
बारा । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शितल सीले देशमा विद्यमान आर्थिक ,राजनीतिक संकटको निकासका लागि कम्युनिस्टहरुको एकता र समाजवादी व्यवस्थाको स्थापना अपरिहार्य रहेको बताएका छन ।
शनिबार बाराको कलैयामा आयोजित “नेपालमा लादिएको एमसीसी,राज्यसताको संकट र निकासको बाटो” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता शितलले यस्तो बिचार व्यक्त गरेका हुन ।
नेता शितलले देशमा बढिरहेको भ्रस्टाचार, बेरोजगारी,महङ्गी,बिदेशी हस्तक्षेप र अस्थिरताको प्रमुख कारण दलाल पुँजीवाद भएको बताए ।
उनले दलाल पुँजीवादको अन्त्य गरी समाजवादको स्थापना गर्नुपर्ने भन्दै त्यसका लागि देशभक्त, कम्युनिस्ट तथा सच्चा लोकतान्त्रिक शक्तिहरु एक ठाँउमा आउनु पर्ने बताए ।
भुमण्डलीकृत साम्राज्यवादको रणनीतिक उद्देश्य पूर्तिका लागि एमसीसी जबर्जस्त लादिएको भन्दै नेता शितलले एमसीसीका कतिपय प्रावधानहरु नेपालको संविधान , कानुन,नीति भन्दा माथी रहेको र देशको सार्वभौमसत्ता कमजोर पार्ने देश बिरोधी कार्य गरिएको बताए ।
‘एमसीसी इण्डो प्यासिफिक रणनीतिको अङ्ग हो, यसका प्रावधानहरु देशको हित बिपरित छन, यो अनुदान भन्दा पनि नेपालको बित्तिय क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यमा आधारित छ’ उनले भने, ‘लेखापरीक्षण गर्ने अधिकार समेत उनीहरुले आफ्नो हातमा लिएका छन । एमसीसीमा बौद्धिक अधिकार सम्बन्धि प्रावधान समेत उल्लंघन गरिएको छ । एमसीएलाई समेत अमेरिकीहरुले कठपुतली मात्रै बनाएका छन । त्यसैले यसका गलत प्रावधान सच्याउन देशभक्तहरुको मोर्चाबन्दी जरुरी छ ।’
एमसीसीको लगानीमा उत्पादन हुने भनिएको बिजुली समेत निर्यात गर्ने बिषयले देशलाई कुनै फाइदा हुन नसक्ने भएकोले बिजुली स्वदेशमै खपत गर्ने राज्यको नीति हुन जरुरी रहेको उनको भनाइ थियो ।
उनले नेपाली समाजमा अहिले अग्रगामी क्रान्तिकारी,यथास्थितिवादी र प्रतिगामी धारा गरि तीन ओटा राजनीतिक प्रवृति अस्तित्वमा रहेको भन्दै स्वतन्त्र भनिएको प्रवृति समेत यथास्थिति धार अन्तर्गत कै राजनीति भएकोले अब अग्रगामी र क्रान्तिकारी धाराले मात्रै संकटको निकास र समस्याको दिगो समाधान दिने बिश्वास व्यक्त गरे । कार्यक्रममा नेकपाका नेता रक्तिमले नेपाली बिषेसताको समाजवादले मात्रै देशमा विकास , स्थिरता र निकास दिने धारणा राखेका थिए ।
कार्यक्रममा प्राध्यापक चन्द्र सुवेदी ,लेखनदास मक्सुद अन्सारी, नेकपा समाजवादीका नेता रामविद्य कुसुवहा,माओवादी नेता उमेश यादव, माओवादी कम्युनिस्ट पार्टीका महासचिव नारायण पालले पनि मन्तव्य राखेका थिए ।
नेकपा पोलिटब्युरो सदस्य तथा युवा नेता रक्तिम सीको अध्यक्षतामा भएको कार्यक्रमको बारा जिल्ला सह–सेक्रेटरी दिल महमत अन्सारीले सञ्चालन गरेका थिए ।