२२ बैशाख २०८१, शनिबार

नयाँ चटकेहरुले विकास दिन सक्दैनन् : भृकुटी सी

0

कीर्तिपुर। नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी सीले नयाँ चटकेहरूले विकास दिन नसक्ने बताएकी छन् ।आइतबार नेकपा काठमाडौं ६ नं. जिल्ला समितिले कीर्तिपुरमा आयोजना गरेको वर्तमान राष्ट्रिय संकट र यसको समाधान विषयक अन्तरक्रिया कार्यक्रममा यस्ताे बताएकी हुन् ।

कार्यक्रमका प्रमुख अतिथि भृकुटीले नेपालमा विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्था नै मुलुकको विकासको मुख्य बाधक बनेको बताउँदै नयाँहरूले मात्रै समस्या समाधान नहुने त्यसका लागि नेपाली विशेषताको समाजवाद स्थापना गर्नु पर्ने ठोकुवा गरेकी थिइन् ।

“नेपालमा अहिले तीन प्रकारका शक्ति/विचारहरू बहसमा छन्; एक यथास्थितिवादी जो यो व्यवस्था ठीक छ व्यक्ति फेरे पुग्छ भन्ने विचार राख्छन् अर्काे पश्चगामी, नेपालमा राजतन्त्र पुनर्स्थापना गर्नु पर्छ अनि मात्र संकट समाधान हुन्छ त्यस्तै अर्को हामी र प्रगतिशील शक्तिहरू जो देशकाे संकटको मुख्य कारण दलाल संसदीय व्यवस्थाको अन्त्य गरी नेपाली विशेषताको समाजवाद स्थापना गर्न चाहन्छौं।” उनले भनिन् ।

सत्ता सञ्चालनको आधार संरचना उस्तै राखेर परिवर्तन गरिने उपरीसंरचनाले जनताकाे जिवन स्तर र मुलुकले निकास नहुने उनको भनाई थियो। “अर्थ सम्बन्ध नबदलिकन जनताकाे अवस्था कसरी बदलिन्छ? उपरिसंरचना मात्रै बदलेर जनताको जीवन बदलिएन पात्र बदलेर हुँदैन प्रवृति बदलिनु पर्छ।उत्पादनका साधन माथिको स्वामित्व, अर्थ सम्बन्ध नबदली समस्या समाधान हुँदैन । हामीले समस्या समाधान गर्न नेपाली विशेषताको समाजवाद स्थापना गर्नु पर्छ । त्यसकारण समाजवादी मोर्चाको अवधारणा अगाडि आएको छ।”

कार्यक्रममा नेकपा काठमाडौं ६ नं. जिल्ला इन्चार्ज प्रताप सी, नेपाली कांग्रेस कीर्तिपुर नगर सभापति कृष्णमान डंगोल, नेपाली कांग्रेस (विपी) का केन्द्रीय सदस्य प्रणय सिंह, नेकपा (एकीकृत समाजवादी) का जिल्ला समिति सदस्य अशोक थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सदस्य सुशील बास्कोटा, भूपू उपमेयर तथा नेकपा केन्द्रीय सल्लाहकार सदस्य बच्चुलाल श्रेष्ठ , नेकपा (माओवादी केन्द्र)का हिरा बहादुर महर्जन , जनता समाजवादी पार्टीका सरल गोपाल, राप्रपा का नन्द महर्जन सहभागि भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।