८ पुष २०८१, सोमबार

पूर्व माओवादी एकता अपरिहार्य : सञ्जीव सी

0

 रोल्पा: नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा पश्चिम लुम्बिनी इन्चार्ज सञ्जीव सीले पूर्व माओवादीहरुको एकता अपरिहार्य भएको बताउनु भएको छ । माओवादीहरुलाई जनयुद्ध कालिन मुद्दाहरु ब्युँताउँदै चौतर्फी घेराबन्दी गरेर आतंककारी साबित गर्न देशी विदेशी शक्तिहरु योजनाबद्ध ढंगले लागेको बताउँदै नेता सञ्जीव सीले तिनीहरुको विरुद्धमा पार्टी एकता गरेर लड्नुपर्ने बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी , पूर्वी रोल्पाको पाँचौं पूर्ण बैठकलाई बिहीबार सम्बोधन गर्दै नेता सञ्जीव सीले उक्त धारणा व्यक्त गर्नुभएको हो ।
“देशी विदेशी कम्युनिस्ट विरोधी शक्तिले पछिल्ला दिनमा निकट बनेका प्रचण्ड र विप्लव बीच लडाइँ गराएर समाजवादी मोर्चा र पार्टी एकता तुहाउन लागिरहेकाछन् ।” नेता सञ्जीवले भन्नुभयो -“त्यसको विरुद्धमा पार्टी एकता गरेर सशक्त रुपमा लड्नुपर्नेछ ।”  नेता सञ्जीवले अगाडि थप्नुभयो -“पछिल्लो एक वर्षमा अन्य क्रान्तिकारी तथा प्रगतिशील पार्टीहरुसँग एकता र ध्रुवीकरण राम्रो भएको छ । अब माओवादीसँग एकता गर्दै अन्य कम्युनिस्ट पार्टीहरुसँग पनि एकता गर्नुपर्ने आवश्यकता देखिएको छ ।”
संसदीय व्यवस्थाले भ्रष्टाचार र तस्कर सहित विविध राजनीतिक विकृति र विसंगति उत्पन्न गरेकोले नेपाली युवाहरुमा निरास बनाएर विदेशीन बाध्य बनाएको भन्दै नेता सञ्जीवले नेपाली विशेषताको समाजवादले मात्र देश र जनतालाई स्वाधीनतासहित मुक्ति दिलाउने ठोकुवा गर्नुभयो ।
एमसीसी, एनसेल काण्ड जस्ता राष्ट्रिय स्वाधीनताको लडाइँ लड्ने पार्टी नेकपा मात्रै भएको भन्दै उहाँले पार्टीको लोकप्रियताबाट अताल्लिएर नेकपाको महासचिवसहित उच्च तहका नेताहरुलाई योजनाबद्ध वारेन्ट जारी गरेको बताउनुभयो । सोही क्रममा नेता सञ्जीवले महासचिवलाई गिरफ्तार गरेर गोन्जालो बनाउने खतरा पनि उत्तिकै रहेको आकलन गर्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टी पूर्वी रोल्पाका सेक्रेटरी यनान सीको अध्यक्षता तथा सञ्चालनमा भएको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा पश्चिम लुम्बिनी ब्यूरो इन्चार्ज सञ्जीव सीको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं मगर मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सुदर्शन सी र नेपाल कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वी रोल्पाका इन्चार्ज मणिराज सीको विशेष उपस्थिति रहेको थियो भने नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य कुमार सी, पूर्वी रोल्पाका पार्टी सल्लाहकार संयोजक पत्थर सी र सल्लाहकार सदस्य क्युवा सी लगायतका जिल्ला पार्टी सदस्यहरुको सहभागी रहेको थियो ।
पार्टी संगठनलाई सुदृढ र विस्तार गरौं, राज्य षड्यन्त्रको भण्डाफोर गरौं भन्ने मूल नारासहित दुई महिने अभियान सञ्चालन गर्ने लगायतका अन्य महत्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।