५ जेष्ठ २०८१, शनिबार

जनयुद्ध विरुद्ध प्रतिगामीहरु तथानाम गर्दैछन्, विप्लवको नेतृत्वमा क्रान्ति जारी छ : प्रदिप

0

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले जनयुद्ध विरुद्ध प्रतिगामीहरुले तथानाम गरिरहेको बताएका छन् ।
मंगलबार पार्टीको पश्चिम दाङ जिल्ला समितिद्वारा २९औं जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

जनयुद्ध दिवसको अवसरमा अबिरर्यालीसहित तुलसीपुर बजार परिक्रमापछि आयोजित सभालाईॐ सम्बोधन गर्दै नेता प्रदिप सीले भने– ‘ जनयुद्धबाट पराजित केही प्रतिगामीहरुले जनयुद्ध विरुद्ध अहिले तथानाम गरिरहेका छन् । हाम्रो खुल्ला चुनौती छ प्रतिगामीहरुलाई जनयुद्ध विरुद्ध तथानाम गर्ने छुट छैन, दिइदैन । जनयुद्धका लक्ष्य, उद्देश्यहरु पूरा भएका छैनन् , क्रान्ति जारी छ । जनयुद्धका बाँकी अधुरा लक्ष्यहरु पूरा गर्न हामी विप्लव नेतृत्वमा क्रान्ति चलाइरहेका छौँ । नेपालमा हामीले एकीकृत जनक्रान्ति गरिरहेका छौँ । एकीकृत जनक्रान्तिले जनयुद्धका अपूरा लक्ष्य , उद्देश्यहरु पूरा गर्नेछ ।’

नेता प्रदिपले जनयुद्धले गणतन्त्र लगाएतका केहि उपलब्धिहरु स्थापित गरेपनि जनताको शासन सत्ता अझै स्थापना नभएकाले नेकपाले जनताको समाजवादी व्यवस्था स्थापनाका लागि गतिविधि चलाइरहेको समेत बताए ।

नेतृत्वको आत्मसमर्पणले जनयुद्ध सफल हुन सकेन , उनले थपे ‘ जनयुद्ध सफल नहुनुको एकमात्र कारण नेतृत्व आत्मसमर्पण नै हो । त्यसको साथै विकसित परिस्थितिको अनुसार विचारको विकास गर्न नसक्नु पनि हो तर मुख्य कुरा तत्कालीन नेतृत्व प्रचण्ड-बाबुरामको आत्मसमर्पण नै हो , उहाँहरुले कार्यदिशाको विकास गर्न नसक्नु पनि हो । नेतृत्वले धोका दिएपछि हामीले नयाँ पार्टी पुनर्गठन गरेका हौं । हामीले भनिरहेका छौँ कि हामी संसदीय व्यवस्था कुनैपनि हालतमा स्वीकार गर्दैनौं । जनताले संसदीय व्यवस्था स्वीकार गरेका छैनन् , नेपालका बहुसंख्यक जनताले समाजवाद चाहिरहेका छन् । हाम्रो पार्टी जनताको आवाजको प्रतिनिधित्व गर्ने पार्टी हो , त्यसकारण पनि हामी जनताले चाहेको समाजवाद स्थापनाका लागि लडिरहेका छौँ । अहिले हाम्रो लक्ष्य वैज्ञानिक समाजवाद स्थापना गर्नु हो ।’

नेता प्रदिपले नेपालका सबै दलले समाजवादको नारा भजाएर जनताको भोट क्यास गर्ने गरेकाले अब समाजवादलाई भजाउने नभई एउटै टेबुलमा बसेर नेपाली विशेषताको समाजवादको बहस गर्ने बेला आइपुगेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै नेकपा पश्चिम दाङका सचिव निर्मल सीले जनयुद्धको मुख्य नेतृत्व अहिले सरकारको नेतृत्व गरिरहेको तर बिडम्बना जनयुद्ध दिवसको सार्वजनिक बिदा अदालतको आदेशले रद्द गर्नु दुखद भएको बताए ।
उनले भने – ‘ अहिलेपनि हामीले क्रान्ति गरिरहदा धेरै कम्युनिस्ट नामका फन्टुसहरुले प्रश्न गर्ने गर्छन् अझै कति बिद्रोह र क्रान्ति ? त्यसोभए जनयुद्धका नायक प्रचण्ड सरकार प्रमुख हुँदा किन सार्वजनिक बिदा किन खारेज गरियो ? त्यसैले हाम्रो निष्कर्ष हो नेपालको सत्ता बदलिएको छैन । पटकपटक संसदीय व्यवस्थाका सरकार बदलिएर जनताले केही पाएका छैनन् । आज पनि हाम्रो कुरा स्पष्ट छ कि हामी नेपालको संसदीय मुठ्ठीभर दलालहरुको सत्ता बदल्न चाहेका छौँ ।’

यस्तै २९औं जनयुद्ध दिवसको अवसरमा आयोजित कोणसभाको सहजीकरण नेकपा तुलसीपुरका इन्चार्ज भुवन सीले गरेका थिए ।

उता नेकपा बबईले पनि २९औ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ भने पार्टीले महान जनयुद्ध दिवसको अवसरमा तुलसीपुरको बिरेन्द्र चोक , बबई गाउँपालिकाको हापुरे लगाएतका ठाउँमा दिप प्रज्वलन सम्पन्न गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।