१७ बैशाख २०८१, सोमबार

पुलिसमाथि रोमाञ्च जितसँगै आर्मी फाइनलमा

0

काठमाडौं । त्रिभुवन आर्मी क्लबले आठौं संस्करणको आरबीबी एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबमाथि ३–२ को रोमान्चक जित हात पार्दै फाइनलमा पुगेको छ ।

शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको दोस्रो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५–१८, २३–२५, २६–२४, १३–२५, १४–१५ ले हराउन सफल भयो ।
पुलिसले पहिलो सेटमा सुरुवातमा ८ अंकको अग्रता लिदै १४–६ को अवस्थामा थियो । दुबै टाइम आउट आर्मीले ६ अंकमै सकाएको थियो । मानबहादुर श्रेष्ठलाई आर्मीले सुरुवातमै बेन्चमा राखेको थियो । पहिलो सेट पुलिसले २५–१८ ले सहज जित हात पार्यो ।

दोस्रो सेटमा सुधारिएको प्रदर्शन गरेको आर्मीले ८–८ बराबरीपछि अग्रता लिन थालेको थियो । स्पाइकर मान बहादुर श्रेष्ठले दोस्रो सेटमा पनि अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका थिएनन् । पुलिसले पनि लगातार प्रतिस्पर्धा गरेको थियो । पुलिसले १९ मा गएर आर्मीलाई भेटाएको थियो । आर्मी २५–२३ ले विजयी भएको थियो ।

तेस्रो सेटमा पुलिसले ७–४ को अग्रता लिएको थियो । ४ अंकले पछि परेको अवस्थाबाट आर्मीले ११–११ बराबरी गरेको थियो । त्यसपछि पुलिसले तीन अंकको अग्रता लिएको थियो । तर आर्मीले पुन १६ मा बराबरी गर्यो । त्यसपछि पुन प्रतिस्पर्धा बढेको थियो ।
सेट प्वाइन्टमा आर्मीका मानबहादुरले सर्भिस बिगारेपछि २४–२४ बराबर भएको थियो । त्यसपछि आर्मीका धनबहादुरले लगातार दुई स्पाइक बाहिर हानेपछी पुलिस २६–२४ ले विजयी हुँदै सेटमा २–१ को अग्रता लिएको थियो । ।

चौथो जित्नै पर्ने सेटमा आर्मीले ८–४ को बलियो सुरुवात गरेको थियो । आर्मीले १३–६ को अग्रता लिएपछि खेल पाँचौ सेटमा जाने संकेत देखिएको थियो । आर्मीले चौथो सेट २५– १३ ले सहजै जितेपछि खेल पाचौं सेटमा पुगेको थियो ।

पाँचौं सेटमा दुवै टोलीले कडा प्रतिस्पर्धा गरेका थिए । आर्मीले ८–७ मा कोर्ट परिवर्तन गरेको थियो । तर पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै १२–११ ले अघि भएपछि आर्मीले दोस्रो टाइम आउट लिएको थियो । लामो ¥यालीमा रविन चन्दले स्पाइक बाहिर हानेपछी १२–१२ बराबर भएको थियो । राजेन्द्र बिष्टले उत्कृष्ट स्पाईकमा अंक जोड्दै अग्रता आर्मीलाई दिलाएका थिए । बराबरी गर्ने अवसर रहेपनि पुलिसका रमेश छ्त्यालले स्पाइक बाहिर हानेपछी आर्मी १५–१३ ले विजयी भएको थियो ।

त्यसअघि पहिलो सेमिफाइनल खेलमा टिपटप हेल्प नेपालले २५–१९, २७–२५, २५– १९ ले गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको थियो । फाइनलमा महिलातर्फ एभरेष्ट भलिबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार रुपैयाँ पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।