१७ बैशाख २०८१, सोमबार

समाजवाद नै अहिलको संकटको निकास भएको एक कार्यक्रमका बक्ताहरुको जोड

0

कालिकोट । जिल्लाको रास्कोट नगरपालिकामा भएको अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले देशको वर्तमान संकटको निकास समाजवाद नै भएको ठोकुवा गरेका छन ।

नेपाल कम्युनिष्ट पार्टी रास्कोटले सोमवार रास्कोटमा आयोजना गरेको ‘बर्तमान राजनीतिक संकट र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले बर्तमान संकटको अग्रगामी निकास समाजवाद भएको ठोकुवा गरेका हुन ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य भरत सीले दलाल पुँजीवादी व्यवस्था पूर्ण रुपमा असफल भएको भन्दै अबको निकास नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गरे ।

उनले देशमा अमेरिकी साम्राज्यवादी हस्तक्षेप नाङ्गो ढंगबाट बढिरहेको चर्चा गर्दै देशलाई स्वाधीन बनाउन र रक्षा गर्न पनि समाजवाद अनिवार्य भएको बताए । नेता भरत सीले भने ‘देश संकटमा छ, नेपाली विशेषताको समाजवादबाट समाधान खोजौं । नेपालमा सबै पार्टीहरुले समाजवाद भनिरहेको बेला सबैको समाजवादलाई वहसमा ल्याउँ र नेपाली विशेषताको समाजवाद बनाऔं ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा रास्कोट नगर कमिटी इन्चार्ज बिजय बरालले नेपाली विशेषताको समाजवादले मात्र देशमा अग्रगामी निकास दिने बताए । उनले नेकपाले ल्याएको आत्मनिर्भर नेता कार्यकर्ता र पार्टीको नीति अनुसार देशैभरी उत्पादनमा जोडिनु पनि समाजवादको अभ्यास भएको भन्दै धन्यवाद दिए । उनले अबको कम्युनिस्ट आन्दोलनको जिम्मा नेकपाले लिनु पर्ने पनि बताए ।

नेकपा एमालेका प्रदेश कमिटी सदस्य काली बहादुर शाहीले अबका दिनमा सबै कम्युनिस्ट पार्टी एकै ठाउँमा आउनुपर्ने र पुष्पलाल श्रेष्ठले परिकल्पना गरेको कम्युनिस्ट व्यवस्था सबै जुटेर पुराना गर्नुपर्ने बताए । नेता शाहीले कम्युनिस्ट फुटेर हैन जुटेर अगाडि बढ्नु पर्ने भन्दै समाजबादमा सबै कम्युनिस्टहरू एक हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेशका केन्द्रीय महाधिवेशन प्रतिनिधि दान बहादुर बमले नेपालका कम्युनिस्टहरू एक भएर जान सुझाव दिए । उनले भने ‘सबैको लक्ष्य पनि समाजबाद हो, तर समाजबाद भन्दा खेरी कांग्रेश डराउनु पर्ने कुरा छैन, २००७ सालको प्रजातान्त्रिक व्यवस्थाको बेला बिपिले समाजबादको नारा दिएपनि कांग्रेशले पुरा गर्न सकेन । अबको दिनमा नेपाली जनताको समस्या समाधानको लागि नेपाली बिशेषताको समाजबाद ठीकै छ ।’

कार्यक्रममा बुद्धिजीवी रास्कोट ६ निवासी सन्तराज शाहीले अहिलेका सबै पार्टी र नेता असफल भई सकेको भन्दै नेकपाले केही गर्छ कि भन्ने कुरा सबैमा बिश्वास बढेर गएको बताए ।

रास्कोट नगरपालिका वार्ड नं ५ का वडा अध्यक्ष मन तिरूवाले जनताको चाहाना धेरै हुने गरेपनि अहिलेको व्यवस्थाबाट जनताको काम गर्न नसकिएको स्वीकार गरे । अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विराट सी,समर सी, बलवान सी,सुदिप सी लगायतका नेताहरुको पनि सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।