२८ बैशाख २०८१, शुक्रबार

मापदण्ड पुगेका सबै पत्रकारलाई महासंघकाे सदस्यता दिनुपर्नेमा जोड

0

काठमाडौँ – संचार सम्वद्ध पेशागत संगठनका सबै पत्रकारहरुले नेपाल पत्रकार महासंघको मापदण्ड पुरा गरेका सबै पत्रकारहरुले महासंघको सदस्यता पाउनु पर्ने धारणा राखेका छन्। जनपत्रकार संगठन नेपाल काठमाडौँ जिल्ला समितिद्वारा सोमबार आयोजित ‘पत्रकार महासंघ काठमाडौँको सदस्यता विवाद, समस्या र समाधान’ विषयक अन्तरक्रियामा बोल्दै यस्तो धारणा राखेका हुन्।

कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्ष श्रीजन झाले पत्रकारितामा क्रियाशील, मापदण्ड पुरा गरेका सबै पत्रकारहरुले सदस्यता पाउनुपर्ने र कुनैपनि पत्रकार महासंघको सदस्यताबाट बन्चित हुन नहुने बताए ।

उनले भने, ‘नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशले कुनैपनि क्रियाशील पत्रकारलाई सदस्यता दिन प्रतिवद्ध छ, सम्वन्धित शाखाले सदस्यहरुको फाइल दिन ढिलाई गरेका कारण काठमाडौँ शाखाको सदस्यता स्थगन गरिएको हो, पुरै बाटो बन्द गरेको होइन । यदि शाखाले समयमै सदस्यहरुको फाईल दिएको भए आज यो समस्या आउनेनै थिएन । केन्द्रले दिएको समय सीमा सकिनै लाग्दा पटक पटक सूचना जारि गर्दापनि सदस्यहरुको नाम मात्र दिएको, फाइल माग्दा आनाकानी गरेर टारेका कारण यो समस्या आएको हो, हामी फेरी यसलाई कैफियत सहितको प्रतिवेदन फाइल पेस गर्न आह्वान गर्छौ, स्थगन भन्ने बित्तिकै सबै बाटो बन्द भयो भन्ने होइन । तपाईंहरुको माग जायज छ कसैको इन्टेन्सनका कारण जेनिउन पत्रकारले सदस्यता नपाउने ठेकेदार चिया पसलेहरु घाम तापेर दिन गुजार्नेहरुले सदस्यता पाउने यो किमार्थ स्वीकार्य छैन । तपाइहरु ढुक्क हुनुस ।’

त्यस्तै नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सचिव महेश्वर गौतमले शाखामा बिना फाइल सदस्यता रसिद काटेपछि समस्या आएको बताए। पछि फाइल पेस गर्ने सर्तमा रसिद लागेकाहरूलाई पटक पटक फाइल माग्दा पनि नदिएका बाहेक अरु कसैलाई पनि न हताइएको बताए। उनले भने, ‘उपत्यकामा जिल्ला शाखाले मापदण्ड पुगेका सबैको नाम पेस गरेको थियो छ । शाखामा जुन सदस्यता विवाद देखिएको छ यो सामान्य कुरा हो, यसलाई आपसी वार्ता संवादबाट हल गर्न सकिन्छ। जुन प्रदेशले सबै सदस्यको सक्कल फाइलको माग गरेको छ, त्यो हाम्रो शाखा अध्यक्षसँग छ, त्यो भनेको शाखाको सम्पति हो दिन मिल्दैन भन्ने प्रश्न समेत उठेको छ । तर यो सदस्यता विवाद हल नगरी काठमाडौँ शाखाबाट सदस्यताको लागि आवेदन दिएका ६४३ जना सदस्यलाई बाहिर राखेर कसैले निर्वाचन गर्छ भने त्यो स्वीकार्य हुदैन। वास्तविक पत्रकारहरुले जुनसुकै हालतमा सदस्यता पाउनु पर्छ।’

त्यस्तै प्रेस युनियनका काठमाडौँका सचिव सन्तोश अधिकारीले पत्रकारितामा क्रियाशील कुनैपनि साथीहरुलाई सदस्यता बाट बन्चित गरिए जनपत्रकार संगै प्रेस युनियन पनि आन्दोलनमा आउने प्रतिवद्दता व्यक्त गरे। प्रेश चौतारी नेपालका काठमाडौँ जिल्ला अध्यक्ष मुकुन्द भुषालले काठमाडौँ शाखाले सदस्यतामा गरेको मनोमानीको बिरुद्ध आफ्नो संगठनले तालावन्दी गरेको र सम्बन्धित पक्षसँग वार्तापछि एउटा सहमतिको बिन्दुमा पुगेर तालावन्दी खोलेको बताए । तर शाखाले सहमति बेवास्था गरेको उनको आरोप थियो । उनले भने, ‘हामीसँग सबैलाई छानबिन गरि मापदण्ड पुगेकालाई सदस्यता दिने सहमति भयो तर कार्यान्वन गर्ने बेला व्यवास्था गर्दै कसैले पनि सदस्यता नपाउने गरि जुन सड्यन्त्र गर्न खोजिदैछ त्यो चौतारीलाई स्वीकार्य छैन । जनपत्रकारको आन्दोलन प्रति हाम्रो पूर्ण साथ र समर्थ छ।’

त्यस्तै, समाजवादी प्रेस संगठनका उपत्यका प्रदेश सचिव आशिस गुरागाईंले आफ्नो संगठले सदस्यता सुद्धिकरण अभियान चलाएको र त्यसैको दवावमा महासंघले यो अभियान थालेको बताए। उनले भने, ‘महासंघमा हामीले नै गैर पत्रकार छिरायौ र सुद्धिकरण पनि हामी आफै गर्दैछौ, जुन अहिले मानार्थ सदस्यको प्रावधान गरेको छ यसबाट अर्को प्रश्न उब्जिएको उब्जिएको छ । अरु सबै राम्रै हुदैछ तर वास्तबिक पत्रकारहरुले सस्दस्यता नपाउनु भनेको सैह्य कुरा होइन । जसरी यो संगठनले वास्तबिक पत्रकारहरुको सदस्यताको विषयलाई लिएर एउटा आन्दोलन वहसको थालनी गरेको यसप्रति आफ्नो संगठनको पूर्ण समर्थन छ।’

त्यस्तै अन्तरक्रियाका अर्का अथिति पत्रकार गंगा बरालले प्रदेश केन्द्रको मापदण्ड बिपरित काठमाडौँले आफ्नै मापदण्ड बनाएर केन्द्र प्रदेशलाई हेपेको आरोप लगाए। उनले भने, ‘जसरी शाखाले आफ्नै छुट्टै मापदण्ड बनायो त्यो गलत छ । एउटा संचार सस्थाबाट २ देखि ३ जनासम्म मात्रले सदस्यता पाउने मापदण्ड छ त्यो गलत छ । योग्यता पुगेका सबै पत्रकारहरुले सदस्यता पाउनु पर्छ।

जनपत्रकार संगठन नेपाल काठमाडौँ जिल्ला समिति संयोजक भरत विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमा कमल विश्वकर्माले संचालन गरेका थिए भने कार्यक्रमको विषय उठान जनपत्रकार संगठनका सचिवालय सदस्य तथा उपत्यका संयोजक शोभराज बरालले गरेका थिए। जनपत्रकार संगठन नेपाल काठमाडौँ जिल्ला समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा संचार सम्वद्ध बिभिन्न संगठनका प्रतिनिधि तथा जनपत्रकार संगठनको जिम्वेवार सदस्यहरुको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।