१६ बैशाख २०८१, आईतवार

जुम्लाको हाडुल्लेमा सेताम्य हिमालसंगै फरफराएको रातो झण्डा

0

जुम्ला । हामी सबैको अगाडि मनमोहक सेताम्य हिमाल छ । यतिबेला शिरशिरे हावा चलिरहेको छ । कोदो र फापरका रोटीहरुले कुडु गाउँमा हामीलाई स्वागत गरिरहेका छन । नेकपाका महासचिव विप्लव तथा केन्द्रीय नेता कार्यकर्ताहरु २०८० सालको फागुन २५ गते विहान स्वागत स्वीकार गर्दै सेताम्य हिमालको यात्रामा छन ।

कम्युनिष्ट पार्टीको आँसी हतौडा अंकित रातो झण्डा अघि –अघि फरफराई रहेको छ । यो झण्डाले हिमालको टिप्पोबाट विजयको सन्देश दिन चाहिरहेको छ । हामी निरन्तर उकालो यात्रामा छौ । कमिलाको लस्कर झै जननेता विप्लवसंगै क्रान्तिकारीहरुको ताँती बन्चरेकार्नातिर पुगिरहेका छौ ।

सायद ! सबैको मन –मनमा आत्मनिर्भर अर्थतन्त्रको सपना बोकेको छ । त्यसै भएर पनि होला कुनै कठिनाई नभई र दुख पीडा नसम्झि क्रान्तिकारी कमिलाहरुको ताँतीहरु हाडुल्ले लेकमा स्याउ रोप्न जादै छ ।

हाडुल्लेमा स्याउ मात्र रोप्ने योजना होइन, त्यहाँ त बैज्ञानिक समाजवाद रोप्नु पनि छ । हो, त्यहि सपना बुनेका क्रान्तिकारी ताँतीहरु बन्चरेकार्नाको वरिपरि सेताम्य भएको हिंउसंग रमाउदै र पौठेजोरी गर्दै हिडदै थियौं ।

निकै आर्कषणको केन्द्र मानिएका जनताको नेता आदरणीय नेकपाका महासचिव विप्लव पनि हिँउसंगै रमाउदै लुकामारी गर्दै हिडिरहेका थिए । उनमा कुनै थकान थिएन । कुनै चिसो र आलस्य थिएन । एउटा क्रान्तिकारी जोस र उत्साह थियो । महासचिव विप्लवसंगै कम्युनिष्ट पार्टीको रातो झण्डा फरफराई रहेको थियो । जनयुद्धको अधुरा सपना पुरा गर्ने वाचा गरिहेको थियो ।

उता बनका कोईली,काग,तथा चराचुरुङ्गीहरु पनि विप्लवलाई देखेर स्वागत गर्दै थिए । आ –आफ्नै भाषामा क्रान्तिकारी भाकाहरु गुञ्जाईरहेका थिए । उनीहरु हर्षित पनि थिए । उत्साहित तथा क्रान्तिको नयाँ अभिभारा बोकेका विप्लव आफ्नो केन्द्रीय नेताहरु भरत सी,आदर्श सी, असल सी लगायतका सयौं नेता कार्यकर्ताका साथ लठ्ठी टेक्दै बन्चरेकार्नाको उकालो हिडिरहेका छन ।’

जनयुद्धको बेला हिडेका र रगत बगाएका बनपाखाहरु कहि खाली थिएनन् पनि । विप्लवले जनयुद्धमा त्यहि बसेको र रमाएको पनि सम्झिए । अनि आफ्नो स्टाप समेतलाई यहि ठाँउमा गोली लागि घाईते भएको पनि सम्झिए । विप्लवले क्रान्तिलाई पुरा गर्न सहिदहरुको सपना पुरा गर्न एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशाले मात्र सम्भव हुने कुरा बताए ।

उनले जसका लागि श्रम र उत्पादनसंग जोडिएको पार्टी र जनतालाई बनाउदै समाजवादी क्रान्ति पुरा गर्ने बताए । उनी ठाउँ –ठाउँमा बस्दै हिँउसंग रमाउदै हाडुल्ले पुगे । उनले हाडुल्ले लेकमा सामूहिक रुपमा १० हजारको स्याउ रोप्ने लक्ष्य राखेपनि तत्काललाई १ हजार स्याउका विरुवा रोप्ने, पार्टी,देश र जनतालाई आत्मनिर्भर बनाउने सपना बुने ।

हामी सबै जना क्रान्तिकारी जोस,जाँगरका साथ निरन्तर ३ घण्टाको यात्रा पछि विहान ११ बजे हाडुल्ले लेकमा पुग्यौ । हाडुल्लेमा कम्युनिष्ट पार्टीको रातो झण्डा फरफराई रहेको थियो । महासचिव विप्लवलाई स्वागतको लागि पर्खिरहेको थियो । सायद ! मलाई लाग्छ त्यो झण्डाले भन्दै थियो कि ‘सहिदहरुको अधुरो सपना पुरा गर्नुछ,नेपाललाई समाजवादको यात्रामा लिनु छ,त्यो अभिभारा विप्लवले पुरा गर्न सक्छन होला ।’


आत्मनिर्भर अर्थतन्त्रसंग जोडिएका स्याउका विरुवाहरुले महासचिव विप्लवलाई हेरिरहेका थिए । उनीहरु पनि कतिवेला विप्लवको हातबाट नेपाली जुम्ली माटोमा उभिने होला भनेर कुरिरहेका थिए । क्रान्तिकारी कमिलाहरुको ताँतीले खाना खाएर स्याउको विरुवाको आतुरतालाई पुरा गर्नेतिर गयो ।

जब मध्याहनको १२ बज्यको थियो । हातहातमा लिएका स्याउका विरुवाहरु पनि माटोमा उभिन पाईने कुराले खुसी हुन थाले । महासचिव विप्लवले एक औपचारिक कार्यक्रममा बिच स्याउ रोपनको उद्घाटन गर्दै माटोमा उभिन आतुर स्याउको विरुवालाई खाल्डो खनिएको माटोमा उभ्याए ।

गडगडाहड तालि बज्दै थियो । आकास धर्ति चम्किरहेको थियो । क्रान्तिकारी नाराहरु घन्किरहेको थियो । यसले साँच्चीकै नयाँ आयाम थपिरहेको महसुुुस भइरहेको थियो । एउटा सुन्दर सपना स्याउका विरुवाहरुले पनि बुनेका थिए । उनीहरु भन्दै थिए ‘यहि नेपाली माटोमा हुर्किएर,फुल्नु छ र फल्नु छ,समाजवादी अर्थतन्त्रको जग बसाल्नु छ । देशलाई र पार्टीलाई आत्मनिर्भर बनाउनु छ ।’

महासचिव विप्लवले आत्मनिर्भर देश र जनता बनाउने,बेरोजगारी हटाउने,भ्रष्टाचार रोक्ने,कृषि उत्पादनमा जोड दिने,दलाल पुँजीवादी व्यवस्थाको ठाउँमा नेपाली विशेषताको समाजवादी व्यवस्था ल्याउने बताए । उनले उद्घाटनका अवसरमा पनि श्रम र उत्पादनमा नजोडिएको पार्टी र नेताले देशको नेतृत्व गर्न नसक्ने बताए । उनले त्यसो भनिरहदा कम्युनिष्ट पार्टीको रातो झण्डा निकै खुसी हुदै फरफराईरहेको थियो । वनपाखामा चरा र बन्यजन्तुहरु पनि नाचिरहेका थिए ।

स्याउ रोप्न कसिएका क्रान्तिकारी कमिलाहरुको ताँती पनि निकै हर्षित हुदै थिए । कलमका टुप्पाहरु पनि निकै हर्षित थिए । स्थानीय जनप्रतिनिधिहरु,स्थानीय इतिहास निर्माताहरु पनि हर्षित थिए । सिजा गाउँपालिकाका अध्यक्ष पूर्ण प्रसाद धितालले विप्लव जस्तो नेता हुनु गौरब भएको बताए । उनले उत्पादनको योजना विप्लवको मात्र नभएर सबै जनताको भएको भन्दै आफ्नो तहबाट सक्दो सहयोग गर्ने बाचा गरे ।
स्याउ रोप्ने अभियानमा लागेका क्रान्तिकारी कमिलाका ताँतीहरु मध्य ४९ बर्षिय भक्त वहादुर रावत र ३० बर्षिय सभ्यता सीले यो ऐतिहासिक कार्य भएको बताए ।

कृषि कार्यालय जुम्लाका प्राविधिक पदम वहादुर रोकायाले विप्लवको स्याउ रोप्ने योजना नमुना योग्य भएको टिप्पणी गरे ।
आखिर, सेताम्य हिमालसंग पौठेजोरी खेल्दै विप्लव किन पुगे ? जुम्लाको हाडुल्ले लेकमा सबैको मन र मस्तिष्कमा प्रश्नहरु थिए । तर ति सारा प्रश्नहरुको जवाफ विप्लवको हातमा भएका बेल्चा,कुटो र कोदालोहरुले हाँसी –हाँसी दिए । बेल्चा,कुटो र कोदालोहरुले भन्दै थिए ‘हामी समाजवादका लागि जुटेका छौ । हामी देश र जनताको जीवनस्तर बदल्न जुटेका छौ । हामी विदेशी हस्तक्षेप बन्द गर्न जुटेका छौ । हामी देशको अस्थिरता र विकृत राजनीतिक बदल्न जुटेका छौ ।’

हो, यसो भनिरहदा सबैको मनमा सन्तुष्टि आभास हुन्थ्यो । नेपालमा सबै पार्टीका नेता तथा कार्यकताहरु यसरी उत्पादनको कार्यमा लागेको भए माथि भनेको अवश्य सम्भव थियो होला बेल्चा,कुटो र कोदालोहरुले भनिरहेका थिए । उता बनपाखाका लालीगुराँसका फुलहरु,सल्लाका हरिया पिरलहरु तथा चराचुरुङ्गीहरुले विप्लवलाई अगाडि बढन प्रेरणा दिइरहेका थिए ।

विशेषगरी लाली गुराँस र सल्लाका हरिया पिरलहरुको मालाले विप्लवको घाँटीमा गहिरो माया प्रेम गाँसेका थिए । अवश्य पनि हामी कम्युनिष्ट पार्टीको रातो झण्डा झुक्न दिने छैनौ भनिरहेका थिए ।

सेताम्य हिँउले बाचा गर्दै थियो ‘ नेपाललाई म जस्तै उज्यालो देश बनाउने छु । काला मनलाई धोइ पखाली गर्नेछु । बन्चरेकार्नाको डाँडाले भन्दै थियो ’म जस्तै अग्लो निडर,अडिक भएर नेकपालाई उभ्याउने छु र यसले लिएको अर्थतन्त्रको नीतिलाई बलियो बनाउने छु । मेरो टुप्पोमा कम्युनिष्ट पार्टीको विजयको झण्डा छिट्टै फरफराउन अनुमति दिने छु ।’

बन्चरेकार्ना डाँडाले थप भन्दै थियो ‘कठिन यात्रामा हिड्ने यो देशमा कुनै पनि नेता छैन,छ त जनताको नेता विप्लव मात्र छ, उनले लिएको विचार र सिद्धान्तले हामी सबैको जीवन बदलिनेछ ।’

कमिलाका क्रान्तिकारी ताँतीहरु पनि विजयको लागि आतुर थिए । चिसो पहाडमा र हिमालमा २ दिन सम्म वास बसेर स्याउ रोप्ने काममा लागेका विप्लवलाई हिमालले चिसो होईन निकै न्यानो माया दियो । समाजवादी व्यवस्थामा नेपाललाई लिन सुझाव दियो ।

समग्रमा जुम्ली जनता,हिमाल पहाड,तथा बनपाखाका कोईलीहरुले न्यानो मायाका साथ विजयको शुभकामना दिदै महासचिव विप्लव लगाएतको नेकपाको नेता कार्यकर्ताहरुको टिमलाई विदाई गरे । फरफराई रहेको रातो झण्डा विजयको शिखरमा पुर्याउने प्रतिवद्धता गरे ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।