![](https://janapatrika.com/wp-content/uploads/2024/01/received_288868650834598.jpeg)
देश जस्तो देश नहुनु
विदेशी अड्डा जस्तो हुनु
नेता नेता जस्तो नहुनु
उनका चाटुकार जस्तो हुनु
यो आजको देश हो ।
देशले नेता नहुनु
नेतासँग जनता नहुनु
तर फलाक्नु समृद्धिको भाषण
र गाउनु मुर्दा देशभक्तिको गीत
सिमा मिचिरहनु
जनता थिचिरहनु
यो हो आजको देश ।
आजको देशमा
जनताले भोट बेच्नु
नेताले देश बेच्नु
कमिसन बाड्नु
भ्रष्टाचार मौलाउनु
देशका युवा हराउनु
नयाँ नामका जोगिहरु
आउनु पुरानै कुरा कराउनु
व्यवस्था ठिक अवस्था बदल्न अराउनु
राष्ट्रघात गर्नु काण्ड मच्चाउनु
नेता बच्नु आसेपासे बचाउनु
न्यायलयभित्र अन्याय हुनु
खुल्लमखुल्ला घुस लिनु
जेलभित्र निर्दोष हुनु
हो
यो आजको देश हो ।
आजको देशमा
समान रोजगार छैन
समान शिक्षा छैन
समान स्वास्थ्य छैन
समानता छैन, स्वाभिमान त छँदै छैन
बरु बन्दुक हुन्छ
र पड्काईदिन्छ
रोजगार माग्ने युवाको छातीमा
प्रहरी हुन्छ
आजको देशमा
मालिकको आदेश पर्खेर बसेको
हाकिम हुन्छ यो देशमा
जसले देश नै मुठ्ठीमा कसेको छ
सुकुम्बासीमा पठाइदिन्छ डोजर
मालिकले
गरिबीमा लगाइदिन्छ भोगमरी
लुटिदिन्छ महिलाको अस्मिता
शोषण गर्छ मजदुरको ज्याला
ठगिदिन्छ किसानहरुलाई
मालिकले
हो यहिँ हो आजको देश ।
आजको सत्ताको चरित्र हो
महङ्गी बढाउनु
भ्रष्टाचार मौलाउनु
बलात्कार बढ्नु
हत्याहिंसा मच्चाउनु
विभेद हुनु
लुट्नु कमिसन खानु अत्याचार गर्नु
यी सबै हुने आज सत्तामा हो
आजको देशमा
नेता धनी हुन्छन्
जनता गरिब हुन्छन्
नेता शासक हुन्छन्
जनता रैती हुन्छन्
आजको देशसँग
भोलिको कुनै देश छैन
हो
भोलिको देश बनाउनेहरु
आजको बेथितिसँग लड्दै छन्
लड्दा लड्दै रोएका छन्
देशभक्तहरु
रुदा रुदै लडेका छन्
देशभक्तहरु
हाँस्दै रुदै अघि बढेका छन्
देशभक्तहरु
स्वाभिमान, समनता र शान्ति
आमूल परिवर्तन र मुक्तिमा क्रान्ति
यहीँ कल्पनामा
यहीँ सपनामा
लड्दैछन् आजको पुजिवादी सत्तासँग
क्रान्तिकारीहरु,कम्युनिस्टहरु
वामपन्थीहरु,मध्यमवर्गहरु
पत्रकारहरु,कलाकारहरु
हो
यो लडाईको वेग देखेर
डराएका छन् शासकहरु
मक्किएको छ पुजिवादको सत्ता
क्रान्तिको हुङ्कारसँग
अत्तालिएकाे छ साम्राज्यवाद
जनता मालिक हुने भोलिको सत्तामा
कृषि हुन्छ, उद्योग हुन्छ
रोजगार हुन्छ, शान्ति हुन्छ
आज जहाँ देश छ त्यहाँ भोलि हुने छैन
आजको देश,हिजोको देश हुन सक्दैन
बरु
आजको देश भोलिको देश हुनेछ
भोलिको देश
हाम्रो संघर्षको देश हुने छ
हाम्रो सपनाको देश हुनेछ,
हाम्रो विजयको देश हुनेछ
नयाँ देश हुने छ, उज्यालो देश हुनेछ
पक्कै पनि
हामीले खोजेको भोलिको देश
समाजवादी देश हुने छ
साम्यवादी देश हुनेछ ।