१२ कार्तिक २०८१, सोमबार

हाम्रो दिन कटाउने राजनीति होइन, नेकपा २४ घण्टा जनताको पक्षमा काम गर्ने पार्टी हो : भरत सी

0

तुलसीपुर: नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भरत सीले नेकपाको राजनीति दिन कटाउने नभई २४ घण्टा जनताको पक्षमा काम गर्ने भएको जिकिर गरेका छन् ।
शनिबार नेकपा पश्चिम दाङको विशेष बैठकलाई सम्बोधन गर्दै नेता भरत सीले यस्तो बताएका हुन् ।

विशेष बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता भरतले भने– ‘हाम्रो राजनीति दिन कटाउने होइन । दिन कटाउने राजनीति भनेको संसदवादीहरुले गर्ने गर्दछन् । उनीहरु केवल चुनावका लागि राजनीति गर्छन् । संसदवादीहरुसंग जनताको पक्षमा काम गर्ने एजेन्डा केही हुदैनन् बरु बेलाबेलामा जनतालाई झुक्याएर केवल चुनावमा भोटका लागि राजनीति गर्ने गर्दछन् । हाम्रो राजनीति भनेको २४ घण्टा जनताको पक्षमा काम गर्ने राजनीति हो । हामी हरदम जनताको सेवामा जनतासँगै हुनुपर्छ । दिन कटाउने संसदवादी राजनीति हाम्रो पार्टीको राजनीति होइन ।’

पक्राउ पुर्जी नियमित र सामान्य कुरा नभएको भन्दै नेता भरतले भने,-“ पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डसहितका शिर्ष नेता विरुद्ध जारी गरिएको पक्राउ पुर्जी सामान्य र नियमित प्रक्रिया होइन । यो असमान्य कुरा हो । पक्राउ पुर्जी साम्राज्यवादको इशारामा नेपालको दलाल पुजीवादी सत्ताको गम्भीर षडयन्त्र हो ।’

नेता भरतले पक्राउ पुर्जीका बारेमा माओवादी सरकारको दोधारे चरित्र देखिएकाले सरकार विरुद्ध प्रदर्शन समेत गरिने चेतावनी दिए ।

नेपालका सबै कम्युनिस्टहरु नेपालका मित्र शक्ति हुन् । उनले थप भने,–‘ कम्युनिस्ट मात्रै होइन अब दलाल पुजीवादी शक्ति र लोकतान्त्रिक गणतन्त्रवादी शक्तिलाई अलग गरि हेर्नुपर्छ । लोकतान्त्रिक गणतन्त्रवादी शक्ति पनि हाम्रा मित्र शक्ति हुन् ।’

एक अर्को प्रसंगमा बोल्दै नेता भरत सीले राज्यले एनसेल विरुद्ध लड्ने नेकपालाई पुरस्कृत गर्नुपर्ने धारणा व्यक्त गरे । उनले भने,– ‘हामीले एनसेल विरुद्ध संघर्ष गर्दा राज्यले प्रतिबन्ध लगायो तर अहिले एनसेलको ब्रह्मलुट छताछुल्ल बाहिरिएको छ । एनसेल विरुद्ध संघर्ष गर्ने नेकपालाई राज्यले प्रतिबन्ध लगाएर गलत गरेको पुष्ठि भएको छ । अब राज्यले नेकपालाई पुरस्कृत गर्नुपर्छ ।’

नेता भरतले अहिलेको संसदिय व्यवस्थाको संकट अब जनताले थेग्न नसक्ने भएकाले यसको निर्विकल्प निकास भनेको नेपाली विशेषताको समाजवाद भएको उद्घोष गरे ।

यस्तै नेकपा पश्चिम दाङको बिशेष बैठकले पौष १० गतेदेखि ‘पार्टी संगठनलाई सुदृढ र विस्तार गरौं, राज्य षड्यन्त्रको भण्डाफोर गरौं’ भन्ने मूल नारासहित दुई महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका, दंगिशरण गाउँपालिका र बबई गाउँपालिकामा फरकफरक अभियान टिम बनाएर अभियान चलाउने नेकपाले जनाएको छ ।

यस्तै बैठकले वडा, पालिका स्तरमा राजनीतिक अन्तरक्रिया गर्ने, जिल्ला कमिटी मातहतको स्कुलिङ चलाउने, विभिन्न कम्युनिस्ट पार्टीसंग राजनीतिक भेटघाट गर्ने, सेल/वडा/पालिका कमिटी गठन/पुनर्गठन गर्ने, युवा-विद्यार्थीको जिल्ला सम्मेलन गर्ने, सबै जवस/मोर्चाका पालिका स्तरका भेलाहरु सम्पन्न गर्ने, जिल्लामा सामना परिवार गठन गर्ने निर्णय गरेको जनाइएको छ ।

यस्तै पार्टीको विशेष बैठकले समसामयिक विषयमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, मिटरव्याजी, लघुवित्त विरुद्ध संघर्ष गर्ने, जनपक्षीय संघर्ष गर्ने, एमसिसी विरुद्ध संघर्ष गर्ने, दलाल राज्यव्यवस्थाको भण्डाफोर सबै हिसाबले गर्ने लगाएतका संघर्षहरु प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय गरेको नेकपाले जानकारी दिएको छ ।

यस्तै बैठकले जिल्लामा समाज घर बनाउने, ब्युरोमा ‘सी सपना’ पुस्तक प्रकाशन गर्ने , भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण/ नवनिर्माणका लागि जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

नेकपा पश्चिम दाङका सचिव निर्मल सीको अध्यक्षता एवम सञ्चालनमा भएको बैठकमा नेकपाका स्थायी कमिटी सदस्य भरत सीको प्रमुख आतिथ्य रहेको थियो भने बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम राप्ती ब्युरो इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सल्लाहकार समिती सदस्य सुन्दर सी , पार्टीका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सी , नेकपाका केन्द्रीय सदस्य एवम राप्ती ब्युरो कार्यालय सचिव विकाश सीको आतिथ्य रहेको थियो ।

बिशेष बैठकमा पार्टीका राप्ती ब्युरो इन्चार्ज सविन सी , पार्टीका पश्चिम दाङका इन्चार्ज प्रदिप सी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।