६ जेष्ठ २०८१, आईतवार

नलगाडका भुकम्प पीडित कले विक जब महासचिव विप्लव बोल्दै गर्दा रोए

यात्रा संस्मरण

0

                अडिग सी

 

महासचिव कमरेड विप्लव सी पार्टीको आन्तरिक काममा व्यस्त हुनुहुन्थ्यो, काठमाडौंका नियमित बैठक, छलफल र भेटघाटहरु सकेर महासचिवसहित केही दिनको लागि पुर्वी नेपालतिर जाने कार्यक्रमको अन्तिम तयारीमा थियौं । पुर्वी नेपालका विभिन्न जिल्लाहरुमा राजनीतिक भेटघाट, छलफल एवम् खुल्ला कार्यक्रममा सहभागी बन्ने हाम्रो कार्यसूची तयार भइसकेको थियो । कार्तिक १७ गते राति ११:४७ बजे काठमाडौंमा समेत सामान्य भुकम्पको धक्का महसुस भएको थियोे, नियमित झैँ म बिहान ५ बजे यात्राको तयारीको लागि उठे र डिउटीलाई भने । म महासचिवको ढोका ढक्ढकाए र सरलाई भने अब तयारी हौँ, केही समयमा हिड्नु पर्छ होला ! महासचिवले मलाई आफ्नो कोठामा बोलाउनु भयो । हाम्रो पुर्वको यात्रा स्थगित गर्नुपर्ने भयो । त्यतिबेलासम्म कमरेड महासचिवले पश्चिम नेपालको जाजरकोट, रुकुम र सल्यानमा भुकम्पले पारेको प्रभाव र घटनाक्रमबारे अपडेट भइसक्नु भएको रहेछ । केही मिडियामा आएका समाचारहरु कतिपय पार्टी स्रोतबाट जानकारी लिइसक्नु भएको रहेछ । पूर्वको भ्रमण स्थगित गरौं भनेपछि, मैले सोधेँ किन सर ? सरले भन्नुभयो- हिजो राति गएकोे भुकम्पले जाजरकोट र रुकुममा धेरै ठूलो मानवीय र भौतिक क्षति भएछ, त्यसकारण हाम्रो पूर्वको यात्रा स्थगित गरेर उद्धार र राहततिर लाग्नु पर्ने भयो । तुरुन्तै काठमाडौँमा उपलब्ध केन्द्रीय समितिको बैठक बस्नुपर्ने भयो केन्द्रीय समितिलाई बिहान ८ बजे पार्टी कार्यलय बुद्धनगरमा उपस्थितका लागि खबर गर्न भन्नूभयो । मैले काठमाडौंमा भएका सबै केन्द्रीय समितिका कमरेडहरुलाई खबर गरे । ८ बजेबाट उपलब्ध केन्द्रीय समितिको बैठक बस्यो, बैठकले केही महत्त्वपुर्ण निर्णय गर्दै सोही दिन दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत पार्टीका धारणा सार्वजनिक गर्ने तर उद्धारका लागि जाजरकोटमा दक्षिण कर्णाली ब्युरो र रुकुमको लागि राप्ती ब्युरोलाई बिहान ५ बजे नै महासचिव कमरेड विप्लव सी निर्देशन गरिसक्नु भएको थियो । पत्रकार सम्मेलनमार्फत पार्टीले आफैं उत्पादन गरेको खाद्यान्न भण्डारबाट १ सय प्याक चामल, पार्टीको कोषबाट १ लाख नगद दिने घोषणा गर्यो र देशै भरि पार्टी पंक्तिलाई राहत संकलनको काममा लाग्ने र राहत सामाग्री लिएर महासचिव विप्लव सीको नेतृत्वमा प्रवक्ता प्रकाण्डसहितको टोली जाजरकोट, रुकुम र सल्यानका भुकम्प प्रभावित क्षेत्रमा जाने निर्णय भयो ।
साथै महासचिव विप्लव सी भुकम्पका घाइतेको उपचारका लागि डाक्टर प्रकाश सी नेतृत्वको टोली समेत अत्यावश्यक औंषधीसहितको मेडिकल टिम जाजरकोटको नलगाडमा जान निर्देशन दिनुभएको थियोे । नलगाड सबैभन्दा धेरै मानवीय क्षति भएको पालिका समेत हो । २३ गते एक कन्टेनर राहत सामाग्रीसहित काठमाडौंबाट हाम्रो यात्रा सुरु भयो ।

२३ गते राति कपिलवस्तु पुग्यौं, २४ गते हामी अबेर जाजरकोट पुग्यौं । सरकारको निर्णय बमोजिम एकद्वार प्रणाली अनुसार हाम्रो पार्टीले राहत पनि जिल्ला प्रशासन कार्यलय जाजरकोटको जिल्ला विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गर्यो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी, सरकारका मन्त्री शक्ति बहादुर बस्नेतसहित सरोकारवाला निकायको उपस्थितिमा महासचिव र प्रवक्ता कमरेडले राहत हस्तान्तरण गर्नुभयो । सदरमुकाममा नै अबेर भइसकेकोले कतिपयले गाउँमा भोलि जाउला आज यतै बसौं भन्ने सुझाव दिएका थिए तर महासचिव, प्रवक्ताको टोलीले सदरमुकाम भन्दा प्रभावित बस्तीमा नै जाउँ भनेपछि हाम्रो पुग्ने ठाउँ भुकम्पबाट अति प्रभावित क्षेत्र नलगाड नगरपालिका वडा १ को चिउरी गाउँ भयो । प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रतिनिधि सँग केही समय भुकम्प प्रभावित क्षेत्रको जानकारीपछि हाम्रो यात्रा चिउरी गाउँ तिरको भयो । चिउरी गाउँको यात्रामा अगाडि बढ्यौ, करिब डेढ घण्टाको यात्रापछि हामी चिउरी गाउँ पुग्यौं । त्यहाँ हाम्रो ब्युरो, जिल्ला पार्टी र केन्द्रीय जनस्वास्थ्यकर्मीको टोली केही दिनदेखि त्यही गाउँमा उद्धार र उपचारमा खटिरहेको थियो हामी राति अबेर पुग्यौं । महासचिवले सामान्य जानकारी लिनु भयो । महासचिव कमरेडसहित हामी पनि जनतासँगै त्यो रात टेन्टमा सुत्यौँ । २५ गते बिहान स्थानीय जनप्रतिनिधि, त्यहाँका जनता र पार्टीका प्रतिनिधिहरुसँग छलफल र भुकम्पले पुर्याएको क्षति र तत्कालीन अवस्थाबारे कुराकानीपछि पार्टीको पुनर्निर्माण अभियान अन्तर्गत एउटा अस्थायी घर निर्माण गर्ने र पुनर्निर्माण अभियानको उद्घाटन महासचिवले गर्ने गरी तयारीमा जुटौं भन्ने योजना तयार भयो ।

सोही निर्णय अनुसार चिउरी गाउँमै एक जना शारीरिक हिसाबले अपाङ्ग एकल पुरुष कले वि.क. को अस्थायी घर बनाउने छनौट भयो । महासचिव र प्रवक्ता लगायत पार्टीका नेता कार्यकर्ता बिहान ८ बजेबाट काममा लाग्यौं, दिनभरीको श्रमबाट हामीले कले वि.क.को घर तयार पारेउँ ।

साझ परिसकेको थियोे हामी रुकुमको आठबिसकोटका भुकम्प पीडित लगायत त्यहाँका सरोकारवाला निकायलाई भेट्ने र राहत पनि हस्तान्तरण गर्ने कार्यक्रम तयार भएको थियोे । सोही कार्यक्रमका लागि हामी रुकुम प्रस्थान गर्यौ । हाम्रो रुकुम यात्रा तय भयो र हामी रुकुमतिर लाग्यौं । आठबिसकोट नगरपालिको कार्यालयमा रुकुमका प्रमुख जिल्ला अधिकारी, नगर प्रमुखको रोहबरमा महासचिव र प्रवक्ताले राहत हस्तान्तरण गर्नु भयो । केहि समय महासचिवले जनताको बिचमा छलफल गर्नु भयो । दु:खको बेला हाम्रो पार्टी सधैं जनताको साथमा रहने प्रतिबद्धता गर्नुभयो । त्यो राति हामी रुकुममा नै बस्यौं, बिहानको चिया नास्ता खाएर फेरि जाजरकोटको चिउरी गाउँ तिर लाग्यौं । गाउँहरु निकै कहालीलाग्दा भएका थिए, घरहरु सबै भत्किएका थिए, स्थानीयहरुका मनहरु निकै उद्धेलित र पीडादायिक थिए । महासचिव र प्रवक्ताले मृतकका परिवारलाई भेटघाट गर्नुभयो । बाबा आमा लगायत आफन्त गुमाएका नानी बाबुहरुलाई पार्टीले सक्दो सहयोगसहित समन्धित पालिकासँग सल्लाह गर्दै पढाइ लेखाइमा सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । त्यसपछि हामी कले वि.क.को घर हस्तान्तरण गर्ने कार्यक्रममा लाग्यौं ।

घर हस्तान्तरण गर्दैगर्दा महासचिवले यसरी नै यो गाउँलाई पुर्णनिर्माण गर्ने जिम्मा पार्टीले लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कले वि.क. र उनको छोरी जो विवाह भएर अन्यत्र गइसकेकी थिइन्, बुबाको घर भत्केपछि बुबाको उद्वार गर्न आएकी रहेछन् । कले भुकम्पमा घर भत्किएर पुरिएका रहेछन्, गाउँले पछि उद्वार गरेर बचाएका रहेछन् । उनका शरीरमा अझै पनि घाउँहरु देखिन्थे । यो दु:खमा एउटा अस्थायी भएपनि घर बनेपछि जब कले खुशीमा बदलिएका थिए । महासचिव बोल्दै गर्दा बाबुछोरी रोएको त्यो क्षणले धेरैलाई भावुक बनायो । झण्डै ६० वर्ष पुग्न लागेका कलेका पटक-पटक आँखा रसाएका थिए । पार्टी महासचिव र प्रवक्ताले संयुक्त रुपमा वडा अध्यक्ष, नगरपालिका कार्यकारी प्रमुखको रोहबरमा घर कलेलाई घर हस्तान्तरण गर्ने कार्यक्रम समापन भयो । घर हस्तान्तरणपछि हामी त्यहाँबाट रुकुम तिर लाग्यौं । रुकुमको घेत्मा गाउँमा मृतकका परिवारलाई भेटघाटपछि हामी खाना खाने ठाउँ पुग्यौं । त्यहाँबाट आधा घण्टा हिडेर रुकुमको छेपारे भन्ने गाउँमा पुग्यौं । त्यहाँ स्थानीय मान बहादुर मल्लको घर पुग्यौं, जसले भुकम्पमा छोरी गुमाएका थिए । हामी उनै मान बहादुरको घर निर्माणमा लाग्यौं ।

महासचिव, प्रवक्ता, पार्टीका ब्युरो र जिल्लाका नेताहरू, चिकित्सक एवम् पत्रकारसहित हामी कोही माटो मुस्ने, कोही टिन किन्न जाने, कोही ढुङ्गा काट्न शुरु गर्ने गर्यौ भने महासचिव र प्रवक्ताले घरको गारो लगाउन शुरु गर्नुभयो ।

झण्डै ५ घण्टामा घर सम्पन्न गरि घर हस्तान्तरण समेत गरेर हामी सल्यानको यात्रामा लाग्यौं । २६ गते साँझ हामी सल्यानको दार्मा गाउँपालिका को ५ नं. वडामा पुग्यौं । २७ गते बिहान दार्माका भुकम्प पीडितलाई राहत हस्तान्तरण गर्ने कार्यक्रम थियोे । राहत हस्तान्तरण कार्यक्रम गाउँपालिकाका प्रमुख निम बहादुर केसीको रोहबरमा, वडा अध्यक्षहरु, विभिन्न पार्टीका प्रतिनिधि र स्थानीय जनताको उपस्थितिमा महासचिव, प्रवक्ता र पीबीएम कमरेड असल सीले संयुक्त रुपमा हस्तान्तरण गर्नु भयो । त्यसपछि खाना खाएर हामी सहिद परिवारको घरमा गयौं । जनयुद्धकालिन सहिद माधु खड्काको घरमा पुग्यौं । खड्काको आमा लगायतको परिवारसँग भेटेपछि हाम्रो टोली दाङमा आयोजित पत्रकार सम्मेलनको लागि अगाडि बढ्यो । अप्ठ्यारो बाटो, कामको निकै चाप, साझको सात बजे दाङ पुग्यौं । पत्रकार साथीहरु महासचिवको प्रतिक्षामा थिए । पत्रकार सम्मेलनमा महासचिवले भुकम्प प्रभावित क्षेत्रको अवस्था, पार्टीको राहत, उद्वार, उपचार एवम् पुनर्निर्माणको पहल र प्रयास साथै पुनर्निर्माणमा सरकारले लिने पहलकदमी र समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा राख्नुभयो । पत्रकार सम्मेलनपछि नास्ता खाएर हामी कपिलवस्तुको यात्रामा लाग्यौँ । यो चार दिनको भुकम्प प्रभावित बस्तीको अभियानमा दक्षिण कर्णाली ब्युरो इन्चार्ज संगम सी, राप्ती ब्युरो इन्चार्ज सविन सी, धौलागिरी ब्युरो इन्चार्ज विकिरण सी, केन्द्रीय सदस्यहरु हिमशिखर, प्रदिप, चन्द्र, दिनेश सी लगायत नेता कार्यकर्ताको साथ रह्यो । यो अभियानमा अझ महत्त्वपूर्ण र उल्लेखनीय भूमिका जनपत्रकार संगठन नेपालका संस्थापक अध्यक्ष कमरेड प्रकाश डुम्रेको रह्यो । भुकम्प प्रभावित क्षेत्रमा हाम्रो पार्टी र नेतृत्वले अस्थायी घर निर्माणदेखि राहत वितरणको कामलाई राष्ट्रिय मिडियामासम्म पुर्‍याउनु भयो भने, क्यामरा बोकेर आफू पनि पुनर्निर्माणमा लाग्नु भयो ।

साथै जनस्वास्थ्यकर्मी टीका कँडेल, महासचिव र प्रवक्ताको सचिवालयले समेत आ-आफ्नो ढंगबाट विशिस्ट भूमिकाहरुलाई पूरा गर्यो । यसरी हाम्रो एउटा अभियान सम्पन्न भयो, तर पार्टीका त्यो भुगोलका साथीहरू निरन्तर भुकम्पपीडितसँग सँगै हुनुहुनेछ । हाम्रो भुकम्प प्रभावित क्षेत्रको प्रारम्भिक यात्रा सम्पन्न भयो । बाँकी पुनर्निर्माण पार्टीको थप निर्णयपछि हुनेछन् र हामी हाम्रो यात्रा सकेर कपिलवस्तु फर्क्यौं ।

मिति २०८०/७/२९


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।