२१ बैशाख २०८१, शुक्रबार

एकीकृत क्रान्तिका सहिदहरुका परिवार सम्मानित

0

काठमाडौँ/ देशमा सञ्चालित  एकीकृत जनक्रान्तिको क्रममा सहिद हुनुभएका १५ जना सहिदहरुका परिवार सम्मानित भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिद्वारा सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच सहिदहरुका परिवारहरुलाई सम्मान गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा बिगत १ दशकदेखि जारी जनक्रान्तिको क्रममा विभिन्न घटना र समयमा राज्यले हत्या गरेका, नक्कली मुडभेटको नाममा मारिएका र प्रतिरोध संघर्षको क्रममा सहिद भएका योद्धाहरुका परिवारलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

आन्दोलनको क्रममा नेकपा पोलिट ब्युरो सदस्य तथा महासचिव विप्लवका दाई चन्द्र बहादुर चन्द `वीरजङ्ग,´तत्कालीन सर्लाही इन्चार्ज कुमार पौडेल, गोकुल राना `महान´,निरकुमार राई` प्रशान्त´,बझाङका चन्द्रबहादुर सिंह  `सनराइज´,विद्यार्थी नेता प्रज्वल शाही,टिकापुरका वीरबहादुर टमट्टा,देउराम लोहार (दिपेन्द्र), बझाङका राम सिंह, माल्कोट मतदान केन्द्रमा प्रहरीको गोलि लागेर मारिएका धनरुप बटाला, प्रतिबन्धको क्रममा  म्यादी हिरासतमा यातना पाएपछि निधन भएका जगेन्द्र, निरन्तर, बीरबहादुर शाही, राम कुमार श्रेष्ठ, तिर्थ घिमिरे लगायतको उच्च बलिदान भएको  थियो । यसमध्ये महासचिव विप्लवका दाई वीरजङ्गलाई राज्यले योजनाबद्द र षड्यन्त्रपुर्ण रूपमा मारिएको नेकपा सम्बन्ध नेताहरू र उनको पारिवारिक श्रोतले बताइरहेको देखिन्छ भने युवा नेता तथा सर्लाही इन्चार्ज कुमार पौडेललाई स्थानीय सुराकी र सागरनाथ वन परियोजनाबाट मोटाइरहेका व्यक्तिहरुको चाहानामा प्रहरी  प्रधान कार्यालयको प्रत्यक्ष कमान्डमा नियन्त्रणमा लिएर, हात भाचेर मारिएको कुरा तत्कालीन मानवअधिकारकर्मी सहित स्वतन्त्र निकायले समेत पुष्टि गरेको थियो।

सम्मान कार्यक्रममा सहिद परिवारको तर्फबाट मन्तव्य राख्ने उनीहरुका आफन्तहरुले सहिदहरुका सपना र आदर्शलाई साकार पार्न, नेपालको अधुरो क्रान्ति पूरा गर्न र समाजवादी व्यवस्था स्थापना गर्न महासचिव विप्लवले अन्तिम विजयसम्म क्रान्तिको नेतृत्व गर्नुपर्ने र आफुहरु निरन्तर साथ दिन तयार रहेको उनीहरुले बताएका थिए भने महासचिव विप्लवले सहिदको सपना साकार पार्न  क्रान्तिको झण्डा अन्तिमसम्म फरफराइ रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

सहिद परिवार समाज नेपालकी अध्यक्ष खुमा सुवेदीले  सहिदको रगत र उनीहरुका परिवारका आशुलाई उर्जामा बदलेर नै सहिदका सपना पूरा गर्न सकिने उल्लेख गर्दै सहिद परिवारले आफ्ना अभिभावक मात्रै खोजेका छैनन् उनीहरुको बलिदान र रगतको मूल्य खोजिरहेको बताइन् ।

सहिद प्रज्वल शाहीकि बहिनी कलशाले सहिदहरु नै  क्रान्ति र परिवर्तनका मार्गदर्शक भएको र लखन थापा , गङ्गालाल श्रेष्ठ देखि एकीकृत जनक्रान्तिका सहिदको बलिदानले अहिलेको पुस्ताले स्वतन्त्रता प्राप्त गरेकोले यसलाई अगाडि बढ्ने उर्जाको रूपमा लिनुपर्ने धारणा राखेकी थिइन् ।

त्यस्तै निरकुमारकी जीवनसाथी/ सहिदपत्नी इन्द्रकला राईले
पार्टी, पार्टीका नेताकार्यकर्ताले सहिदको बलिदान किन भयो, कसरी भयो भन्ने कुराको महत्त्वबोध गर्दै निरन्तर लक्ष्यमा लाग्नु पर्ने र आफुहरु देश र नागरिकको हितमा काम गर्नेहरुलाई साथ दिन तयार रहेको बताएकी थिइन् ।

वेपत्ता परिवार समाजका अध्यक्ष एकराज भण्डारीले सहिद गाथामा आधारित बलिदान नामक पुस्तकका अधिकाङ्श सामग्रीमा सहिद महान छन्, उनीहरुको सपना पूरा गर्नेछौं, त्यसका लागि क्रान्तिको बाटोमा निरन्तर अघि बढ्छौ भन्ने  साझा निष्कर्ष  रहेको बताए । मन्तव्यको क्रममा बरिस्ठ अधिवक्ता समेत रहेका भण्डारीले सहिद तथा वेपत्ता परिवारले नयाँ उर्जा र प्रतिबद्धताका साथ उनीहरुको सपना पूरा गर्ने अभियानमा योगदान पुर्‍याउनुपर्ने बिचार राखे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।