६ जेष्ठ २०८१, आईतवार

विश्व–साहित्यमा महिला स्वतन्त्रताको प्रतिविम्बन

0

            अनिल सी

 

आज महिला स्वतन्त्रताको प्रश्न प्राथमिक महत्वको विषय बन्न गएको छ । महिलाहरूमा आफू उत्पीडनमा परेको अनुभूति र त्यसबाट मुक्तिको प्रयास कसरी पैदा भयो ? यसको जवाफले महिला स्वतन्त्रता युगको माग हो र महिला विरोधी चेतना र त्यसप्रकारका पार्टी तथा संस्थाको पराजय हुन्छ भन्ने बोध गराउँछ । त्यसैले सामाजिक सत्ताले व्यक्तिको चेतना निर्माण गर्छ न कि मान्छेको चेतनाले उसको सत्ता निर्धारण गरोस् । यो आलेखमा विश्व सामाजिक सत्ताको चरित्रसँगै नेपालसहित विश्वमा महिला मुक्ति आन्दोलन साहित्यमा कसरी प्रकट हुँदै आयो भन्ने विषय सङ्क्षिप्तमा प्रस्तुत गरिनेछ ।
पुँजीवादको विरुद्ध सामन्तवादले निर्मम दमन ग¥यो । एकातिर पुँजीवादलाई महिलासहित सबै श्रमशक्तिलाई कारखानामा लगेर अतिरिक्त श्रम–शोषण गर्नु थियो । अर्कोतिर सामन्ती सत्ताको विरुद्ध सम्पूर्ण जनताको शक्ति एकत्रित गर्नुपर्ने बाध्यता थियो । त्यसकारण यथास्थितिमा पुँजीवाद प्रगतिशील चरित्रको थियो । उसले ‘समानता, सहअस्तित्व र भातृत्व’ नारा लगायो । त्यसप्रकारको पुँजीवादी मानवतावादबाट प्रभावित चिन्तक तथा लेखकले सो कुरालाई साहित्यमा व्यक्त गर्न थाले । अमेरिकी चर्चित नारीवादी लेखक भर्जिनिया वुल्फ (१८८२–१९४१)ले ‘श्रीमती डालवे’ नामक उपन्यास लेखिन् । जसमा घरेलु महिलाहरूलाई कसरी वस्तुकरण गरिएको छ र उनीहरूको स्वतन्त्र अस्तित्व कसरी नष्ट गरिएको छ भन्ने विषयमा लेखिन् । उत्तेजना र तडकभडकलाई नारी सफलताको भाष्य पुरुषले नै निर्माण गरिदिन्छन् । नारी आफैले आफूलाई वस्तुकरण गर्छे र पुरुषले सो वस्तु प्रदर्शन गर्दछ । त्यसैगरी टाल्सटाय (१८२८–१९१०, रुसी)ले युद्ध र शान्ति उपन्यासमा नायिका ‘नातासा’लाई नयाँ भाष्यमा उभ्याएका छन् । नायिका नातासा परिवारको सुख र समृद्धिको लागि आफूलाई बलिदान गर्दिन । बरु आफ्नो स्वतन्त्र व्यक्तित्व निर्माण गर्छे । आजको युरोपीय समाज निर्माणमा टाल्सटायका विचारको ठूलो भूमिका छ ।
टाल्सटायले युद्ध र शान्ति, अन्नाकेरेन्निना, कज्जाक, पुनरुत्थान सबै कालजयी कृतिमा महिला स्वतन्त्रता र आत्मनिर्णयको विषय उठान गरेका छन् । टाल्सटाय उदार–पुँजीवादी मानवतावादी चिन्तक थिए । उनका कृतिमा आएका नारी पात्रमा सामन्ती समाजका जन्मचिन्हहरू पाइन्छन् । रुसी सौन्दर्य चिन्तक निकोलाइ चेर्निशेवस्की (१८२८–१८८९, रुसी)को कृति ‘के गर्ने’मा सामूहिक उत्पादन, स्वास्थ्य र शिक्षा सामूहिक व्यवस्था, उत्पादनबाट अतिरिक्त नाफा हटाएर उत्पादक शक्तिको उत्थान र प्रेम तथा विवाहको स्वतन्त्रतालाई नायिका ‘बेरा’मार्फत सशक्त वाणी दिएका छन् । चेर्निशेवस्कीले माक्र्सवादी कोणबाट विषय उठाइरहेका थिए । योहान वोल्फगान्क भानगेटे (१७४९–१८३२, जर्मन)ले ‘सुन्दर आत्माका स्वीकारोक्तिहरू’ कृतिमा भनेका छन्, “पुरुषहरू विद्वान महिलाको उपहास गर्छन् र सुशिक्षित महिलाहरू मन पराउँदैनन् । सायद यति धेरै अज्ञानी पुरुषहरूलाई लाजमर्दो पार्नु अशिष्ट ठानिन्छ ।”१ जिन ज्याक रुसो (१७१२–१७७८, फ्रेञ्च) लोकतन्त्रका पिता मानिन्छन् । तर उनी नारी मुद्दामा पुरातनवादी थिए । रुसोले ‘एमिलीयस’ कृतिमा ‘सोफिया’मार्फत आफ्नो नारी विरोधी धारणा व्यक्त गरेका छन् । उनले सोफियाको चरित्र चित्रण गर्दै उसको अबोधता, चेली बनिरहन चाहने चाहना, शिक्षिका बन्न चाहने ढोङ, पुरुषको इच्छानुसार आफूलाई ढाल्नु, पुरुषलाई निरपेक्ष रुपमा आदरणीय ठान्नु, विदूषी बन्दै जान चाहने चरित्र निर्माण र त्यसको सौन्दर्यकरण गरेका छन् । उनी भन्छन्, “महिलाको पूरै शिक्षा पुरुषको सन्दर्भमा हुनुपर्दछ । महिलाहरूले पुरुषको आज्ञा मान्नु पर्दछ । उसले गर्ने अन्याय स्वीकार्नु पर्दछ ।” तर रुसोकै समकालीन डेनिस दिदेरो (१७१३–१७८४, फ्रेञ्च)ले “महिलाको हीनता समाजको कारण पैदा भएको हो” भनेका छन् । नारीवादी प्रथम लेखक मेरी वोल्स्टनक्राफ्ट (१७५९–१७९७, ब्रिटिश) हुन् । उनले ‘महिला अधिकारको औचित्य’ लेखेर नारी स्वतन्त्रताको जग हालिन् । सिमोन द बोउवरले भनेझैं; ‘आजसम्म महिलाको विषयमा पुरुषले जति पनि लेख्यो, ती सबैमा शङ्का गर्नु पर्दछ । किनभने लेख्ने व्यक्ति न्यायाधीस र अपराधी दुवै हो’ भएको छ ।
अग्रज लेखकहरूमा जर्ज बर्नाडशा (१८५६–१९५०, आइरिस) क्रान्तिकारी छन् । उनी भन्छन्, “अमेरिकी गोरो छाला भएकाहरूले कालो छाला भएका निग्रोहरूलाई जुत्ता पालिस गर्ने केटोको दर्जामा पु¥याउँछन् र त्यसपछि भन्छन् कि कालो मान्छेले जुत्ता पालिस गर्नबाहेक अरु केही गर्न सक्दैन ।”३ त्यसकारण नारीवादी व्यक्तित्व सिमोन द बोउवर भन्छिन्, “आधुनिक समाजमा आफ्नो एक स्वतन्त्र दृष्टिकोण राख्नुको बावजुद महिलाले जबसम्म ‘युद्ध र शान्ति’की नायिका नाताशाजस्तै आफ्नो आहुति परिवारको लागि दिन्न, तबसम्म ऊ सामान्य प्रेमिका, पत्नी, आमाको स्तरबाट माथि उठ्न सक्दिन ।”४ सामन्ती युगदेखि आजसम्म पूmक्र्याउँदै दासी बनाउँदै गरिएको छ । हाम्रा धार्मिक ग्रन्थहरू त्यसरी नै निर्देशित छन् । होनोरो द बाल्ज्याक (१७९९–१८५०,)ले खुल्लमखुल्ला भनेथे कि ‘महिलासँग नोकर्नीको जस्तो व्यवहार गर तर उसलाई सम्झाएर राख कि ऊ महारानी हो ।’ नेपोलियन बोनापार्ट प्रथम (१७६९–१८२१, फ्रेञ्च) भन्थे, “एउटा कुरा फ्रेञ्च होइन अर्थात् महिलाले आफू खुशी गर्न सक्ने कुरा फ्रेञ्च होइन ।” जर्मन कम्युनिस्ट पार्टीका नेता, चिन्तक फ्रेडरिक अगस्त बेबेलले समाजवाद र महिला (कालान्तरमा अतित, वर्तमान र भविष्यमा महिला नामाकरण गरियो) कृति लेखेर महिला आन्दोलनमा ऐतिहासिक योगदान गरे । उनले ‘महिलाको विरुद्ध दुःखलाग्दो गरी अपराध गरिएको छ र अझै पनि गरिंदैछ । यस्तो अपराध हजारौं वर्षदेखि भएर आएको छ’ भनेका थिए । त्यसप्रकारको उत्पीडन ८ हजार वर्षदेखि हुँदै आएको छ । जसको कारण महिलाको शारीरिक संरचना, उचाई, मनोविज्ञान, चेतनास्तर, भावना सम्पूर्ण क्षेत्रमा परेको छ । तर पुरुष सत्ता भाष्य निर्माण गर्दछ– महिला प्राकृतिक दृष्टिले नै कमजोर हुन्छन् । थप्छन्– मान्छे प्रकृतिको विरुद्ध जान सक्दैन ।
पेरिस कम्युनभन्दा अगाडि नै फ्रान्समा महिलाहरूले समानताको लडाइँ लडिरहेका थिए । मानव अधिकारको घोषणा सभाले महिलाप्रति बेवास्ता गरेपछि १७ बुँदे माग प्रस्तुत गर्दै ‘यदि महिलाहरूलाई फाँसीको पासोमा चढने ‘अधिकार’ छ भने तिनहिरूलाई रङ्गमञ्चमा चढ्ने अधिकार पनि हुनुपर्छ’ भनेका थिए । सत्य के हो भने महिला वा पुरुष कोही पनि जन्मजात प्रतिभाशाली भएर जन्मिएको हुँदैन । ऊ समाजको अनुकूलतामा प्रतिभाशाली हुन्छ । महिलाहरूको भौतिक परिस्थितिले नै उनीहरूको प्रतिभालाई कुल्चिएर राखेको हुन्छ ।
नेपाली साहित्यमा पनि प्राचीनकालदेखि नै परस्पर विरोधी विचारको बिचमा सङ्घर्ष चल्दै आएको छ । पूर्वीय सभ्यतामा गार्गी वाचनकलीले उस जमानाका शिर्ष ऋषि यज्ञवालक्यलाई शास्त्रार्थ (बहस वा विचार मन्थन)मा पराजित गरेकी थिइन् । गौतम बुद्धको कम्युनमा महिलाको उल्लेख्य सहभागिता र भूमिका थियो । हिन्दू धार्मिक ग्रन्थको नारी पीडक मनोवृत्ति भानुभक्त आचार्य हुँदै समाजको पिँधसम्म विस्तारित भयो । तर त्यही कालमा नारी सशक्तिकरणको पैरवी नभएको होइन । कवि शम्भुप्रसाद ढुङ्ग्याल (वि. सं. १९४६–१९८६) लेख्छन्ः
‘पढ शास्त्रमहाँ लगाउ ध्यान
अबल हूँ भनि यो कसै नगन !
जडबुद्धि निकाल दूर सार
गर मन लाई देशको सुधार !!’
‘नबसे अब’ खालि पात गाँसी,
बस अज्ञानहरू समस्त नासी !
पुरुषत्वमहाँ नराख भेद,
सबला हौ भनि भन्छ नित्य वेद !!’५
भारतको स्वतन्त्रता आन्दोलन अगाडि नै योगमाया न्यौपानेले दलित र नारी उत्पीडनको विरुद्ध अभियान चलाइन् । राणा सरकारले माग पूरा गरेन । त्यसपछि अग्नीदाह गर्न खोजिन् । त्यो पनि गर्न दिइएन । त्यसपछि वि. सं. १९९८ असार ३१ गते योगमाया न्यौपाने (१९२४–१९९८, नेपाल)सहित ६८ जनाले अरुणको भेलमा जल–समाधी गरे । २००७ सालको राजनीतिक परिवर्तनसँगै समाज पुँजीवादी युगतिर चिहाउन थाल्यो । त्यसपछि गुरुप्रसाद मैनालीजस्ता पुँजीवादी मानवतावादी लेखकहरू ‘बिदा’जस्ता कथाहरूमा प्रकट हुनथाले । लक्ष्मीप्रसाद देवकोटा मुना–मदन लिएर आए । गोकुल जोशी, भूपी शेरचन हुँदै तीसको दशकमा पारिजात ‘अनिंदो पहाडसँगै’ लिएर उत्कर्षमा पुगिन् । पारिजातले २०३९ सालमा ‘अनिदो पहाडसँगै’ उपन्यास लेखिन् । पुरुषवादले नारीलाई आफैले उपभोग गर्छ र आफै घृणा पनि गर्दछ । त्यसप्रकारको पाखण्ड र अत्याचारको प्रतीक ‘चन्द्रकान्ता’ नारी पात्र हो । जहाँ पहाडकी अबोध र यौन शोषणमा परेकी ‘गोरीमाया’लाई सौन्दर्यकृत गरेकी छन् । सुवानी शहरकी युवती हो । उसले गुण्डाहरूसँग प्रतिरोध गर्छे । सर्लाहीतिर ऊ सुमती हुन्छे । सुमती पात्रमार्फत पारिजातको सशक्त वाणी हुन्छ– “सुमतीले देखी र बुझी, स्वास्नीमान्छेको निम्ति रचिएका भावुक परिभाषा, विशेषण, अर्थ तथा काव्यहरू साराका सारा बकवास हुन् । झूठ हुन् । महलभित्र सुखसयलमा बाँच्ने स्वास्नीमान्छेहरूलाई लिएर यतिका कपोलकल्पित परिभाषाहरू लेख्ने यो समाजलाई कुनै अधिकार छैन । ऊ सोच्थी, आगो लगाइदिए हुन्छ यी सबैमा ।”६ २०५२ सालपछि त महिलाहरू जनमुक्ति सेनामा उच्च तह र भूमिकामा पुगे । सयौंले बलिदान गरे भने गोरखा जेल तोड्नसम्म सफल भए । जनमुक्ति सेनामा महिलाको भूमिका हेरेर नेपाली सेनामा २०६१ सालबाट महिलाको भर्ती खुल्यो । त्यसको केही वर्षपछि अमेरिकी सेनामा पनि महिला भर्ती शुरु गरियो ।
नेपालको प्राचीन इतिहास हेर्दा वैदिककाल र उपनिषदकालमा नारीहरूको पनि ब्रतबन्ध गर्ने चलन थियो । दासयुग र सामन्तवादमा सो प्रचलन हटाइयो । पुरुषप्रतिको समर्पण वा अर्धअङ्गको भाष्य निर्माण गरियो । समाजवादी युगको विचार र प्रयोगले महिला स्वतन्त्रताको प्रश्नलाई उत्कर्षमा पु¥याएको छ । वैज्ञानिक अनुसन्धानहरूले महिला स्वतन्त्रतालाई अनुकूलता प्रदान गरेको छ र यान्त्रिकीकरणले कृषि युगको शारीरिक बलको भूमिकालाई घटाएको छ । यसरी प्रकृति विज्ञान र समाज विज्ञानमा आएको अनुकूलता नै महिला मुक्तिको जमिनी यथार्थ हो ।
निष्कर्ष
महिलासहित समग्र समाजको समृद्धिको लागि निजी स्वामित्वको अन्त्य, वर्ग समाजको उन्मूलन, समाजवादी राज्य व्यवस्था र नीति निर्माणको तहमा निश्चित समय (सङ्क्रमणकाल)सम्म महिलालाई विशेष भौतिक र वैचारिक विशेषाधिकार हुनुपर्छ । सामन्तवादी चेतनाका अवशेष (जसलाई पुँजीवादले सहवरणा गरेको छ) नामेट पार्नुपर्छ । नयाँ पुस्ताका महिलालाई पुरातनले डाम्न नसकोस् । हीनग्रन्थीको नजन्मिँदै स्वतः शल्यक्रिया होस् । मानव जातिको सर्वोच्च विजयको लागि महिला र पुरुषले आफ्नो प्राकृतिक विभाजनलाई कायम राखेर पनि आपसी सौहार्दता स्थापित गर्न सक्छन् । समाजवादमा पनि पितृसत्ता विरुद्ध लड्न बाँकी रहन्छ भन्ने तर पुँजीवादभन्दा समाजवाद क्रान्तिकारी व्यवस्था स्वीकार गर्ने सिमोन द बोउवरको धारणा मननीय छन् । नर–नारी सहकार्य र महिला स्वतन्त्रता आजको अग्रगामी धार हो ।
पाद–टिप्पणी
१) अगस्त फ्रेडरिक बेबेल, अतित, वर्तमान र भविष्यमा महिला, पैरवी प्रकाशन, काठमाडौं, पृ. ८२
२) सिमनोन द बोउवर, महिला (The Second Sex), अनुवादक– रमेश सुनुवार, प्रगति पुस्तक सदन, काठमाडौं, पृ. ४८
३) उही, पृ. ८
४) उही, पृ. २५३
५) शम्भुप्रसाद ढुङ्ग्याल, माध्यमिककालीन कवि र कविता, सम्पा.– घटराज भट्टराई, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौं, २०७८, पृ. …..
६) पारिजात, अनिदो पहाडसँगै, फिनिक्स बुक, काठमाडौं, २०७३, पृ. १९८

२०८० कात्तिक १३

स्राेत: जनपत्रिका मासिक दशाैँ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।