डिबी सी
२९ औँ जनयुद्ध दिवस मनाउनुको अर्थ हो जनयुद्धको स्मरण गर्नु । जनयुद्धको स्मरण गर्नुको अर्थ हो आफ्ना दायित्त्वहरुप्रति जवाफदेही, इमान्दार र जिम्मेवार बन्नु । सामुहिक जीवनशैली अंगाल्नु र महान सर्वहारावर्गीय संस्कृतिलाई अवलम्बन गर्नु, इतिहास र वर्तमानको निर्मम समीक्षा गर्नु र आफूलाई परिवर्तनको अभियन्ताको रुपमा सदैव अग्रमोर्चामा उभ्याउनु ।
आज २९ औं जनयुद्ध दिवस । जनयुद्ध नेपाली शोषित, पीडित जनताको प्रिय उत्सव हो । जहाँ जनयुद्ध शब्द सुन्दा प्रतिकृयावादी तथा साम्राज्यवादका दलालहरु र नेपाली जनताका सेवक नभई शासक बनेकाहरु साथै समाजलाई पश्चगमनतर्फ धकेल्न चाहनेहरुको मुटुमा ढ्याँग्रो बज्न थाल्छ, त्यहीँ जनयुद्ध शब्दले उत्पीडनमा पारिएका, सत्य र न्यायको आवाज बुलन्द गर्नेहरु, राजनीतिक लगावमा पारिएकाहरु, राज्यको मूलधारमा आउन नसकेकाहरु, योग्यता र क्षेमता अनुसारको काम र काम र आवश्यकता अनुसारको दाम पाउन नसकेकाहरु, गास, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारमा आफ्नो अधिकार प्राप्त गर्न नसकेकाहरुको मनोबल उँचो बनाइदिन्छ । ठगेर खान पल्किएका वर्गवैरीहरुका विरुद्ध एक मुठ्ठी प्राण रहेसम्म न्यायका लागि लडिरहने अदम्य साहस जनयुद्ध शब्दले पैदा गराइदिन्छ । अत्याचारी खुनी शासकको शासनसत्ताका विरुद्ध न्याय र समतामूलक अर्को संसार संभव छ भन्ने एउटा नाराद्वारा समाजमा जागरण पैदा गराइदिन्छ । जनता नै इतिहासका निर्माता हुन् भन्ने सत्यलाई पुष्टि गराइदिन्छ, हो यसैलाई भनिन्छ जनयुद्ध ।
आज देश मूलभूत रुपमा जनयुद्धले देखाएको बाटोमा अगाडि बढिरहेको छ । जनयुद्धकै बेसमा २५० वर्षे एकात्मक सामन्ती राजसंस्थाको समूल अन्त्य गरेको कुरा इतिहासमा दर्ज छ । तर पनि जनयुद्धको पूर्व सन्ध्यामा जुन संकल्प गरिएको थियो त्यो आज पूरा भएको छैन।कारण धेरै छन् त्यता नजाऔँ । राज्यको मूलधारबाट पछाडि पारिएका वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको तर्फबाट राज्यका हरेक निकायमा समानुपातिक अधिकार स्थापित गर्न संघर्षको सुरुवात गरेको दिन ।
देश संघीय संरचनामा गएको छ । संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहका सरकार चलिरहेका छन् । सिंहदरबार जनताको आँगनमा पुगेको छ भनिएको छ।तर आज के जनयुद्धको सार्थकता पुष्टि हुने गरि जनयुद्धको मर्म र भावना अनुसार राज्य अगाडि बढेको छ त ? पक्कै पनि छैन । त्यसकारण जनयुद्धको जगमा भएका उपलब्धिको रक्षा गर्दै क्रान्तिको बाँकी कार्यभार पूरा गर्नु छ यसले मात्र जनयुद्धको सार्थकता पुष्टि हुन्छ।
हामी देख्छौँ ! हिजो जनयुद्धकालमा पराजित भएकाहरु आज माओवादी विचार र नेतृत्वप्रति चौतर्फी आक्रमण गरिरहेका छन् । जनयुद्धकै जगमा गणतन्त्र त आयो तर जनताको गणतन्त्र हुन सकेन बिडम्बना भन्नू पर्छ सत्ता दलालहरुको हातमा गयो यसको फाइदा उठाउदै पूर्व पञ्चे, मण्डलेहरु फेरि पनि देशलाई पश्चगमनतिर फर्काउने दुस्साहस गरिरहेका छन् । खबरदार तिम्रो ती सपना पूरा हुने छैन । बरु बसौँ छलफल गरौँ देशलाइ निकास दिने हो भने दलालहरुको पञ्जाबाट नेपाली जनताको हातमा सत्ता ल्याउने हो भने नेपाली विशेषताको समाजवादमा गोलबन्द हुनुको विकल्प छैन । पश्चगमनतिर जाने होइन अग्रगमनतिर लम्कने हो । यहि नै जनयुद्धले देखाएको बाटोको असल अनुयायी हुनेछ । समाजलाई अधोगतिमा धकेल्न चाहनेहरु जनयुद्धका उपलब्धीहरुलाई असफल पार्ने ध्याउन्नमा लागिरहेका छन् । त्यसको उदाहरण न्यायालयले जनयुद्ध दिवसको बिदा कटौती गर्नु ।
हुन त कमरेड माओले भन्नुभएको छ –‘कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ । यदि कार्यदिशा सही छ भने नभएका कुरा पनि प्राप्त हुँदै जान्छन् तर यदि कार्यदिशा नै गलत छ भने भएका कुराहरु पनि गुम्न पुग्दछन् ।’ यो भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ । हिजो जनयुद्ध चलिरहदा कार्यदिशा सहि थियो हामीसँग नभएका कुराहरु पनि प्राप्त भए । आज जनयुद्धको मूल नेतृत्वमा सहि नीति, कार्यक्रम र कार्यदिशाको अभाव खड्क्यो मुख्य नेतृत्वमै विचलन आयो, त्यसकारण भएका उपलब्धि पनि गुम्ने खतरामा छन् । यसप्रति गम्भीर समिक्षाको जरुरी छ ।
विरोधीहरुको काम हो, क्रान्तिलाई असफल बनाउन खोज्नु, परिवर्तन र अग्रगमनको यात्रालाई रोक्न खोज्नु !सच्चा क्रान्तिकारीहरुले यसको डटेर सामना गर्नुको विकल्प छैन । पुरानो सत्ताका पक्षधरहरुले नै परिवर्तन, सरकार र क्रान्तिलाई समर्थन गर्लान् भनेर सोचियो भने त्यो ठूलो गल्ति हुन्छ । बरु विरोधीहरुले सर्मथन गर्न थाले भने प्रष्ट भए हुन्छ कि आफू हिँडेको बाटो गलत छ । विरोधीले विरोध गरिरहनु नै आफ्नो बाटोमा सही भएको प्रमाण हो । विरोधीहरुले असफल बनाउन खोजे भनेर गुनासो गर्नुको कुनै अर्थ छैन । हामी सफल वा असफल के हुने भन्ने कुरा हाम्रै कार्यशैली वा कार्यदिशामा निर्भर गर्दछ ।
देशमा आमूल परिवर्तनका लागि २०५२ फागुन १ गते सशस्त्र जनयुद्धको घोषणा गरिएको थियो । एउटा गतिमा जनयुद्ध आफ्ना तुफानी वेगहरुसँगै अगाडि बढ्दै गयो र एक हदसम्म आफ्नो लक्ष्य र उद्देश्यमा सफल पनि भयो । अहिलेको बदलिँदो परिस्थितिमा यतिले मात्र पुग्दैन, यसका लागि सम्पूर्ण वामपन्थी, प्रगतिशील मालेमावादी क्रान्तिकारीहरुले अझ धेरै काम गर्नु छ ।
जनयुद्धमा प्रत्यक्ष सहभागी भएर योगदान गरेका घाइते योद्धाहरु आज पनि उचित उपचारको खोजीमा भौँतारिइरहेका छन् । कतिपय योद्धाहरु स्वदेशमा रोजगारी नपाएर अरबका खाडीहरुमा पसिना बगाइरहेका छन् । जनमुक्ति सेनामा ४० प्रतिशत भूमिका निर्वाह गरेका महिला योद्धाहरु आज घरको चार पर्खालभित्र कैद भएका छन् । युद्धमा सहभागी भएका महिला नेता कार्यकर्ताहरु आज सबैभन्दा बढी पीडित बन्न पुगेका छन् । शहीद परिवारहरु जटिल समस्यामा छन् ।
सरकार, संसद र अन्य सुविधामा पुगेकाहरु सर्वहारावर्गीय चिन्तनबाट विचलित हुन पुगेका छन् । उनीहरुको लवाइखवाई र उठानबैठान हेर्दा लाग्छ उनीहरुको जीवनमा समाजवाद मात्र नभई साम्यवाद नै आइसकेको छ । परन्तु आम जनता, शुभचिन्तक, कार्यकर्ता र शहीद तथा बेपत्ता परिवारहरुको दैनिक जीवनमा समृद्धिको उज्यालो घाम झुल्किनु त परै जाओस्, दुई छाक टार्न पनि मुस्किल छ ।
जनयुद्ध दिवस मनाउनुको अर्थ हो जनयुद्धको स्मरण गर्नु । जनयुद्धको स्मरण गर्नुको अर्थ हो आफ्ना दायित्त्वहरुप्रति जवाफदेही इमानदार र जिम्मेवार बन्नु । सामुहिक जीवनशैली अंगाल्नु र महान सर्वहारावर्गीय संस्कृतिलाई अवलम्बन गर्नु, इतिहास र वर्तमानको निर्मम समीक्षा गर्नु र आफूलाई परिवर्तनको अभियन्ताको रुपमा सदैव अग्रमोर्चामा उभ्याउनु ।
“यति गरियो भने मात्र हामी साँचो अर्थमा जनयुद्धको सम्मान गर्न लायक बन्नेछौँ । जनयुद्ध र इतिहासको भजन गाइरहने तर त्यसबाट सिर्जित समस्या सम्बोधनका लागि पहल गर्नुको साटो जिम्मेवारीबाट पन्छिन खोज्ने वा त्यसका उपलब्धि संस्थागत गर्न पहल नगर्ने हो भने जनयुद्ध दिवस मनाउनुको कुनै औचित्य छैन । त्यसकारण हाम्रो पुस्ताको काँधमा त्यो युगीन दायित्त्व आइपुगेको छ ।
यस्तो समयमा पनि हजारौँको बलिदानबाट प्राप्त उपलब्धि संस्थागत गर्दै नयाँ सभ्य र समुन्नत नेपाल निर्माणको दिशामा जानका लागि नेपाली विशेषताको समाजवादमा जुट्नुपर्छ । यदि नयाँ संकल्प गर्न सकेनौँ भने त्यो इतिहासकै बिडम्बना हुनेछ । शहीद र वेपत्ता योद्धाहरुका सपना पूरा गर्न, नयाँ नेपाल निर्माणको अभिभारा पूरा गर्न आ–आफ्नो ठाँउमा गम्भीर र जिम्मेवार बनौँ । सबैलाई २९औं जनयुद्ध दिवसको हार्दिक शुभकामना!