
धनगढी । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले नेपाललाई समाजवादमा लिन केपी, प्रचण्ड र देउवाले एकपटक संरक्षक भएर विप्लवलाई नेतृत्व दिनुपर्ने बताएका छन् ।
जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेशले शनिबारबाट धनगढीमा आयोजना गरेको तीन दिने पत्रकारिता तथा सूचना प्रविधि तालिमको उद्घाटन गर्दै नेता भरत सीले नेपाललाई समाजवादमा लिन केपी, प्रचण्ड र देउवाले एकपटक संरक्षक भएर विप्लवलाई नेतृत्व दिनुपर्ने बताएका हुन् ।
‘देशले हामीलाई हेरिरहेको छ, देशले हामीलाई कुरिरहेको छ’ नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका नेता भरत सीले भने,‘अहिलेको संकट समाधानका लागि समाजवाद चाहिन्छ । त्यसका लागि नयाँ नेतृत्व र विचार चाहिन्छ, त्यो विप्लवमा छ । पुराना नेताहरुबाट समस्याको समाधान हुँदैन, विप्लवले देशको नेतृत्व लिनु पर्छ । अबको देशको नेतृत्व केपी, देउवा र प्रचण्डबाट हुँदैन, उहाँहरु संरक्षक भएर बसिदिनु पर्छ ।’
उनले विश्वमा दलाल पुँजीवादको समस्या प्रमुख रहेको भन्दै विश्वमा समाजवादी व्यवस्था आवश्यक भएको जिकिर गरे ।
नेता भरत सीले नेपालका नेताहरुले भन्ने एक, गर्ने अर्काे अनि लेख्ने समाजवाद गर्ने पुँजीवादका कारण नेपालमा समस्या बढ्दै गएको बताए । नेता भरत सीले विश्वमा पुँजीवादको नेतृत्व अमेरिकाले गरेको भएपनि समाजवादको नेतृत्व चीनले गरेको टिप्पणी गरे ।
कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य विकल्प सीले आम जनताको हितमा स्वाभिमानी राजनीति र समृद्धिको पक्षमा पत्रकारिता हुनुपर्ने बताए ।
उनले त्यसका लागि जनपत्रकार संगठन नेपालले आयोजना गरेको पत्रकारिता तालिम फलदायि हुने विश्वास व्यक्त गरे ।
तालिमको उद्घाटन कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माले समाज र सत्ता बिचको पुलको काम मिडियाले गरेको बताए ।
उनले समाजवादी क्रान्तिमा मिडिया प्रविधि निकै महत्वपूर्ण भएको भन्दै अवको क्रान्तिमा पत्रकारिता तालिमले केही योगदान गर्ने विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु समर सी, प्रकाश सी, बिमल सी, कमल सी, विनोद सी,आह्वान सी, निरक सी, सिताराम सी, जनपत्रकार संगठनका केन्द्रीय सचिव तथा प्रशिक्षक वसन्त विक, प्रशिक्षक ममता सी, प्रविण सी, पासाङ सी लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।
तीन दिनसम्म चल्ने तालिममा नेकपा सुदूरपश्चिमका विभिन्न ९ जिल्लाका करिव दुई दर्जन प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । तालिम वैशाख २९ गतेसम्म चल्ने छ ।
उद्घाटन तालिमको स्वागत मन्तव्य जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य पुष्पा साँउदले दिएकी थिइन् भने अध्यक्षता तथा संचालन जनपत्रकार संगठन नेपालका सुदूरपश्चिम संयोजक धीरज प्रपलाले गरेका थिए ।