१२ श्रावण २०८१, शनिबार

विप्लवको नेतृत्वमा निकट भविष्यमा समाजवाद स्थापना हुनेछः रक्तिम सी

0

बाँके । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य रक्तिम सीले नेकपाका महासचिव विप्लव सीको नेतृत्वमा नेपालमा निकट भविष्यमा नेपाली विशेषताको समाजवाद स्थापना हुने विश्वास व्यक्त गरेका छन ।

नेकपाका बाँकेको शनिवार नेपालगन्जमा बसेको प्रथम पूर्ण बैठकलाई सम्वोधन गर्दै पोलिट ब्यूरो सदस्य रक्तिमले नेकपा र यसको नेतृत्वले नेपालमा समाजवाद ल्याउने पहल गरेकाले निकट भविष्यमा नेपालमा समाजवाद स्थापना हुने विश्वास व्यक्त गरेका हुन ।

उनले भने ‘नेपालमा दलाल पुँजीवादी सत्ता पूर्ण असफल भएको छ, नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा समाजवादी मोर्चा बनेको छ, यो अवस्थामा नेपालमा कम्युनिष्ट बामपन्थी,समाजवादी,देशभक्त तथा गणतन्त्रवादी शक्तिहरु एकताबद्ध हुदैछन । जसका कारण नेपालमा निकट भविष्यमा दलाल पुँजीवादको अन्त्य र नेपाली विशेषताको समाजवाद स्थापना हुनेछ ।’

नेकपा बाँके जिल्लाका इन्चार्ज समेत रहेका रक्तिमले विश्व कम्युनिष्ट आन्दोलनलाई नै प्रभाव दिने गरेर नेकपाले नयाँ कार्यदिशा र विचारको प्रतिनिधित्व गरेको दाबी गरे ।
‘नेपालमा नेपाली जनताले नेकपाबाट ठुलो आसा गरेकाले पनि नेपालमा समाजवादी सत्ताको स्थापना नेकपाको पहलमा विप्लवबाट हुनेछ’ उनले भने, ‘गणतन्त्रको नेतृत्व प्रचण्डले गरे, अब समाजवादी व्यवस्थाको नेतृत्व विप्लवले गर्नेछन ।’

जिल्ला इन्चार्ज रक्तिमले पार्टी भित्र र बाहिर जहाँ भएपनि खराव चिजका विरुद्ध संघर्ष गर्दै रुपान्तरणबाट नयाँ समाज बनाउनु पर्ने जिकिर गरे ।
उनले साम्राज्यवादले कम्युनिष्टहरु फुटाउने योजना बनाएको बेला सबै कम्युनिष्ट शक्ति एकताबद्ध भएर समाजवादको बाटोमा जानुपर्ने धारणा राख्दै समाजवादी मोर्चामा नेकपा एमाले र जनमोर्चा पनि छिट्टै सहभागी हुने खुलासा गरे ।

बैठकमा नेकपाका केन्द्रीय सदस्य शेखर सीले पार्टीको केन्द्रको योजनालाई आत्मसात गर्नु पर्ने बताए । बैठकमा अर्का केन्द्रीय सदस्य नारायण सीले कम्युनिष्ट एकताको विकल्प नभएको बताए । बैठक ढिलो गरी सुरु भएकाले आजै नसकिएको र आईतवार पनि बस्ने नेकपा बाँकेले जनाएको छ ।

आजको बैठकमा जिल्ला समिति र प्रतिनिधि समितिका सदस्यहरुले सुझाव तथा रिपोर्ट पेश गरेका थिए । आईतवारको बैठकमा एजेण्डामाथि छलफल गर्दै नयाँ निर्णय हुनेछन । बैठकको अध्यक्षता सेक्रेटरी कल्पना सीले गरेकी छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।