ ।” शान्तदास दाइलाई भेटेर म फर्किएँ । डायरीमा त्यो दिनको टिपोट राखेको रहेछु । त्यस दिन फेरि भेट्ने सल्लाह गरेर हामी छुट्टिएका थियौं । राजनीतिक कामको चटारोले भेट्ने अवसर मिलेको थिएन । पछुतो लागेको छ, अग्रजको सम्मान र अनुभवजन्य ज्ञान लिने अवसर गुमाएँ । नेपाली साहित्य तथा संस्कृतिको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अग्रज व्यक्तित्वलाई शब्द–श्रद्धाञ्जली !
२०८० कात्तिक २९
काठमाडौं