८ पुष २०८१, सोमबार

महिला नेतृत्व विकासका आधारहरू

0

              भृकुटी सी

 

भूमिका

विचार आदर्शवादी, सत्ता दलाल पुँजीवादी, संस्कृति परम्परावादी सामन्ती र उपभोक्तावादी पुँजीवादी मिश्रित भएको मुलुकमा ८ हजार बर्षदेखि वर्गसत्ता पितृसत्ताको, वैचारिक, र राजनैतिक र साँस्कृतिक आर्थिक, दासताको जन्जीरमा फसेका महिलाहरुले सत्ता र पार्टी सञ्चालनमा आफूलाई दक्ष नेतृत्वको रूपमा विकास गर्नु चानचुने चुनौति होइन । दलाल पुँजीवादी सत्ता संचालकहरूले नारा समानता र स्वतन्तत्राको दिए, संविधानमा ३३ प्रतिशत मात्रै सुनिश्चित गरे, व्यवहारमा पुँजी र पावरवाला महिलाहरुलाई राखेर आफ्नो सत्ता स्वार्थसिद्ध गर्ने साधन बनाए । मार्क्सवादी दृष्टिकोणबाट निर्देशित समाजवादी महिला आन्दोलनले राजनीतिमा महिला सहभागिता, सशक्तिकरण, समानता र स्वतन्त्रताको नारालाई व्यवहारमा पुष्टि गर्दै रोजा लक्जम्वर्ग, क्लारा जेटकिन, चियाङ चिङ जस्ता केही सक्षम नेतृत्व जन्माउन सफल भयो। नेपालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा संचालित महान जनयुद्धमा महिला सहभागिता, सशक्तिकरण र मात्रात्मक नेतृत्व विकास गर्न सफल रह्यो । जब प्रतिक्रान्ति भयो, जनयुद्धमा स्थापित अधिकांश महिला नेताहरु प्रतिक्रान्तिको शिकार र पुँजीवादको पुच्छर हुन पुगे । यसले नेपालको क्रान्तिकारी महिला आन्दोलनमा ठूलो धक्का खानुपर्यो । त्यसैले कम्युनिस्ट पार्टी र समाजवादी महिला सहभागिता, आन्दोलनले महिला सशक्तिकरण र दक्ष नेतृत्व विकासका लागि विगतको समीक्षा गर्दै आगामी ठोस योजना बनाएर अगाडि बढ्न जरुरी छ । यसर्थ नेतृत्व विकासका केही आधारको बारेमा चर्चा गर्न खोजिएको छ ।
१) वैचारिक दृष्टिकोणमा दृढता
वर्ग संघर्षमा ठूलठूला त्याग, समर्पण र वलिदान गरेका नेता कार्यकर्ता विचार संघर्षमा सजिलै किन प्रतिक्रान्तिको शिकार हुन्छन् र पुँजीवादको पुच्छर हुन्छन् ? क्रान्तिकारी आन्दोलनमा ठूलो समीक्षा र अनुसन्धानको विषय बनेको छ । परिणाममा जे देखियो कारण खोजी गर्नुपर्दछ । मार्क्स भने, ’प्रत्येक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सारतत्व हो ।’ त्यसैले पहिलो, कुरा कुनै व्यक्ति वा समाजलाई जड र यान्त्रिक रुपमा लिने भूल गर्नु हुँदैन । समय र परिस्थिति अनुसार दर्शनमा विकास गर्दै जानुपर्छ । दोस्रो, ८ हजार बर्षदेखि आदर्शवादी विचारको लगानीमा हुर्केको (सहनसिलता, परनिर्भरता, भावनामा बग्ने, कोमलता, मनोवल कमजोर बनाउने) जस्ता वैचारिक दासताका विरुद्ध निर्मम संघर्ष गर्दै द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दृष्टिकोणमा दृढता र क्षमता विकास गर्नुपर्छ । तेस्रो, माओले भने झैं क्रान्तिलाई दरोसँग पकड, उत्पादनलाई बढाऊ’ भन्ने नीतिलाई आत्मसाथ गर्दै वर्ग संघर्षसँगै आर्थिक आत्मनिर्भरको योजना बनाएर आर्थिक र वैचारिक दासत्वबाट मुक्त हुनुपर्छ । अनि मात्र सक्षम महिला नेतृत्व विकास गर्न सकिन्छ । अन्यथा पितृसत्ता र दलाल पुँजीवादको शिकार बाहेक अरु केही हुनेछैन ।
२) स्वामित्व परिवर्तनको सवाल
वर्गीय अन्तरविरोध र सामाजिक अन्तरविरोधले जेलिएको उत्पादनका साधनमाथि मुट्ठीभर व्यक्तिको निजी स्वामित्वमा आधारित समाजले वर्ग विभेद, जात विभेद, लैङ्गिक विभेद, सामाजिक विभेद, धार्मिक विभेद र असमानतालाई जन्म दियो । रणनैतिक हिसावले दासयुगबाट सुरु भएको शासक वर्गको हातमा रहेको निजी स्वामित्वमा आधारित समाजको अन्त्य र उत्पादनका साधनमाथि सामूहिक स्वामित्व स्थापित गर्नु नै समाजमा रहेको असमानता, शोषण र विभेदको अन्त्य गर्नु हो । यो महिला समानता, स्वतन्त्रता र पूर्ण मुक्तिको पहिलो आधार पनि हो । जसका लागि मार्क्सवादको आधारभूत सिद्धान्त वर्ग संघर्ष, बल प्रयोग र श्रमिक वर्गको अधिनायकत्वबाट मात्रै सम्भव छ । रणनैतिक उद्देश्य पूरा गर्न कार्यनैतिक हिसावले नेकपाको नवौं महाधिवेशनले पास गरेको श्रमिक वर्गको निजी क्षमता, सृजना, चाहना र आवश्यकतालाई परिपुर्ती गर्दै सामुहिकतातिर लैजाने अर्थप्रणाली एकीकृत स्वामित्व’ प्रणाली हो । यो अर्थप्रणालीले क्रान्ति कालदेखि नै क्रान्तिको आधारभूत शक्ति महिला समुदायलाई आर्थिक आत्मनिर्भर नेता र कार्यकर्ता विकास गर्न प्रत्येक कमिटीमा साधन, स्रोत र सम्पत्तिमा विशेष अधिकार कायम गर्नुपर्दछ । अनि मात्र आन्दोलनमा महिला सहभागिता, सशक्तिकरण र सक्षम महिला नेताको विकास हुनेछ । अन्यथा पुँजी र पावरवाला महिलाबाहेक अन्यको स्थान नगन्य हुनेछ ।
३) वर्गीय राज्यसत्ताको सवाल
द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणद्वारा निर्देशित समाजवादी सत्ताले इतिहासमा पहिलो पटक वर्गसत्ता र पितृसत्ताको दोहोरो उत्पीडनबाट महिलालाई मुक्त गर्दै समानता, स्वतन्त्रता र सामाजिक अधिकार कायम गर्न सफल रह्यो । जब प्रतिक्रान्ति र पुँजीवादको पुनःस्थापनाले महिलालाई पुरानै अवस्थामा पुरÞ्यायो, यसबाट गम्भीर शिक्षा लिँदै कम्युनिस्ट विचारद्वारा निर्देशित समाजवादी महिला आन्दोलनका पक्षधर शक्तिहरुले पुँजीवादी संसदीय व्यवस्थाको निरन्तरताबाट होइन कि पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना महिला मुक्तिको पहिलो आधार बनाउनुपर्दछ । समाजमा छरिएर रहेका श्रमिक महिला, श्रमजीवी महिला र शैक्षिक बेरोजगार महिलालाई लिँदै, आधारभूत शक्तिको रुपमा मध्यमवर्गीय महिलालाई पनि मित्रशक्तिको रुपमा लिँदै भूमण्डलीकृत दलाल तथा नोकरशाही पुँजीवादका विरुद्ध वर्गसंघर्ष संचालन गर्न एकीकृत जनक्रान्तिको कार्यदिशा अन्तरगत ’एकीकृत महिला आन्दोलन’को कार्यदिशा विकास गर्नुपर्छ । रणनैतिक हिसावले वर्गसंघर्षद्वारा समानता, स्वतन्त्रता, सामाजिक न्याय, शान्ति, समृद्धि र पूर्ण मुक्तिका लागि निरन्तर संघर्ष गर्नुपर्छ । कार्यनैतिक हिसावले नेपाली विशेषताको समाजवाद भित्र गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, सूचना, संचार, मनोरञ्जन र आधारभूत महिला अधिकार प्राप्तिका लागि निरन्तर संघर्ष गर्ने । अनिमात्रै नेताहरुको जन्म आमाको कोखबाट नभई वर्ग संघर्षको भट्टीबाट हुन्छ भन्ने भनाईको व्यवहारिक पुष्टि हुनेछ ।
४) विज्ञान र प्रविधिमा पहुँच
एक्काईसौं शताब्दीको युग विज्ञान र प्रविधिको युग हो । यसले सारा विश्वलाई एकै ठाउँमा केन्द्रित गरिदिएको छ। विज्ञानले प्रकृति, मानवसमाज, मानव क्रियाकलापको अनुसन्धान गर्ने गर्छ । यो बिना सोच्ने, सिद्धान्तको विकास गर्ने, योजना निर्माण गर्ने काम हुन सक्दैन । विज्ञानले विकास गरेका सिद्धान्तलाई व्यवहारमा लागु गर्न प्रविधिबिना असम्भव जस्तै बनेको छ । अहिलेको युगमा दक्ष नेतृत्वको मापन पनि विज्ञान र प्रविधिमा दक्षताका आधारमा नै हुने गर्दछ। त्यसैले भूमण्डलीकृत पुँजीवादका विरुद्ध संघर्ष गर्न प्रविधिमा अनिवार्य दक्षता हासिल गर्नुपर्छ । दक्ष महिला नेतृत्व विकास गर्नका लागि विज्ञान र प्रविधि महत्वपूर्ण विषय बन्न पुगेको छ । सबै महिला नेता कार्यकर्ताले ठोस योजना बनाएर दक्षता हासिल गर्न जरुरी छ ।
निश्कर्ष
पुँजीवादी व्यवस्थामा महिला सहभागिता, सशक्तिकरण र दक्ष नेतृत्व विकास ‘आकासको फल आँखा तरी मर’ भने जस्तै भयो । रुपमा दलाल पुँजीवादीहरूले समानता र स्वतन्त्रताको गुलियो नारा लगाएर कानूनमा ३३ प्रतिशत मात्रै सिमित गरे तर व्यवहारमा सिमित पुँजी र पावरवाला महिलाले मात्रै अवसर प्राप्त गरे । विश्वका कम्युनिस्ट पार्टी र समाजवादी व्यवस्थाका पक्षधर शक्तिहरूले वास्तविक समानता, स्वतन्त्रता, सामाजिक न्याय र पूर्ण मुक्तिका लागि सिद्धान्त अनुसारको व्यवहारमा व्यक्त गर्नुपर्नेछ। समाजवादी महिला आन्दोलनका पक्षधर र त्यसका अगुवा महिला नेताहरूले अधिकारको वोध र कर्तव्यको पालना गरी क्रान्ति सम्पन्न गर्ने र प्रतिक्रान्तिलाई रोक्न ’कुखुरा भएर आँगन खोस्रिने होइन, चिल भएर संसारलाई देख्नसक्नुपर्दछ ।’ वर्गसंघर्षमा विजय प्राप्त गर्दै आफैभित्रको दास मनोवृत्ति र पितृसत्तावादका विरुद्ध संघर्ष गर्दै सक्षम नेतृत्व विकासका लागि अग्रसर हुनुपर्दछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।