१६ बैशाख २०८१, आईतवार

नेकपा सल्यानद्वारा गणेश सीका बुवाकाे स्मृतिमा शाेकसभा सम्पन्न

0

सल्यान: नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यानले पार्टीकाे केन्द्रीय कार्यालयमा कार्यरत, केन्द्रीय प्रतिनिधि समिति सदस्य गणेश सीका बुवाकाे स्मृतिमा शाेकसभा सम्पन्न गरेको छ । नेपालमा नयाँ सिर्जना भएको ‘सी सँस्कृति’ अन्तरगत मृत्यु सँस्कारकाे कार्यक्रमकाे रुपमा गणेश सीका दिवंगत बुवा पुर्ण बहादुर ओलीकाे शाेकसभामा सम्पन्न भएको हाे ।

शाेकसभासँगै दिवंगत बुवा पुर्ण बहादुर ओलीको सम्मान तथा स्मृतिमा परिवार र जिल्ला पार्टीद्वारा संयुक्त रुपमा एक अक्षयकोष समेत स्थापना गरिएको छ । दिवंगत पुर्ण बहादुर ओलीले पनि समाजसेवा गरेको जिल्लाकाे बागचाैर नगरपालिका वडा नम्बर ६, मइढाेले स्थित श्री शिशु जागरण आधारभूत विद्यालयमा साे अक्षयकोष स्थापना गरिएको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यानले बताएको छ ।
बागचाैर नगरपालिका वडा नम्बर ६ नाउली स्थित दिवंगत ओलीको घरमा आयाेजित शाेकसभालाई सम्बाेधन गर्दै पार्टीका जिल्ला इन्चार्ज भीमसेन सीले, नेपालमा सिर्जना भएको सी सँस्कृति अन्तरगतका विभिन्न सँस्कारहरु लागु तथा प्रयोग हुँदै गइरहेको बताए । समाज विकासकाे नियम अनुसार पुराना सँस्कार र सँस्कृतिहरु हराउँदै जाने र नयाँ सँस्कार र सँस्कृतिहरु पलाउँदै जाने भीमसेन सीले बताए । उनलेे भने, ‘हिन्दु वर्णाश्रम सँस्कार र सँस्कृतिले मानिस मानिसबिचकाे विभेदलाई कायम राखेको हुनाले सबै मानिसहरुलाई बराबर लागु हुने सी सँस्कार र सँस्कृति सिर्जना भएको हाे।’
पुराना साँस्कृतिक मुल्य, मान्यता तथा सँस्कारहरुले अहिलेकाे समाजकाे मानिसकाे चेतनालाई सम्बाेधन गर्न नसकेको हुनाले आफुहरु र आफ्नो पार्टीले नयाँ सँस्कृति र सँस्कार स्वरुप ‘सी सँस्कृति’काे जग बसालेकाे उनले बताए । पार्टीका महासचिव विप्लव सीकाे नेतृत्वमा निर्माण भएको ‘सी सँस्कृति’ युग सुहाउँदो, वैज्ञानिक, जनवादी, किफायति, कम खर्चिलो र समाजवादी चेतनाको भएको उनको भनाई थियोे । विगतकाे जनयुद्धले दिन नसकेको साँस्कृतिक विकल्प एकीकृत जनक्रान्तिले दिएको उनले दाबी गरे ।

शाेकसभामा बाेल्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला सदस्य खडक खड्काले हरेक सँस्कृति र सँस्कार समयानुकूल परिवर्तन हुनुपर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेसका वडा अध्यक्ष गंगाराम ओलीले पुरानाे परम्परामा रहेका राम्रा र सकारात्मक कुरालाई समेटेर नयाँ परम्परा सिर्जना हुनुपर्ने बताए । अक्षयकोष स्थापना भएको विद्यालयका शिक्षक टीकाराम ओलीले मान्छेका हरेक कृयाकलापहरुले अरु मान्छेलाई भलाे हुने काम गर्न सके समाज छिटो गतिमा विकास हुने धारणा व्यक्त गरे । कार्यक्रममा दिवंगत पुर्ण बहादुर ओलीका साँहिला भाइ माल बहादुर ओलीले जिवित रहँदा पुर्ण बहादुर ओलीले निश्पक्ष रुपले समाजलाई गरेको याेगदानकाे चर्चा गरेका थिए ।
दिवंगत पुर्ण बहादुर ओलीप्रति १ मिनेट माैनधारण गरेर सुरु भएको शाेकसभाकाे उनका जेठाछाेरा गणेश सीले अध्यक्षता गरेका थिए भने कार्यक्रमकाे संचालन पार्टीको जिल्ला समितिका सचिवालय सदस्य टाेप बहादुर सीले गरेका थिए ।
नेकपा उत्तर सल्यान जिल्ला समितिले दिवंगत पुर्ण बहादुर ओलीको श्रद्धाञ्जली कार्यक्रम दाहसंस्कार गरिने घाटमा गत पुस २७ गते गरेको थियो भने दाहसंस्कार गरिएको दाेस्राे दिन पुस २८ गते दिवंगत पुर्ण बहादुर ओलीको सम्मान एवं स्मृतिमा त्रि-राेपन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।