३० कार्तिक २०८१, शुक्रबार

छोपिएका प्रिय नायकहरू !

0

            अनिल सी

 

 

रोल्पाको उवा बेसीका अथाह कथा–व्यथाहरू छन् । मान्छेहरू कृष्ण विवरको अन्वेषण गर्दै गर्दा यता उवा गाउँ भने अँध्यारोमा छ । प्रश्नहरू छन्, आशाका झिल्काहरू छन् र निन्याउरा आँखाहरू टाढा–टाढा कतै हेरिरहेका छन् । आगो लागेर बचेका कालाकाला खाँबाका अवशेषजस्ता पारिएका छन् सपनाहरू । उनै अवशेषहरू, उज्यालोका बिजहरू हुन् कमरेड साहसहरू । कमरेड साहस अर्थात् किताब घर्ती थवाङ ५, उवा गाउँका सबैभन्दा पुराना नेता हुन् । नागरिकतामा २०२४ भए पनि उनको जन्म २०१९ सालमा भएको थियो । नेकपाका महासचिव विप्लव सीसहित हामी सुलीचौरको भेटघाट र राजनीतिक विमर्श सकेर झम्के साँझमा उवा बेसी पुग्दा एकातिर झ्याउँकीरी र अर्कोतिर उवा खोला, तलखोला र गाम खोला मिसिएर टाढाटाढासम्म सुनिने गरी गीत गाउँदै थिएछन् । माडी खोला, झिमरुक र फगाम खोला उतैकतै बरालिंदै थिए । ओरालो झर्दै थिए ।
साँझको खाना खाएपछि एक–एक वटा खाटमा विप्लव सी र म ; अर्कोमा पत्रकार प्रकाश डुम्रे र रोल्पाली नेता विजय सी गफिँदै थियौं ।

                क. साहस

अतिथि सत्कार सकेर क. साहस बिरालो चालमा कोठामा आएर खाटको छेउमा टुसुक्क बसे । त्यसपछि कुराको पोयो फुकाउन थालियो । उवा गाउँका पहिलो लडाकु सदस्य पनि हुन् क. साहस । “रोल्पाको पहिलो भीडन्त उवामा भएको थियो । हामी घरभित्र थियौं । प्रहरीले घेरा हालेछ । घरको छानो च्यातेर घेरा तोडेका थियौं” उनी धूमिल भइसकेका स्मृतिहरू उधिन्दै थिए ।
त्यो २०५३ साउन २२ गतेको घटना हो । त्यो घटनामा गोबद्र्धन घर्ती, दिलकुमार पुन र नरेन्द्र रोक्काको सहादत भएको थियो । तर जनयुद्धलाई सून्यबाट उठाएका ती नायकहरू छोपिएका छन् । र, खलनायकहरू श्रीपेच पहिरिएर डुक्रिँदै हिंडेका छन् । बर्तोल्ट ब्रेख्तले साहसहरूकै अव्यक्त सत्यलाई वाणी दिएझैं लाग्छ । के ब्रेख्तले उहिले नै उवाबासीको नियती देखेथे ः
‘थेब्स सहरका सातद्वार
कसले बनायो ?
किताबका पानाहरूभरि त
राजाहरूको नाम छ ।
के राजाहरूले नै ती खस्रा
बडेबडे ढुङ्गाहरू उचालेर ल्याए ?
र, बेबिलोन जो धेरै पटक नष्ट भयो
कसले पटक–पटक निर्माण गरिदियो ?’
झोलिलो–मलिलो मासु–भात र आँटो खाएर चिसो रात कटायौं । आतिथ्यता अनुपम न्यानो थियो । खोला तरेपछि पानी फेरिन्छ भन्छन् । पानीसँगै भाषा पनि त फेरिन्छ । यताहुँदी ढिंडोलाई आँटो भन्दारहेछन् । मैले ठट्टा गर्दै भनें– आँटो भनेर ढिँडो आयो त कमरेड ? भान्छे नानीले “यस्तै भयो सार, लेकाली खाना” भनिन् । छेउमा बसेका पत्रकार प्रकाशले “शहरतिर खसीको टाउको देखाएर कुकुरको मासु बेच्छन् । यतातिर त कुकुरको टाउको देखाएर खसीको मासु बेच्दारहेछन्” भनिहाले । यस्तै–यस्तै अघिल्लो दिनका सुखद क्षणहरू सम्झिँदै ७ गते विहानै यात्रा अघि बढायौं ।
हामी विहान ९ बजेतिर थवाङ–४को थर्पू पुगेका थियौं । जलजला टारहरू बाँझा देखिन्थे । हामीले जलजला शिखरका मनोरम तरेलीलाई क्यामेरामा कैद ग¥यौं र अघि बढ्यौं । अलि पर एकजना निकै पाका मान्छे बारी जोत्दै थिए । युवाहरू गाउँमा छैनन् । बुढापाकाहरू हली भएका छन् । देशको अवस्थाजस्तै नरमाइलो लाग्यो दृश्य । श्रम सुन्दर हुने भए पनि कहिले काहीं सुन्दर लाग्दो रहेनछ ।
हामी अगाडि बढ्दै गयौं । महासचिवले घटना र परिवेशको विषयमा अथ्र्याउँदै हुनुहुन्थ्यो । जसअनुसार थर्पू र फुन्टिवाङबिचमा आलोकको हत्या भएको थियो । सलाप भञ्ज्याङ थर्पू, जलजला र फुन्टिवाङ छुट्टिने सङ्गम हो ।

थवाङ–४, थर्पूबाट लिएको जलजलाको तस्बिर, २०६० मङ्सिर ७

हामी फुन्टिवाङतिर ओरालो लाग्यौं । २०६१को फुन्टिवाङ बैठक जहाँ रणनीतिक प्रत्याक्रमणको निर्णय भएको थियो । “ऊ त्यो गाउँ लावाङ हो । त्यहींको बैठकले लालध्वजलाई कारवाही गरेको थियो” विप्लव भन्दै हुनुहुन्थ्यो । भञ्ज्याङमा एउटा रोचक प्रसङ्ग उहाँले सुनाउनु भयो– लामो यात्रापछि सलाप भञ्ज्याङमा बिसाउँदै गर्दा क. गौरवले लामो सुस्केरा हाल्दै ‘सकिएन’ भनेछन् । विप्लवले ५ मिनेट आराम गर्नुस् भन्नासाथ क. सोनामले “अब सक्नुहुन्न दाइ, संरक्षक बन्नुस्” भनिदिएछन् । बादल हाँसे मात्र; गौरव गम्भीर भए । ठट्टा एकाएक गम्भीर विषय बन्न गयो । त्यसैले त लू शुनले ठट्टा र व्यङ्ग्य सत्यको सबैभन्दा नजिक हुन्छ भनेका होलान् ।
गल्जेल भञ्ज्याङवारी पुग्न समय लागेन । गल्जेलमा स्याउ खेती थियो । जुन जनयुद्धकालमा माओवादी पार्टीले रोपेको थियो । अहिले त्यहाँ कम्युन त छैन । तर स्याउबारी छ र किसानले मनग्य फाइदा लिएका छन् । “यहाँ १० हजार बोट स्याउ रोप्ने योजना छ” महासचिवले सुनाउनु भयो । विहान १० बजे हामी खेलाङ पुग्यौं । पारी चालावाङका स्याउका बुटा यात्रीहरूलाई नियाल्दै थिए । क. विप्लवको घरमा उसिनेको आलु, नुन–खुर्सानी लगाएको मूला, मकै–भट्ट खायौं । भोक मिठो कि भोजन ? भन्ने गरिन्छ । मिठासमा भावनाको त्यत्तिकै भूमिका हुन्छ होला ।
आजभोली स्याउखेती भएको चालावाङमा २०६२ सालमा शाही सेनासँग भिडन्त भएको थियो । रेन्जर बटालियनको नेतृत्व अमेरिकी सेनाले गथ्र्यो । त्यसैले हामी ‘शाही अमेरिकी सेना’ भन्थ्यौं । अपरान्ह हुँदा–नहुँदै थवाङ–१, राशीवाङस्थित अजम्बरी जनकम्युन पुग्यौं । त्यो क्षण आफैमा उद्वेलित क्षण थियो । ती झुपडीमा बसेर विप्लवले विश्व साम्यवादको विजारोपण गरेका थिए । देशभरीका क्रान्तिकारीहरू गौरवानुभूति गर्थे । आज कम्युन विघटन भएको छ र झुपडीहरू टुहुरा बनाइएका छन् । २०६१ असारमा उद्घाटन गरिएको अजम्बरी कम्युनको आँगनमा बसेर खाना खायौं । नयाँ सपनाका कुरा ग¥यौं । सेतो मकैको ढिँडो, सिस्नो, जोगी तरकारी, मूला र भाङ मिसाएको अचार, बन्दाकोभी र भाङको अर्को अचार भएको खाना, औधी स्वादिष्ट थियो । खाना खाएपछि कमरेड हाङ (Hang)सँग मेरो प्रिय भलाकुसारी भयो । “भूमिगत हुने बेलामा धेरैजसो रात भीरमा बित्थ्यो । खाम भाषामा भीरलाई हाङ भन्छन् । म सैन्य विन्यासमा रहन्थें । भीर मेरो साथी र रक्षक बन्यो । त्यसैले आफ्नो साङ्केतिक नाम नै हाङ राखियो” उनले खरर भने । त्यहीं रोल्पाका धरोहर क. पत्थरसँग थवाङमा भेटने सल्लाह भयो । जसलाई महासचिव विप्लवले छोपिएका नायकहरू भन्नुभएको थियो । कमरेड प्रताप र साहसहरू कम्युनका नेता थिए ।

     क. हाङ                                    क. प्रताप

कमरेड हाङ भने पाँचौं डिभिजन दहवनबाट बहिर्गमन भएपछि विघटित कम्युनको कङ्काल स्याहारसम्भार गरेर बसिरहेका छन् । “म क्रियाशील छैन । तर आस्था विप्लवतिरै छ” हाङ भन्छन् । अजम्बरी कम्युनलाई सरकारले शत्रु ठान्छ । कम्युनमा क्रान्ति देख्छ र असहयोग गर्दछ । अनुदान र सहयोग भए पर्यटकीय स्थल बनाउन, सङ्ग्रहालय बनाउन सकिन्थ्यो” क. हाङ गुनासो गर्छन् । बेनी मोर्चा, गाम मोर्चा, भिङ्री मोर्चा, घर्तीगाउँ मोर्चा, घोराही मोर्चा– उनी कुन मोर्चामा लडेनन् र ! २०५८मा चलावाङमा लाटो ग्वालालाई हत्या गरेर शाही अमेरिकी सेना फर्केको थियो । हाङले त्यो प्रसङ्ग पनि उठाए ।
साँझपख थवाङ पुगियो । क्रान्तिको नेतृत्व गर्लान् भनेर होला, थवाङ्गे जनताले ठूलो स्वागत गरे । क्रान्तिको सपना रोपेको खुसियालीमा नेताहरूसँग नाचगान गरे । साँझ विप्लव सी सहिद दीर्घको घरमा र प्रकाश, म र भीम भारती एकजना शिक्षकको घरमा बास बस्यौं । यता हामी सपना रोप्दै यायावर झैं तर लक्ष्यसहित यात्रारत थियौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हाम्रो पार्टीको विषयमा संसदमा सकारात्मक टिप्पणी गरेछन् । माधवले सदनमा बोलेको कुरा प्रचण्डले बोल्नु पर्दथ्यो । तर उनी हामीलाई ‘युज एण्ड थ्रो’ मात्रै गर्न चाहन्छन् । हाम्रो प्रगतिमा उनी आफ्नो मृत्यु देख्छन् । विप्लवको थवाङ भाषण राष्ट्रिय राजनीति र हाम्रै सन्दर्भमा अर्थपूर्ण हुन्छ भन्ने लाग्दैथियो ।

  सहिद स्तम्भ, थवाङ, २०८० मङ्सिर ८

विहान थवाङ बजार घुम्न गयौं । थवाङको पुरानो स्वरुप थिएन । शहरीकरण भइसकेको रहेछ । जनयुद्धको बलिदानको फाइदा थवाङ एक्लैले उठायो भन्ने गुनासाहरू पनि सुनिन्थ्यो । हिजो ८ गतेको सभामा स्थानीय प्राचीन लोकनृत्य, जनयुद्धका पुराना कलाकार, गायक, बलिदान गरेका, सहिद, बेपत्ता र जेल बसेका सबैलाई जोडेकोमा सबैभन्दा खुशी छाएको थियो । सहिद दीर्घका छोरा अजयको भूमिकाप्रति खुशीभाव थियो । उता कालिकोट र दैलेखका पार्टी स्थापना दिवसको समाचार पनि उत्साहवर्धक थिए ।
तत्कालीन माओवादीका केन्द्रीय सल्लाहकार थिए तेजमान घर्ती ‘दीर्घ’ । छ वटी छोरीहरू धनमाया, करुणा, बालमाया, डोल्मा, रामराखी र कान्छी छोरी सिजमाया हुन् । तेस्रो सन्तानको रुपमा दुई छोरीपछि सहिद दीर्घका छोरा हुन् अजय घर्ती ।

बाँयाबाट क्रमशः जीवन साथी सुनसरी घर्तीमगर, सहिद तेजमान घर्ती ‘दीर्घ’ र छोरा अजय घर्ती

२०६१ साल फुन्टिवाङ बैठक भर्खरै सकिएको थियो । असोज २५ गते जतुके–१, लामाताल, अर्घाखाँची–कपिलवस्तुमा हुने किसान कार्यक्रमको लागि जाँदै गर्दा कमरेड दीर्घ गिरफ्तार भए । शाही अमेरिकी सेनाले नेता भन्ने बुझेर हत्या ग¥यो । जीवन सङ्गीनी कल्पना, छोरा अजयसहित ६ वटी छोरीहरू टुहुरा भए । ९ गते विहान हामी थवाङबाट दक्षिणतिर लाग्यौं । बाटाभरी इच्छुकको कविता ‘त्यो प्यारो–प्यारो पहाडी गाउँको नाम थवाङ हो’ सम्झिरहेको थिएँ ।
यो यात्राले हामी जनयुद्धमै भएझैं लाग्दथ्यो । केही बेरमा नै राङ्सी, पुतला बजार पुगिएछ । सामुन्नेमा नाकजस्तो लमतन्न पहाड थियो । जहाँ प्रचण्ड र बाबुराम ३ महिनादेखि बसेका रहेछन् । त्यो बासबाट हिंडेको ४ दिनपछि प्रचण्ड बसेकै घरमा सेनाले हवाई आक्रमण ग¥यो । सायद जनयुद्ध विरुद्ध ब्रिटेन, इजरेल र अमेरिका उत्रिएपछि सेटेलाइट फोनमाथि पनि दुश्मनको पहुँच भयो र निशाना सही भयो । यद्यपि प्रचण्डहरू त्यहाँबाट सरिसकेका थिए । तर त्यो घटनापछि सीता रोएको, कैयौं दिन खाना नखाएको स्मरण गर्दै थिए कमरेड विजय ।
हामी कुरेली–१मा पुगेका थियौं । “तपाईहरू फर्किंदा बास बसेको, जनपरिषदको भेलामा गएको र फर्केको बाटो यही हो अनिल” विप्लव कमरेड भन्दै हुनुहुन्थ्यो । बाटाहरू, घटनाहरू र लडाइका मोर्चाहरूका कुराकानी चलिरहे । अहिले कुरेली परिवर्तन गाउँपालिका भएको छ । बाघमाराको विद्यालय पुग्दा त अपरान्ह ढल्किँदै थियो । गाउँ थर्किने ग्रामिण बजागाजा घन्किँदै थिए । गाउँ उल्टिएको थियो । “पाछावाङ र इरिवाङका पाखाहरूमा सहिदको रगत अझै आलै छ । हामी जनताको मुक्ति नभएसम्म यात्रा रोक्दैनौं” विप्लवले व्यक्त गर्दै भन्नुभएथ्यो । लाग्थ्यो, रोल्पाले त्यही सुन्न चाहेको थियो । आफ्नो कमाण्डर कसैको कारिन्दा भएको सुन्न–देख्न चाहन्नथ्यो रोल्पा । अतितका नायकहरू सुन तस्करीमा फसेको कल्पना गर्न पनि चाहन्नथ्यो रोल्पा । २०७० – २०८०को बिचका १० वर्षमा श्रम गर्न विदेश गएका मध्ये १० हजारको मृत्यु भएको सरकारी तथ्याङ्क छ । तर जनयुद्धमा १० वर्षमा जनता र सुरक्षाकर्मी दुवै गरेर १७ हजारको मृत्यु भएको थियो । जनयुद्धमाभन्दा धेरै र अनर्थमा जनधनको क्षति भइरहेको यथार्थ कसले देख्ने !
बाघमाराबाट इरिवाङ नपुगी बाटो मोड्दा त्यहाँका जनताले मन दुखाउने थिए । इरिवाङ सहिद वीरजङ्गको जन्मस्थान पनि हो । त्यसैले १० गते विहान इरिवाङ जाने, दिउँसो घर्तीगाउँमा कार्यक्रम गरेर लिवाङको कार्यक्रम एक दिन पछाडि सार्ने सल्लाह भयो । म इरिवाङ पुगेर विप्लव र वीरजङ्गको हुर्काइको भौतिक परिवेश अध्ययन गर्न चाहन्थें । जवाहरलाल नेहरू र सरदार बल्लभभाइ पटेलको बिचका फरक सोचका भौतिक कारणहरूबारे मेरो बुझाईहरूले इरिवाङको यात्रालाई प्रेरित गर्दैथिए ।
हामी चुनवाङ नजिकै थियौं । जहाँ जनयुद्धको विसर्जन गरिएको थियो । जहाँका जनताले आफ्नै मानो खाएर २ वर्षमा गैती–बेल्चाको भरमा सहिदमार्ग खनेका थिए । पहरो फोरेका थिए । तर दुई दशक बितिसक्दा पनि उस्तै छ बाटो । दहवन–थवाङ ६३ किमी बाटो बेहाल छ । अर्कोतिर बाघमारा–चुनवाङ–लवाङ सडक जोड्ने सपना थियो विप्लवको । त्यो सपना पनि असरल्ल छ । तर थाकेका, गलेका छैनन् राता पहाडहरू । जुधिरहेछ इरिवाङ; कवि इच्छुकको कवितांश सम्झन्छु ः
‘नयाँ ऊर्जाका नयाँ आँकुराहरू
नयाँ उष्माका नयाँ पिपराहरू उमार्छ
छातीभित्र अनन्त जिजिविषाहरू पालेर
नयाँ–नयाँ उमङ्गका
नयाँ–नयाँ हाँगा र पातहरूले
फेरि आफूलाई सिंगार्छ
जब फेरि
उसका कलिला हाँगाहरू काटिन्छन्
फेरि जब
उसका चिल्ला पातहरू लाछिन्छन्
खडेरीले झुल्सिएको दुबोजस्तै
ऊ फेरि हरियो भएर पलाउँछ
फेरि ऊ गुल्जार भएर मुस्कुराउँछ
कारगारभित्र बन्धनहरूका बिचमा
एक समरयोद्धाजस्तै
जुधिरहेछ एउटा पिपलको बोट ।’
मङ्सिर १० गते मध्यान्नमा टोली इरिवाङको केवरी गाउँ पुग्यो । सुन्तला, कागती, हलुवावेद, बेलौती, केरा, आँपका बुटाभित्र स–साना घरहरू लुकेका देखिन्थे । उत्तर फर्केको डाँडामा पञ्चैबाजा जोडतोडले बजिरहेको थियो । ब्रह्माण–क्षेत्रीको बस्ती भएर होला, भजन गाउँदै–नाच्दै थिए गाउँलेहरू । आमा समूहको प्रस्तुती उस्तै रोचक लाग्दथ्यो । उत्तर–पश्चिमतिर पारी छङ्गाछुर भीरलाई सर्पलडे भन्दा रहेछन् । “पहरो कोतरेर बाटो बनाउँदा नै यो भीरले धेरैको ज्यान खायो” सर्पलडे भीर देखाउँदै महासचिव विप्लव भन्दै हुनुहुन्थ्यो । केवरी गाउँ टेक्नासाथ म भने वीरजङ्गको पुर्खौली घरतिर गएँ । साथमा पत्रकार प्रकाश थिए । वीरजङ्ग स्मृतिग्रन्थ प्रकाशित गर्ने समयमा नै म त्यहाँ पुग्न चाहन्थें । तर आर्थिक जोहो गर्न सकिन । न त त्यसको महत्व बुझ्ने मान्छेहरू नै भेटियो । भनिन्छ चेतनाको गहिराईले नै अनुभूतिको गहिराई निरुपण गर्दछ ।
साँझ घर्तीगाउँको कार्यक्रम सकेर लिवाङ पुग्यौं । मेरो यो लिवाङ यात्रा चौथो पटकको थियो । २०५१ सालमा पहिलो पटक विद्यार्थी सम्मेलन गर्न लिवाङ पुगेको थिएँ । उसबेला विद्यार्थी सङ्गठनका अध्यक्ष सुन्दर ओली जेलमा थिए । खुमा सुवेदी, मधुसुदन वैद्यसहित बन्दी भेट्न रोल्पा कारागार पुगेका थियौं । त्यसबेला भालुवाङ–सुलीचौर–लिवाङ सडकको गोरेटो मात्रै खुलेको थियो । म रसियन ट्रयाक्टरमा धुलाम्मे भएर लिवाङ पुगेको थिएँ । ती स्मृतिहरू ताजा भएर आए । विहान घमाइलो थियो । उत्तर–पूर्वमा दार्बोटको जङ्गल देखिन्थ्यो । त्यो दृश्यले इच्छुकको कविता ‘दार्बोटको जङ्गल’मा विचरण गरायो :
‘योद्धाजस्तै अग्ला वृक्षहरू
मोर्चा कसेझैं अविचल उभिरहे
एकताको हातेमालो बाँधेर
लहराहरूले दृढताको मुठ्ठी कसिरहे
सङ्गीनले नझुक्ने साहसका गुराँसहरू देखेर
बन्दुकहरू लाचार भएर गए
झिल्को निभाउन आएकाहरूले
झनै आगो दन्काएर गए
दार्बोटको नाकाबाट सैनिकहरू नाजवाफ भएर गए ।’
मङ्सिर ११ गते हामी प्युठान जिल्लाको जुम्री बजार पुग्दा झम्के–साँझ भइसकेको थियो । स्वर्गद्वारी क्याम्पसका प्राध्यापक जगन्नाथ पोखरेल बोल्दाबोल्दै भक्कानिए । एकातिर उनी जनयुद्धका दिन सम्झँदै थिए भने अर्कातिर २०४७–२०५२को बिचमा हामीसँगै विद्यार्थी आन्दोलनमा क्रियाशील थिए । ‘तपाईहरूले बिर्सनु भयो होला ….’ उनी त्यसो भन्दा–भन्दै भक्कानिएका थिए ।

         शाेभा आचार्य

महान् सहिदका परिवारमध्ये एकजना हुन् शोभा आचार्य । कोहलपुर–५, मनकामना टोलकी शोभाको जन्म २०२४ सालमा दाङको बागर गापा, एकली गाउँमा भएको हो । पिता धर्मलाल पाण्डे हुन् । “आमाको नाम तुलसा हो क्यारे । बितिसक्नु भयो” आमाको नामसमेत विस्मृतिमा गएको छ । आखिर समाजलाई आमाहरूको नाम किन चाहिन्छ र ! समाजलाई घरेलु नोकर र यौनदासी चाहिएको छ । महिलाको स्वतन्त्र अस्तित्व चाहिएकै छैन । शोभाको विवाह १२ वर्षको नावालिग हुँदा भानुभक्त आचार्य ‘अविरल’सँग भएको हो । विवाह हुँदा सहिद अविरल २२ वर्षका थिए । शोभा २०३६ सालदेखि कम्युनिस्ट आन्दोलनमा छिन् । २०५५ भदौ ४ गते कैलाली, चौमालामा काङ्ग्रेसी सरकारले अविरलको हत्या गरेको थियो । डोटी जाने क्रममा पाण्डौनबाट साउन २८ गते गिरफ्तार गरेर गौरीगङ्गा (साविक चौमाला) बालुवागडामा हत्या ग¥यो ।
जीवन साथी अविरलको हत्यापछि २०५९ बैसाख १९ गते २० वर्षे छोरी इन्द्रा आचार्य ‘ज्योती’को डोटी जिल्ला छेडामा हत्या ग¥यो । जीवन साथी र डोटी जिल्ला इन्चार्जसमेत रहेकी छोरीलाई गिराफ्तार गर्न सहयोग नगरेको भनेर पटक–पटक सेना र प्रहरीले शोभालाई गिरफ्तार ग¥यो र शारीरिक–मानसिक यातना दियो । २०५५ सालमा काठमाडौंमा भएको महिला सङ्गठनको राष्ट्रिय सम्मेलनमा भाग लिंदा उनी दोस्रो पटक गिरफ्तार भइन् । २०५५ माघ ५देखि २०५६सम्म गरी १ वर्ष ६ महिना उनले धनगढी कारागारको कहर र अपमान झेलिन् । मोतीपुर माविमा पढ्दै गरेकी छोरीलाई विद्यालयमा नै लगेर आमा–छोरी दुवैलाई गिरफ्तार गरेको क्षण भर्खरजस्तो लाग्छ शोभालाई । शान्ति प्रक्रियामा आएपछि सवारी दूर्घटनामा परेर लखनऊमा उपचार भयो । एउटै व्यक्तिमाथि यति धेरै पीडा र कहर कसरी वर्षिन्छन् हँ ? ‘हे ईश्वर दुःखीको घरमा मात्र तेरो बास हुनेभए कृपागरी मलाई अझ दुःख दे !’ नाटककार बालकृष्ण समले शोभाकै सन्दर्भमा भनि छाडेका थिए । परन्तु शोभालाई स्वर्ग–नरक र ईश्वरप्रति विश्वास छैन ।
हामीलाई थाहा छ कैलाली जिल्लाको लम्कीमा मात्र ३८० जना सहिद भएका छन् । २०५५ भदौ १७ लम्कीको कौवापुर जङ्गलमा टेक बोगटी, भिमबहादुर भाट, यज्ञेश्वर शर्मालाई सामूहिक हत्या गरेको थियो । २०५७ साउन १८ शोभा पूर्णकालीन कार्यकर्ता भइन् । त्यसो त उनी कैयौं वर्ष अघिदेखि नै पूर्णकालीन भएकी थिइन् । पार्टी नै परिवार र परिवार नै पार्टी थियो उनीहरूको ।
गएको भदौदेखि शोभा आचार्य कपिलवस्तु, शिवगढीस्थित नेकपाको केन्द्रीय कार्यालयमा छिन् । उनी कर्मी माहुरीझैं दिनभरी श्रम गरिरहन्छिन् । फूलका विरुवासँग खेलिरहन्छिन् । ‘कार्यालयलाई ६ महिनाभित्र फूलबारीमय बनाउने उनको अठोट छ । देश सजाउन खोज्दा जीवनसाथी, छोरी र भाइ गुमाएकी शोभा हाल एकीकृत जनक्रान्ति सजाउँदै छिन् । उनले केवल पार्टी होइन सहिदका सपना सजाउँदै छिन् । क्रान्ति उमार्दै छिन् ।
शिवगढीस्थित नेकपाको केन्द्रीय कार्यालय पुग्ने हरेक व्यक्तिले कर्मी माहुरीझैं श्रम गरिरहेका एकजना पाको उमेरका कम्युनिस्टलाई देख्न सक्छ । उनी हुन् क. विरकुश ज्वाला । नागरिकता प्रमाणपत्रमा जन्म मिति २०१६ भए पनि उनी २०१२ सालमा जन्मिएका हुन् । उनको घरायसी परिचय खिमप्रसाद घर्ती हो ।

         क. विरकुश ज्वाला

उनले २०३०–२०३८सम्म शिक्षण पेशा र २०३८–०४५सम्म गाउँ पञ्चायतको सचिव पदमा सरकारी जागिर खाए । सरकारी सेवामा भए पनि उनको तनमन भने कम्युनिस्ट आन्दोलनमा नै हुन्थ्यो ।
२०४६ सालदेखि घर्ती एमाले पार्टीमा रहेका थिए । २०५४ सालपछि सिङ्गो राप्ती माओवादीमय बनेर गएको थियो । उनी पनि माओवादी पार्टीमा आवद्ध भए । २०६१ सालदेखि उनी किसान सङ्गठनमा आवद्ध भएर क्रियाशील भएका थिए । गतवर्षको माओ स्मृति दिवसको अवसर पारेर शिवगढी आए । त्यही समयदेखि पार्टी कार्यालयको सदस्य भएर क्रियाशील छन् । उनी अहिले पनि किसान सङ्गठनका कार्यालय सचिव छन् । “सामूहिक बङ्गुर पालन, पाठ्यशाला (Schooling) र अभिलेख विभाग मेरो कार्यक्षेत्र हो” उनी भन्छन् । आज योद्धाहरू आफैलाई आफ्नो समर–यात्रा सपना थियो कि विपना ? मनमा कुरा खेल्ने गर्छन् । समय बेइमानहरूको सारथी भएको छ । सुकरातहरू सुँगुरको खोर सफा गरेर बसेका छन् र लफङ्गाहरू सिंहासनमा विराजमान भएका छन् । अतित सम्झँदा ऐठन हुन्छ । सम्झन्छु कवि कुमार दिङ्लालीको कवितांश :
‘मस्त निद्रामा केही खसेको आवाजले
झल्याँस्स भएझैं
सपनामा पहराबाट खस्दा
आत्तिएर ब्यूँझिएझैं
पढ्छु ‘नयाँ वर्षको शुभकामना’’
क्यालेण्डरमा नयाँ वर्ष आइरहन्छ, गइरहन्छ । तर महान् जनयुद्धका सारथीहरूको नयाँपन छैन । सम्मान छैन । बरु धारेहात लगाउँछ दुष्ट समयले । आज जो सत्तामा छन्, तिनको हाँसो र खुशी योद्धाको रगत र पसिनाबाट किनिएका हुन् । विद्वान थिनस फूलरले ‘धनी मानिसका हाँसो र खुशी गरिबका आँशुबाट किनिएका हुन्’ भनेका थिए । हो, आजका शासकका खुशीहरू हजारौं युवाका अथाह पीडा, रगत र पसिनाबाट किनिएका हुन् । कुनै अपेक्षा, सर्त र मोलतोल नगरी समृद्ध समाजको कल्पना गर्ने हजारौं युवामध्ये एक हुन्– सुशिला भुजेल । पिता डिलबहादुर र आमा बेलमायाको कोखबाट २०४२ सालमा अजिरकोट–४, काफलडाँडा, गोरखामा जन्मिएकी हुन् । सानीमा उमा भुजेलसँग अनुहार मिल्दोजुल्दो भएको कारण शाही अमेरिकी सेनाले पटक–पटक गिरफ्तार ग¥यो । सानीमाले जेलब्रेक गरेपछि कहर बढेको हो । एकातिर प्रहरीको कहर, हैरानी थियो । अर्कोतिर सानीमाजस्तै समाज परिवर्तनको नायक बन्ने सपना झाङ्गिंदै गयो ।

         सुशीला भुजेल

तनहुँ कालिकाटार प्रहरी चौकी कब्जा गरेपछि चर्चामा रहेकी उमा    भुजेल गोरखा जेलब्रेकपछि लोकप्रियताको शिखरमा थिइन् । यिनै बाध्यता र प्रेरणाको कारण सुशिला २०५७ सालमा पूर्णकालीन कार्यकर्ता भएर महासमरमा हेलिइन् । गोर्खा, चितवन, कास्की, लम्जुङ, स्याङ्जाका थुप्रै लडाइँ लडिन् । २०६१ सालमा लम्जुङ जिल्लाको सादी खोलामा गिरफ्तार भइन् । “सानो रेडियोमा ‘वनमा काँडा छ ….’ बोलको लोकगीत सुन्दै हिँडेकी थिएँ । बडेमानको ढुङ्गामा छेल परेर बसेको सेनाले समात्यो । घर सोध्यो । बेतिनी गाउँ भनें । तर त्यही गाउँको सेना रहेछ । त्यसपछि त हत्कडी लगाइहाल्यो” उनी भन्छिन् ।
त्यसपछि यातनाको प्रक्रिया शुरु भयो । “यो उमा भुजेलको छोरी हो । भाग्ली, कडा निगरानी गर्नु” हाकिम भन्ने गथ्र्यो । शाही अमेरिकी सेनाले मार्छ भन्ने निश्चित हुन्थ्यो । मर्नै छ भने जेलब्रेकको प्रयास किन नगर्ने त ? उनी सोच्ने गर्थिन् । संयोग उनले बेशीशहर सैन्य हिरासत ब्रेक गरिन् । नेपालको महिला जेलब्रेकरमा अर्को गौरवशाली नाम थपियो । २०६१ साउनमा उनले एक्लै शाही अमेरिकी सेनाको ब्यारेक तोडेर जनताको बिचमा पुगेकी थिइन् ।

स्राेत: जनपत्रिका माघ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।