६ जेष्ठ २०८१, आईतवार

राष्ट्रिय संकटको निर्विकल्प कार्यक्रम समाजवाद होः प्रकाण्ड सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालको राष्ट्रिय संकटको निर्विकल्प कार्यक्रम समाजवाद मात्र भएको ठोकुवा गरेका छन ।  नेकपा मध्यकर्णाली ब्यूरोले कालिकोटको सदरमुकाम मान्ममा बुधवार (आज) आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले देश र जनताको रक्षा गर्ने एकमात्र कार्यक्रम समाजवाद निर्विकल्प कार्यक्रम भएको भन्दै यस्तो ठोकुवा गरेका हुन ।

उनले अहिले देशमा आर्थिक संकट चरम चुलिएमा पुगेको र राष्ट्रिय स्वाधीनता पनि गम्भीर संकटमा परेको भन्दै दलाल संसदीय पूँजीवादी व्यवस्थाका कारण यस्तो भएको दाबी गरे ।

प्रवक्ता प्रकाण्डले नेपालमा दलाल पूँजीवादी व्यवस्था बदलेर समाजवादी व्यवस्थामा नजाने हो भने देश भयावह हुने चेतावनी दिए ।
उनले भने “नेपालमा समाजवाद चाहियो । यो शान्तिपूर्ण चाहियो । दलाल संसदीय व्यवस्था ठिक कि समाजवादी व्यवस्था ठिक ? भनेर जनतालाई फैसला गर्ने अधिकार दिनु पर्छ । नेपालमा यसका लागि देशभक्त,क्रान्तिकारी शक्ति,प्रगतिशील शक्ति सबैले दबाव दिन जरुरी छ ।”

प्रवक्ता प्रकाण्डले नेपालको संकटलाई समाधान तिर लिन समाजवादी मोर्चा समेत बनेको चर्चा गर्दै यो मोर्चामा नेपालका सबै माओवादी,कम्युनिष्ट, एमाले र काङ्ग्रेस समेत आउनु पर्ने बताए । काङ्ग्रेसले पनि समाजवादको कुरा गरिरहेकाले वैज्ञानिक समाजवाद र काङ्ग्रेसको लोकतान्त्रिक समाजवाद बिच बहस गर्न नेकपा तयार भएको बताए ।

उनले भने “कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने दायित्व नेकपाको काँधमा आएको छ । समाजवादी मोर्चाको परिकल्पमा पनि नेकपाको हो । देशको रक्षा समाजवादले मात्र गर्छ । संसदवादले होइन । संकटको निकास क्रान्तिकारी अग्रगामी र परिवर्तनकारी तरिकाले दिनुपर्छ ।”

प्रवक्ता प्रकाण्डले देशका राजनीतिक पार्टी,परिवर्तनकारी क्रान्तिकारी शक्ति,देशभक्त शक्तिहरुले समयमा विचार गर्ने होईन भने नेपाल दक्षिण एशियाको युक्रेन बन्ने चेताबनी दिए ।

प्रवक्ता प्रकाण्डले भने “जनताको जीवन धरापमा छ । सबै पार्टीका इमान्दार नेता कार्यकर्ताहरु एकठाउँमा नआउने हो भने देश युक्रेन बन्नेछ । यो बनाउने साम्राज्यवादी षड्यन्त्र छ । केही दलालहरुले अमेरिकाको गुणगान गाएका छन । केही मान्छेहरु राष्ट्रघाती साम्राज्यवादको एजेण्ड छन । राष्ट्र धेरै खतरामा छ । सबै पार्टीका नेताहरु समस्या छ भन्नेमा सहमत छन । उनीहरु संसदवादबाट निकास खोज्न चाहान्छन तर संसदवादबाट निकास सम्भव छैन ।”

उनले संसदीय व्यवस्था दलाल,राष्ट्रघाती,मानवतस्कर,भ्रष्टाचारी र श्रमिक जनता माथि शोषण गर्ने व्यवस्था भएको दाबी गरे ।
प्रवक्ता प्रकाण्डले २००६ साल देखि कम्युनिष्ट पार्टी स्थापना भएपनि जनताले गरेको बेला बेलाको क्रान्तिको सपना पुरा नभएको बताए ।
उनले जनयुद्ध,एकीकृत जनक्रान्ति लगायतका सबै आन्दोलनका सहिदहरुको सपना नेपाल कम्युनिट पार्टीले पुरा गर्ने प्रतिवद्धता समेत जनाए ।
श्रमिक जनताको मुक्तिको लागि संसदवादका विरुद्ध संघर्ष गरेर प्रचण्डबाट पार्टी अलग गरेको बताउदै भने “किरण जीको साथमा अढाई वर्षसगै बस्दै २०६९ मसिर ८ गतेका दिन नेपालमा श्रमिक जनताको मुक्तिको मार्ग निर्देशन गर्ने नेपाल कम्युनिष्ट पार्टी गठन भएको दिन हो । आज यो दिनलाई विशेष हर्ष उत्लाहसका साथ मनाउनु पर्छ ।”

उनले पार्टीको १० औ बार्षिकोत्सवका अवसरमा पार्टी नेता कार्यकता तथा आम जनतालाई हार्दिक शुभकामना पनि व्यक्त गरे ।
प्रवक्ता प्रकाण्डले कालिकोटबासी जनताको साथमा नेकपा रहेको बताउदै कालिकोटे जनतालाई क्रान्तिकारी उर्जाभरीरहन र विचलित नहुन पनि आग्रह गरे ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली मुक्ति मोर्चाका अध्यक्ष विराट सीले मंसिर ८ लाई पर्वको रुपमा मनाउन अपिल गरे ।

जनसभामा नेकपा केन्द्रीय सदस्य दिनेश सी, हिमशिखर सी र राजकुमारी सीले पनि मन्तव्य राखेका थिए । प्रभात जनसाँस्कृति परिवारले बिच बिचमा साँस्कृति प्रस्तुति समेत प्रस्तुत गरेको थियो ।

मध्यकर्णाली व्यूरो इन्चार्ज विवेक सीको अध्यक्षतामा सम्पन्न जनसभाको संचालन नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवान सीले गरेका थिए । कार्यक्रम सुरु हुनु पूर्व जिल्लाका विभिन्न पालिकाबाट झाँकी,नारा जुलुस गरी हजारौ जनता कार्यक्रम स्थल मान्म बजार पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।