१३ बैशाख २०८१, बिहीबार

जनपत्रकार संगठन नेपाल दाङको तेस्रो बैठक सम्पन्न ।

चौथो राष्ट्रिय सम्मेलनलाई भव्य बनाउने निर्णय ।

0

घोराही दाङ:

           जनपत्रकार संगठन नेपाल दाङको तेस्रो बैठक सम्पन्न भएको छ । बिहीबार घोराहीमा सम्पन्न बैठकले आगामी भाद्र ११ र १२ गते काठमाडौंमा हुने संगठनको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनलाई भव्य बनाउने निर्णय गरेको छ । चौथो राष्ट्रिय सम्मेलनलाई भव्यताका साथ सफल पार्न जिल्लाव्यापी सबैखाले अभियान संचालन गर्नको लागि जिल्लालाई चार कमाण्डमा विभाजन गरि कार्यक्षेत्र निर्धारण गरिएको छ । यस्तै बैठकले संगठनको जिल्ला कमिटीमा रहि निष्क्रिय रहेका, संगठनका कुनैपनि कार्यक्रम गतिविधिमा सहभागी नहुने केही जिल्ला सदस्यहरुलाई जिल्ला कमिटीबाट हटाएको छ भने जिल्ला कमिटीमा थप ५ जनालाइ मनोनित समेत गरेको छ ।

           यस्तै बैठकले राज्यका निकायलाई मिडियामैत्री बनाउन, समानुपातिक विज्ञापन प्रणाली लागू गर्न र सुचनाको हकको कार्यान्वयनबारे छलफल अन्तर्कृया गर्ने निर्णय गरेको छ । साथै बैठकले केन्द्रिय आधिकारिक अनलाइन ‘जनपत्रिका’र संगठनको विचारप्रधान राष्ट्रिय मासिक जनपत्रकारलाई जिल्लाव्यापी बनाउने र उक्त मिडियाको जिल्ला सम्वाददाता संगठनको जिल्ला अध्यक्ष रहने निर्णय गरेको छ ।

         बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले जनपत्रकारहरुले आवाजविहिनहरुको आवाजलाई बुलन्द गर्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि कलम चलाउनुपर्ने बताए । उनले भने,– ‘पत्रकारिता क्षेत्र पनि पक्षधरतामा छ । हामीले श्रमजीवी जनताका पक्षधरतामा कलम चलाउनुपर्छ । आवाजविहिनहरुको आवाजलाई बुलन्द गर्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि कलम चलाउनुपर्छ।’ एक फरक प्रसंगमा बोल्दै नेता शितलले नेपाल कम्युनिस्ट पार्टी संसदीय व्यवस्थामा गएको भन्ने हल्ला सत्य नभएको स्पष्ट पारे । उनले भने,– ‘हामी संसदवादका विरुद्ध निरन्तर बिद्रोहमा छौँ। दलाल पुजीवादी संसदीय व्यवस्थालाई खरानी नपारेसम्म हाम्रो लडाइ रोकिन्न । यसपटकको दलाल सत्ताको स्थानीय निर्वाचनलाई संघर्षको भिन्न मोर्चा बनाएर प्रयोग गरेका हौं, संसदवादी हुनका लागी गरिएको प्रयोग होइन ।’ पार्टीबाट चोइटिएर गएका धर्मेन्द्र-सुदर्शनहरुले विप्लव संसदवादी भए भनेर जति होहल्ला गरेपनि जनताले नपत्याउने नेता शितलको जिकिर थियो ।

          विप्लवलाई संसदवादीको आरोप लगाउने धर्मेन्द्र-सुदर्शनलाई जनताले पत्याएनन्, उनले अघि भने,– ‘धर्मेन्द्र-सुदर्शन आफै घुमाइफिराइ संसदवादी बन्न खोजेका छन् तर भ्रम हाम्रो पार्टीका विरुद्धमा गर्ने गर्छन् । दलाल सत्तामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डा बोकेका उनीहरु नै संसदवादी बन्न खोजेको प्रष्ट हुन्छ । हामी जनतालाई कुनै सुधारवादी नारा दिएर झुक्याएका छैनौं, हामी स्पष्ट गर्न चाहन्छौ, दलाल पुजीवादका विरुद्ध अन्तिम श्वास रहुन्जेल लडिरहन्छौँ ।’ जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाश वलीको अध्यक्षता, नेकपाका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्य, युवा संगठन नेपाल दाङका संयोजक सुदर्शन र युवा संगठन नेपाल घोराही नगर अध्यक्ष पदम चन्दको विशेष उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।