सुमनसिंह सी
यतिबेला देशको राजनीतिक संकट चरम उत्कर्षमा पुगेको छ । राज्यले नागरिकहरूको आवश्यकता र राष्ट्रिय स्वाधिनताको रक्षा गर्न नसक्नुले आम जनताले बुझ्ने तहमा संकटहरू उजागर भएका छन् ।
जनयुद्ध, जनआन्दोलन, र विभिन्न क्षेत्रिय स्तरमा भएका बलिदानीपूर्ण संघर्षको उपलब्धी स्वरूप स्थापित संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आँफुलाई पूर्ण रूपमा परिभाषित गर्न नपाई नै दलाल पुजिवादको कब्जा र परिचालनको सिकार बन्दै अवशानको संघारमा छ र, अब यसको पतन सुनिश्चित जस्तै भएको छ ।
पुजिवादी अर्थप्रणालीको अभ्याससँगै समाजवाद उन्मुखताको आश्वासन दिएर संविधान जारी गरेका जनताका प्रतिनिधी भनिएका दलहरु भित्रैबाट जन्मिएका केहि थान दलाल, कर्मचारी क्षेत्रकाट तयार गरिएका केही थान दलाल, सुरक्षा निकाय, व्यापारिक क्षेत्र, वित्तिय क्षेत्रमा खडा भएका केही थान अर्थात सबै क्षेत्रका डेढ, दुई सय दलालहरूको कब्जामा परेको देश यतिवेला कमिशन, लुटखसोट, भ्रष्टाचार, राष्ट्रिय आत्मसमर्पण, भयानक राष्ट्रघात, जनदमन जस्ता शृङ्खलाको चाङमा छटपटाई रहेको छ ।
नेपाली जनता, नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलनको सारतत्व समतामुलक समाज नै हो । यसकै निम्ति नेपाली जनता आजका दिनसम्म लडिरहेका छन् । नेपाललाई समाजवाद चाहिएको छ । आजको दलाल पूँजिवाद नेपाली जनता र देशको स्वाधिनता विरूद्ध शत्रुको रूपमा देखा परेको छ । र यो शत्रुको समाप्तीमै नेपाल र नेपाली जनताको सुरक्षित भविष्य अन्तर्निहित रहेको छ ।
यहि दलाल पूँजिवाद र यो प्रवृतिको जन्ति बनेर हिडिरहेका नेपालका दलालहरूले नेपालमा जब एमसिसी परियोजनाको सम्झौता गरे त्यसपछि नेपालमा अन्तर्बिविरोध नयाँ ढंगले बाहिर आएको छ ।
संसदबाटै कानुनको अङ्गकै बनाएर एमसिसी पास भएपछि अमेरिकाको चलखेल तिव्रतामा बढेको हो । बहुध्रुव वा दुईध्रुवतिर प्रवेश गरेको विश्व राजनीतिक शक्ति सन्तुलन, विभिन्न देशमा जारी युद्धसँगै अमेरिका, ब्रिटेन चीन, रूस गतिविधि नेपालमा बढेको छ । दलाल पूँजिवाद नियन्त्रित नेपालको सरकार, रूस युक्रेन युद्धमा घोषित रूपमै युक्रेनको पक्षमा उभिएर आफ्नो असंलग्न परराष्ट्र नीतिलाई छाडेको छ। युक्रेन नेटो गठबन्धनको पक्षमा बोलेको एमसिसी नियन्त्रित नेपालको सत्ता अघोषित रूपमा नेटो गठबन्धनको साझेदार नेपाललाई बनाउने काममा अगाडि बढेको हो कि ? भन्ने तथ्यहरूले देखाएका छन् ।
चाहे जे होस्, यो वा त्यो बहानामा अन्तराष्ट्रिय अन्तर्बिरोधको चंगुलमा नेपाललाई फसाउने काम भएको छ यो नेपालको निम्ति असाध्यै घातक छ ।
जनताको दिनदैनिकी एकदमै कष्टकर बन्दै गएको छ । रोजगारि माग्दा गोलि खानुपर्ने स्थिति बनेको छ । राज्यको गोलिले राज्यको भाषा बोल्छ जनता विरुद्ध प्रयोग भएका गोलिहरूमा नवफासिवादको गन्ध आएको छ। नेपालको दलाल पुजिवादी सत्ताले एमसिसी हुदै उक्त फासिवादलाई आमन्त्रण गरिसकेको छ । र, यो नवफासिवाद वा त्यो बहानामा भयानक स्तरमा जाने निश्चित जस्तै छ । समयमै जनताले ध्यान पुगाउन नसक्ने हो भने नेपाल द्वन्द, काटमार, हुँदै युक्रेन पछि अर्को युद्ध केन्द्रको रूपका नेपाल बदलिन सक्ने संभावना देखा परेको छ ।
यी सबै तथ्यहरूले देशको राजनीतिक संकट कुन स्तरमा छ भन्ने स्पष्ट गर्छन् र यस्ता तथ्यहरू क्षेत्रीय स्तरमा नयाँ नयाँ ढंगले व्यक्त भैरहेका छन् । पूर्व क्षेत्रमा कोशि प्रदेशको नामाङ्नको विषय, त्यसले पैदा गरेको विभाजित मनोविज्ञान, धरान लगायत क्षेत्रमा भएका साम्प्रदायिक, धार्मिक सदभाव भड्काउने कृयाकलाप, प्रतिगामी र साम्राज्यवादले तयार गरेका नयाँ पात्र र नयाँ भाष्यको पूर्वका अस्वभाविक कृयाशिलता यी सबै विषय माथी गहिरो गरि अध्ययन गर्ने हो भने पूर्व क्षेत्रको संकट र यसको पछाडि साम्राज्यवाद कसरी खेलिरहेको छ ? यो प्रष्ट हुन जान्छ । संभवत पूर्वमा संवेदनशिल नहुने हो, र यहाको मनोविज्ञानको उचित संवोधन नगरेर पश्चिमा साम्राज्यवादकै गोटि बनेर समस्या चर्काउने हो भने पूर्वलाई मणिपुर तरिकाको हिसामा लैजाने सक्ने समते संकेत देखा परेका छन् ।
मधेस, पश्चिम थारूबाट क्षेत्रमा समेत नयाँ नयाँ गतिविधि र तयारीहरू संचालित छन् । नेपालको सत्तालाई आफ्नो पक्षमा अमेरिकाले सुदृढ गर्ने कि भारतले ? भन्ने टकराब पनि एकहदसम्म देखिन्छ । तर, एमसिसी संसदबाट पारित भएपछि भने नेपालको हरेक मामिलामा भारतभन्दा अमेरिका नै निर्णायक बन्दै आइरहेको पाइएको छ ।
योवेला अमेरिकी साम्राज्यवाद र नेपाली जनता बिचको अन्तरविरोध नै पूरा रहेको हाम्रो पार्टीको निष्कर्ष रहेको छ । नेपालको दलाल पुजिवादको निर्देशकको रूपमा रहेको अमेरिकन साम्राज्यवादले निम्त्याईरहेको संकटबाट देशलाई मुक्त गर्न र कमिशनखोर दलाल पूँजिवादी सत्ताको शोषणबाट नेपाली जनतालाई मुक्त गर्न, हामीले नयाँ राजनीतिक प्रणालीको स्थापना गर्नु पर्ने आवश्यकता टड्कारो बनेर आएको छ ।
यसो हुँदा हामीले आजको संकटको समाधान नेपाली विशेषताको समाजवाद हुने कुरालाई अगाडि सारेका छौँ । देशमा मडारिएको यो संकटलाई सबै दलले बुझेकै पाईन्छ, निकासतर्फ सोचेको पनि पाईन्छ तर व्यवहारमा पुग्दा दवाव, प्रभाव र अकर्मण्यताको सिकार भएर पछि हटिरहेको पाइन्छ ।
नेपालमा यतिवेला प्रतिगामी धारा, जसले २०४७ सालको संविधान र राजसंस्थाको स्थापनाको कुरा गरिरहेको छ । अर्कोतर्फ पुराना दल र नेताहरूलाई ठेगान लगाएपछि र नयाँ आएपछि ठिक हुन्छ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा यही व्यवस्था ठिक भएको जिकिर गर्दै आएका आइरहेको धार पनि अगाडि आएको छ । तर यी दुबै धार नेपाली समाजको अग्रगामी र रूपान्तरणकारी प्रवृतिको विरोधी धार हो । धेरैले यतिबेला मिसन ०८४ भन्दै कुर्लदै हिडिरहेका छन् । कसैले यहि प्रणालीमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको कुरा गरिरहेका छन् । तर यी सबैको अन्तर्यमा अमेरिकी साम्राज्यवादी शक्तिले आफू अनुकुल नेपालमा सत्ता सुदृढ गर्ने तयारी गरिरहेको तथ्यहरूले देखाएका छन् । यस्तो गम्भिर अवस्थामा मिसन ०८४ को धड्घडिले लोकतान्त्रिक गणतन्त्रवादीहरूलाई पनि छोएको देखिन्छ ।
तर, यहि श्रृङखलाको मिसन ०८४ आजको संकटको निकास होइन र हुन सक्दैन । आज नेपालका लोकतान्त्रिक गणतन्त्रवादीहरूले जनताको विचमा नेपाली विशेषताको समाजवादलाई अबको निकासको रूपमा प्रस्तुत गरेर जानुपर्ने आवश्यकता पैदा भएको छ । जुन समाजवादले नेपाली जनताका आधारभुत समस्याहरू समाधान गर्न सकोस्, देशको स्वाधिनताको रक्षा गर्न सकोस् । यस्तो प्रकारको समाजवादमा मुलुकलाई लैजान नेपालका सबै समाजवाद चाहने दलहरू एक ठाउँमा आउन तयार हुनुपर्ने स्थिति बनेको छ ।
पूर्वमा पहिचान पक्षधरहरूको आन्दोलन पनि तिव्रतामा गएको छ। पहिचान पक्षधरहरूको यो विषयलाई नजरअन्दाज गर्न मिल्दैन । यहाँ जनजाति वा पहिचान पक्षधरहरूको माग संवोधन गर्न सक्नु पर्छ। तर यसमा ख्याल गर्नुपर्ने कुरा नेपालको दलाल पुजिवाद अर्थात अमेरिकी साम्राज्यवाद नियन्त्रित सत्ताले पहिचानको मुद्धालाई सुनिश्चित गर्न सक्दैन । पहिचान र जातिय विषय जस्ता संवेदनशिल र गंभिर मुद्धाहरूमा धारिलो तरिकाले चलखेल गरिरहेको अमेरिकी साम्राज्यवादबाट पूर्वमा उब्जिरहेको पहिचानको आन्दोलनलाई जोगाउनु पर्ने छ । पुजिवादबाट पहिचान संभव छैन, यसकारण समाजवाद स्थापना गरौँ र समाजवादबाट पहिचानको मुद्दालाई सुनिश्चित गरौँ । यसको निम्ति पनि पूर्वका र खास गरेर यसक्षेत्रका बुद्धिजिवी, नेता, सामाजिक अगुवा सबैले संवेदनशिल भएर भुमिका खेल्नु पर्ने आवश्यकता बन्न पुगेको छ ।
नेपालमा देखिएको तमाम संकटको समाधान नेपाली विशेषताको समाजवाद हो । हाम्रो पार्टीले नेपालका कम्युनिष्ट र वामपन्थिहरूसँग सहकार्य, मोर्चाबन्दी र एकताको प्रयत्न गरिरहेको छ । नेपालको मध्यम वर्गलाई यो निकासमा सामेल र नेतृत्वदायी भुमिकामा सहभागी गराउने नीति लिएको छ । देशभक्त शक्तिको पहिचान र भुमिकालाई नयाँ ढंगले विकास गर्दै देशभक्तहरूको धारलाई आगामी निकासमा जोड्ने नीति बनाएको छ । लोकतान्त्रिक गणतन्त्रवादी र दलाल पुंजीवादी एउटै होइनन् भन्ने विषयलाई अगाडि सार्दै लोकतान्त्रिक गणतन्त्रवादीहरूलाइ निकासमा जोड्ने नीति लिएको छ । आजका युवा, विद्यार्थीलाई आगामी निकासको अग्रभागमा उभ्याउने गरि पार्टीले आना नीतिहरूलाई प्रस्तुत गरेको छ । नेपाल कम्युनिस्ट पार्टी सबै मोर्चाबाट लड्छ भन्ने विषयलाई स्पष्ट गरेर जनताको बिचमा हाम्रो पार्टी कृयाशिल नै छ । आज सम्पुर्ण रूपले नेपाल र नेपाली जनताको विरोधी शक्तिको रूपमा रहेको दलाल पुंजिवादलाई एक्ल्याउने र यसलाई ध्वस्त गरेर नेपाली विशेषताको समाजवाद स्थापना गर्न सकेको खण्डमा मात्र देशलाई वर्तमान संकटबाट बाहिर निकाल्न सकिने विषय प्रस्ट छ ।
अतः आज नेपालको अन्तर्बिरोध नयाँ ठाउँमा पुगेको र हामीले मित्रहरूको घेरालाई फराकिलो पार्दै देशको स्वाधिनताको रक्षार्थ नयाँ मोर्चाबन्दीहरूको विकास गर्नु पर्ने अवस्था आएको छ । नेपालका लोकतान्त्रिक गणतन्त्रवादी र नेपालको संसदवादले समेत समाजवाद उन्मुख प्रणालीलाई स्विकारेको स्थिति छ । तर, दलाल पुजिवाद र अमेरिकी साम्राज्यवादी नियन्त्रण र प्रभावले यो देशको स्वाधिनता र नागरिकहरूको जीवन कस्टकर बन्न पुगेको छ । यो बेला राजनीतिक दल, समाजका विभिन्न ओहोदामा बसेका ब्यक्तित्व सबैले खुल्ला मनले देश, जनता र परिवर्तनको पक्षमा फराकिलो छाती बनाएर सोच्ने बेला आएको छ । त्यसैले आजको राजनीतिक संकटको निकासको रूपमा प्रस्तुत भएको नेपाली विशेषताको समाजवादमा यो मुलुकलाई लैजांदै, सबै अग्रगामीहरूको प्रतिनिधित्वलाई सुनिश्चित गर्दै बृहत् मोर्चा निर्माण गर्न सबैले गम्भीरतापूर्वक सोचौँ र लागौँ ।