१ जेष्ठ २०८१, मंगलवार

गुठीपीडित किसानको आन्दोलनमा नेकपा पूर्वी दाङको ऐक्यबद्धता

0

दाङ। नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले स्वर्गद्वारी गुठीपीडित मोही किसानहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।  गुठीपीडित किसानहरुले मोहीको अधिकार माग गर्दै घोराहीमा फागुन ८ गतेदेखि  निरन्तर रुपमा गरिरहेको आन्दोलनलाई नेकपाले पनि  पूर्ण साथ, सहयोग र समर्थन गरी एक्यवद्धता जनाएको हो ।

घोराहीमा जारी रहेको आन्दोलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीले स्वर्गद्वारी गुठीपीडित किसानहरूको संघर्षको आन्दोलन न्यायपूर्ण भएको भन्दै यो संघर्षको कार्यक्रमलाई नेकपाले  एक्यवद्धता जनाएको बताए । उनले  दाङमा थुप्रै गुठीसम्बन्धी समस्याहरु रहेको हुँदा ती समस्या समाधानका स्वर्गद्वारी गुठी पीडित मात्र नभएर  आम थारु समुदाय समेत  यस आन्दोलनमा सहभागी हुनुपर्नेमा  जोड दिए ।

यो संघर्षको कार्यक्रममा सत्ता र सरकार पक्षका व्यक्ति आएर जति राम्रा र चिल्ला भाषण गरेतापनि त्यसको कुनै औचित्य नहुने उनको भनाइ छ । 

नेता जनक सीले जनताले जनताको पक्षमा काम गर्न, समस्या समाधान गर्न र कानून बनाउनका लागि  दाङबाट मन्त्री / सांसदमा जिताएर सत्ता र सरकारमा पठाएको भएपनि उनीहरूले जनताको पक्षमा काम गर्न नसक्दा गुठीपीडित किसानले न्यान नपाएको र फेरिपनि आगामी चुनावको लागि  किसानलाई भोट बैंकको रुपमा प्रयोग गर्ने भएको हुँदा त्यसबाट सचेत हुने आन्दोलनरत पीडित किसानहरुलाई  सुझाव व्यक्त गरेका थिए ।

तीन पुस्तादेखि जग्गा जोत्दै आएको र मोही हक समेत कायम रहेको प्रमाणपूर्जा हुँदा पनि हालसम्म अधिकार नपाएको भन्दै गुठी पीडित किसानहरु आन्दोलनमा उत्रिएका हुन्  ।

आश्रमको १०३४ बिघा १७ कट्ठा ७ धुर जग्गामध्ये ७५३ बिघा जग्गामा मोही कायम रहेको स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले जनाएको छ ।  सुरुमा २ सय ८९ घरपरिवार मोही किसान रहेकोमा अहिले नयाँ घर टुक्रदै जाँदा ३ हजार ५ घरधुरी पुगेको छ । जसमा  १५ हजार बढी सदस्यहरु आश्रित रहेका छन् ।

संघर्ष समितिले फागुन १३ देखि १५ गतेसम्म र्‍यालीसहित दाङका सबै राजनीतिक पार्टीका कार्यालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरिसकेको  छ ।

फागुन २० देखि २२ गतेसम्म लुम्बिनी प्रदेशसभामा र्‍यालीसहित धर्ना तथा पूर्व पश्चिम राजमार्गमा सुतेर दुईघण्टा बन्द गर्ने, फागुन २७ र २८ गते घोराहीमा देशभरका गुठीपीडित किसानहरुको सम्मेलन गरी दाङ गुठीपीडित घोषणापत्र जारी गर्ने, चैत १ देखि दाङ बन्द या काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरेको संघर्ष समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।