सन्तोष सी
देशलाई आत्मनिर्भर बनाउन चीनमा कमरेड माओले “क्रान्ति समाउ, उत्पादन बढाउ” (Graps revolution, Promotion the production) भन्ने नीति लागु गर्नुभयो । यो चीनमा क्रान्ति सम्पन्न भएपछिको कुरा थियो । नेपालमा कमरेड विप्लवले क्रान्ति सम्पन्न नहुँदै क्रान्ति सफल गर्न पार्टी, सङ्गठन र नेता–कार्यकर्ताहरूलाई आत्मनिर्भरताका लागि उत्पादनमा जोड दिनु भएको छ । कमरेड महासचिवले “क्रान्तिका लागि आत्मनिर्भर पार्टी, आत्मनिर्भरताका लागि उत्पादन, उत्पादनका लागि समय र श्रमको समयोचित उपयोग” को नीति अगाडि सार्नु भएको छ । क्रान्ति सम्पन्न गर्न उत्पादन बढाउनु पर्छ । उत्पादन आत्मनिर्भरताका लागि हुनुपर्छ र यसको लागि श्रम र समयलाई समयोचित ढंगले प्रयोग गर्नुपर्छ । यो नै मालेमावादको प्रयोग र आत्मसात्करण हो । राजनीतिक क्रान्ति सम्पन्न नहुँदासम्मको लागि यो नीति क्रान्तिको साधन हो भने क्रान्ति सम्पन्न भएपछि यो स्वाधीनता र समृद्विका लागि जरुरी हुन्छ । हाम्रो जस्तो दलाल पुँजीवादी अर्थप्रणालीको दबदवा भएको देशमा त दलाल पुँजीवादी अर्थप्रणालीलाई तोड्नका लागि यो झन अनिवार्य आवश्यकता बन्न आइपुगेको छ ।
क्रान्ति सम्पन्न भइसकेपछिको अवस्थामा “क्रान्ति, उत्पादन र श्रम” लाई आत्मसात गर्ने प्रश्न कमरेड माओले जस्तै सिङ्गो देशलाई आत्मनिर्भर र स्वाधीन बनाउन र समाजवादलाई सुदृढ र सवल बनाउन “क्रान्तिलाई समाउने र उत्पादन बढाउने” नीति एकदम वस्तुवादी र वैज्ञानिक छ । किनकि उत्पादन बढाउने कुराले देश र देशवासी जनतालाई आत्मनिर्भर बन्न मद्दत गर्छ । आत्मनिर्भरताले देशलाई स्वाधीन र स्वावलम्बन बनाउँछ र देशवासी स्वावलम्बी बन्छन् । त्यसो नगर्ने हो भने देश मगन्ते बन्छ र देशबासी गरीव र भिखारी बन्दै पुँजीवादीहरूका सामु दलाली र आत्मसमर्पण गर्ने निरिह नागरिक बन्न पुग्छन् । उनीहरूले नेपालीले जस्तै बाँच्नका लागि आफ्नो श्रम र शरीर बेच्न बाध्य हुन्छन् । देशका शासकहरू आत्मसममर्पण, दलाली र चाकडीमा लागेर साम्राज्यवाद र दलाल पुँजीपतिहरूसँग भिख माग्दामाग्दै उनीहरूले देशलाई साम्राज्यावादी देशहरूको उपनिवेश, कठपुतली बनाएको पत्तै पाउँदैनन् र यो बन्नुपर्ने बाध्यता आइलाग्छ । त्यसैले आत्मनिर्भरताका लागि उत्पादन बढाउने कुरा विल्कुल सहि छ । जसले मुलुक र जनतालाई आफ्नो खुट्टामा उभिन र कसैको भर–भरोसाभित्र बाँच्नुपर्ने बाध्यताबाट उन्मुक्त गर्दछ ।
दोस्रो कुरा “क्रान्तिलाई समाउने” कुरा जो छ, यो पनि ज्यादै महत्वपूर्ण छ । किनकि क्रान्ति सम्पन्न हुने बित्तिकै सबै चीज आकाशबाट खसेजस्तै हुँदैन । क्रान्तिको अर्थ साम्यवादमा नपुग्दासम्म मानव जातिले आफूलाई उच्चतम् मानव सभ्यतामा पु¥याउने साधन हो । यसलाई कमरेड माओले “निरन्तर क्रान्ति” भन्नुभयो । यसको अर्थ हो क्रान्ति सम्पन्न भएपछि पनि क्रान्तिलाई छोड्नु हुँदैन । क्रान्तिको सबैभन्दा सूक्ष्म भाग (DNA) गरेर हेर्ने हो भने क्रान्तिको सानो सेलभित्र पनि प्रतिक्रान्तिका क्वान्टमहरू सक्रिय हुन्छन् । यदि हामीले क्रान्तिकारी क्वान्टमहरूलाई निरन्तर सक्रिय र विकास गर्ने प्रक्रियालाई रोक्यौं भने निश्चित रुपमा र स्वभावैले प्रतिक्रान्तिका क्वान्टमहरू सक्रिय हुनेछन् र हुन्छन् । तिनले समग्र वस्तु अर्थात क्रान्तिमा दिने प्रतिक्रिया र परिणाम प्रतिक्रान्तिमा देखा पर्दछ । त्यसैले क्रान्तिलाई निरन्तर सञ्चालन गरिरहनु पर्दछ ।
अब प्रश्न आउँछ क्रान्तिलाई उत्पादनसँग जोड्ने विषय । क्रान्तिलाई केन्द्रविन्दुमा राखेर गरिने उत्पादन र क्रान्तिलाई छोडेर गरिने उत्पादनको परिणामले राज्यसत्ता वा मानव समाजको भिन्दाभिन्दै स्वरुपलाई प्रकट गर्दछन् । क्रान्तिलाई समातेर गरिने उत्पादनले समाजलाई गतिशील त बनाउँछ नै, साथसाथै यसले समृद्धि र आत्मनिर्भरता पनि दिन्छ तर यो त पुँजीवादमा पनि हुन्छ तर मुख्य कुरा यसले समाजको विकास प्रक्रियालाई विकासको सकारात्मक दिशा प्रदान गर्छ र मानव मानवबिच रहेको विभेदका खाडलहरू सम्याउने काम गर्दछ; वर्गभेदहरू मेटाउँदै देश, जनता र मानव समाजलाई वैज्ञानिक चेतना दिन्छ र सिङ्गो मानव समाजलाई वैज्ञानिक र सुसभ्य मानव समाजमा पु¥याउँछ । यसले समग्र सत्तामा पार्ने प्रभावको परिणाम समाजवादमा देखापर्छ । ठीक यसको उल्टो, विना क्रान्तिकारी उद्देश्य गरिने उत्पादन त्यो बेलगामको हुन्छ र त्यसले सीमित व्यक्तिहरूलाई धनी बनाउँछ र धेरै मान्छेहरूलाई गरिवीको रेखामुनी धकेल्छ । यसले देशको नेतृत्व गर्न पुग्यो भने देश सीमित व्यक्तिहरूको अर्थनीतिको परिधिभित्र कैद हुनपुग्छ । यसले देखावटी रुपमा त देश धनी भएजस्तै देखिन्छ, तर त्यहाँका जनताको ठूलो हिस्सा गरिव र श्रमिकमा बदलिएका हुन्छन् । त्यसले एक दिन फेरी विद्रोहको माग गर्दछ र ती श्रमिक वर्गको ठूलो हिस्साले एक दिन समाजवाद अर्थात समानताका लागि विद्रोह गर्नैपर्ने हुन्छ । ती कुराहरूलाई मध्यनजर गर्दै आज हाम्रो नेतृत्वले अहिलेदेखि विचार, सिद्धान्त र व्यवहारमा जुन प्रयोग गर्न खोज्नुभएको छ, त्यसको मर्म र रणनीतिक सोच नेपाली क्रान्तिको लागि निकै उपयोगी र वैज्ञानिक छ ।
माओले उठाउनु भएको सन्दर्भ अलि परको विषय छ, किनकि हामीले अझै क्रान्ति सम्पन्न गर्न बाँकी छ । क्रान्ति सम्पन्न गरेपछि गरिने नारा त्यतिबेलैको आवश्यकतामा गरौंला । माओले क्रान्तिपूर्व हामीले जस्तै क्रातिपूर्वको उत्पादन बढाउने नारा लाउनु परेको थिएन अर्थात त्यो बेलाको परिस्थिति र आवश्यकताले होला, लाउनु भएन । तर हामीलाई आजै लगाउनु पर्नेभयो । एउटा सत्य कुरा के हो भने आफ्नो समयका नाराहरू त्यो समयका संश्लेषण हुन् । नाराहरू तीन थरिका हुन्छन्– एक, तत्कालीक समसामयिक कार्यनीतिक नारा, दोस्रो, सापेक्षिक रुपले रणनीतिसँग जोडिएका रणनीतिक सार बोकेका कार्यनीतिक नाराहरू र तेस्रो रणनीतिक नाराहरू ।
यी नाराहरू एक देशमा एक समयमा लागेका हुन्छन् । त्यही नारा अर्को देशमा पनि कुनै वेला आवश्यक र सामयिक हुन सक्छ तर एकै समयमा र एउटै परिस्थितिमा हुँदैन । तर परिस्थिति दोहोरिएर आएमा ती नाराहरू पनि दोहोरिएर आउन सक्छन् । जस्तै पञ्चायत कालमा लगाएका कतिपय नाराहरू नेपालमा अब कहिल्यै दोहोरिने छैनन् तर कतिपय नाराहरू फेरी दोहोरिन पनि सक्छन् । राजतन्त्र मूर्दावाद अब दोहोरिने छैन तर झुठ्ठा मुद्दा खारेज गर, राजबन्दी रिहा गर जस्ता नाराहरू दोहोरिएका छन् ।
क्रान्तिको कुरा गर्दा– क्रान्तिले शान्तिको मात्र कुरा गर्दैन, आवश्यकतामा बलप्रयोग र रुपान्तरणको प्रक्रियालाई पनि स्वीकार गर्दछ । लडाई र युद्ध बाध्यताका उपज मात्र हुन् । बरु क्रान्ति नयाँ सिर्जना र आत्मनिर्भरताको सिद्धान्त पनि हो । क्रान्ति सुँडेनी मात्र हो । नयाँ सिर्जनाबिनाको पुरानो, जड्सूत्रीय सिद्धान्तबाट क्रान्ति हुँदैन । जड्सूत्र एक किसिमले नपुङ्सक सिद्धान्त हो जसले नयाँको जन्म दिन त सक्दैन नै हुन पनि दिँदैन । राजनीतिक भाषामा यसलाई यथास्थितिवाद भनिन्छ जसले नयाँलाई त स्वीकार्दैन नै बरु यसले अस्तित्वको निम्ति प्रतिगामी बाटो स्वीकार्न तयार हुन्छ । यस्तै आत्मनिर्भरता बिनाको क्रान्तिको पनि कल्पना गर्न सकिँदैन । क्रान्ति गरेर मात्र भोली आत्मनिर्भर बन्ने भन्ने चिन्तन, सिद्धान्त “उधारो क्रान्तिको सिद्धान्त” हो । यो फगत गफ मात्र हो । नेपाली कम्युनिस्ट आन्दोलनमा यो “उधारो क्रान्ति”को राजनीतिले कम्युनिस्ट आन्दोलनलाई हैरान बनाएको छ । “भोली गरौंला” भन्ने सिद्धान्त “उधारो सिद्धान्त” हो । ठीक यसको उल्टो एकीकृत जनक्रान्ति नगदमा कारोबार गरिने सिद्धान्त हो अर्थात यो जडसूत्र होइन ।
नेकपाका महासचिव कमरेड विप्लवले “समय र श्रम”लाई एकीकृत जनक्रान्तिको मुटुको रुपमा लिनुभएको छ । जसले समय र श्रमको महत्वलाई बुझ्दैन, उसले क्रान्तिलाई पनि बुझ्दैन । नबुझ्नेले कसरी क्रान्ति गर्नसक्छ ? समय गुज्रेपछि बुझ्नुको कुनै अर्थ हुँदैन । यो बोधोपना हो । समय गुज्रेपछि जति परिश्रम र दुःख–कष्ट गरे पनि त्यो अर्थहीन र महत्वहीन हुन्छ । “आगो लागेपछि कुवा खन्नु” कुनै अर्थ छैन । जति दुःख गरे पनि समयमा गर्नुको अर्थ हुन्छ । त्यतिकै “समयमा हिरा फोर्न‘” भनेका होइनन् । यसको अर्थ हो “समय र श्रम”को समयोचित प्रयोग । समय र श्रमको उचित प्रयोगले नसोचिएको परिणाम हात लाग्छन् । समयको सदुपयोग गर्नुको अर्थ हो श्रमको प्रयोग ।
समय र श्रम अलग र स्वतन्त्र वस्तु हुन् तर अभिभाज्य पनि छन् । समयलाई जब मानव श्रम वा मानव मस्तिष्कको प्रयोगद्वारा डिजिटल प्रविधिमा रुपान्तरण गरेर उत्पादकत्वको मात्रा र गुणलाई परिणाम र परिमाणहरूमा परिणत गर्दछ, तब समय र श्रमको मापन हुन्छ । समयले उत्पादनको मात्रा र गुणको मापन गर्दछ भने श्रमले समयलाई भौतिक रुप प्रदान गर्दछ र मूल्यमा परिणत गर्दछ । अर्थात् समयलाई श्रममा रुपान्तरण गरियो भने यसले भौतिक रुप लिन्छ र यसले मानिसले नसोचेका आकस्मिक परिवर्तनहरू ल्याउँछ । यसरी यदि उत्पादन क्षेत्रमा पनि समय र श्रमको समुचित सदुपयोग गर्ने भन्नुको अर्थ ठीक बेलामा ठीकठीक निर्णय लिनु र उचित समयमा उचित श्रमको प्रयोग गर्नुले उत्पादनको सफलता र परिणामको परिमाणमा नसोचिएको उपलब्धि हात लाग्न सक्छ ।
समय, श्रम र उत्पादनको प्रसङ्गलाई आजको समसामयिक राजनीतिसँग जोडेर हेरौं, उदाहरणका लागि समाजवादी मोर्चाकै कुरा गरौं । अहिलेको समाजवादी मोर्चाको औचित्यको कुरा २ वर्षपछि, ५ वर्ष, १०/२० वर्षपछि बुझेर के काम लाग्यो र ? बुझ्दै नबुझ्नेको त झन कामै लागेन । आजको कुरा हिजै बुझ्नु पर्छ, भोलीको कुरा आजै बुझ्नुपर्छ, यो पो अग्रगामी चेतना हो । नेताले बुझ्ने र सोच्ने कुरा यो हो । यथास्थितिमा सोच्ने वा बुझ्ने नेता क्रान्तिकारी नेता हुँदैन । ऊ जनताभन्दा पछि हुन्छ । जनता जहिले पनि यथास्थितिमा हुन्छ । क्रान्तिकारी नेता जहिले पनि जनताभन्दा एक कदम अगाडि हुनुपर्छ र जनतालाई एक कदम अगाडिको पाइलामा तानिरहनु पर्दछ । नत्र जनता यथास्थितिको शिकार बन्न पुग्दछन् । यथास्थितिवादी संसदवादीहरूले फाइदा उठाउन पुग्दछन् । कहिलेकाहीं क्रान्तिकारीहरूले आफ्नो कर्तव्य भुल्दा जनता प्रतिगमनको शिकार बन्न पुगेको पनि हामी इतिहासमा पढ्न पाउँछौं । त्यसबाट शिक्षा लिँदै राजनीति र अर्थ सम्बन्ध, उत्पादन पद्धतिमा जहिले पनि एक कदम अगाडिको कार्यक्रम दिन सक्नु नै क्रान्तिकारीहरूको दायित्व हो । जे गर्दा पनि विरोध, जे सोच्दा पनि विरोध र असयोग, ठूलठूला आरोपहरू थोपर्नु कम्युनिस्ट आन्दोलनको बिडम्बना बनेको छ । यो भनेको संसदवादी संकीर्णतावाद हो । यो कम्युनिस्ट आन्दोलनको जीर्ण रोग बनेको छ । हैन यी आजसम्मका नेताहरूमा सकारात्मक सोच र संस्कारको विकास कहिले हुने होला !! यो आजको कम्युनिस्ट नेताहरूको अगाडिको चुनौति हो ।
नेपालमा कम्युनिस्ट समर्थक जनता र शुभचिन्तक बहुसंख्यामा भएर पनि कम्युनिस्ट नेताहरू दस दिशातिर फर्केर बसेका छन् । ती दस दिशा समातेर बसेका नेताहरूलाई एक ठाउँमा ल्याउने कुरा धेरै कठिन छ; तर गर्नुपर्छ र गर्न सकिन्छ । संस्कार तोड्ने कुरा चानचुने छैन । त्यतिकै पुराना पुस्ताले आफ्नो संस्कार र आदतको सत्ता छाडिदिन पनि संभव छैन । यो अन्तरसङ्घर्ष र निरन्तर सङ्घर्षबाट मात्र संभव छ । नयाँ गर्न खोज्दा अनेक अवरोध, विविध आरोप र आपत–विपतहरू आउनुलाई अन्यथा बुझ्नु हुँदैन र आत्तिनु हुँदैन । यो संस्कारलाई नयाँ पुस्ताले तोड्नै पर्नेछ ।
यहाँ प्रसङ्ग उत्पादनको छ । उत्पादनमा पनि नयाँ पुस्ताले पुरानो संस्कार तोड्नै पर्नेछ । उत्पादन हाम्रा पितापूर्खाले हजारौं वर्षदेखि गर्दै आएका छन्, यो कुनै नौलो कुरो होइन भन्ने पनि स्वभाविक रुपमा आउँछ । उत्पादनमा “नौलोपन” सिर्जना गर्नुपर्छ । “नौलोपन” भन्नुको अर्थ उत्पादनसम्बन्धी संस्कार, शैली बदल्नु हो । आजको आवश्यकतामा ‘चाहे उत्पानमा होस या उत्पादनमा’ जनतालाई नौलोपन दिनु हो । आजको पुँजीवादी युगमा “श्रम”लाई हेला गर्ने मान्छे पनि छन् र सम्मान गर्ने मान्छे पनि छन् । पुँजीवादीहरू श्रमको मूल्य टपक्क टिपेर श्रमिकलाई हेला गर्छन्, छिःछिः–दूरदूर गर्छन् । उसको सम्मानको वस्तु लुट्छन् र उसलाई नाङ्गो पारेर हेला गर्छन् । यस्तो हेला गर्ने कथित “सभ्य मान्छे”हरूको असभ्य चिन्तन, व्यवहार देखा परेको छ । यसैले समाजमा वर्गभेद पैदा गरेको हो । श्रमप्रतिको हेला मानव सभ्यातामाथिको हेला हो । श्रमिकहरूप्रतिको हेला विकास र नयाँ सिर्जनामाथिको हमला हो, मानव समाज र सभ्याताको विकास र उन्नतिको अवरोध हो । यो सँस्कार पनि तोड्नुपर्ने छ ।
हो, श्रम हाम्रा पितापूर्खाले पनि गर्दै आए तर पितापूर्खाले गर्नुभएको परम्परागत तरिका र सोच–शैलीले आजको समस्या हल नहुने भयो । त्यो हिजोको अवस्थामा पुगेकै थियो तर आज त्यसले पुगेन । त्यसैले उत्पादनमा नयाँपन आवश्यक भएको हो । यसको अर्थ पितापुर्खाले गरेको पुरानो तरिकाको विरोध र निषेध होइन, यसको अवरोधको निकास र विकास हो । ठीक त्यस्तै क्रान्तिमा पनि नयाँपनको आवश्यकता खड्किएको जरुर हो तर पुराना पुस्ताका नेताले पुरानै तरिकाले सोच्नु र गर्न खोज्नुलाई अन्यथा त भन्न भएन किनकि त्यो उनीहरूको सीमा थियो । त्यो पनि त्यो बेलाको अवस्थामा ठीकै थियो तर आज त्यसले पनि आजको आवश्यकता पूरा गर्न सकेनन् र यसले विकासको माग ग¥यो । त्यसैले नौलोपनको आवश्यकता परेको हो । तर आपूmले पनि नगर्ने र नयाँ गर्न खोज्नेलाई पनि गर्न नदिने भनेको आफ्नो असफलताको ढाकछोप गर्नु र यथास्थितिबाट बाहिर निस्कन नसक्नु हो र जानअन्जानमा प्रतिगमन र प्रतिक्रान्तिको पुच्छर समाउनु नै हुनजान्छ । यसको निम्ति क्रान्तिमा नयाँपन नल्याएर क्रान्ति संभव छैन अर्थात् वर्गसङ्घर्ष र उत्पादन सङ्घर्षलाई एकीकृत नगरिकन क्रान्ति संभव छैन, यथास्थितिवादी राजनीति र सोचचिन्तनले क्रान्तिलाई यथास्थितिको शिकार बनाउँछ । त्यसैले क्रान्तिको अर्को नाम उत्पादन हो । उत्पादनको अर्को नाम आत्मनिर्भर अर्थव्यवस्था हो । त्यसैले आत्मनिर्भर अर्थव्यवस्थाको अर्को नाम समाजवाद वा वैज्ञानिक समाजवाद हो । समाजवादलाई केवल राजनीतिक व्यवस्थाको रुपमा मात्र बुझ्नु राजनीतिलाई सहि ढंगले नबुझ्नु हो । वास्तवमा समाजवादको सार वैज्ञानिक अर्थव्यवस्था, आर्थिक व्यवस्थापन हो । कार्ल माक्र्सको देन समाजवाद हो भने समाजको सार “पुँजी” हो, जो मानव समाजको वैज्ञानिक अर्थव्यवस्थाको कुञ्जी हो ।
मान्छेलाई अन्य प्राणीहरूभन्दा फरक बनाउने पहिलो तत्व उसको चेतना हो तर उसको चेतनालाई निरन्तर विकास र वैज्ञानिक बनाउने काम उसको श्रमले मात्र संभव भयो । मान्छेलाई विकासको नयाँ नयाँ उचाईमा पु¥याउने तत्व उसको श्रम हो । चेतना र श्रमको योगमा मात्र मानिस मानिस बन्यो । चेतना छ, श्रम छैन भने चेतनाको पनि मृत्यु हुन्छ । श्रमको अर्को नाम सङ्घर्ष हो । जब श्रम शुरु हुन्छ, सङ्घर्ष पनि शुरु हुन्छ । सङ्घर्ष चेतना र श्रम बिचको घर्षण हो । यसको परिणाम र परिमाण समयले मापन गर्दछ । त्यसैले समय, श्रम र सङ्घर्ष यी तीन एक विना अर्काको अस्तित्व रहँदैन । महासचिवले समय र श्रमको महत्वको बारेमा नयाँ विचार प्रक्षेपण गर्नु भएको छ । यसमा सङ्घर्ष पनि जोड्नु पर्दछ । किनकि सङ्घर्ष समय र श्रमको उपज वा परिणाम हो । अथवा श्रम र सङ्घर्ष एक अर्काका पर्यायवाची हुन् । सङ्घर्ष गर्न श्रम चाहिन्छ, श्रम गर्दा सङ्घर्ष पैदा हुन्छ । सङ्घर्ष सकारात्मक र नकारात्मक दुवै प्रकृतिको हुन्छ । विपरित वा विजातीय तत्वसँग नकारात्मक प्रकृतिको सङ्घर्ष हुन्छ भने सजातीय पक्षसँगको सङ्घर्ष सकारात्मक प्रकृतिको हुन्छ । दुवै प्रकृतिका सङ्घर्षहरूको उद्देश्य निश्चित परिणाम प्राप्ति गर्ने हुन्छ । सकारात्मक अर्थात सजातीय सङ्घर्षको उद्देश्य धनात्मक र धनात्मकको योगफल धनात्मक आउँछ यो राम्रो कुरा भइहाल्यो । नकारसितको सङ्घर्ष अर्थात विजातीय तत्वसँगको सङ्घर्ष भनेको धनात्मक र ऋणात्मकको घर्षणको बिचबाट निस्कने परिणाम हो । यसले पनि कहिले काही सकारात्मक परिणाम लिएर आउँछ तर कहिले काहीँ यो ऋणात्मक पनि हुन्छ । यसलाई दर्शनमा वा वर्गसङ्घर्षमा एकले अर्कालाई निल्ने प्रक्रियाको रुपमा लिइन्छ । यो पनि सकारात्मक उद्देश्य प्राप्तिका लागि गरिने समय र श्रम बिचको घर्षणकै परिणाम हो । यो परिणाम पनि धनात्मकमै जोडिन आउँछ । अर्थात राजनीतिमा धनात्मक र ऋणात्मकको परिणाम धनात्मक हुन आउँछ । जब कि गणित शास्त्रमा यसको परिणाम घटाऊ हुन्छ ।
मानिसले श्रम/सङ्घर्ष गर्दै आउँदा थाहै नपाई उसले आफूलाई यो ठाउँमा ल्याइपु¥यायो । शुरुमा म यहाँ पुग्छु भनेर उसले श्रम गरेको थिएन । उसले बाँच्नको निम्ति श्रम ग¥यो । सुरक्षित हुनको निम्ति श्रम ग¥यो । पछि विस्तारै आवश्यकता र चेतनाको विकासले उसलाई पुँजी संचय गर्न सिकायो । पुँजी सञ्चय गरेपछि त्यसको रक्षा र सदुपयोगका निम्ति थप श्रम आवश्यक बन्न पुग्यो । त्यसको निम्ति उसले अविश्राम समयको सदुपयोग गर्न थाल्यो । यसैले एकातिर व्यक्तिगत स्वार्थलाई जन्म दियो । त्यसले वर्ग जन्मायो । वर्गले वर्गसत्ता जन्मायो । वर्गसत्ताले फेरी वर्गसङ्घर्ष निम्त्यायो । वर्गसङ्घर्षको चेतनाले वर्गसङ्घर्षकै अन्त्यको खोजी ग¥यो । खोजीबाट एउटा मानवतावादी, समतावादी समाजको परिकल्पना गरियो । यो परिकल्पनाको घर्षणबाट वर्गसङ्घर्षमा प्रयोग भयो र यसले अनेकौं वैचारिक र सामाजिक सङ्घर्षको बिचबाट वैज्ञानिक विचारलाई जन्म दियो । त्यही वैज्ञानिक विचारले अन्ततः त्यो मानिसले कल्पना गरेको मानवतामा आधारित समतावादी समाजको वैज्ञानिक व्यवस्था पत्ता लगायो । त्यही व्यवस्था नै वैज्ञानिक समाजवाद थियो । यति सामाजिक प्रक्रिया पार गर्न मानिसलाई बिसौं लाख वर्ष लाग्यो । यसैका लागि आज वैज्ञानिक समाजवादमा पुग्न एउटा अभियान जारी छ । त्यो अभियान भनेको कम्युनिस्ट अभियान हो । यसलाई हामीले सी अभियान पनि भनेका छौं ।
आज हामी सचेत रुपले विश्वका मानिसहरू साम्यवादमा पु¥याउने सचेत पहल गरिरहेका छौं । सी जाति र सी समाजको शुरुवात भएको छ । यो त्यही अभियानको मोटो खाका हो । त्यो हजारौं वर्ष पछिको लागि परिकल्पना गरिएको समाजलाई सय वर्षमा झार्न र सय वर्र्षलाई दशकमा झार्न आज समय र श्रमको महत्वलाई बुझ्न जरुरी छ । समय र श्रमको महत्वबोधले क्रान्तिलाई सुनिश्चित गर्दछ । अनिश्चयको दुनियालाई निश्चयको दुनियातर्फ डो¥याउने कुञ्जी नै “समय र श्रम” हो । यो भनेको गति र वस्तु हुन् । समय गति हो, श्रम वस्तु हो । समय अनिश्चित छ तर श्रमले यसलाई सुनिश्चितता प्रदान गर्दछ । आजको विज्ञान र प्रविधिको युगमा प्रविधिको प्रयोगले अझ समयको गति बढाई दिएको छ र श्रमको समय छोट्याइदिएको छ । समयको गतिशिलता र श्रमको घनिभूतताले उत्पादनको मात्रालाई बढाइदिन्छ । उत्पादनको मात्रामा आउने वृद्धि नै सम्मृद्धि वा सम्पन्नता हो । सम्पन्नता हुनु भनेकै समाजवादको आधार हो ।
आज मानव श्रम प्रविधिमा प्रयोग भएको छ । प्रविधिको प्रयोगले समयको बचत गर्दछ र त्यो बचत समयलाई फेरी श्रम प्रयोग गर्ने हो भने मानिसले नसोचेको परिणाम हात पार्छ । जस्तो कि हिजो काठमाडौंबाट पोखरा पुग्न पैदल १५ दिन लाग्ने समय गाडीको प्रयोगले १ दिनमा झा¥यो र जहाजले आधा घण्टामा झारिदियो । बसले १४ दिनको समय बचत भयो भने १४ दिन साढे ११ घण्टा समय बचत भयो । कहाँको पन्ध्र दिन, कहाँको आधा घण्टा !! यो प्रविधिले गरेको समयको तीव्रता हो । समयको तीव्रताले श्रमको बचत गर्दछ भने समयको तीव्रतामा श्रमको घनिभूतता थप गर्ने हो भने यहाँ नसोचिएको परिवर्तन वा चमत्कार हुन्छ । त्यो चमत्कार त हो क्रान्ति । त्यो राजनीतिक क्षेत्रमा होस् वा उत्पादन क्षेत्रमा होस् । उत्पादन क्षेत्रमा आउने चमत्कार वा तीव्रताको अर्थ हो आर्थिक क्रान्ति वा सम्मृद्धि । राजनीतिक क्रान्ति र आर्थिक क्रान्तिको एकीकृत रुप नै सामाजिक क्रान्ति वा सम्मृद्धि हो । यही नै आजको एकीकृत जनक्रान्तिको यात्रा हो । एकीकृत जनक्रान्तिका ७ विशेषताहरूमा एउटा प्रविधि पनि हो भन्नुको अर्थ यही हो । प्रविधि समय र श्रमलाई निर्धारण गर्ने र तीव्रता दिने एक मानव निर्मित साधन वा उपकरण हो । प्रारम्भिक विज्ञानमा गति पैदा गर्न उत्तोलकको प्रयोगको कुरा पढेका थियौं । आजको विज्ञानले त्यो उत्तोलकको विकास प्रविधिमा गरेको छ । यो नै आज क्रान्तिको एउटा अभिन्न अंग बन्न आइपुगेको छ ।
आजको युग प्रविधिको युग भनिए पनि मुख्य मानव श्रम नै हो । प्रविधि मुख्य र मानव श्रम गौण हुने भन्ने होइन । प्रविधिको जतिसुकै विकास भए पनि त्यसको सञ्चालक र चालक शक्ति मानिस नै हुन्छ । मानिसको भूमिका नै मुख्य हुन्छ तर प्रविधिले मानवीय श्रममा कैयौं गुणा गति बढाइदिन्छ । यो कुरा सत्य हो कि सय जनाले एक दिनमा गर्ने काम प्रविधिले २ घण्टामा गरिदिन्छ । मानिसले प्रविधिमार्फत चन्द्रमाको यात्रा अढाई दिनमा गरेको छ तर त्यसमा मानवको भूमिका नभइदिने हो भने यो संभव हुँदैन । सबै काम प्रविधिले गरेको भन्दैमा उत्पादक शक्ति नै बदलियो भन्नु तर्कसँगत देखिन्न । यदि प्रविधि नै सर्वोपरि भयो र मानिसको भूमिका नै सकियो भन्ने हो भने वर्ग सङ्घर्ष र सशस्त्र सङ्घर्षको औचित्य नै सकियो भन्ने निष्कर्षमा पुग्नु पर्ने हुन्छ जब कि समाजमा वर्ग रहँदासम्म र वर्गसत्ता रहँदासम्म त्यो संभावना रहिरहन्छ । सत्य यो हो कि प्रविधिले समय छोट्याइदिन्छ र श्रमको बचत गर्छ । त्यसैले त मध्यम दूरीको निष्कर्षमा पुगिएको हो ।
वर्गसङ्घर्षमा पनि समय, श्रम र प्रविधिलाई जोड्नु पर्छ । समय, श्रम र प्रविधिलाई एक ठाउँमा ल्याउने हो भने सङ्घर्ष छोटो हुन्छ । समयको तीव्रता, श्रमको घनिभूतता र प्रविधिको सहि ढंगले प्रयोगबाट आउने परिणाम चमत्कारिक हुन्छ । यो सूत्रमा एकीकृत जनक्रान्तिको कार्यदिशाको विकास भएको हो । अर्थात समयको तीव्रता र श्रमको घनिभूतता र प्रविधिको समायोचित प्रयोगले क्रान्तिको समय छोटिन्छ ।
यो सङ्घर्षको रुप हिजोको भन्दा भिन्नै प्रकृतिको हुन्छ । त्यसैले एकीकृत जनक्रान्तिलाई मध्यम दूरीको कार्यदिशा भनेको हो । यो आजको विश्वको अन्तरविरोध, आजको साम्राज्यवादको विशेषता, जनताको चाहना, विज्ञान र प्रविधिको विकास, समाजको वर्ग चरित्रमा आएको परिवर्तन र क्रान्तिको सफलता र असफलताहरूको अनुभवहरूको कुल योगफलमा गरिएको संश्लेषण हो । यो अध्यात्मिक र इश्वरीय परिकल्पना नभएर वैज्ञानिक विचार, भौतिकवादी चेतना, इतिहासको खोजपड्ताल र अनुभवहरूको संयोजन हो । यो अहिले वर्गसङ्घर्ष, राजनीतिक सङ्घर्ष र उत्पादन सङ्घर्ष तीनै क्षेत्रमा प्रयोगको क्रममा छ । यसको वैज्ञानिकता यसको सफलतापछि मात्र पुष्टि हुनेछ । पूर्वसोभियत संघमा बोल्सेभिकहरूले गरेको चमत्कार यही समयको तीव्रता र श्रमको घनिभूतता र गतिशिलताको परिणाम थियो । यही नै इतिहासमा बोल्सेभिक भावनाको नामबाट स्थापित छ ।
श्रम पुँजीको स्रोत हो भन्ने कुरा कार्ल माक्र्सले लेख्नुभयो । पुँजीपति वर्गले सबभन्दा पहिले बुझे र आफ्नो व्यक्तिगत स्वार्थ र वर्ग स्वार्थमा घनिभूत रुपले प्रयोग गरे । यो कुरा समाजका चलाख मान्छेहरूले पनि बुझे । चलाख मान्छेहरूले अर्काको श्रम चोरेर अथाह सम्पति आर्जन गर्न थाले । आफूले कम श्रम गर्ने वा मानसिक श्रम गर्ने, अर्कालाई शारीरिक श्रममा जोताउने, एक सेकेण्डको समय पनि खेर जान नदिने गरी जसरी श्रमको लुट भयो, त्यसले वर्ग जन्मायोे । यसलाई त माक्र्सले अतिरिक्त मूल्यको सिद्धान्तमा संश्लेषण गर्नुभयो । आज श्रम परिवर्तन भएको छ । शारीरिक श्रम मानसिक श्रममा परिवर्तन भएको छ । यो आधुनिक शिक्षा, प्रविधिको प्रयोगको विकासको परिणाम हो । यसले नयाँ श्रमिक वर्ग जन्माएको छ भन्ने हाम्रो संश्लेषण यसैको परिणामको उपज हो । हामीले आठौं महाधिवेशनमा संश्लेषण गरेको मध्यम वर्गको परिभाषा यसैको आधारमा गरिएको संश्लेषण थियो । आज त्यो वैज्ञानिक पुष्टि भएको छ । यसले आजको क्रान्तिमा मध्यम वर्ग अर्थात नयाँ श्रमिक वर्गको सहभागिता अनिवार्य बन्न आएको छ । रुस र चीनमा भएका क्रान्तिका आधार शक्तिको रुपमा मध्यम वर्गको सहभागितालाई सकारिएको थिएन । मात्र सानो संख्यामा बुद्धिजीवी वर्गको आवश्यकताको उल्लेख गरिएको थियो तर आज हामी एकीकृत जनक्रान्तिमा किसान–मजदूरलाई क्रान्तिको आधारभूत शक्तिको रुपमा र मध्यम वर्ग अर्थात नयाँ श्रमिक वर्गलाई आधार शक्तिको रुपमा आठौं महाधिवेशनले संश्लेषण गरेको छ । यसरी एकीकृत जनक्रान्ति नयाँ विशेषताको क्रान्ति बन्न आइपुगेको छ ।
मानव जातिलाई चाहिएको स्वतन्त्रता, समानता, आत्मनिर्भरता र सम्मृद्धि हो । यसको सार आत्मिक सुख–शान्ति र सम्मृद्धि हो । व्यक्तिगत रुपमा मान्छेले सुखी हुन चाहन्छ । सुख कहाँबाट र कसरी प्राप्त हुन्छ ? समृद्धि, स्वतन्त्रता र समानताबाट । यी तीनै चीज समाजवादमा मात्र प्राप्त हुन्छ । समाजवाद आजको पुँजी केन्द्रित, व्यक्ति केन्द्रित र स्वार्थ केन्द्रित व्यवस्थाबाट संभव छैन । यो हिजोका बिसौं शताब्दीका प्रारम्भिक समाजवादबाट पनि अबको २१औं शताब्दीका मानव चाहनाहरू पूरा हुने देखिँदैन । त्यसैले समाजवादलाई पनि परिमार्जन र विकास गर्न आवश्यक देखिन्छ । त्यसैले एकीकृत स्वामित्वमा आधारित अर्थप्रणाली र यसको जगमा उभिएको समाजवाद आजको आवश्यकता बन्न पुगेको छ । यसलाई हाम्रो आफ्नै सन्दर्भमा नेपाली विशेषताको समाजवाद पनि भन्न सकिन्छ ।
आज विश्वमा करिब सवा दुईसय देशहरू छन् । सानोभन्दा सानो देश भ्याटिकन सिटीदेखि विशाल देश रुस, चीन, अमेरिका, अष्टे«लियाजस्ता देशहरूका आ–आफ्नै प्रकृति र विशेषताका छन् । ती देशहरूका जनताको आफ्नो अवस्था, परिस्थिति, चेतना र उत्पादन सम्बन्धहरू एकै नहुन सक्छ । ती कुराहरूले क्रान्तिको मौलिकतामा पनि फरकपना आवश्यक हुनसक्छ । त्यहाँको आवश्यकतामा त्यहाँ हुने क्रान्तिका तरिकाहरू पनि फरक–फरक हुनसक्छन् । त्यहाँका फरक विशेषताले समाजवादका रुप र विशेषताहरूमा पनि धेरथोर फरक पार्नसक्छ । सबैको एकै नहुन सक्छ । यसलाई ती देशहरूको फरक विशेषताको समाजवाद भन्न सकिन्छ । नेपालमा हुने समाजवाद नेपाली विशेषताको हुनसक्छ । किनकि नेपालको विशेषता अरु देशसँग नमिल्न सक्छ । त्यसैले विश्व साम्यवाद आउनुपूर्व देशहरूले आ–आफ्नै विशेषताको समाजवादको अभ्यास गर्दै सिङ्गो विश्व मानव जातिलाई एउटै सी जाति र सी संस्कृतिमा ढालेपछि विश्वभरी एकै प्रकृतिको वैज्ञानिक समाजवाद स्थापना हुनसक्छ । त्यसैले नेपाली विशेषताको समाजवाद आजको आवश्यकता बन्न गएको छ । त्यसको एउटा विशेषता उत्पादनसँग जोडिएको छ ।
अन्तमा यही नेपाली विशेषताको समाजवाद, आत्मनिर्भरता र स्वाधीनताका लागि समय, श्रम र उत्पादन आजको आवश्यकता बनेको छ । यसलाई आत्मसात गर्नु नै नेपाली क्रान्ति अर्थात एकीकृत जनक्रान्तिको सफलता हुनेछ । क्रान्ति पश्चातको स्वाधीनता, विकास, समृद्धि र समानताको आधार पनि आत्मनिर्भर अर्थतन्त्र नै हुने छ जो समय, श्रम र उत्पादनबाट भिन्न छैन ।
३० असोज २०८०
स्राेत: जनपत्रिका आठाैँ अङ्क